
दाङ,१९ फागुन। शिक्षा कुनै पनि समाजको विकासको मेरुदण्ड हो । यसलाई प्रभावकारी बनाउने जिम्मेवारी केवल विद्यालय र शिक्षकको मात्र होइन, अभिभावकको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ । शैक्षिक सुधारका लागि अभिभावकले प्रभावकारी भूमिका निर्वाह गरेमा विद्यार्थीको शैक्षिक प्रगति मात्र नभई समग्र समाजको स्तर पनि उकास्न सकिन्छ । अधिकांश विद्यार्थीहरु विद्यालयमा ८ घण्टा समय व्यतित गर्ने गर्दछन् । यस बाहेकको समयमा घरमै विद्यार्थीको वित्ने भएकाले छोराछोरीको शिक्षालगायत उनीहरुको रुचीको क्षेत्रमा अगाडी बढ्नका लागि विद्यार्थीलाई मानसिकरुपमा बलियोब नाउने महत्वपूर्ण भूमिका अभिभावकहरुले निभाउन सक्छन् । विद्यार्थीहरुको चौतर्फी क्षमता विकास गर्न जसरी राज्यले निर्माण गर्ने शिक्षा नीति, विद्यालय, सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहन्छ, त्यति नै भूमिका अभिभावकहरुको पनि हुन्छ ।
अभिभावकले घरमा सकारात्मक सिकाइ वातावरण सिर्जना गर्नुपर्छ । बालबालिकालाई अध्ययनका लागि समय मिलाइदिनु, शान्त वातावरण उपलब्ध गराउनु, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुजस्ता कामले उनीहरूको सिकाइ प्रक्रियालाई सहज बनाउँछ ।
विद्यालय र शिक्षकसँग नियमित सम्पर्क राखी बालबालिकाको शैक्षिक प्रगति बुझ्नु आवश्यक छ । अभिभावक–शिक्षक भेटघाट, अभिभावक भेला तथा विद्यालयका गतिविधिमा सहभागिता जनाएमा विद्यार्थीलाई थप प्रेरणा प्राप्त हुन्छ ।
विद्यार्थीलाई अध्ययनमा ध्यान केन्द्रित गराउन अभिभावकले नियमित समय तालिका बनाउन सहयोग गर्नुपर्छ । खेल, मनोरञ्जन र अध्ययनबीच सन्तुलन कायम गर्दै अनुशासित जीवनशैलीको विकास गराउनु महत्वपूर्ण हुन्छ ।
शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुँदैन । अभिभावकले नैतिक मूल्य, सामाजिक सद्भाव, परिश्रम, इमानदारी जस्ता गुण सिकाउनुपर्छ । यसले बालबालिकालाई जिम्मेवार नागरिक बन्न मद्दत गर्छ ।
आजको युग प्रविधिको हो। अभिभावकले आफ्ना सन्तानलाई इन्टरनेट, मोबाइल र कम्प्युटरको सही प्रयोग गर्न सिकाउनु पर्छ । अनलाइन कक्षाहरू, शैक्षिक सामग्रीहरू तथा ज्ञानवर्धक गतिविधिहरूमा उनीहरूलाई संलग्न गराउनु आवश्यक छ ।
विद्यार्थीको सफलता वा असफलता दुबैलाई सकारात्मक रूपमा हेर्नुपर्छ । असफल हुँदा निराश नगराइ सही मार्गदर्शन दिनु र सानो सफलता पनि उत्साहजनक पाराले सराहना गर्नु जरुरी छ ।
विद्यालयमा मात्र पढाइ पर्याप्त हुँदैन । घरमै आफैं अध्ययन गर्ने बानी बसाल्न अभिभावकले सहयोग गर्नुपर्छ । पुस्तक पढ्ने आदत, अनुसन्धान गर्ने क्षमताको विकासमा प्रेरित गर्नुपर्छ ।
अभिभावकले सन्तानको भावनात्मक पक्षलाई बुझ्नुपर्छ । अत्यधिक दबाब वा तुलनाले विद्यार्थीलाई तनावमा पार्न सक्छ । उनीहरूको आत्मविश्वास बढाउने खालका सकारात्मक संवाद गर्नुपर्छ ।
विद्यालय सुधारका लागि जिम्मेवारी
