विद्यार्थीकाे प्रश्न अभिनेता खड्कालाई : जीवनमा धेरै बाटाे थिए किन सिनेमा क्षेत्र राेज्नुभयाे ?

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ९ माघ । चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्कालाई विद्यार्थीले जीवनमा धेरै बाटाे थिए किन सिनेमा क्षेत्र राेज्नुभयाे ? भनी सवाल गरेका छन् ।

आज दाङकाे घाेराहीस्थित राजविद्या पाठशालामा `विद्यार्थीसँग अभिनेता´ कार्यक्रममा सहभागी भएका अभिनेता खड्कालाई विद्यार्थीले सिनेमा क्षेत्र राेज्नुका कारण साेधेका हुन् ।

कक्षा ७ मा अध्ययनरत छात्र अर्नव चाेवेले सवाल गरे-जीवनमा धेरै बाटाे थिए किन सिनेमा क्षेत्र राेज्नुभयाे ? चाेवेकाे सवालमा गम्भीर हुँदै अभिनेता खड्काले भने, ` नायक बन्ने मेराे सानैदेखिकाे चाहना थियाे । साथीभाइ तथा इष्टमित्रले पनि हिराे छस् भनेर उत्साह थपिदिनुहुन्थ्याे । त्याे भन्दा पनि मलाई डक्टर, इन्जिनियर, पाइलट, शिक्षक, नेता, वकिल सबै बन्न मन लाग्थ्यो । यी सबै बनेर नेतृत्व लिने क्षेत्र भनेकाे सिनेमा रहेछ । मैले रिल लाइफमा सबैकाे भूमिका निर्वाह गर्न पाएकाे छु । यसकारण पनि मैले सिनेमा क्षेत्र राेजेँ ।´

एउटा सवालकाे जवाफ दिई सक्दा नसक्दै कक्षा ६ मा अध्ययनरत छात्र अस्मिन सेन्चुरीले काँडेतारले कुन विषयलाई उठाएकाे छ ? भनी प्रश्न साेधे । सेन्चुरीकाे सवाललाई सम्बाेधन गर्दै अभिनेता खडकाले भने, `चलचित्र काँडेतारले देशकाे इतिहास, देशकाे सभ्यताकाे विकास, देशकाे स्थिति, अब देश कस्ताे बनाउनुपर्छ भन्ने विषयलाई उठाएकाे छ । समग्रमा यस चलचित्रले देशभक्ति भावनालाई समेटेकाे छ ।´

बालबालिकाकाे विषयलाई जाेडेदै कक्षा ७ की छात्रा

साकुरा बुढा मगर साेधिन्- चलचित्र निर्माण गर्दा बालबालिकालाई कस्ताे सन्देश जाओेस् भन्ने चाहनुहुन्छ ?

साकुराकाे प्रश्नले मुहारमा गम्भीरपन छरेका अभिनेता खड्काले भने, ` बालबालिका भविष्यका कर्णधार हुन् । फिल्मले बालबालिकाका लागि भविष्यकाे मार्ग निर्देशन गर्न सक्नुपर्छ भन्नेमा हामी सचेत हुन्छौं नै । हामीले निर्माण गरेका चलचित्रले

बालबालिकाकाे भविष्य राज्यले सुनिश्चित गरिदिनुपर्छ, बालबालिकाका लागि हरेक अवसर राज्यले सिर्जना गरिदिनुपर्छ भन्ने सन्देश सम्प्रेषण गरेका छाैँ ।´

नेपालमा कलाकारकाे भविष्य सुनिश्चित देखिदैन किन ? कक्षा ८ की छात्रा आहाना भण्डारीले साेधिन् । प्रश्नले गम्भीर भावमुद्रामा देखिएका अभिनेता खड्का केहीबेर गमे र भने, ` सानी मान्छेले निकै गम्भीर प्रश्न साेध्नुभयाे । तपाईंको प्रश्नले म भावुक भएँ । कलाकार देशकाे समुन्नतिकाे पक्षमा नै हुन्छाैँ । हरेक सम्भावना देशमै हुनुपर्छ । हाम्राे देश विश्वकाे लागि गन्तव्य बन्नुपर्छ । देशमै हरेक सम्भावनासँगै आवश्यकताकाे व्यवस्थापन राज्यले गर्नुपर्छ भन्ने हाम्राे मान्यता हाे र रहन्छ पनि । तर राज्यले

