अस्मिता के. सी.
तिमी आएपछि..
भन्दिनँ,
– म उजाड मरुभूमि थिएँ
अनि भर्यौ हरियालीले !
भन्दिनँ,
– म शून्य थिएँ, अन्धकारमा थिएँ
भएँ सयौँ, भर्यौ रोश्नी तिमीले !
यो पनि भन्दिनँ,
– म सपनाहीन थिएँ
देख्न सिकायौ तिमीले !
– म बिम्बहीन थिएँ
कविता कोर्न सिकायौ तिमीले !!
तर, यो पक्का हो
मेरा खुसी साझा भएका छन्
सपना र गन्तव्य साझा भएका छन् ।
हुन त क्षणभङ्गुर खुसी दिन
घाम, छाया के-केसँग तुलनागरी
गरौंला अर्ध र पूरा झुठा तारिफ पनि
तर वास्तवमा,
नबिथलिकन
नभइकन अवरोध
हिजो तिम्रो अनुपस्थितिमा जे थिएँ
आज उपस्थितिमा पनि त्यही भएर
या भनूँ,
झनै ऊर्जा र हौसलाका साथ क्रियाशील रहनु
तिम्रो उपस्थितिको सुन्दर उपहार मानेकी छु ।
मा प्रकाशित