
गढवा, ४ पौष । भैसी पालन र दुग्ध उत्पादनमा जोड दिन आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ।
बुधबार गढवा-६ बनकट्टीमा तिनदिने हेफर आधारशिला तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। भिट परियोजनाको सहकारी मार्फत दूधको बजारीकरण संगै किसानलाई स्थानीय जातको भैसी संरक्षणको अभियान समेत चलाउने अध्यक्ष पोख्रेलले बताउनु भयो। गढवा गाउँपालिकामा रहेका मधेशी समुदायले मुख्यगरी भैसी मात्र पालेको पाईन्छ, स्थानीय जातको भैसीबाट कम दुध उत्पादन भएपनि ब्राण्ड बनाएर महङ्गोमा विक्रि गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो। अध्यक्ष पोख्रेलले स्थानीय जातको भैसी संरक्षण संगै स्थानीय जातको भैसीबाट उत्पादित दूधको ब्राण्डीङ गर्ने लक्ष्य अनुसार चिस्यान केन्द्रको निर्माण भैरहेकोले जानकारी समेत दिनु भयो। गोठ सुधार कार्यक्रम, उन्नत जातको भैसी पालन र कृत्रिम गर्भाधान मार्फत भैसी पालन कृषकलाई थप व्यवस्थित बनाउने योजनाअनुसार काम गरेको बताउनु भयो ।
गढवा गाउँपालिका वडा नम्बर ६ बनकट्टीमा हाल खोर निर्माण कार्य चलिरहेको छ। आर्थिक समृद्धीका लागि साझेदारी कार्यक्रम’भोकालाई एक छाक भोजन होईन जिउने जुक्ति सिकाऔं भन्ने मुल नाराका साथ हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ संग साझेदारी गर्दै गढवा गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
तिनहदिने हेफर आधारशिला तालिम बनकट्टी राधाकृष्ण उद्यमी महिला समूहकी अध्यक्ष अनिता कुमारी यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य सम्पन्न भएको हो। समापन कार्यक्रममा ६ नम्बर वडाका वडा सदस्य गोबिन्द रोका मगर, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, उद्यम विकास सहजकर्ता कैलाश चौधरी, आशा श्रेष्ठ र २८ जना महिलाहरुको सहभागिता रहेको थियो। उद्यम विकास सहजकर्ता कैलाश चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका भिटा परियोजनाका उध्दम विकास सहजकर्ता आशा श्रेष्ठले गर्नुभएको थियो।




