लेखक : सगुन मल्ल
गुल्मी ठुलाघरे ठकुरी भनेर चिनिन्थ्यो हाम्रो घर लाई ।सबैले मुखिया बा भनेर मान्ने गर्थे रे अफसोच ६० बर्षको अल्पायुमै हजुरबुवाको देहान्त भएपछी परिवारको जिम्मेवारी मेरो बाबा कृष्णवम मल्लको काधमा आयो।
२०६२ साल साउन १० गते जब मेरो ममिको उपचारको लागि बाबा ले ममिलाइ लिएर बुटवल जानू भयो घरमा म र हजुर आमा मात्र थियौ।हजुरबुबा पहिले नै बित्नु भएको र अन्कल अलग भै सक्नु भएको थियो।उक्तदिन मसल्धारे पानी अनि आकास मा चट्याङ परिरहेको थियो।
जति जति चट्याङ पर्थ्यो म हजराअमाको काखमा डराउदै लुट्पुटिन्थे।म ५ बर्षकि थिए ।बिहानै जानुभएको बाबा ममिको अत्यासले मैले हजुरआमालाइ बाबा ममि कतिबेला आउनुहुन्छ भन्दै सोधिरहन्थे आमा छिटै आउछ्न तिमि खाना खाउ सुत तिमी उठ्दा बाबा ममि आउछ्न भनेर सुताउनु भयो।राती खबर आएछ गुल्मि शान्तिपुर देखी बुटवलको लागी छुटेको जिप पाल्पाको दोभान नजिक तिनाउ नदिमा खस्यो सबै यात्रुको मृत्यु भनेर।हाम्रो गाउबाट एकमात्र गाडी छुट्थ्यो त्यै जिपमा मेरो बाबा ममि सवार हुनुहुन्थ्यो ।
घरमा रुवाबासी चलेछ म त बाबा ममि आउने आसमा सुतेकै थिए।अर्को दिन उठे घरभरी मान्छे कोहि रुदै कोहि सम्झाउदै।मलाइ अङाल्दै हजुर आमा बेस्सरी रुनु भयो। म अबोध लाइ के थाहा मैले अब कहिल्लै नभेट्ने गरि बाबा आमा गुमाए भन्ने कुरा।केही समय पछि गाडिबाट दुई ओटा मान्छे सुतेका जस्ता फलाम को बेड मा झार्नु भयो सबै चिच्चाउदै त्यै ठाउँ लाइ घेरे।म अबोध लाई के थाहा ति मेरा बाबा ममि हुन भन्ने।केही समय पछि मलाइ देखाउनु भयो मैले अहिले सम्झदा पनि मुटु काप्छ खै के गरे थाहा छैन पछि म बेहोस भएछु।केही समयपछी खोला मा लगिएछ अन्तिम दाह संस्कारको लागि।
अन्कल सेतो कपडा मा खोलाबाट आउनु भो मेरो बाबा ममि लाई कहाँ लगेर छोड्नु भो भन्दै सोधेछु तर आज सम्म उत्तर पाएको छैन।नियतिले मलाइ टुहुरी बनाएको हेक्का समेत पाइन।१३दिन को सम्पूर्ण कर्म पछि घर शुन्य भयो।
आफन्त,इस्टमित्र सबै फर्किनु भयो। बाबा ममिको बिनाको म खै कसरी बिताए ती ३/४ बर्ष पत्तो पाइन।स्कुल जान्थे स्कुलमा साथी हरुले बाउ आमा टोकुवाइ केटि भनेर गिज्जाउथे घर आएर हजुर आमा लाइ सुनाउथे हजुरआमा रुनु हुन्थ्यो।साथीको घर खेल्न जादा उनिहरुका बाउ आमाले यो त अलक्छिनी हो यस्ले त बाउ आमा खाइ यो सग नखेल भन्दै आफ्ना छोरा छोरिलाइ भित्र हुलेर बाहिर बाट मलाइ ढोका लगाइ दिन्थे अनि म रुदै घर आउथे।
