त्यो को होला ?
बैशाखीको भरमा
एक एक पाइला गन्दै
सुस्केरा हाल्दै
आँगनीमा उभिरहेको छ ।
ए चिनेनौ र ?
त्यो कोहि नभै
म नै हुँ
हिजो अस्ति चक डस्टर घोट्थेँ
शब्द-शब्दका
ह्रस्व -दीर्घहरु हेर्थेँ
कालोपाटी सजाई
तिम्रा जीवन चरित्र कोर्थेँ ।
रसिक बनेर
सीता, बुद्ध र मुना-मदनका
कवितामा रमाउँथेँ
एक एक शब्द भावको
विवेचना गर्थेँ ।
भाषण कलामा निखार ल्याउन
मंचमा उभ्याई
तिम्रा शब्दहरुको
चिरफार गर्दै
अभिप्रेरणा जगाउँथेँ ।
चन्द्र र सूर्यको
ध्वजा उचाली
बाल मस्तिष्कमा
राष्ट्र प्रेम भर्थेँ ।
छाती भरी पीडा लुकाई
ज्ञानको भन्डार भर्दै
तिम्रो उज्ज्वल भविष्यको
कामनाका निमित्त
दृढ संकल्पित हुन्थेँ ।
तिमीले कोर्ने
हरेक चित्रहरुमा
नसुक्ने मसीले
रंगिन बुट्टा भर्दै
असंख्य मनहरुको
प्रशंसा बटुल्थेँ ।
आज उही गुरुहरुका
इन्द्रीयहरु शिथिल भएर
चेतनशून्य बन्दै
कलमहरु सामर्थ्यहीन
भएका छन् ।
तथापि शुभेच्छाहरु
कालजयी बनेर
जीवन्त बन्दै
उद्बोधित भएका छन् ।
म त्यहि हुँ
जसले तिम्रो जीवन सजायो
वास्निल बनायो
अब त चिन्यो होला
म को हुँ ?
लेखक जगतराम यादव शिक्षक पेशाबाट अवकास साथै पछिल्लो समयमा राजनीति र साहित्यमा सक्रिय रहनु भएको छ। गढवा-६ बालापुर निवासी हुनुहुन्छ।