कलाकारिता क्षेत्रमा लगानी लगाउन हिचकिचाउनु, कलाकारप्रति राज्यकाे स्पष्ट नीति नहुनु कलाकारकाे लागि विडम्बना हाे । यस क्षेत्रमा आवश्यकता अनुसार शासककाे दृष्टि पुगेकाे छैन।

देशकाे सम्पूर्ण विषयलाई चलचित्रले उठाएकाे हुन्छ तर सरकारले यसलाई बुझ्न नसक्नु बिडम्वना हाे ।´

सवालकाे जवाफ दिदै गर्दा गम्भीर बनेका अभिनेता खड्कालाई कक्षा ७ की बेञ्जिला वलीले अर्काे प्रश्न तेर्साइन् – युवा पुस्ताकाे विदेश पलायनकाे विषयलाई चलचित्र क्षेत्रले कसरी सम्बाेधन गर्नुपर्नेछ ?

युवा पुस्ताकाे विदेश पलायकाे ग्राफ उच्च रहेकाे बताउँदै अभिनेता खड्काले चलचित्र लगायत हरेक क्षेत्रले यस विषयलाई संवेदनशील रूपमा लिनुपर्ने बताए । `चलचित्र काँडेतारले यस विषयलाई उठाएकाे छ । स्वदेशकाे माटाे सुहाउँदाे शिक्षा आवश्यक छ, युवा पुस्ताकाे विदेश क्रेजलाई राेक्न राज्यले सिस्टम निर्माण गर्नुपर्छ । यस विषयलाई काँडेतारले उठान गरेकाे छ ।´

चलचित्र ‘काँडेतार’ को च्यारेटी सोका लागि देशव्यापी अभियानमा रहेका अभिनेता खड्का अहिले दाङ आइपुगेका हुन् । भेटका क्रममा अभिनेता खड्काले चलचित्र ‘काँडेतार’ ले नेपालको सभ्यताको विकास तथा देशको इतिहासको इतिवृतान्तलाई समेटेको बताएका हुन् । ‘देशको राजनीतिक अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थालाई चलचित्रले समेटेको छ । सम्भावनाको अभावमा विदेश पलायन हुने युवावर्गलाई स्वदेशमै सम्भावना रहेको सन्देश चलचित्रले सम्प्रेषण गरेको छ । साथै देशमै सम्भावना प्रशस्त रहेकोले युवा पुस्तालाई रचनात्मक तथा सिर्जनात्मक कार्यमा लाग्न समेत चलचित्रले अपील गरेको छ ।’ उनले थपे, ‘चलचित्रले स्पष्ट सीमानाको खोजी गरेको छ । सीमानामा काँडेतार तथा पर्खाल लगाउनाले देशको सीमाना स्पष्ट हुने विषयलाई उठाएको छ । चलचित्रले सीमानाबिनाको देश हुनुहुँदैन भन्ने सन्देश सम्प्रेषण गरेको छ । चलचित्रले समस्याको उठान गर्नुका साथै समाधानका उपायलाई पनि प्रस्तुत गरेको छ ।’

कार्यक्रममा काँडेतारका अर्का नायक प्रशान्त यादव, प्याब्सन दाङका सचिव तथा राजविद्या पाठशालाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसीले मन्तव्य राखेका थिए ।

विद्यालयका प्रिन्सिपल टिकाजंग बिकेले `विद्यार्थीसँग अभिनेता´ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै चलचित्रलाई शिक्षासँग जाेड्नुपर्ने बताएका थिए । साथै उनले चलचित्र काँडेतारकाे सफलताकाे कामना समेत गरेका थिए ।

कार्यक्रमकाे सहजीकरण कक्षा ७ मा अध्ययनरत छात्रा सम्भावना वलीले गरेकी थिइन् ।

मा प्रकाशित