आजको शिक्षा कस्तो हुनुपर्छ ?

सविन प्रियासन

दाङ,१२ फागुन। समाज र प्रविधिको तीव्र विकास भैरहेको छ । २१ औं शताव्दीको सुरुवातसँगै विश्व आधुनिक युगमा प्रवेश गरेको छ । विश्वमै आमूल परिवर्तन र विकासको लहर चलेको समयमा नेपाल पनि यसबाट अछुतो हुनु हुँदैन । यस अर्थमा समाजले विकासमा मारिरहेको फड्कोको कुरा गरिरहँदा यस्तो विकास त्यतिबेला सम्भव हुन्छ, जतिबेला शिक्षा क्षेत्रले विकासको नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्दछ । तसर्थ समृद्धि र विकासको सवालमा शिक्षा क्षेत्रको महत्वपूर्ण र मुख्य भूमिका हुन्छ । तसर्थ विकास र समृद्धिको कुरा गरिरहँदा नेपालको शिक्षामा आमूल रूपान्तरण हुनु अति आवश्यक छ । परम्परागत किताबी ज्ञानमुखी शिक्षाबाट बाहिर निस्केर व्यावहारिक, सीपमूलक, समावेशी, प्रविधिमैत्री र जीवन उपयोगी शिक्षा आजको आवश्यक हो । अबको शिक्षा प्रणालीले विद्यार्थीलाई केवल परीक्षा पास गर्न होइन, जीवन जिउन र समाजको नेतृत्व गर्न सक्षम बनाउने गरी विकास गर्नुपर्छ ।

अबको शिक्षा परीक्षामुखी नभई व्यावहारिक हुनुपर्छ । विद्यार्थीलाई आर्थिक व्यवस्थापन, सञ्चार कला, निर्णय क्षमता, आत्मनिर्भरता, उद्यमशीलता, र समाधानमुखी सोच जस्ता जीवनोपयोगी सीपहरू सिकाइनुपर्छ । आजको डिजिटल युगमा प्रविधिको प्रयोगबिना शिक्षा प्रभावकारी हुन सक्दैन । अबको शिक्षाले स्मार्ट कक्षाकोठा, अनलाइन सिकाइ, कृत्रिम बुद्धिमत्ता (एआइ), भर्चुअल रियालिटी (भिआर), बिग डाटा जस्ता प्रविधिहरू समावेश गर्नुपर्छ । विद्यार्थीलाई कोडिङ, डिजिटल साक्षरता, साइबर सुरक्षाजस्ता विषयहरू सिकाइनुपर्छ ।

शिक्षाले विद्यार्थीलाई केवल किताबी ज्ञान दिने होइन, स्वतन्त्र सोच, तर्कशक्ति, अनुसन्धान क्षमता, र सिर्जनात्मकता विकास गर्ने हुनुपर्छ । यसका लागि परियोजना–आधारित सिकाइ, प्रयोगात्मक कार्य, अनुसन्धानमुखी अध्ययन अनिवार्य हुनुपर्छ ।

शिक्षा सबैका लागि समान हुनुपर्छ । जात, लिंग, धर्म, भाषा, अपांगता, आर्थिक अवस्था वा भौगोलिक क्षेत्र का आधारमा कोही पनि शिक्षा प्राप्तिबाट वञ्चित हुनु हुँदैन । अपांगमैत्री शिक्षण विधि अपनाइनुपर्छ । बालबालिकाका लागि निःशुल्क तथा गुणस्तरीय शिक्षा को प्रवद्र्धन गर्नुपर्छ । ग्रामिण र दुर्गम क्षेत्रका विद्यालयलाई प्रविधिसँग जोडेर समान अवसर दिनुपर्छ ।

अबको शिक्षाले विद्यार्थीलाई केवल बौद्धिक मात्र होइन, सामाजिक र भावनात्मक रूपमा सक्षम बनाउनुपर्छ । विद्यार्थीलाई सहिष्णुता, इमानदारी, सामाजिक उत्तरदायित्व, तथा नैतिकता सिकाइनुपर्छ ।

हालको शिक्षा प्रणाली अत्यधिक परीक्षामुखी छ, जसले सिर्जनात्मकतालाई दबाउँछ । अबको शिक्षा प्रणालीले निरन्तर मूल्यांकन, परियोजना कार्य, प्रयोगात्मक परीक्षा, तथा प्रस्तुति कौशल मा आधारित हुनुपर्छ ।

