सञ्चार क्षेत्र बलियो बनाउन साझा चरित्र आवश्यक : सचिव प्रियासन

गणतन्त्रनेपाल समाचारदाता

भालुबाङ पुस १३ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सञ्चार क्षेत्रलाई बलियो बनाउन पत्रकार नेता एवं पत्रकार महासंघले साझा चरित्रको विकास गर्नु पर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको शनिबार भालुबाङमा आयोजित पदभार ग्रहण एवं वधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रियासनले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रियासनले लुम्बिनी क्षेत्रको पत्रकारिता अव्वल रहेको र यसको थप विकासका लागि सामुहिकतामा जोड दिनुभयो । पत्रकार महासंघलाई जिल्ला, प्रदेशदेखि केन्द्रसम्म साझा मोर्चाकारुपमा विकास गर्नुपर्ने बताउँदै प्रियासनले महासंघको सुद्धिकरण अभियानलाई थप प्रभावकारीरुपमा अगाडी बढाइने बताउनुभयो । राज्यले सञ्चार क्षेत्रको विकासका लागि विशेष योजना बनाउनुपर्ने आवश्यकता औल्याउँदै प्रियासनले सञ्चार माध्यमलाई आत्मनिर्भर र सञ्चारकर्मीलाई सबै सेवा सुविधा उपलव्ध गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रियासनले नयाँ नेतृत्वलाई शुभकामना दिँदै महासंघको संस्थागत विकासमा सबै पक्षसँग समन्वय गरि अगाडि बढ्न शुझाव दिनुभयो । सो अबसरमा प्रदेश समितिका निबर्तमान अध्यक्ष वसन्त गिरी नेतृत्वको समितिबाट नया निर्बाचित समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंको नेतृत्वलाई शनिबार ओैपचारिक रुपमा पदभार हस्तान्तरण तथा ग्रहण कार्य सम्पन्न गरिएको हो ।

सो अबसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाईले निवर्तमान कार्यसमितिले प्रदेशको भौतिक व्यवस्थापन सहित महत्वपुर्ण काम गरेकोमा आभार व्यक्त गर्दै नया नेतृतवले प्रदेशमा पत्रकार कल्याणकारी कोषको व्यवस्थापन, प्रदेश सञ्चार परिषदलाई नीतिगत तहदेखिनै व्यवस्थापन गर्ने, र जिल्ला शाखा सँग समन्वय गरि सदस्यता शुद्धिकरण प्रकृयालाई व्यवस्थित गर्ने, सबै जिल्लासम्म पत्रकारको क्षमता विकास तालिम लगायतका बिषयहरु कार्ययोजनामा समेटेर अगाडि बढ्ने बताउनुभयो । सो अबसरमा सबै सञ्चार संगठनलाई पत्रकार महासंघको भवनमा कार्यालय स्थापना गर्न समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रदेशबाट केन्द्रीय समितिमा निर्बाचित पदाधिकारी, सदस्य सहित लुम्बिनी प्रदेशका १२ वटै जिल्ला शाखा अध्यक्ष तथा पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।

महासंघ लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष बसन्त गिरीको अध्यक्षता एवम् महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्यहरू रामराज पोख्रेल, लिला शाह, लुम्बिनी प्रदेश सञ्चार परिषद् अध्यक्ष मिलन गाहामगर, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी सहइञ्चार्ज टीका बस्नेत, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र प्रकाश वली, नेपाल पत्रकार महासंघ रोल्पा शाखाका नवनिर्वाचित अध्यक्ष खुविना सुनारी मगरलगायतका वक्ताहरूले बोल्नु भएको थियो ।

कोषाध्यक्ष यमनाथ घिमिरेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव विक्रम खडकाले गर्नु भएको थियो ।

मा प्रकाशित