
गढवा, ११ माघ। सहकारी संस्थाहरुमा पारदर्शिता र बित्तिय अनुशासन आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ।
गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा सुरु भएको पांच दिने सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुको लागि सहकारी व्यवस्थापन तालिमको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो। सहकारी संस्था बन्नु र बिग्रनुमा सञ्चालक समितिको हातमा रहेको बताउदै पालिका अध्यक्ष पोख्रेलले सहकारी संस्था राम्रो बनाउन सहकारीको मुल्य मान्यता अनुसार काम गर्नुपर्ने बताईनु भयो। गढवा गाउँपालिकाले सहकारी संस्थाहरुको संस्थागत बिकाशको लागि निरन्तर काम गरेको बताउनु भयो। सहकारी संस्थाहरु प्रविधिमैत्री बनाउन जोड दिनुपर्ने बताउदै अध्यक्ष पोख्रेलले यस भन्दा पहिले गढवाका सहकारी व्यवस्थाकहरुलाई कोपोमिस तालिम समेत दिई सकेको जानकारी दिनुभयो। सञ्चालन समितिले व्यवस्थापकको जिम्मा सहकारी छोड्नाले सहकारीमा थप जटिल्ता उत्पन्न हुन सक्ने भन्दै समयमा नियमन गर्न सुझाव समेत दिनु भयो।
त्यसैगरी ५ दिने सहकारी व्यवस्थापन तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सहकारीको मुल्य मान्यता अनुसार अघि बढ्न सुझाव दिनु भयो। सहकारीको मुल्य मान्यता भन्दा बाहिर गएर काम गर्नाले सहकारी संस्थाको संस्थागत विकास हुन नसकेको र केही सहकारी घाटामा गएको बताउनुभयो।
त्यसैगरी तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले गढवा गाउँपालिकाले सहकारी संस्थाहरुको सस्थागत विकासका लागि सही समयमा सहि कार्यक्रम सुरु गरेको बताउनु भयो। पछिल्लो समयमा आम नागरिकमा सहकारी संस्था प्रतिको शंका उपशंका भएकाले यो समयमा सहकारी संस्थाका व्यवस्थापकहरुका लागि कोपोमिस र सञ्चालकहरुका लागि सहकारी व्यवस्थापन तालिम दिनु सबै भन्दा उपयुक्त समय भएको बताउनुभयो। देशको अर्थतन्त्र मा सहकारीको योगदान ठुलो योगदान रहेको बताउदै वडाध्यक्ष थापाले गढवा गाउँपालिकाले सहकारीको माध्यमबाट महिला शसक्तिकरण र आत्मनिर्भरका लागि रोजगार प्रदान गरेको बताउनु भयो। पछिल्लो समयमा अधिकांश सहकारीहरुले बित्तिय कारोबार गर्ने र लोभ लालजमा परी संस्थाको रकम दुरुपयोग गरेकाले सहकारीहरु बदनाम भएको बताउनु भयो। कतै जानेर त कतै अञ्जानमा सहकारी संस्थाहरुमा जटिल समस्या उत्पन्न भएकोले सहकारी संस्था सञ्चालनका लागि सहकारीको मुल्य मान्यता भन्दा बाहिर गएर कार्य गर्न नहुने बताउनु भयो।
तालिमको प्रशिक्षकमा सहकारी विज्ञ बुटवलका रन बहादुर पुन, गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव, रोजगार सहायक सत्यपाल यादव रहनु भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, रोजगार शाखाका प्रमुख अशाेक कुमार यादव लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन रोजगार सहायक सत्यपाल यादवले गर्नु भएको थियो ।
