बच्चा लाई नैतिक ज्ञान नसिकाए सम्म सुरक्षित समाज निर्माण हुदैन : प्रजिअ सुबेद

शान्ति सुरक्षा तथा लागु औषध ओसारपसार एवम् दुरुपयोग विरुद्धको अपराध नियन्त्रण सम्बन्धी अन्तक्रिया

आलोक भावुक

गढवा, २४ बैशाख । बच्चालाई नैतिक ज्ञान नसिकाए सम्म सुरक्षित समाज निर्माण हुन नसक्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले बताउनु भएको छ । जिल्ला सुरक्षा समितिको आयोजनामा मंगलवार गढवामा शान्ति सुरक्षा तथा लागु औषध ओसारपसार एवम् दुरुपयोग विरुद्धको अपराध नियन्त्रण सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुबेदीले सो कुरा बताउनुभएको हो। हरेक नागरिकमा नैतिक आचरण र सदाचारीताको विकाश नभए सम्म सुरक्षित समाज निर्माण हुन नसक्ने बताउदै प्रमुख जिल्ला अधिकारी सुबेदीले नागरिकले इमानदारीता पुर्वक नियमको पालना गरे समाज सकरात्मक बाटोमा अघि बढ्ने बताउनुभयो। नैतिक मूल्य कमजोर भए जतिसुकै कडा दण्ड र कानून बनाएपनी समाज सुरक्षित नहुने बताउदै प्रत्येक विद्यालय साथै घरघरमा नैतिक मूल्य शिक्षा सिकाउन आजको आवश्यकता रहेको भन्दै घर परिवार समाज सबैको नेतृत्व तथा सिकाउने पहिले रोल मोडल बन्नु पर्ने बताउनुभयो।

त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लागु औषध रोकथाम तथा न्युनिकरणका लागि गढवा गाउँपालिकाले एक्लै तथा ईप्रका गढवा संग समन्वय गरेर विद्यालय तथा अन्य ठाउँहरुमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो । साथै गढवा गाउँपालिकाले विद्यालय आसपास ठाउँमा जाँडरक्सी विक्रिवितरणमा कडाई गरेको बताउदै त्यस्तो कार्य गरेको पाईएको कानून बमोजिम कारबाही गर्ने जानकारी समेत दिनुभयो। बर्तमान समयमा लागु औषधबाट बालबालिका बढी प्रभावित भएको बताउदै अध्यक्ष पोख्रेलले समाजमा शान्ति सुरक्षा कायम गर्न ठुलो चुनौतीको रुपमा देखा परेको बताउनुभयो। लागु औषध तथा मदिराजन्य पदार्थहरुको रोकथामका लागि पालिका गम्भिर भएको बताउदै लागु औषधको प्रयोगले समाजलाई ठुलो समस्या पारेको बताउनुभयो। लागु औषधको प्रयोगले घरेलु हिंसा, आत्महत्या, पारिवारिक कलह, लगायत धेरै ठुलो समस्या पारेको बताउदै नियन्त्रणमा आफु कुनै कशर बाकु नछोड्ने बताउनुभयो। नियन्त्रणका लागि योजनाहरु बनाई रहेको समेत बताउनुभयो।

त्यसैगरी कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले गढवा गाउँपालिकामा सबै भन्दा बढी घटना मादक पदार्थ सेवनबाटै हुने गरेको तथ्याङ्क सहित प्रस्तुत गर्नु भयो। अधिकांस घटना मादक पदार्थ सेवन गरेर घट्ने गरेकाे भन्दै मादक पदार्थ विक्रिवितरण तथा प्रयोगमा कडाई गर्न आवश्यक रहेको बताउनुभयो। आत्महत्या, घरेलु हिंसा, सम्बन्ध विच्छेदका उजुरी, सडक सुर्घट्ना, बलात्कार जन्य घटनाहरुमा सबैमा प्रायः मादक पदार्थ सेवन भएकै कारण घटेको भएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लागु औषधको प्रयोग र मादक पदार्थ सेवनले घरेलु हिंसा बढेको बताउनुभयो। अत्यधिक जाँडरक्सीको प्रयोगले परिवारमा कलह झै झगडा बढेको र कतिऔका सम्बन्ध सकिएको बताउदै रोकथामका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

अन्तक्रिया कार्यक्रम दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

शान्ति सुरक्षा तथा लागु औषध ओसारपसार एवम् दुरुपयोग विरुद्धको अपराध नियन्त्रण सम्बन्धी अन्तक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक राम बहादुर केसी, शसस्त्र प्रहरी बल नेपाल २९ नं. गण हेड क्वाटर दाङका सहायक प्रहरी उपरीक्षक रमेश कुमार थापा, वडाध्यक्षहरु, कार्यपालिकासदस्यहरु, सामुदायिक तथा संस्थागत विद्यालयका विध्यालयका प्रधानाध्यापकहरु, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यार्थीहरु लगाएतकाको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले गर्नु भएको थियो।

मा प्रकाशित