‘आर्टिकल-15’ र दलित नायक

विचार

प्रभाष

कुनै कुनै फिल्म यस्ता हुन्छन् जसमा नायकभन्दा सह-नायककाे माया बढी लाग्छ। नायकभन्दा सह-नायकप्रति बढी लगाव बन्न पुग्छ। कुनै कुनै सह-नायककाे चरित्र यस्ताे हुन्छ जसले नायकले भन्दा बढी हाम्राे ध्यान खिँच्छ। त्याे चरित्र हामीलाई नायकभन्दा बढी प्रभावशाली र यादगार लाग्छ। नायकभन्दा धेरै आत्मीय वा आफ्नाे लाग्छ। ‘आर्टिकल-१५’ काे निषाद मेराे लागि यस्तै चरित्र हाे।

निषाद बहुजन आन्दोलनकाे नायक हाे। प्राविधिक रुपले (सिनेमाकाे फर्म्याट अनुसार) अयान रँजन फिल्मकाे नायक हाेला। किनभने फिल्मकाे केन्द्रमा उहीँ छ, स्क्रीनस्पेश पनि उसैले अत्याधिक पाएकाे छ। तर फिल्मकाे विचारधाराकाे दृष्टिकोणले हेर्दा यस फिल्मकाे नायक निषाद हाे। अयान रंजन यस फिल्मकाे ‘प्राविधिक’ नायक हाे, निषाद यस फिल्मकाे ‘वैचारिक’ नायक हाे। त्यसैले, यस फिल्मकाे वास्तविक नायक पनि निषाद नै हाे।

फिल्ममा देखाइएअनुसार निषाद बहुजन-दलित सङ्घर्ष वा आन्दोलनकाे याेद्धा हाे जाे आफ्नाे समाजका मानिसहरुलाई राज्य/सरकारबाट जन (जनता/नागरिक) काे दर्जा दिलाउन आन्दोलनरत छन्। उनी भन्छन्, ‘हामीलाई कहिले हरिजन बनाइयाे, कहिले बहुजन बनाइयाे तर जन कहिल्यै बनाइएन। यस देशकाे जन-गण-मनमा हाम्राे पनि गणना हाेस्। हामी याे चाहन्छाैं।’

निषाद अम्बेडकरकाे राजनीतिक शिक्षाद्वारा आलाेकित छन्। त्यसैले वैचारिक रुपमा उनी स्पष्ट र ढृढनिश्चयी छन्। उनी एक स्पष्टवक्ता हुन्। उनी स्पष्टसँग, ढृढतापूर्वक र प्रखर ढँगले आफ्नाे कुरा राख्छन्। अयान रंजनलाई एउटा दृष्यमा उनी स्पष्टसँग बताउँछन् कि हामी सँविधानलाई सम्मान, सँरक्षण र विश्वास गर्छाैै तर यदि सँविधानले हाम्राे हक-हितकाे पक्षमा काम गरेन भने, हाम्राे हक-हितलाई सुनिश्चित गर्न सकेन भने हामी त्यसलाई जलाउन पनि हिच्किचाउने छैनाैं। किनभने, बाबा साहेब अम्बेडकरले पनि भन्नुभएकाे थियाे, ‘यदि मैले बनाएकाे सँविधानले मेराे समाजकाे हित गरेन भने म त्यसलाई जलाउने पहिलाे व्यक्ति हुनेछु।’

निषाद भूमिगत जीवन बिताइरहेका छन् र भूमिगत रहेर आफ्नो आन्दोलन वा सङ्घर्षलाई अगाडि बढाइरहेका छन्। उनकाे प्रहारकाे निशानामा संविधानमाथि खेलवाड गर्ने जातिवादी राज्यसत्ता र परिपाटीका परिपालकहरु मात्र छैनन्, बहुजन-दलितकाे नाममा बहुजन-दलित समाजलाई गुमराह गरेर ब्राम्हणवादी शक्ति/पार्टीसँग चुनावमा साँठगाँठ गरि सत्तामा पुग्ने अनि बहुजन-दलित समाजलाई धाेका दिने कथित बहुजन-दलित राजनीतिकर्मी र राजनीतिक दल पनि छन्। निषाद बहिंगम ढँगले साेच्छ।