अबको शिक्षाले रोजगारमूलक सीपहरू प्रदान गर्नुपर्छ । व्यावसायिक तथा प्राविधिक शिक्षा अनिवार्य गरिनुपर्छ । विद्यार्थीलाई स्वरोजगार र उद्यमशीलता को तालिम दिनुपर्छ ।

कृषि, पर्यटन, सूचना प्रविधि, व्यापार जस्ता क्षेत्रमा आधारित शिक्षा प्रदान गर्नुपर्छ ।

परम्परागत रटानमुखी शिक्षालाई हटाएर बहुआयामिक शिक्षण विधि अपनाइनुपर्छ ।

–परियोजना आधारित सिकाइ

–अनुसन्धानमूलक अध्ययन

–खेलकुद, संगीत, कला, नाटक, साहित्य, विज्ञान प्रयोगशाला

–सहभागितामूलक शिक्षण विधि

आजको पुस्तालाई जलवायु परिवर्तन, वातावरण संरक्षण, र दिगो विकास जस्ता विषयमा सचेत बनाउनुपर्छ । हरित विद्यालय अवधारणा विकास गरी विद्यार्थीलाई वातावरणमैत्री सोच राख्ने बनाउनुपर्छ ।

शिक्षक मात्र पढाउने पात्र होइनन्, प्रेरणादायी मार्गदर्शक हुन् । शिक्षकको तालिम, प्रविधि उपयोग गर्ने क्षमता, अनुसन्धान क्षमता बढाउनुपर्छ । अभिभावक, शिक्षक र विद्यार्थीको सहकार्य आवश्यक छ । विद्यालयको नीति, पठनपाठन शैली, विद्यार्थीको प्रगति मा अभिभावकको सक्रिय सहभागिता हुनुपर्छ ।

अबको शिक्षा केवल डिग्री प्राप्तिका लागि नभई जीवनमा सफलता प्राप्त गर्ने आधार हुनुपर्छ । प्रविधिसँग हातेमालो गर्दै, समावेशी, व्यावहारिक, रोजगारमुखी, सिर्जनात्मक र नैतिक मूल्यमा आधारित शिक्षाले मात्र सशक्त नागरिक उत्पादन गर्न सक्छ । शिक्षाले व्यक्तिलाई ‘केही बन्न’ मात्र होइन, ‘केही गर्न’ पनि सक्षम बनाउने हुनुपर्छ ।

नेपालको लागि चाहिने शिक्षा ः

नेपालको वर्तमान आवश्यकता र भविष्यको लक्ष्यलाई ध्यानमा राख्दा, देशलाई चाहिने शिक्षा निम्न पक्षहरूमा केन्द्रित हुनुपर्छ ।

१. व्यावहारिक शिक्षा ः

नेपालको शिक्षाले केवल किताबी ज्ञान मात्रै नभई वास्तविक जीवनसँग जोडिएको हुनुपर्छ । विज्ञान, प्रविधि, कृषि, स्वास्थ्य, पर्यटन, तथा साना उद्योगहरूसँग सम्बन्धित व्यावसायिक शिक्षा प्रदान गर्नुपर्छ, जसले युवालाई आत्मनिर्भर बनाउँछ ।

२. प्राविधिक र व्यावसायिक शिक्षा ः

देशको श्रम बजार र विश्वव्यापी रोजगारीलाई ध्यानमा राखी प्राविधिक तथा व्यावसायिक शिक्षा अभिवृद्धि गर्न आवश्यक छ । विद्युत्, सूचना प्रविधि, निर्माण, कृषि, पर्यटन, तथा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हुन्छ ।

३. गुणस्तरीय शिक्षा ः

नेपालका सरकारी तथा निजी विद्यालयहरूबीचको गुणस्तर असमानता हटाउँदै समान अवसर प्रदान गर्ने शिक्षा नीति आवश्यक छ । पाठ्यक्रम सुधार गर्दै समयसापेक्ष, अनुसन्धानमुखी र सिर्जनशीलता अभिवृद्धि गर्ने शिक्षाको विकास हुनुपर्छ ।

