राप्ती नदीमा भैरहेको उत्खनन्को अनुगमन, आईई गरेको भन्दा बढी उत्खनन् गरे कार्वाही गर्छौ: प्रजिअ सुबेदी

आलोक भावुक

गढवा, २१ बैशाख। दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी सहितको टिमले देउखुरीको राप्तीमा मापदण्ड बिपरीत उत्खनन् भैरहेको जनगुनासो आएपछी शुक्रबार अनुगमन गरेको छ। अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले आईईको मापदण्ड विपरित उत्खनन् गरेको पाईए कार्वाही गरिने बताउनु भएको छ । मापदण्डविपरीत ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, तटबन्ध, खोला क्षेत्रको जैविक विविधतामा असर पर्नेखालको उत्खनन् गरे कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी सुबेदीले बताउनुभयो।

त्यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा राप्ती र सितगंगा नगरपालिकाले आपसी समझदारीमा आईई अनुसार नदिजन्य पदार्थ उठाउनु पर्ने बताउनुभयो। उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय जलस्रोत तथा सिचाई विभाग मार्फत संचालित प्रगन्ना तथा बड्कापथ सिचाई आयोजना लाई क्षतिहुने हिसावले नदिजन्य पदार्थको उत्खनन् गर्न नहुने बताउनु भयो । करोडौको योजना देउखुरीको गौरबको योजना भएकोले योजनाको मुहानमा उत्खनन् गर्दा पानीको सतल घट्ने र योजना प्रभावित हुने भएकोले त्यस क्षेत्रमा उत्खनन् गर्न नहुने बताउनु भयो ।

राप्ती नदीमा अन्धाधुन्ध उत्खनन् गरे नदी सतह भन्दा धेरै गहिराईमा पुग्ने र प्रगन्ना सिचाई र बडकापथ प्रभावित हुने निश्चित देखिन्छ।

अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, जिल्ला समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्मा, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्ट,गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली, सितगंगा नगरपालिकाका सम्बन्धीत वडाका वडाध्यक्षहरु, प्रहरी प्रशासन, पत्रकार र स्थानीयहरुको उपस्थिति रहेको थियो।

मा प्रकाशित