समय बित्दै गयो मैले कक्षा ६ को परिक्षा दिएर बसेको थिए।बुटवल देखि मलाइ भेट्न माइलो मामा हाम्रो घर आउनु भयो।आउदा मलाइ कपडा अनि मिठाई ल्याइदिनु भएको रहेछ म खुसिले फुरुङ्ग भए।हजुरआमाले मेरो मामा सग गुनासो गर्नु भएछ अब म पनि बुढी हुँदै गए यो नातिनिको पिर छ।म मरेपछी कसले पाल्ला भनेर।
अनि हजुर आमा सग सल्लाह गरेर मामाले मलाइ बुटवल लग्ने निर्णय गर्नु भएछ।मामाले बुटवल लिएर जाने भएपछी म खुसी नै भए तर मलाइ पालन पोषण गर्ने हजुरआमालाइ छोडेर जाँदै गर्दा मन धेरै पिडाले भरिएको थियो।गाउँमा स्कुल टाढा भएपनि मेरो पढाइ अब्बल नै थियो यसैले उमेर पनि पुगेको र कभर गर्न सक्ने देखेर मामाले कक्षा ७ नपढी ८ मा भर्ना गरिदिनु भयो।समय बित्दै गयो बुटवल पनि मैले मेरो गाउको जस्तै रुढीबादी सोच र परम्परागत बिचार प्रसस्त भेटे अनि भोगे।मामा घर को बसाइ सधै उस्तै र उहीँ हुन्छ भन्ने थिएन उतार चढाब आइ रहे ।
त्यसैबिच मैले कक्षा १० को पढाइ सके अनि 11/12 पढ्न को लागि के गर्ने पढ्ने कि नपढी बस्ने भन्ने सोचे तर मामा हरुको साथको कारण मैले 11/12 मा बायोलोजी लिएर अक्सफोर्ड कलेज मा निशुल्क छात्रवृत्ति को लागि निवेदन दिए सौभाग्यवस मेरो नाम निस्कियो अब मैले 11/12 निशुल्क पढ्न पाउने भए।त्यो अवधिमा थुप्रै बाधा व्यबधान हरु आइ रहे कहिले खुसी कहिले आँसु कहिले हासो कहिले रोदन सङ्गै २ बर्ष अक्सफोर्ड मा गुजारे राम्रै अन्क प्राप्त गरेको कारण सर हरुले तिमी एमबिबिस पढ।
एन्ट्रान्स प्रीपेरेसन क्लास लेउ काठमाडौ गएर भनेर सुझाव दिनु भयो मैले झलक्क मेरि आमालाइ सम्झे यदि गाउमै मेरि आमाको उपचार हुन्थ्यो भने टाढा उपचार गर्न जानू पर्ने थिएन र आज म आमा मात्र होइन बुवा गुमाउन पर्ने थिएन।आज मेरो खुसि कहाँ छ थाहा छैन त्यो खुसी कहिल्लै फर्किन्न भन्ने थाहा हुदाहुदै अझै मेरो बाबा ममि आउनु हुन्छ कि जस्तो लाग्छ।सर हरुको सुझाव मैले मामा सग भने मामाले कसरी सकिन्छ र खै त्यती महङ्गो खर्छ लाग्छ भन्नू भो मैले एमबिबिएस को तयारी गरेर डाक्टर बन्ने सोच मारिदिए।
पछि फेरि मामाले भन्नू भो जाउ प्रयास गर कतै फेरि छात्रवृत्ति मा नाम निस्क्यो भने राम्रो हुन्छ जाउ काठमाडौ भनेर ठूलो मामाको छोरि र मलाइ काठमाडौ पठाउनु भयो।मैले सक्दो कोसिस गरे तर एमबीबीएस मा सफल हुन सकिन पछि नर्सको लागी परिक्षा दिए नाम निस्क्यो अहिले नर्सिङ पढाइको अन्तिम बिन्दुमा छु।समय बित्यो गाउमा हजुर आमापनि बित्नु भो ।