४. नैतिक र सामाजिक शिक्षा ः

शिक्षाले व्यक्तिलाई मात्रै होइन, समाजलाई पनि परिवर्तन गर्नुपर्छ । त्यसैले नैतिकता, सदाचार, इमान्दारी, सामाजिक उत्तरदायित्व, लोकतान्त्रिक मूल्य, मानवअधिकार, तथा समावेशी सोच विकास गर्ने शिक्षा आवश्यक छ ।

५. डिजिटल शिक्षा र प्रविधिको उपयोग ः

सूचना प्रविधिको युगमा डिजिटल शिक्षाको विस्तार अपरिहार्य छ । अनलाइन शिक्षालाई प्रवद्र्धन गर्दै सूचना प्रविधि शिक्षालाई आधारभूत तहदेखि उच्च शिक्षासम्म समेट्नुपर्छ ।

६. मातृभाषामा शिक्षा ः

बालबालिकालाई प्रारम्भिक तहमा मातृभाषामा सिकाइ गर्ने व्यवस्था हुनुपर्छ । यसले सिकाइ प्रभावकारी बनाउनुका साथै विभिन्न भाषा र संस्कृतिको सम्मान पनि गर्छ ।

७. ग्लोबल प्रतिस्पर्धात्मक शिक्षा

नेपालका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने शिक्षा प्रणाली आवश्यक छ । अंग्रेजी भाषा, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता, नेतृत्व विकास, तथा अन्तर्राष्ट्रिय बजारसम्बन्धी ज्ञान दिइनुपर्छ ।

८. समान र समावेशी शिक्षा ः

गरिब, ग्रामीण, महिला, दलित, अपांगता भएका व्यक्ति तथा पछाडि परेका समुदायहरूका लागि समान अवसर प्रदान गर्ने शिक्षालाई प्राथमिकता दिनुपर्छ ।

९. शिक्षा र रोजगारको सम्बन्ध ः

नेपालको शिक्षाले स्थानीय तथा अन्तर्राष्ट्रिय रोजगारीसँग जोडिनुपर्छ । व्यावसायिक सीप, उद्यमशीलता, तथा उत्पादनमुखी शिक्षाको अभावमा युवाहरू विदेश जान बाध्य छन्, जुन रोक्न आवश्यक छ ।

१०. अनुसन्धान र नवप्रवर्तनमुखी शिक्षा ः

नेपालमा अनुसन्धानमूलक शिक्षा अभाव छ । विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूलाई नवीन सोच, वैज्ञानिक अध्ययन, र नवप्रवर्तनमा केन्द्रित गरिनुपर्छ ।

नेपाललाई आवश्यक पर्ने शिक्षा भनेको व्यावहारिक, रोजगारीमुखी, प्रविधिमैत्री, नैतिक, समावेशी, र अनुसन्धानमूलक शिक्षा हो । यस्तो शिक्षाले मात्रै नेपाललाई दिगो विकास र समृद्धिको यात्रामा अगाडि बढाउन सक्छ ।

शिक्षामा देशप्रेमको महत्व ः

शिक्षा कुनै पनि राष्ट्रको भविष्य निर्माण गर्ने आधारशिला हो । देशप्रेमको भावना विद्यार्थीमा बाल्यकालदेखि नै विकास गर्न सकियो भने उनीहरू राष्ट्रप्रति उत्तरदायी नागरिक बन्न सक्छन् । नेपालमा पनि शिक्षालाई देशप्रेमसँग जोडेर अघि बढाउन सकियो भने राष्ट्रिय एकता, सामाजिक सद्भाव, आर्थिक समृद्धि, र विकासको गतिलाई तीव्र बनाउन सकिन्छ । पछिल्लो समयमा व्यापकरुपमा विदेश पलाएन, समाजमा बढेको अराजकता, भ्रष्टाचार, हिंसालगायतका कुराहरुलाई कम गर्दै पूर्णरुपले निरुत्साहित पार्नका लागि पनि देशप्रेमसहितको शिक्षा अनिवार्य छ ।

