दाङको गढवामा राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न

जनप्रतिनिधि, कर्मचारीले गरे कृषकहरु संगै सामुहिक धान रोपाई

आलोक भावुक

गढवा, १५ असार। दाङकाे गढवा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले २१औं राष्ट्रिय धान दिवसको अवसरमा कृषकहरुको खेतमै पुगेर सामुहिक धान रोपाई गरेका छन्।

“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने मूल नाराका साथ २१औं राष्ट्रिय धान दिवसको अवसरमा गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुरमा सामुहिक धान रोपाई गरिएको हो।

राष्ट्रिय धान दिवसको अवसरमा हरेक बर्ष असार १५ गते किसानलाई कृषि पेसाप्रति थप हाैसला प्रदान गर्न र सबैले कृषि कर्म गर्नु पर्छ भन्ने सन्देश दिन किसान कै खेतमा पुगेल राेपाई गरेर धान दिवस मनाउने गरेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।

२१औं राष्ट्रिय धान दिवस कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि तथा पूर्व संविधान सभा सदस्य योगेन्द्र चौधरीले कृषकहरुको हरेक समस्या समाधान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। नेपाललाई कृषि प्रधान देश भनिएतापनि नेपाल अझै पनि कृषिमा आत्मनिर्भर बन्न नसकेको बताउनुभयो। नेपाल धानमा आत्मनिर्भर बन्नु पर्ने बताउदै त्यसको लागि कृषकहरुको समस्या समाधान गर्दै सरकारले कृषि अझै पनि लगानी बढाउदै लैजानु पर्ने बताउनुभयो। भारतबाट आयत हुने खाद्यन्न बालीहरु धान, चामल, मकै वर्षेनी रुपमा बढ्दो क्रममा रहेकोले त्यसलाई कम गरि कृषि उत्पादनलाई बढाउने तर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभयो।

राष्ट्रिय धान दिवसको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले खाद्यान्न बालीमध्ये एक मानिने धानको उत्पादन बढाउन र किसानहरुलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नको लागि नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवसको रुपमा असार १५ गतेको दिनलाई मनाउने गरिएको बताउनु भयो ।गढवा गाउँपालिकाले हरेक बर्ष कृषिमा ठुलो लगानी गर्दै कृषकहरुको जिवनस्तर उकास्न हस सम्भव प्रयास गरेको बताउनु भयो ।पछिल्लो समय गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि किसानहरु मिनी टेलर हलो अर्थात् हाते ट्याक्टरप्रति आकर्षित हुन थालेपछि गाउँपालिकाले हरेक बर्ष मिनिटिलर वितरण गरी कृषिमै सहजता ल्याउन ठुलो कार्य गर्दै आएको बताउनु भयो । धानमा आत्मनिर्भर हुन आवश्यक रहेको बताउदै उपाध्यक्ष चौधरीले स्थानीय सरकारले कृषकलाई कृषि मै आत्मनिर्भर बनाउन सहयोग गर्नु पर्ने बताउनुभयो।

राष्ट्रिय धान दिवस कार्यक्रम गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा तथा गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेका लालीगुराँस कृषक समूह, संगत कृषक समूह र सुर्यमुखी कृषक समुहको समन्वयमा सम्पन्न भएको हो।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिभगत चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

२१ औ राष्ट्रिय धान दिवस कार्यक्रममा पालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, कृषि विकास शाखाका प्रमुख कर्ताराम यादव, ४ नम्बर वडामा रहेका बिभिन्न कृषक समूहका अध्यक्ष तथा प्रतिनिधि, महिला उद्धमी समूहका महिलाहरु, गढवा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु गरी करिव १ सय ५० जनाको सहभागिता रहेको थियो।

मा प्रकाशित