
गढवा, २० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
गढवा गाउँपालिकाले निर्माण अन्तिम चरणमा रहेको गढवा दुग्ध सङ्कलन तथा बिक्री केन्द्रको उद्घाटनका पूर्व गढवा गाउँपालिकामा रहेका दुग्ध उत्पादन कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।
गढवा गाउँपालिकाले बुटवलमा रहेको लुम्बिनी विशिष्टीकृत सहकारी संघसँग सहकार्य, सम्झौता भैसकेको र केहि दिनमै दूध बिक्री कार्य सुरु गर्ने बताएको छ।
मंगलबार गढवा गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले दुधमा नेपाललाई आत्मनिर्भर बनाउनका लागि भारतबाट आयात हुने दुधमा प्रतिबन्ध सरकारले लगाउनुपर्ने बताउनुभयो। आयातित दूतमा प्रतिबन्ध लगाउन सरकार अडिक भए गढवा गाउँपालिकाले दुधमा आत्मनिर्भर बन्न सक्ने बताउनुभयो। भारतबाट आयात हुने दुधजन्य पदार्थमा रोकथाम भए नेपालमा अझै पनि दुध उत्पादनको राम्रो सम्भावना भएको अध्यक्ष पोखरेलले बताउनुभयो। भारतबाट आयात हुने दूध र दूधजन्य पदार्थहरू रोक्नका लागि प्रदेश र संघ सरकारसँग आफूहरूले पटकपटक अनुरोध गरेको समेत जानकारी दिनुभयो।
दुग्ध उत्पादन कृषकहरूलाई समयमा भुक्तानी नहुँदा ठूलो समस्या परेको बताउँदै अध्यक्ष पोखरेलले आफूहरुले सम्झौता गरेको संस्थाले मासिक दुईपटक दुग्ध उत्पादक किसानहरूलाई भुक्तानी दिने जानकारी दिनुभयो। दुध उत्पादन किसानहरूले वर्षौं सम्मको दूधको मूल्य नपाउँदा थप पीडा भोग्नु परेको बताउँदै अध्यक्ष पोखरेलले गढवा गाउँपालिकाले खरिद बिक्री गर्ने दुध प्रत्येक महिना अथवा महिनामा दुईपटक सम्झौता गरेअनुसार भुक्तानी दिन सम्बन्धित संस्थालाई अनुरोध समेत गर्नुभयो।
सम्झौता अनुसार समयमा भुक्तानी र दूध उत्पादन हुने समयमा किसानहरूले उत्पादन गरेको दूध जति भएपनि खरिद गर्न अनुरोध समेत गर्नुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले गढवा गाउँपालिका पशुपालक कृषकहरूको लागि ठूलो योजना बनाएको बताउँदै गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत खसी बोकाको बजारीकरण कृषि उपजको सङ्कलन तथा बजारीकरण त्यसैगरी दुध उत्पादन कृषकहरूको लागि दुधको खरिद बिक्रीको लागि कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो। आफूहरू किसानहरूको समस्या पहिचान गरी समाधानका लागि हरबखत चिन्तित बनेको र समस्या समाधानका लागि तत्पर रहेको र सफल पनि भएको जानकारी दिनुभयो। गढवा गाउँपालिकाले गढवा सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड मार्फत गढवामा उत्पादन भएका कृषि तथा पशुजन्य सामग्रीहरू खरिद बिक्री गरेर बजारीकरण गर्दै आएको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाका अधिकृत अनन्तराज रेग्मी, कृषि विकास शाखाका प्रमुख कर्ता राम यादव,लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घका महाप्रबन्धक अर्जुन अधिकारी, कोषाध्यक्ष खेम प्रसाद गौतम, त्यसैगरी गढवा गाउँपालिका भरिका दुग्ध उत्पादक कृषकहरूको सहभागिता रहेको थियो ।
गढवा गाउँपालिकामा उत्पादन भएका दुख्दा लुम्बिनी विशिष्टिकृत सहकारी सङ्घले सरकारी दरेटमा खरिद गर्ने सम्झौता गढवा गाउँपालिकासँग गरेको छ।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका भिटा परियोजना कार्यक्रम संयोजक वसन्तकुमार शर्माले गर्नुभएको थियो।