देश प्रेमसहितको शिक्षाको कुरा गरिरहँदा अब शिक्षालाई नयाँ ढंगबाट परिमार्जन गर्नुपर्छ । अहिलेसम्म मुलुकलाई जेजसरी अगाडी बढाइयो, यसमा टिका टिप्पणी गरेर दिन बिताउनु भन्दा अब बन्ने नयाँ पााठ्यक्रममा देशप्रेम सँग सम्बन्धित सामग्रीहरु समावेश गर्नु पर्छ । देशप्रेमलाई शिक्षाको अभिन्न अंश बनाउनका लागि पाठ्यक्रममै यसको प्रभावकारी समावेश आवश्यक छ ।

जस्तो कि अब बन्ने नयाँ पठ्यक्रममा नेपालका इतिहास, संस्कृति, भाषा, भौगोलिक विविधता, तथा राष्ट्रिय पहिचानबारे व्यापक ज्ञान प्रदान गर्ने गरी पाठ्य सामग्री तयार गरिनुपर्छ । राष्ट्रिय विभूतिहरूको योगदानबारे पढाउने र तिनीहरूबाट प्रेरणा लिन सिकाउने कुरालाई पनि महत्व दिनुपर्छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, र लोकतान्त्रिक मूल्यमान्यता बुझाउने किसिमको हुनुपर्छ ।

पाठ्यपुस्तकमा मात्र होइन, व्यवहारिक अभ्यासबाट पनि देशप्रेम सिकाउन सकिन्छ । जस्तोकी ः विद्यार्थीलाई सामाजिक सेवा, सरसफाइ अभियान, वातावरण संरक्षण, र सामुदायिक विकास जस्ता कार्यमा संलग्न गराउने । नेपाली उत्पादनको उपभोग, आत्मनिर्भर अर्थतन्त्र निर्माण, र स्वरोजगारलाई प्राथमिकता दिने संस्कार बसाल्ने । राष्ट्रिय झण्डा, गान, चिह्न आदिको सम्मान गर्ने संस्कार विद्यालय तहमै सिकाउने ।

विद्यार्थीलाई आफ्नै भाषा, धर्म, संस्कार, र परम्पराप्रति गर्व गर्ने वातावरण बनाउन आवश्यक छ । यसका लागि मातृभाषाको सम्मान र संरक्षणमा जोड दिने किसिमको पाठनपाठन हुनुपर्छ । विविध जातजाति, भाषा, तथा संस्कृतिको अध्ययन गराउने र बहुलताको सम्मान गर्न सिकाउने किसिमको पढाई हुनुपर्छ । राष्ट्रिय चाडपर्व, परम्परा, र सांस्कृतिक सम्पदाहरूको महत्व बुझाउने पाठ्य सामग्री हुनुपर्छ । ।

शिक्षाले राष्ट्रलाई माया गर्ने, त्याग, इमान्दारी, तथा कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्नुपर्छ । यसका लागिः भ्रष्टाचारविरुद्धको सचेतना विद्यालय तहबाटै सुरु गर्नुपर्छ । नैतिक शिक्षा अनिवार्य गर्नुपर्छ, जसले जिम्मेवार नागरिक उत्पादन गर्छ । नेपालमै अवसर खोज्ने, स्वरोजगार बन्ने, तथा विदेश पलायन रोकिने वातावरण तयार गर्नुपर्छ ।

देशप्रेम भनेको कुनै पनि जात, धर्म, वा क्षेत्र विशेषको विषय होइन । शिक्षालेः सबै जातजाति, धर्म, तथा संस्कृतिहरूलाई समान रूपमा बुझ्न प्रेरित गर्नुपर्छ । विविधतामा एकता खोज्न र सहिष्णुता बढाउन मद्दत गर्नुपर्छ । क्षेत्रीय विभाजन हटाई, समग्र नेपाली पहिचानलाई सुदृढ गर्नुपर्छ ।

देशको समृद्धि शिक्षाले निर्धारण गर्छ । यदि नेपाली शिक्षा प्रणालीले देशप्रेमलाई मूलभूत रूपमा आत्मसात् गर्न सक्यो भने मात्र हामी स्वाभिमानी, जिम्मेवार, र राष्ट्रप्रति समर्पित नागरिक उत्पादन गर्न सक्नेछौं । शिक्षाले नीतिगत, व्यवहारिक, र नैतिक रूपमा देशभक्ति जागृत गर्ने भूमिका निर्वाह गर्नुपर्छ ।

मा प्रकाशित