कविता : फलाम र सुन

गणतन्त्रनेपाल समाचारदाता

छविलाल कोपिला
हाम्रा बाले
घर छेउको बारी
फलामको कोदालोले खने
फलामकै फाली हालेर खेत पनि जोते
र फलेका हुन् तरकारी अन्नबाली ।

त्यसैगरि
फलामकै हँसियाले घाँस काटे
र पालिए लालाबाला
फलामकै बन्चरोले काटेर ल्याए
खाँबो, बलो र छन्टी
अनि मात्रै ठडिएको हो हाम्रो घर ।

भर्खरै,
पल्लो छिमेकीले फलामकै पावर टेलर किने
फलामकै ट्रेक्टर किने
अनि, फलामकै बाइक किनेर कुदाउँछन्
र फलामकै बस पनि गुडाइरहेछन् ।

उसैगरि
मेरो साइकल फलामकै हो
र गन्तव्य भेटाइदिएको छ बार–बार
मेरो कलमको नीब फलामकै हो
जसले लेखिरहेछ कैयौं शब्दहरू
र लेखिरहेछ
ऊ संग जोडिएका अनेक उचाइहरू
अनि क्रान्तिका अनेक प्रगतिहरू
तर अहिले
अन्धा आँखाहरूमा राज्य गरिरहेछन्
फलामकै पसिना लुटेर सुनहरू ।

लमही – दाङ

मा प्रकाशित