विद्यालय कुनै पनि समाजको शैक्षिक विकासको आधारस्तम्भ हो । विद्यालयको गुणस्तर सुधार गर्न केवल शिक्षक र विद्यालय प्रशासनको मात्र भूमिका महत्वपूर्ण हुँदैन, अभिभावकको पनि उत्तिकै जिम्मेवारी रहन्छ । विद्यालय सुधारका लागि अभिभावकले निम्न जिम्मेवारीहरू वहन गर्नुपर्छ ।
विद्यालयमा भइरहेका गतिविधि, शिक्षकहरूको कार्यशैली, पाठ्यक्रमको कार्यान्वयन जस्ता विषयमा अभिभावक जानकार हुनुपर्छ । शिक्षक–शिक्षिका तथा विद्यालय व्यवस्थापन समितिसँग निरन्तर संवाद गरी विद्यालयको गुणस्तर सुधार गर्न सकिन्छ ।
विद्यालयले आयोजना गर्ने अभिभावक–शिक्षक बैठकहरूमा नियमित रूपमा उपस्थित भई विद्यालयको अवस्था बुझ्नु र आवश्यक सुझाव दिनु अभिभावकको जिम्मेवारी हो । यस्तो बैठकमा विद्यार्थीको सिकाइ अवस्था, विद्यालयको नीति तथा सुधारका उपायहरूबारे छलफल गर्न सकिन्छ ।
विद्यालयलाई भौतिक संरचना सुधार, पुस्तकालय, ल्याब, खेलकुद सामग्री आदि आवश्यक पर्छ । सामुदायिक विद्यालयहरूमा विशेष गरी, अभिभावकहरूले श्रमदान, आर्थिक सहयोग, वा अन्य कुनै माध्यमबाट विद्यालय सुधारमा योगदान गर्न सक्छन् ।
विद्यालयमा विद्यार्थीको अनुशासन महत्वपूर्ण हुन्छ । अभिभावकले आफ्ना सन्तानलाई समयपालन, नैतिकता, सफाइ, शिक्षकमाथि सम्मान जस्ता मूल्यहरू सिकाउनु पर्छ । यसले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत गर्छ ।
विद्यालयले बनाएका नियम, पाठ्यक्रमको ढाँचा, मूल्यांकन प्रक्रिया आदिलाई अभिभावकले समर्थन गर्नुपर्छ। आफ्ना सन्तानलाई विद्यालयका नियमहरू पालना गर्न प्रेरित गर्नु उनीहरूको जिम्मेवारी हो ।
विद्यालय सुधारको आधार विद्यार्थीको प्रगति हो । अभिभावकले आफ्ना सन्तानलाई गृहकार्य गर्न, अतिरिक्त क्रियाकलापमा सहभागी हुन, नियमित अध्ययन गर्न प्रेरित गर्नुपर्छ । यसले विद्यालयको समग्र शैक्षिक सुधारमा प्रभाव पार्छ ।
विद्यालय सुधारका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा अन्य अभिभावकहरूलाई समेत सक्रिय बनाउन आवश्यक छ । अभिभावकले विद्यालय सुधारका अभियानहरूमा सामेल भई समुदायलाई पनि विद्यालय सुधारप्रति संवेदनशील बनाउन सकिन्छ ।
विद्यालयको सरसफाइ, स्वच्छ खानेपानी, खेलमैदान, पुस्तकालय, ल्याब आदिको सुधारका लागि अभिभावकले सुझाव तथा सहयोग गर्नुपर्छ । विद्यालय परिसरलाई सुरक्षित, हरियालीयुक्त र अध्ययनका लागि अनुकूल बनाउन पहल गर्नु महत्वपूर्ण हुन्छ ।
विद्यालय सुधार केवल शिक्षक वा प्रशासनको काम मात्र होइन । अभिभावकको सक्रिय सहभागिता, जिम्मेवारी बोध र सहकार्यले मात्र विद्यालयको गुणस्तर सुधार गर्न सकिन्छ । अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन र समुदायको संयुक्त प्रयासले मात्र उत्कृष्ट विद्यालय निर्माण हुन सक्छ ।
सन्तानको रेखदेख
सन्तानको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावकको भूमिका अतुलनीय हुन्छ । बालबालिकाको उचित पालनपोषण, शिक्षादिक्षा, नैतिक विकास तथा मानसिक स्वास्थ्य संरक्षण गर्न अभिभावकले विशेष ध्यान दिनुपर्छ। अभिभावकद्वारा गरिने प्रभावकारी रेखदेखका केही महत्वपूर्ण पक्ष निम्नानुसार छन् ।
