काकाकुल गाउँलेलाई पानी खुवाउने उपाए खोज्दै घोराही बनाऔं अभियान

सविन प्रियासन

घोराही,१० माघ  । घोराही–१२ हापुर यतिबेला भाइरल रोडका कारण चर्चित छ । अहिलेसम्म उक्त रोडमा लाखौले तस्बिर खिचेर सामाजिक सञ्जाल रंगाई सकेका छन् ।

तर यही भाइरल रोड अन्तगर्त रमना देखि दक्षिणतर्फ पाँच मिनेटको दुरीमा रहेको बसन्तपुर र रमना बसन्तपुर टोलका करिब दुईसय घरपरिवार यतिबेला पिउने पानीको समस्याबाट हायलकायल छन् । हापुर क्षेत्रमा पिउने पानीको समस्या समाधान गर्न सरकारले सिस्टम नम्वर २ अन्तगर्त विभिन्न कामहरु गरिरहेको छ ।

तर ती क्षेत्रमा यो सिस्टम अन्तगर्त भएका कामहरुले उक्त टोलहरुमा पानीको पाइप बिछाउने र केही ठाउँमा धारा जडान भएको भएपनि ती सबै देखाउने दाँतकारुपमा मात्र रहेका छन् । स्थानीयबासीहरु पिउने पानीको चरम समस्यामा परेको गुनासो आएपछि गाउँलेहरुकै आमन्त्रणमा घोराही बनाऔं अभियानको टोली बुधबार गाउँमा कसरी पिउने पानीको समस्या समाधान गर्न सकिन्छ भनेर स्थलगतरुपमा अध्ययन गर्न पुगेको छ ।

घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा पुगेको टोलीले गाउँलेहरुसँग पिउने पानीको समस्या र यो समस्या समाधान गर्नका लागि विशेष छलफल पनि गरेको छ । बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष रेशम योगीको घरमा भेलाभई छलफल पश्चात् टोलीले उक्त गाउँमा खानेपानी समस्या समाधानका लागि सरकारको तर्फबाट सिस्टम २ अन्गर्त भैरहेका कामकारबाहीको बारेमा अध्ययन गर्नुका साथै उक्त गाउँमा पिउने पानी समस्या समाधान गर्नका लागि धुलबहादुर बुढामगरको जग्गामा गाडीए पनि अल्पत्र अवस्थामा रहेको बोरिङको अवलोकन गरेको थियो । यसैगरी अभियान टोलीले हाल गाउँलेहरुले सोतामा पानीको श्रोतमा ट्यांकी निर्माण गरी पिउने पानीको गर्जाे टारिरहेको क्षेत्रको पनि अध्ययन गरेको थियो ।
सो अबसरमा स्थानीय गोबरर्धन योगी, रेशमबहादुर बुढाथोकी, मीना योगी, नन्दबहादुर वली, धुबलबहादुर बुढामगरलगायतकाले गाउँमा तत्कालै पिउने पानीको व्यवस्था हुनुपर्ने, यसका लागि घोराही बनाऔं अभियानले पहल गरिदिनुपर्ने बताउनुभएको थियो । गाउँलेहरुले गाउँमा पिउने पानीको समस्या समाधानका लागि सबै निकायमा धेरै पहिलादेखि निवेदन दिने, भनसुन गर्ने कामहरु गरेको भएपनि हालसम्म पिउनेपानीको व्यवस्था नभएकाले आजित भएर घोराही बनाऔं अभियानलाई हारगुहार गरिएको स्थानीयबासीहरुको भनाइँ छ ।
स्थानीयबासीहरुको गुनासो सुन्न गाउँमै पुग्नु भएका घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सुगम क्षेत्र भएपनि दुई टोलका सयौ बासिन्दाले पिउनेपानीको लागि काकाकुल बन्नुपर्ने अवस्था अति नै दयनिय भएको बताउनुभयो । उहाँले उक्त गाउँमा पिउनेपानी, सडक कालोपत्रे, पुल निर्माणलगायतका विषयमा सम्बन्धित निकाय अन्तगर्त पर्ने सबै ठाउँमा जोडतोडले आवाज उठाउने, समस्याको विषयमा अवगत गराउने काममा घोराही बनाऔं अभियानको तर्फबाट निरन्तर लागि रहने बताउनुभयो । गाउँलेले पिउने पानी सहजरुपमा घरघरमा खाने अवस्था सिर्जना नगर्दासम्म यो विषयमा आफु चुप लागेर नबस्ने प्रियासनको भनाइँ छ ।
अभियानका सदस्य समेत रहनु भएका स्थानीय बसन्त आचार्यले उक्त दुबै टोलमा रहेको घोराही बजार र साइपुर जाने सडक कालोपत्रे गर्ने, उक्त सडक खण्ड अन्तगर्त गुर्जे खोलामा पक्कीपुल निर्माण हुने हो भने गाउँलेहरुलाई जीवनयापन गर्न थप सहज हुने बताउनुभयो ।

मा प्रकाशित