गढवा गापा रोजगार संयोजक यादवद्वारा पत्रकार सम्मेलन गरी गलत तथ्यहीन समाचारको खण्डन

कानुनी कारबाहीको माग

श्रवण कुमार यादव

गढवा, २२ कात्तिक । गढवा गाउँपालिकामा कार्यरत रोजगार संयोजक अशोक कुमार यादवले “देउखुरी अपडेट” लगायतका सामाजिक सञ्जालमार्फत आफूविरुद्ध प्रकाशित झूठा समाचारप्रति गम्भीर असन्तोष व्यक्त गर्दै खण्डनसहित कानुनी कारबाहीको माग गरेका छन्। आज एक पत्रकार सम्मेलन गर्दै यादवले आफ्ना विरुद्ध लगाइएका आरोपहरू तथ्यहीन, झूठा, र आधारहीन भएको स्पष्ट पारेका छन्।

यादवले आफ्नो नाम जोडेर मिति २०८१/०७/१४ र १५ गतेका दिन देउखुरी अपडेट, राप्ती देउखुरी चहलपहल, हरेक खबर लुम्बिनी प्रदेश नामक फेसबुक पेज सामाजिक संजाल मार्फत आफुलाई सञ्चारकर्मी भनेर चिनाउने ज्ञानज्योती इङिलस वोर्डिङ स्कुल गढवामा कार्यरत शिक्षक निराजन यादव र गढवा गाँउपालिका वडा नं. १ मा बस्ने सन्देश भण्डारी क्षेत्रीले धानखोला कृषि सहकारी संस्थामा जम्मा गरेको रकम दुरूपयोग गरेको, व्यक्तिगत सम्पती सुदृढिकरण गरेको र आर्थिक घोटाला गरेको भनि आरोप लगाएको बताएका छन्।

झूठा आरोपको खण्डन
देउखुरी अपडेट, राप्ती देउखुरी चहलपहल, हरेक खबर लुम्बिनी प्रदेश नामक फेसबुक पेजहरूले यादव माथि गढवा गाउँपालिका-१ स्थित धानखोला कृषि सहकारी संस्थामा जम्मा गरिएको रकम दुरुपयोग गरेको, व्यक्तिगत सम्पत्ति बृद्धि गरेको र आर्थिक घोटाला गरेको आरोप लगाएका थिए। यादवले यी सबै आरोपहरू आधारहीन भएको भन्दै खण्डन गरेका छन्। उनले भने, “मैले मेराे घर जग्गा सहकारीलाई भाडामा दिएको र कार्यालय सञ्चालन गरिरहेको तथ्य सत्य हो। साथै, सहकारीको दिगो रोजगारी सिर्जनाका लागि च्याउ खेतीको लागि आवश्यक संरचनाहरू निर्माण गरिएको हो, तर कुनै दुरुपयोग नभएको बताए।”

सहकारीको स्थानान्तरणको स्पष्टिकरण
धानखोला कृषि सहकारी संस्थाले कार्यालय स्थानान्तरणको क्रममा आफ्नो संरचना हटाएको विषयमा यादवले थप स्पष्टीकरण दिएका छन्। उनका अनुसार, वडा अध्यक्ष बाबुराम अधिकारी र संस्थापक अध्यक्ष रविदेवी राना मगरको समन्वयमा कार्यालय स्थानान्तरण गरिएको हो, जसमा यादवको कुनै प्रत्यक्ष सहभागिता नरहेको बताएका छन्।

सरकारी योजना र रकम व्यवस्थापनबारे स्पष्टिकरण
यादवले संघीय सांसद मेटमणी चौधरीद्वारा विनियोजित १० लाख रूपैयाँ र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्रदान गरिएको ४ लाख रूपैयाँ कोषसम्बन्धी पनि विस्तृत स्पष्टिकरण दिएका छन्। उनले योजनासम्बन्धी रकम वितरणमा आफूले कुनै व्यक्तिगत फाइदा लिएको नभई सबै प्रक्रियागत कामहरू सहकारी संस्थाको अध्यक्ष र सम्बन्धित वडाका पदाधिकारीहरूकै समन्वयमा सम्पन्न गरिएको बताए।

असत्यको विरोध, कानुनी कारबाहीको माग
यादवले आफ्नो प्रतिष्ठा र ईज्जतमाथि आँच पुर्याउन गलत समाचार प्रकाशन गर्ने व्यक्ति, निराजन यादव र सन्देश भण्डारी क्षेत्रीमाथि कानुनी कारबाहीको माग गरेका छन्। साथै, उनले सहकारीका सदस्यहरूको बचत रकमको दुरुपयोग भएको भए स्वतन्त्र छानबिन गरी कारबाही गर्न अनुरोध गरेका छन्।

पत्रकार सम्मेलनको अन्त्यमा, रोजगार संयोजक यादवले आफू सत्यसँग अडिग रहँदै, देशको कानुन पालना गर्दै राष्ट्रसेवकको जिम्मेवारी इमान्दारीपूर्वक निभाइरहेको बताए। उनले प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय सरकारप्रति आभार व्यक्त गर्दै, सत्यतथ्य बाहिर ल्याउन र कानुनी उपचारको सुनिश्चितता गर्न सम्बन्धित निकायहरूमा अपिल गरेका छन्।
विज्ञप्तीकाे पूर्णपाठ:

मा प्रकाशित