गढवा, २८ जेठ। गढवा गाउँपालिका गाउँसभाको १५औं अधिबेशन सोमबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आर्थिक वर्ष २०८१/०८२को नीती कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।
गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, सुशासन, वन तथि वातावरणमा बिशेष ध्यान दिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षा तर्फ भौगोलिक विकटताका कारण विद्यालय छाड्ने साथै असहाय, फरक क्षमता भएका विद्यार्थीहरुका लागि आवाशको व्यवस्थापन गरिने, प्रविधिको पहुच नपुगेका सामुदायिक विद्यालयहरुमा ICT जडान तथा तालिम सञ्चालन, शैक्षिक संरचनाहरु वालमैत्री अपाङ्गमैत्री र लैङ्गिकमैत्री बनाउने, शिक्षालाई व्यवहार संग जोड्न जिवनोपगी सीप, स्थानीय शिक्षा पाठ्यक्रम तथा अतिरीक्त कृयाकलाप सञ्चालन गर्ने, धार्मिक विद्यालय संरक्षण गर्ने, माध्यामिक तथा आधारभूत तहमा बिषयगत शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलान गरिने, बिद्यालयहरुमा नियमित अनुगमन लगायतको बिषयबस्तुलाई प्रथामिक्ताका साथ नीति तथा कार्यक्रममा समाबेश गरेको बताउनु भयो ।
त्यसैगरी स्वास्थ्य तर्फ नागरिकहरुलाई मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निशुल्क जांचको प्रवन्ध मिलाउने आर्थिक रुपमा अति बिपन्न गाउँपालिकाबासीहरुलाई अस्पताल सम्म ल्याउन लैजान निशुल्क एम्बुलेन्स सेवा दिने, सिमान्तकृत, गरिव तथा पछाडी परेका समुदायलाई निशुल्क स्वास्थ्य वीमा गरिने, मानसिक रोगबाट पिडित मनोपरामर्श तथा उपचारमा सहुलियतको व्यवस्था गर्ने, मोतिबिन्दुको निशुल्क उपचार, जटिल रोगको पहिचान र निदान, सिकलसेल न्युनिकरण तथा स्क्रिनिङलाई प्रथामिक्ता दिने, सर्पदंशको स्तरोन्नति गर्दै सर्पदंशका विरामीहरुको उपचार संगसंगै रेबिज विरुद्धको उपचार सेवा थप गरिने, सर्पदंश उपचार केन्द्रमा मेडिकल अधिकृतको साथै दक्ष जनशक्तिको व्यवस्थापन गर्ने, विपन्न नागरिकको स्वास्थ्य वीमा निशुल्क गर्ने, सुत्केरी पोषण भत्तालाई निरन्तरता दिदै होम डेलीभरीलाई शुन्यमा झार्ने, गढवा स्वास्थ्य चौकीबाट इमर्जेन्सी सेवा सञ्चालन गर्ने, गोबरडिहा आयुर्वेद औषधालयको स्तरोन्नति गरी आयुर्वेद, होमियोप्याथी, योग, प्राकृतिक चिकित्सा प्रणाली, अक्यूपन्चर, अक्यूप्रेसर आदी उपचार पद्धतिमा जोड दिईने नीति तथा कार्यक्रम समाबेश गरिएको छ।
त्यसैगरी गढवा गाउँपालिकालाई सेरामिक हबको रुपमा विकाश गर्ने, कोइलाबासलाई गाउँपालिकाको मुख्य प्रयटकीय गन्तव्यको रुपमा विकाश गरिने, गाउँपालिकामा स्थापना भएका सबै उद्योगहरुलाई संरक्षण गर्ने, औद्योगिक ग्राम स्थापना गर्ने, गढवा गाउँपालिकाको मुख्य चोक तथा प्रवेशद्वारमा पर्यटकिय क्षेत्रको परिचय सहित पर्यटक आकर्षित गर्न डिजिटल डिस्प्लेपोर्ड राखिने नीती तथा कार्यक्रममा समावेश गरी पहिलो प्रथामिक्तामा राखेको छ।
त्यसैगरी परम्परागत रुपमा रहेका भाषा, कला संस्कृति र भेषभुसाको खोज तथि अनुसन्धान गरिने, युवालाई दुव्यसनिबाट मुक्त गराउन पुनर्स्थापना केन्द्र स्थापना गरी सञ्चालन गर्ने, एक वडा एक व्यायाम शालाको निर्माण गरी स्वस्थ्य नागरिक अभियान सञ्चालन गरिने,परम्परागत पेशालाई व्यवसायिक उद्यमको रुपमा विकास गर्न पुँजी लगानी गर्ने, सबै हिंसा विरुद्ध शुन्य सहनशिलता, पारिवारिक हिंसाद्वारा पिडितको संरक्षणको लागि कार्यक्रम सञ्चालन गरिने, सामाजिक न्याय कोष स्थापना गरिने, शहिद, बेपत्ता परिवार तथा घाइते अपाङ्गहरुलाई जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिने, सार्वजनिक कार्य तथा कार्यक्रमहरु लैङ्गिक समानता तथा सामाजिक समाबेसीकरण मैत्री बनाईने निति तथा कार्यक्रममा समावेश गरिएको छ।
त्यसैगरी कृषि तथा पशुपालन तर्फ बाख्रा पालन पकेट क्षेत्र स्थापना गरी व्यवसायीकरणमा जोड दिईने, कृषि र पशुको बजारीकरण व्यवस्थित गर्न कृषि उपज संकलन तथा बिक्री केन्द्र सहितको हाट बजार सञ्चालन गरिने, कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कृषकलाई सम्मान र पुरस्कृत गरिने, रासायनिक मलको सट्टा प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा प्रोत्साहित गरिने, खेतीयोग्य जमिनमा गैर कृषिजन्य गर्न रोक लगाउने, जग्गा भाडामा लिई खेती गर्ने किसानलाई करार खेतीमा प्रोत्साहित गरिने लगाएतका बिषयबस्तुलाई पहिलो प्रथामिक्तामा राखेको छ।
गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो गाउँसभामा प्रमुख प्रशासकीय अम्मरराज शर्मा, पालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी, पालिकाका वडा नम्बर १ देखि वडा नम्बर ८ सम्मका वडा अध्यक्षहरु बाबुराम अधिकारी, भक्तु चौधरी, तुल्सीराम अधिकारी, हरिभगत चौधरी, लेखराज थापा, बिर बहादुर आले मगर, कार्यबाहक अध्यक्ष महेन्द्र प्रसाद चौधरी, अब्दुल खालिक सिद्दिकीको सहभागिता रहेको थियो ।
त्यसैगरी कार्यपालिका सदस्यहरु, चन्द्रा केसी, रमा भण्डारी लगाएतको सहभागिता रहेको थियो। त्यसैगरी लेखा सहायक दानबिर चौधरी, आलेप कृष्ण आचार्य, , वडा सदस्यहरु, गाउँपालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरु, कर्मचारी, प्रेस संयोजक लगायतको उपस्थिति रहेको थियो ।