लमही–कोइलाबास सडक क्षेत्रकाे दायाँबायाँ १५/१५ मिटर फराकिलाे बनाउन गढवामा नापजाँच

गणतन्त्रनेपाल समाचारदाता

गढवा, ७ भदाै । दाङकाे लमही–कोइलाबास सडक क्षेत्र फराकिलाे बनाउन सुरु गरिएकाे छ । शुक्रबार गढवा गाउँपालिकाको गढवा बजार, कोइलाबास बजार लगायतका बाटोको बस्ती क्षेत्रमा सडकको दायाँबायाँ १५\१५ मिटर नाप्नेर पुनः जानकारी गराईएको छ।

हुलाकी सडक विस्तार हुंदा सडकको दायाँबायाँ १५\१५ मिटर क्षेत्र सडक क्षेत्रमा पर्नेगरी मुआब्जा वितरण गरिएको थियो ।

शुक्रबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले, ८ नम्बर वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी, ६ नम्बर वडासदस्यहरु दिनामणी आचार्य, गोबिन्द रोका मगर,सडक डिभिजन कार्यालयका कर्मचारी सहित प्रहरी, स्थानीहरूको सहभागितामा सडकको मुख्यभाग बाट १५/१५ मिटर सडक फराकिलो गराउने कार्य सुरु भएको छ।

सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो । साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो ।

हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्ष पछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो । लमही, गढवा बजार क्षेत्रमा सडक क्षेत्र साँघुरो छ । जसले गर्दा बजार राम्रो सँग विस्तार हुन सकेको छैन ।

सडक डिभिजन कार्यालयले संरचना हटेपछि सडक पूर्वाधार निर्माणको लागी काम गर्ने जनाएको छ । लमही–कोइलावास हुलाकी सडक औपचारिकरूपमा नेपाल सरकारलाई वि.सं. २०७७ साल चैत १८ गते हस्तान्तरण गरिएको थियो ।

७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको हो । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ कराेड बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ । तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरुले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् । भने गढवाका नागरिक भने अधिकांशले मुआब्जा बुझेर पनि घर नहटाउदा थप समस्या भएको छ। अब भने मुआब्जा बुझेर बुझेका नागरिकले अनिवार्य मुख्य सडक देखि १५/१५ मिटर सडक दुबै तर्फ खाली गर्नु पर्ने नगरे सम्बन्धीत निकायले डोजर चलाउन सक्ने भएकोले १५/१५ मिटर सडक दुबै तर्फ खाली गर्नु पर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।

मा प्रकाशित