गढवा, १५ भदौ । १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गढवामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।’निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजनामा १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मावि तहका विद्यार्थीको शैक्षिक विकासको लागि पुस्तकालयको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता गढवामा सम्पन्न भएको छ ।
१७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भएको वक्तृत्वकला प्रतियोगितामा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले पछिल्लो पुस्ता पुस्तक भन्दा सामाजिक सञ्जाल तिर बढी केन्द्रित भएको भनादै विद्यार्थी लाई सिमित ज्ञानले मात्र नपुग्ने भएकोले सर्वाङ्गीण विकासको लागि पुस्तकको अध्ययन जरुरी रहेको बताउनुभयो। पछिल्लो पुस्ता पुस्तक भन्दा सामाजिक सञ्जाल तिर बढी आकर्षित हुनु चिन्ताको बिषय भएको बताउनुभयो। विद्यार्थीको शैक्षिक विकासको लागि पुस्तकालयको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीभाई बहिनीहरुले ब्यक्त गरेको भाल व्यवहारमा उतार्न एकदमै आवश्यक रहेको बताउनुभयो। पुस्तकालयमा ज्ञानको खजाना भएको बताउदै अध्यक्ष पोख्रेलले शिक्षक अभिभावक सबैले विद्यार्थीहरुलाई पुस्तकालय गएर पुस्तक पढ्ने बानीको विकास गर्न आवश्यक रहेको बताउनुभयो। विद्यार्थीहरुको सपना साकार पर्ने अन्तिम पाटो भनेकै पुस्तक अध्ययन रहेको बताउदै अध्यक्ष पोख्रेलले बिज्ञान प्रविधिको बढ्दो प्रयोगलाई आवश्यकता अनुसार उपयोग गर्नु पर्ने तर समय खेरा फाल्न नहुने बताउनु भयो ।
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रकी अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
माध्यमिक विद्यालयतहका विद्यार्थीको ‘शैक्षिक विकासको लागि पुस्तकालयको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा देउखुरीका ७ विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागी भएका थिए।
जसमध्ये गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीकी छात्रा सपनाको रिजाल प्रथम, शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलकी छात्रा विद्या यादव, द्वितीय, गोरखा आईडियल लालमटियाका छात्र प्रिन्स बोहरा तृतीय र शंकर माध्यमिक विद्यालय पिपरीका छात्र रमेश सुन्दास सान्त्वना स्थान हासिल गर्नु भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।
वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा गढवा गाउँपालिका शिक्षा शाखा रविलाल माझी, साहित्यकार जगतराम यादव, पुस्तकालयका महेश अधिकारी रहनु भएको थियो ।कार्यक्रममा गढवा गाउँपालिका ६नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, गढवा उद्योग बाणिज्य संघका मधा न्योपाने, साहित्यकार जगतराम यादव लगायतकाले बोल्नु भएको थियो ।
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका उपाध्यक्ष नारायण प्रसाद पण्डितको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्रोत केन्द्रका सचिव तथा पत्रकार शिवराज पन्थीले गर्नु भएको थियो ।