गढवा-कालाकाटे हुलाकी राजमार्ग निर्माणमा नागरिक अगुवा र कम्पनी बीच सहमति, काम सुचारु गर्ने प्रतिबद्धता”

आलोक भावुक

गढवा, ४ मंसिर । हुलाकी राजमार्ग गढवा कालाकाटेको निर्माणबारे नागरिक अगुवा तथा सरोकारवाला बीच दुई बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

छलफल पछि गढवा कालाकाटे हुलाकी सडक निर्माणको कार्य २०८१ मंसिर ४ गतेदेखि १३ गते भित्र सम्पूर्ण स्रोत साधन परिचालन गरी निर्माण कार्य सुचारु गर्ने भनि निर्माण कम्पनी कान्छाराम बज्रगुरु कन्स्ट्रक्सनको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ।

साथै, बाटो निर्माण कार्य समयमा सम्पन्न नभएको कारण सडकमा धूलो उडेर जनस्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै निर्माण व्यवसायीको तर्फबाट दैनिक दुई पटक सडकमा पानी हाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ। निर्माण व्यवसायीले पानी नहाल्ने भएमा हुलाकी राजमार्ग निर्माण कार्यालय नेपालगन्जबाट ट्याङ्कर ल्याई पानी हाल्ने र सो बाफतको सम्पूर्ण खर्च निर्माण व्यवसायीबाट असुलउपर गर्ने लिखित सहमति पनि भएको छ।

केही दिन पहिले गढवा गाउँपालिका वडा नम्बर ४ का क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले गढवा कालाकाटे हुलाकी राजमार्गको निर्माण कार्य अलपत्र पारी सडकबाट उत्सर्जन हुने धूलोले मानव स्वास्थ्यलाई असर पारेको भन्दै गढवा गाउँपालिकाका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। समयमा सडक निर्माण कार्य सुचारु नगरे र बाटोमा उड्ने धूलो व्यवस्थापनका लागि पानी छर्किने काम नगरे गढवा कालाकाटे हुलाकी सडक अबरुद्ध पार्ने ४ नम्बर वडाका क्रियाशील राजनीतिक दलहरूको साझा धारणा रहेको नेपाली कांग्रेस ४ नम्बर वडा सभापति प्रदिप केसीले जानकारी दिनुभएको छ।

निर्माण व्यवसायीको लापरबाहीका कारण गढवा कालाकाटे हुलाकी सडक अलपत्र परेको छ। दाङको देउखुरीमा रहेको गढवा कालाकाटे हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक तीन वर्षभित्र निर्माण गर्ने गरी २०७६ कात्तिक २९ गते ६५ करोडभन्दा बढीमा ठेक्का सम्झौता भएको थियो।

सम्झौता अनुसार २०७९ कात्तिक मसान्तसम्म सकिनुपर्ने भए पनि कैयौं पटक म्याद थप भए पनि काम हुन सकेको छैन। निर्माण व्यवसायीको लापरवाहीका कारण गढवा कालाकाटे हुलाकाटे सडक आसपासका स्थानीय बासिन्दालाई धूलोको कारण सास्ती भोग्नुपरेको युवा व्यवसायी प्रकाश भण्डारीले बताउनुभएको छ।

केही किलोमिटर मात्र कालोपत्रे गरिएको छ, कतै नाला निर्माण, कतै ग्राभेल गर्ने, कतै ग्राभेल गर्नका लागि गिट्टी थुपार्ने काम गरिएको छ। जसले गर्दा सडकमा खाल्टाखुल्टीसँगै बर्षातमा पानी जम्ने र अन्य समयमा धूलो उड्ने समस्याले यातायातका साधन सञ्चालनदेखि स्थानीयलाई हिँडडुल गर्नसमेत कठिन बनाएको छ, नेपाली कांग्रेस ४ नम्बर सभापति प्रदिप केसीले बताउनुभएको छ।

हुलाकी सडकको २० किलोमिटर सडकमध्ये करिब ३५ प्रतिशत मात्र कालोपत्रे भएको निर्माण कम्पनीले जनाएको छ। स्थानीयलाई दुख दिने मनसाय आफ्ना नभएको तर विभिन्न कारणले सडक निर्माण कार्य ढिलाइ भएको र अबको हप्ता दस दिनमा निर्माण कार्य सुरु गरी सम्पन्न गर्ने र धूलो व्यवस्थापनका लागि दैनिक २ पटक पानी छर्किने काम गर्ने ठेकेदार कम्पनी बज्रगुरु कान्छाराम जेभीले प्रतिबद्धता व्यक्त गरेको छ।

छलफलमा गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ४ नम्बर वडाध्यक्षहरू टुकमान कुँवर, अतिउल्ला मनिहार, हुलाकी राजमार्ग बाँकेका श्रवण कुमार महतारा, इलाका प्रहरी कार्यालय गढवाका बुद्धि प्रसाद राना, नेपाली कांग्रेस ४ नम्बर सभापति प्रदिप केसी, नेकपाका ओम प्रकाश चौधरी, पूर्व ५ नम्बर वडाध्यक्ष प्रकाश भण्डारी, युवा व्यवसायी चित्र बहादुर रावत लगायतको सहभागिता रहेको थियो।

मा प्रकाशित