गढवा, ८ जेठ। दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको कृषि सामाग्री पाएका हुन्। कृषकहरुलाई लाखौ मुल्य बराबरको सिचाई उपहार कोष सामाग्री वितरण कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको हो ।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाको आयोजना तथा हेफर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा नौ लाख रुपैयाँ बराबरको सिचाई सामाग्री वितरण गरिएको छ।
सिचाई सामाग्री वितरण कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हेफर प्रोजेक्ट नेपाल संगको साझेदारी गर्नुको मुख्य कारण कृषि तथा पशु विकासमा आधारित सामुहिक उत्पादन/व्यवसायिक र महिला शसक्तिकरणको क्षेत्रमा मुख्यगरी काम गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको बताउनुभयो। उत्पादन संगसगै चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको बताउदै अध्यक्ष पोख्रेलले परम्परागत रुपमा पाल्दै आएको बाख्रा र भैंसी पालनलाई व्यवस्थित ढंगले अघि बढाउने र सामूहिक बजारीकरण गर्ने कार्य सुरु गरेको बताउनु भयो। परियोजना मार्फत कसरी व्यवसायिक बन्ने बारे बाटो देखाउने कार्य परियोजनाले गर्ने बताउनु भयो । तरकारी व्यवसायलाई प्रभावकारी ढंगले अघि बढाउन सिचाई नभई नहुने भएकोले सिचाई सामाग्री वितरण गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
सिचाई सामाग्री वितरण कार्यक्रममा बोल्दै ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले आत्मनिर्भर बन्न कृषकहरु उत्पादनमा जोडदिनु पर्ने बताउनुभयो ।उत्पादन प्रयाप्त नभए सम्म आम्दानी नबढ्ने भन्दै वडाध्यक्ष थापाले आम्दानी बृद्धि गर्न उत्पादनमा जोडदिनु पर्ने बताउनुभयो । उत्पादन र बजारीकरण भए आर्थिक समृद्धीको दिशामा कार्यक्रम अघि बढ्ने बताउनुभयो।
सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाद्वारा गठित वडा नम्बर ७ र ५ का महिला कृषक समूहहरुलाई सिचाई सामाग्री वितरण गरिएको हो ।
कृषि तथा पशुवस्तुको मूल्य श्रृंखलामा आधारित नविनतम विकास परियोजना (IALVC) अन्तर्गत सिचाई सामाग्री वितरण गरिएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष शोभा रावत क्षेत्रीले जानकारी दिनुभयो।
गढवा गाउँपालिका वडा नम्बर ५ र वडा वडा नम्बर ७ का ५५ जना किसानले आवश्यकताको आधारमा २ इन्चको बोरिङ्ग, पम्प सेट, मोटर, डेलीभरी पाईप, ह्याण्ड पम्प लगाएतको सिचाई उपहार कोष सामाग्री वितरण गरिएको अध्यक्ष रावत क्षेत्रीले जानकारी दिनुभयो।
कार्यक्रममा गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष शोभा रावत क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ५का वडाध्यक्ष लेख बहादुर थापाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन भिटा परियोजना कार्यक्रमका सामुदायिक सहजकर्ता कैलाश चौधरीले गर्नु भएको थियो ।