बालबालिकाको उचित खानपान, नियमित स्वास्थ्य परीक्षण, व्यायाम तथा सरसफाइमा ध्यान दिनुपर्छ । ताजा र पोषणयुक्त आहार उपलब्ध गराउनु, सुत्ने तथा ब्युँझने निश्चित तालिका बनाउनु, सरसफाइ सम्बन्धी राम्रो बानी बसाल्नु र नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक छ ।
बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी सचेत रहनुपर्छ । उनीहरूको विचार, भावना र आवश्यकतालाई बुझ्नुपर्छ । डर, तनाव वा आत्मविश्वासको कमी देखिएमा उनीहरूलाई प्रेरित गर्नुपर्छ । सकारात्मक संवाद र प्रेरणादायी वातावरणले उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न मद्दत गर्छ ।
बालबालिकालाई इमानदारी, आदर, सहयोग, दया, सहनशीलता, अनुशासन जस्ता गुण सिकाउनु अभिभावकको प्रमुख जिम्मेवारी हो । उनीहरूलाई असल आचरण, सामाजिक उत्तरदायित्व तथा नैतिक शिक्षाको महत्व बुझाउनुपर्छ ।
अभिभावकले बालबालिकालाई नियमित अध्ययन गर्न प्रेरित गर्नुपर्छ । गृहकार्य गर्न, पाठ्यपुस्तक बाहेकका ज्ञानवर्धक पुस्तकहरू पढ्न, सिर्जनात्मक लेखन तथा अनुसन्धान गर्न प्रोत्साहन दिनुपर्छ । अध्ययनलाई रमाइलो बनाउन खेल–खेलमै सिकाइका तरिकाहरू अपनाउन सकिन्छ ।
आजको डिजिटल युगमा बालबालिका प्रविधिमा निर्भर भइरहेका छन् । इन्टरनेट, मोबाइल, टेलिभिजनको उचित प्रयोग सिकाउनु जरुरी छ । अनलाइन शिक्षा, शैक्षिक भिडियो, ज्ञानवद्र्धक सामग्रीमा पहुँच गराउनुका साथै उनीहरूलाई अनुपयुक्त सामग्रीबाट जोगाउन आवश्यक हुन्छ ।
सन्तानको साथीपरिवार कस्तो छ भन्ने कुरा अभिभावकले ध्यान दिनुपर्छ । खराब साथीसँग रहेमा उनीहरू गलत मार्गतर्फ लाग्न सक्छन् । उनीहरूको गतिविधि अनुगमन गरी असल साथी छनोट गर्न सहयोग गर्नु जरुरी हुन्छ ।
अभिभावकले आफ्ना सन्तानलाई आत्मनिर्भर र जिम्मेवार बनाउने वातावरण तयार गर्नुपर्छ । उनीहरूलाई साना–साना घरायसी काममा सहयोग गर्न प्रेरित गर्नु, आफ्नो निर्णय आफैं लिन सिकाउनु र मेहनतको महत्त्व बुझाउनुपर्छ ।
बालबालिकाको सुरक्षा प्रति अभिभावक सचेत हुनुपर्छ । उनीहरूलाई सडक सुरक्षा, आगलागी जोगाउने उपाय, अपरिचित व्यक्तिहरूसँग सतर्क रहने उपाय तथा आपतकालीन परिस्थितिमा गर्नुपर्ने कार्यहरू सिकाउनु आवश्यक छ ।
सन्तानको समुचित विकासका लागि अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण छ । शारीरिक, मानसिक, बौद्धिक, नैतिक र सामाजिक दृष्टिले सक्षम नागरिक बनाउन उनीहरूको निरन्तर रेखदेख आवश्यक हुन्छ । सकारात्मक हेरचाह, प्रेरणादायी वातावरण र समयसापेक्ष मार्गदर्शनमार्फत अभिभावकले आफ्ना सन्तानलाई उज्ज्वल भविष्यतर्फ डो¥याउन सक्छन् ।
शैक्षिक सुधारका लागि अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण छ । विद्यालय मात्र पर्याप्त हुँदैन, घरको वातावरण, अभिभावकको ध्यान, प्रेरणा, मार्गदर्शन र सहकार्यले विद्यार्थीलाई सफल बनाउन मद्दत गर्छ। शिक्षालाई पुस्तान्तर गर्नका लागि अभिभावक, शिक्षक, समाज र सरकार सबैको समान प्रयास आवश्यक छ ।
