गढवा, १४ मंसिर । हात्तीपाइले फाइलेरिया रोगको संक्रमण दर पत्ता लगाउनका लागि दाङ देउखुरीको गढवा गाउँपालिकामा सर्वेक्षण कार्य शुरु गर्ने भएको छ । सर्वेक्षण हुने वडाहरुमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, प्रहरी र पत्रकार सहितलाई अभिमुखिकरण गोष्ठी दिईएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा मकवानपुर तथा स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा गढवामा कार्यक्रमको वडा स्तरीय अभिमुखिकरण गोष्ठी शुक्रबार गढवा ५ बाकी र गढवा ७ मानपुरमा सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय विकास संघद्वारा एकीकृत नक्शांकन र रोगप्रतिरोधात्मक व्यवस्थापन अभियान उपकरण अन्तर्गतकार्यक्रम गर्न लागेको बताईएको छ।सर्वेक्षण हात्तीपाइले रोग (Lymphatic Filariasis) निवारणका लागि विशेष रूपमा डिजाइन गरिएको छ, जसले रोगको प्रभाव मापन, रोकथाम, र व्यवस्थापनका लागि सहायता पुर्याउँछ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सफल भए नभएको तथ्याङ्क संकलन गर्न र हात्तीपाइले रोगको एकिन डाटा संकलन गर्न सर्वे गर्न लागिएको दाङ तुल्सिपुर प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन देविलाल डाँगीले जानकारी दिनुभयो। लगातार अभियान सञ्चालन गरी हात्तीपाइलेको औषधि खुवाइएपछि यसको संक्रमण दर घटेको वा बढेको हो, त्यसको अंकडा पत्ता लगाउनका लागि सर्वेक्षण कार्य गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन कमल चन्द जानकारी दिनुभयो।
हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको उच्चेरिया बाँन्क्रोफ्टी नामक परजीवीबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । ‘हात्तीपाईले रोग लागेका व्यक्ति बाहिरबाट स्वस्थ देखिए पनि रोगको परजीवीले बिस्तारै भित्री अंगलाई क्षति पूर्याउने हुन्छ – फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो।
प्रत्येक वडामा २५ घर परिवारबाट १ सय ५ जनाको रगत परीक्षण गरिने र पहीलो चरणको चेकजाँच दिनमा र पोजिटीभ देखिए रातको समयमा १० बजेदेखि २ बजेसम्म पुनः चेकजाँच गरी कनफर्म गरिने ।१०-२ बजे सम्म रगत निकालेर ल्याब चेकजाँच गरिने तुल्सिपुर प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन देविलाल डाँगीले बताउनुभयो ।
अभिमुखिकरण गोष्ठीमा गढवा गाउँपालिका वडा नम्बर ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ७ नम्बर वडा अध्यक्ष राहुलदेव चौधरी, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन कमल चन्द, तुल्सिपुर प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन देविलाल डाँगी , गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी,चन्दनपुर आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख हरि प्रसाद चौधरी, गंगाप्रसपुर स्वास्थ्य चौकीका प्रमुख ज्ञान कुमार बसेल वडा नम्बर ५ र ७ का वडा सदस्यहरु, नं. ५ का वडा सचिव राम नरेश यादव, ७ का वडा सचिव शिव चरण चौधरी, महिला स्वास्थ्य स्वयं सेविकाहरु, पत्रकार लगाएतकाको सहभागितामा शुक्रबार राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धी IDA IMPACT SURVEY (IIS-I) कार्यक्रमको वडा स्तरीय अभिमुखिकरण गोष्ठी गढवामा सम्पन्न भएको हो।