काठमाडौं,३ मंसिर । धरैजसो सरकारी कर्मचारीहरु आज बिहान कार्यालय प्रस्थान गरिसकेका थिए । कतिपय कार्यालयमै पुगिसकेका थिए । विद्यालयहरु त बिहानैदेखि खुलिरहेकै थिए ।
बैंकलगायतका अन्य निजी तथा सार्वजनिक संस्थाहरु पनि कर्मचारीहरु आउने क्रम जारी थियो । तर, आज बिहान सरकारले एक्कासी देशभर सार्वजनिक बिदा दिने निर्णय गर्यो ।
बिहान नौ बजे बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज एकदिन देशभर सार्वजनिक बिदा दिने भनेर निर्णय गर्यो ।
यो निर्णय सार्वजनिक हुँदा कर्मचारीहरुमा अलमल देखियो । कर्मचारी कार्यालय पुगेर काम सुरु गरिसक्दा सरकारको बिदासम्बन्धी निर्णय सार्वजनिक भएपछि खुलिसकेका कार्यालय बन्द हुन पुगे । आइसकेका कर्मचारीलाई काममा लगाउने कि खुलेका कार्यलय बन्द गरेरै भए पनि सरकारको निर्णय मान्ने भन्ने अन्यौल देखिन्थ्यो ।
अधिकांश निजी विद्यालयहरु भने ढिलो प्राप्त सूचनाका कारण खुलै रहेका छन् ।
सरकारले किन हतार-हतार आजै सार्वजनिक बिदा दिनुपर्यो भन्ने जिज्ञासामा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘हतार नगरी एक घण्टा अगाडि नै सार्वजनिक बिदा दिने निर्णय गरेको’ बताउनु भयो । उहांले भन्रु भयो, ‘हामीले हतार गरेका होइनौं । १० बजे कार्यालय खुल्छन्, हामीले ९ बजे नै निर्णय गरेका छौं नि ।’
विद्यालयमा विद्यार्थीहरु पुगिसकेका थिए । कतिपय सरकारी कर्मचारी कार्यालय पुगेर काम सुरु गरिसकेका थिए । कोही घरबाट कार्यालय जान हिँडिसकेका थिए…।
१० बजे कार्यालय सुरु हुन्छ । हामीले नौ बजे क्याबिनेट बसेर निर्णय गरेका छौं ।
निर्णय ९ बजे गर्नु भयो होला । तर सार्वजनिक त त्यसपछि मात्रै भयो । त्यतिबेला त कतिपय कार्यालय पुगिसकेका थिए । कोही बाटैमा थिए ।
होइन । सरकारले सही दिन र सही समयमा निर्णय गरेको छ ।
कार्यालय जाँदाजाँदै बाटैबाट फर्किनु पर्यो, सरकारको निर्णयले अलमल भयो भन्ने गुनासो गरेका छन् कर्मचारीहरुले ।
अलमलमा पर्नु पर्दैन । सरकारले गरेको निर्णयअनुसार गर्ने हो नि । अनि के उनीहरुका कारण सम्मान नदिने भन्ने कुरा हुन्छ त ?
आजको सट्टा हिजो नै क्याबिनेट बसेर निर्णय गर्न सकिन्थ्यो होला । वा आज बैठक सेर भोलि सार्वजनिक बिदा दिने निर्णय गर्न सकिन्नथ्यो होला ?
हिजो बस्न नसकेर त आज बसेर निर्णय गरियो । सार्वजनिक बिदा दिने चलन नै छ नि ।
राष्ट्रिय सम्मान व्यक्त गर्न सार्वजनिक बिदा दिने चलन ठीक होइन भनेर कतिपयले भन्ने गरेका छन् नि ?
यो भन्ने कुरै होइन । त्यत्रो राष्ट्रिय व्यक्तित्वलाई सम्मान दिनुपर्दैन ? नेपालको संसदीय प्रणालीलाई व्यवस्थित गर्नका लागि उहाँले (दमननाथ ढुंगानाले) निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अनलाइन खबरबाट