म जति पीडा भएपनि बाहिर देखाएर हिडिन नर्स पढदै थिए गाउको बाबाको नाममा आउने जग्गा आफ्नो नाम मा गराउन पर्ने ठानी मामा र म गाउँ गयौ तर गाउँमा मेरो मृत्यु भैसकेको मृत्यु दर्ता वडा कार्यालय मा दर्ता रहेछ।
हामी अचम्म मा पर्यौ कहाँ किन कसले यस्तो गर्यो भनेर बुझ्दा आफ्नै बाबाको सहोदर भाइ अन्कल ले मेरो मृत्यु दर्ता गरेर बाबाको सम्पती आफ्नो नाममा गराइसक्नु भएछ।हामी एकदमै पीडा बोधका साथ बुटवल फर्कियौ।बुटवलको बाबाको नामको जग्गा भने मेरै नाममा आइसकेको थियो।गाउँको भने हजुर आमाको नामको भएको हुनाले बाबाको नाममा सारेर मात्र मेरो नाममा आउथ्यो तर हामी सबै लाइ मारेर अन्कल ले आफ्नो बनाउनु भएपछी हामिले जिल्ला अदालत गुल्मि र उच्च अदालत दाङमा मुद्दा दायर गर्यौ।
करिब 6 बर्ष पछि उक्त मुद्दा मेरो पक्षमा फैसला भयो।अहिले जुन ठाउँमा छु त्यो मेरो बाबा आमा भै दिएको भए मैले गुनासो गर्ने थिए होला मलाइ छोडेर एक्लै जानू भो है भनेर त्यस दिन मलाइ पनि लगेर गएको भए म पनि हजुर हरु सङै पाल्पा तिनाउ नदिमा खस्थे जि बाबा अनि ममि सङ्गै हजुरहरु सङ्गै स्वर्गिय हुन्थे।कसैले बाउ आमा टोकुवाइ अलछिनि त भन्ने थिएनन नि।घटना गाउँमा नहोस,म जस्तो टुहुरा कोहि नबनुन भनेर नेपालमै बस्ने लक्ष्य राखेको छु ! भनिन्छ नि आफ्नो मान्छे जति लुच्चा र स्वार्थी कोहि हुन्न्न ! मेरो अंकलले जाबो भौतिक सम्पत्तिको निमित्त मेरो मृत्यु दर्ता बनाएर लिनुभएछ ! यहाँ भन्दा निर्किष्ट के हुन्छ ? मेरो मृत्यु ?म भक्कानिए ,धेरै रोए अनि सोचे यो संसार दुनिया स्वार्थ नै स्वार्थको रैछ ती निस्वार्थ भनेको मेरो भगवान बाबाआमा रैछ्न ,जुन मैले सानोमै गुमाए !
दिमागी रिलको भावुक अंशहरू खोतत्लिन थाल्छन्, पुराना नमिठा यादहरू । न ती यादहरू पानीमा बगाउन मिल्छ, न आगोमा जलाउन । याद आउँछन्, मलाई सोला हान्छन्, पीडा थप्छन् ।जतिजति दिन बित्दै गइरहेका छन्, जति मेरो उमेर बढ्दै गइरहेको छ, यादहरूले झन्–झन् ताजा भएर मुटुमा सोला हानिरहन्छन् । साँच्ची भनूँ भने यो दुनियाँमा वेदना भन्नका लागि कुनै भाषा हुँदैन ।जीवित प्राण।अनि यो मायाको झुटो सन्सार पनि त देख्नु भोग्नु पर्ने थिएन । कसलाइ गुनासो गरु मेरो गुनासो कसले सुनिदिन्छ र…..?
लेखक मल्ल युनिभर्सल कलेज भैरहवामा इन्टर्नशिपमा कार्यरत हुनु हुन्छ।
sagunmalla12@gmail.com