फिल्ममा ब्राम्हणवादी जातिवाद र बहुजन-दलित आन्दोलन वा अम्बेडकराइड मुभमेन्ट बीचकाे अंडरकरेन्ट कंफ्लिक्ट (भित्रभित्रै चलिरहेको द्वन्द्ध) लाई पनि रेखाङ्कन गरिएकाे छ। अनि बहुजन-दलित आन्दोलन वा अम्बेडकराइड मुभमेन्टले अहिँसात्मक-शान्तिपूर्ण आन्दोलनबाट मात्र आफ्नाे लक्ष्य भेद्न सक्छ भन्ने सुझाव पनि दिइएकाे छ।

फिल्ममा निषादकाे चरित्र छाेटाे छ तर फिल्मकाे वैचारिकी यही चरित्रले बाेक्छ। यहाँनेर भनिरहनु नपर्ला निषादकाे याे चरित्र भीम आर्मी चिफ चन्द्रशेखर आजाद ‘रावण’ बाट प्रेरित छ तर फराकिलाे अर्थबाट हेर्दा बहुजन-दलित आन्दोलन वा अम्बेडकराइड मुभमेन्टमा सामेल भएका जाे काेही पनि ‘निषाद’ हुन सक्छ जाे अम्बेडकरकाे ‘शिक्षित बन, सँगठित बन र सङ्घर्ष गर’ काे मूलमन्त्र बाेकेर सङ्घर्षकाे बाटाेमा हिँडिरहेकाे छ।

अन्तिममा एउटा कुरा बताउँछु, अनुभव सिन्हा र गाैरव साेलंकीले यसपटक सवर्ण मानिसहरुलाई उनीहरुकै प्रतिनिधि पात्रकाे माध्यमबाट (नजरबाट) जातिवादी समाजकाे वास्तविकतालाई देखाउन याे फिल्म बनाएकाे, त्यसैले दलित उत्पीडनलाई देखाउने फिल्ममा ब्राम्हण नायक राख्नुपरेकाे किनभने सवर्ण-ब्राम्हणहरुकाे आँखा खाेल्ने उद्देश्यले नै याे फिल्म बनाएकाेले यसकाे नायक ब्राम्हण हुनु अपरिहार्य भएकाे भन्ने स्पष्टीकरण दिए पनि वास्तविक जीवनमा चाहिँ के कुरा स्पष्ट छ भने दलितहरुकाे मुक्ति निषादहरुकाे सँगठित सङ्घर्षबाट नै सँभव छ। अयान रंजन जस्ताे कुनै सवर्ण उद्धारक वा मुक्तिदाताले दलितहरुमाथि दया गरेर, दलितहरुलाई बचाएर र न्याय दिलाएर दलितहरु मुक्त हुने छैनन्। दलितहरुकाे नायक त्यही समाजबाट जन्मिनुपर्छ। यसकारण, दलितहरुकाे नायक निषादहरु नै हुनुपर्छ, कुनै अयान रंजन हाेइन। दलितहरुलाई अयान रंजनजस्ता नायकहरु थाेप्ने र सामाजिक समरसता खाेज्ने कुरा अबकाे युगमा सुहाउँदैन। याे ‘ट्याक्टिस’ अब असान्दर्भिक भइसक्याे।

यदि भविष्यमा अनुभव सिन्हा र गाैरव साेलंकीले ‘आर्टिकल-१५’ काे कथालाई अघि बढाउने वा गहिराइतिर लैजाने हाे भने त्याे कथाकाे केन्द्रमा निषादहरु नै हुनुपर्छ, अयान रंजनहरु हाेइन। त्याे फिल्मकाे नायक पनि निषादहरु नै हुनुपर्छ, अयान रंजनहरु हाेइन।

सारमा, दलितहरुकाे लडाइँ ब्राम्हणहरुले लडिदिएर, ब्राम्हणहरुले नै उनीहरुलाई न्याय दिलाइदिएर उनीहरुकाे लडाइँमा ब्राम्हण पात्रहरुकाे नायकत्व स्थापित गर्ने र दलितहरुले चाहिँ आफुहरुलाई कमजाेर र निरीह ठानेर कुनै मुक्तिदातालाई पर्खिरहने, आफुहरुलाई उद्धार गर्ने कुनै नायककाे आशा गरेर बसिरहने, नायकलाई पर्खेर बसिरहने सिद्धान्त, मान्यता वा भाष्यलाई अब बदल्नुपर्छ। भनाई नै छ नि, ‘जुन समाजले नायक खाेज्छ, त्याे समाज अभागी हुन्छ।’ नायक खाेज्ने समाज अभागी हुन्छ।

आजकाे युगमा उत्पीडित वर्ग/समाज आफ्नाे नायक आफै हाे। ऊ आफ्नाे नायक आफै बन्नुपर्छ। एकजुट भएर, सँगठित सङ्घर्षद्वारा आफ्नाे समाजकाे (सामुहिक) अवस्थालाई बदल्ने प्रयत्न गर्नुपर्छ। त्यसका लागि निषादजस्ता समाजकाे न्याय र परिवर्तनकाे लागि लड्ने हुटहुटी भएका व्यक्तिहरु धेरैभन्दा धेरै सँख्यामा बहुजन-दलित समाजभित्र जन्मिनुपर्छ। अनि, सँगठित सङ्घर्षद्वारा आफ्नाे मुक्तिकाे मार्गलाई प्रशस्त गर्नुपर्छ। राजनीति र समाजमा नायक खाेज्ने प्रवृत्तिलाई देखाउन छाेडेर दलित पात्रहरुले आफ्नाे नायक आफै बन्न पहलकदमी गर्ने लाइनबाट भविष्यकाे ‘आर्टिकल-१५’ हरु बन्नुपर्छ।

चन्द्रशेखर आजाद ‘रावण’ एउटा उदाहरण हाे जसले वर्तमान समाज-राजनीतिमा दलित युवाहरुकाे राजनीति र आन्दोलनकाे प्रतिनिधित्व गर्दछ। गुजरातकाे दलित विधायक जिग्नेश मेवानी बहुजन-दलित आन्दोलनकाे अर्काे अनुहार हाे। उनीहरु यस प्रश्नका जिउँदाजाग्दा जवाफ हुन् कि लडाइँ जसकाे हाे, अगुवाई उसैकाे हुनुपर्छ। दलितकाे हकअधिकार र न्यायकाे लडाइँकाे नायक दलित नै हुनुपर्छ, सवर्ण हाेइन। याे राजनीतिक सङ्घर्षकाे नयाँ (क्रान्तिकारी) भाष्य हाे।

हिन्दी सिनेमामा दलित नायक, नेतृत्व र उनीहरुका कथा मूलधारकाे हिस्सा बन्दैन। ‘आर्टिकल-१५’ मा दलितहरुकाे कथा मूलधारकाे हिस्सा बन्याे तर नायक ब्राम्हण नै रहे। तर सह-नायककाे रुपमा अर्काे दलित नायकलाई खडा नगरि याे फिल्मकाे कथा अघि बढ्न सकेन अथवा कथाले ‘प्रामाणिकता’ पाउन सकेन।

त्यसैले, यस फिल्मका लेखकहरु दलित नायक (निषाद) लाई रच्न बाध्य भए। याे दलितहरुकाे शक्ति हाे। फिल्ममा साे दलित नायक फिल्मकाे परिधिमा भए पनि फिल्मकाे विचारधाराकाे केन्द्रमा उहीँ थियाे। यसले अब नायकत्वकाे केन्द्र दलितहरुतर्फ सरिरहेकाे सङ्केत गर्छ। कुनै पनि फिल्ममा विचारधारा वा वैचारिक पक्ष नै सबैभन्दा प्रधान हुन्छ।

किनभने फिल्म हेर्दा दर्शकहरुलाई सबैभन्दा पहिले यसकाे बिषयवस्तु वा विचारधारा (फिल्ममा अन्तर्निहित विचार वा फिल्मले दिन खाेजेकाे सन्देश) ले सबभन्दा पहिले र सबभन्दा बढी प्रभाव पार्ने गर्छ। बाँकी पक्ष त्यसपछि मात्र आउने गर्छ। विचारधाराकाे हिसाबले निषाद नै यस फिल्मकाे नायक हाे।

त्यसैले यही पात्र दर्शकहरुकाे मनमस्तिष्कमा बसेकाे छ। यही पात्र यादगार छ। यसले पनि इङ्गित गर्छ कि भविष्यकाे नेतृत्व संभवत: सवर्ण वा ब्राह्मण हुने छैन। भविष्यकाे नायक सहरी र सवर्ण हुनेछैन। (हुनु पनि हुँदैन)।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID