कुकुरहरुका कथा

सिनेमा चर्चा

प्रभाष

मलाई कुकुरहरुकाे कथा मनपर्छ। बाल्यकालमा अग्रजहरुकाे मुखबाट थुप्रै कुकुरहरुका कथाहरु सुने। पहाडकाे अजङ्गको भाेटे कुकुरका कथाहरु, सहर-बजारकाे सुलुत्त ज्यान भएकाे लुइरे कुकुरका कथाहरु। भाेटे कुकुर हाेस् वा लुइरे कुकुर हाेस्, सबै खाले कुकुरकाे कथाले मलाई तान्याे।

ती कथाहरुले कुकुरकाे मेराे मनमा एउटा असल, वफादार र मायालाग्दाे घरपालुवा जनावरकाे छवि गढिदियाे जसकाे कारण मेराे मनमा सानैदेखि कुकुरहरुप्रति ‘सर्फ्ट कर्नर’ बन्याे। मैले वास्तविक जीवनमा देखेका, भेटेका कुकुरहरु पनि प्राय: मेराे मनमा बनेकाे कुकुरकाे छविअनुसारकै थिए। तिनीहरु दुष्ट थिएनन्, बरु प्यारा र मायालाग्दा थिए।

पहिले कल्पनामा मात्र भएका ती कुकुरहरु पछिबाट टिभी र माेबाइलकाे स्क्रीनमा मेराे आँखाकाे सामुन्ने साक्षात् प्रकट भए, जब मैले कुकुरहरुमाथि बनेका फिल्महरु हेर्न थाले। राजेश खन्नाकाे फिल्म ‘सच्चा झुठा’ (१९७०) मा कुकुरले नै सक्कली र नक्कली राजेश खन्नालाई छुट्याउँछ। कुकुरकै कारण असली-असल राजेश खन्ना सजाँयबाट बच्छ र नक्कली-दृष्ट राजेश खन्ना सजाँयकाे भागिदार बन्छ। ‘तेरी मेहरबानिया’ (१९८५) भन्ने अर्काे फिल्म छ, जसमा कुकुरले नै आफ्नाे मालिकलाई मार्ने दृष्ट-खलपात्रहरुसँग एक-एक गरेर बदला लिन्छ।

‘सच्चा झूठा’ काे माेती

याे अतीतकाे कुरा भयाे, अब वर्तमानकाे कुरा गराैं। वर्तमानमा पनि सिनेमाकाे पर्दामा प्रकट भएर कुकुरहरुले मलाई कतै माया र आत्मीयता/आफ्नाेपनकाे गाढा अनुभूति गराएका छन् भने कतै मित्रता/घनिष्टता र वफादारीकाे साँचाे तस्वीर देखाएका छन्। कतै समभाव/समानुभूति राख्न उत्प्रेरित गरेका छन् त कतै मानवता/मानवीयता प्रकट गर्न।

कुकुरले जातव्यवस्थाकाे कठाेर बन्धन र त्यसकाे मारकाे पीडालाई समेत मलाई महसुस गराएकाे छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ। तमिल फिल्म ‘परियेरुम पेरुमल’ (२०१८) त्याे फिल्म हाे जसले मलाई जातव्यवस्थाकाे अत्याचार रुपि सत्यलाई महसुस गराएकाे छ। एक खास दृष्यमा कुकुर एक बिम्बकाे रुपमा प्रकट भएकाे छ। ‘करुप्पी’ नामक कुकुरकाे याे बिम्बले के बताउँछ भने जातव्यवस्थाबाट तिनीहरु समेत प्रताडित छन् जाे पूर्णतया निर्दाेष छन्, जसलाई जातव्यवस्थाबारे केही पनि थाहा छैन तर तिनीहरु पनि जातव्यवस्थाकाे जाँताेमुनि पिसिइरहेका छन्। जातव्यवस्थाले तिनीहरुलाई पनि छाडेकाे छैन। ‘करुप्पी’ त्यही निर्दाेष उत्पीडितहरुकाे बिम्ब हाे।

जातव्यवस्था भनेकाे एक किसिमकाे रेलगाडी हाे जसकाे लिकमा करुप्पी जसरी तपाईं पहिल्यै बाँधिनुभएकाे छ, आफ्नो इच्छाबिना। जातव्यवस्थारुपि रेलगाडी जुनसुकै बेला तपाईंमाथिबाट गुज्रिन सक्छ र तपाईंलाई क्षतविक्षत पार्न सक्छ। यसबाट तपाईंलाई ‘enlightenment’ (चेतना, आत्मबल, इच्छाशक्ति) ले मात्र बचाउन सक्छ। यहाँनेर करुप्पी त्यही ‘enlightenment’ काे बिम्ब हाे।

परियेरुम पेरुमल

साउथ फिल्ममेकरहरुले कुकुरलाई लिएर गहिराे अर्थ बाेकेका दृष्यहरुकाे रचना गरेकाे मैले पाएकाे छु। कन्नडा फिल्म ‘नानू मत्थु गुंडा’ (२०२०) मा पनि एक, दुईवटा यस्ता दृष्यहरु छन्, जुन मलाई बिशेष गरेर मनपरेकाे छ।

यस फिल्मकाे सुरुवाततिर एउटा दृष्यमा फिल्मकाे मुख्य पात्र कुकुरलाई एउटा बाख्रासँग खेलिरहेको देखाइन्छ।

पछि फिल्ममा एउटा प्रसङ्ग आउँछ जसमा साे कुकुरलाई उसकाे मालिक प्रितिभाेजमा लिएर जान्छ। भाेजमा कुकुरलाई पनि मासु भाग लगाइन्छ, बाख्राकाे मासु।

तर कुकुरले आफ्नाे भागकाे मासु खाँदैन।

बरु कुकुर त्यहाँबाट उठेर अलि परतिर जान्छ। पर एउटा रुखकाे हाँगामा बाख्राकाे छाला काढेर टाँगिएको हुन्छ। त्याे त्यही बाख्राकाे छाला हुन्छ, जाे सँग त्याे कुकुर सानाेमा खेल्ने गर्थ्याे। उसकाे साथी बाख्राकाे छाला। उसकाे त्यही साथी बाख्रालाई मारेर त्यसकाे मासुलाई पकाई बाँडिन्दै गरेकाे हुन्छ साे भाेजमा।

कुकुरले रुखमा झुन्डाइएकाे बाख्राकाे छालातर्फ हेर्छ। त्यसबेला कुकुरकाे अनुहार अति मायालाग्दाे देखिन्छ। यस्ताे लाग्छ उसकाे मुहारबाट उसकाे प्रिय साथी बाख्रालाई मारेकाे दु:ख र पीडा तपतप चुहिरहेकाे छ। यस्ताे लाग्छ आफ्नाे साथीलाई मारेकाेमा उसलाई गहिराे चाेट लागेकाे छ।

उनीहरु भाेज नखाई फर्किन्छन्।

‘नानू मुत्थु गुंडा’ काे एक दृष्य

हेर्नुहाेस् त, कस्ताे मार्मिक दृष्य छ याे। मुटुलाई बटार्ने, भित्रैबाट द्रवित बनाउने अनि कति गहिराे अर्थ बाेकेकाे छ याे दृष्यले। आजकल माया, आत्मीयता र मानवतालाई महसुस गराउने मान्छेकै यस्ताे दृष्य फिल्महरुमा पाउन गाह्राे छ। यस्ताेमा यहाँ कुकुरले यी कुराहरुलाई महसुस गराएकाे छ।

त्यस्तै, अर्काे दृष्य छ यस फिल्मकाे अन्त्यतिर, जहाँ कुकुरकी मालिक्नी गर्भवती हुन्छिन्, र नयाँ जीवनलाई धर्तिमा जन्म दिन लागेकी हुन्छिन्, कुकुर भने आफ्नाे मृत मालिककाे चिहानलाई रुङ्गेर बसिराख्छ उसकाे मालिककाे मृत्यु (हत्या) भएकाे दिनदेखि नै।

तर मालिक्नीले बच्चालाई जन्म दिन लागेकाे समयमा कुकुरले सम्भवतः आफ्नाे छैठाैं इन्द्रियबाट महसुस गरेर आफ्नाे मृत्त मालिककाे चिहानलाई रुङ्न छाेडेर घर फर्केर आउँछ र मालिक्नीकाे नजिकै आएर बस्छ। याे दृष्यमा पनि गहिराे अर्थ लुकेकाे छ।

यस्ताे लाग्छ, उसलाई मालिक्नीले जन्माउने नयाँ बच्चाकाे व्यग्र प्रतीक्षा छ। सायद उसलाई लागेकाे छ कि उसकाे मालिक फेरि उसकाे मालिक्नीकाे काेखबाट नयाँ जन्म लिदैछ। मन एकतमासकाे बनाइदिन्छ याे दृष्यले।

‘नानू मुत्थु गुंडा’ काे अर्काे दृष्य

यस्ता थुप्रै-थुप्रै दृष्य मेराे मनसपटलमा कुँदिएका छन् जसले कुकुरभित्र रहेकाे अपरिमित मायालाई देखाउँछन् र मानिससँग, खासगरि उसलाई माया गर्ने उसकाे मालिकसँगकाे उसकाे भावनात्मक सम्बन्धलाई दर्शाउँछन्। कुकुर अनि भावना, सुन्दा तपाईंलाई हाँस उठ्न सक्छ तर यी फिल्महरु हेर्नुभयाे भने तपाईंले बुझ्नुहुनेछ कि म के भन्न खाेजिरहेकाे छु?

‘कुकुरहरुले पनि अनुभूति गर्न सक्छन्/गर्छन्, मानिसहरुप्रति समानुभूति राख्न सक्छन्/राख्छन्, कुकुरहरु पनि भावनाशील हुन्छन्, संवेदनशील हुन्छन्, उनीहरु पनि माया गर्छन्’ भन्ने कुरालाई यी दृष्यहरुले दर्शाउँछन्। साथै, कुकुर मानिसकाे सबैभन्दा नजिककाे र मानिससँग सबैभन्दा गहिराे भावनात्मक सम्बन्ध भएकाे घरपालुवा जनावर हाे भन्ने कुरालाई पनि प्रष्ट्याउँछन्।

याे आलेखमा म कुकुरमाथि बनेका मेरा प्रिय पाँचवटा फिल्महरुकाे चर्चा गर्दैछु जसले कुकुर र मानिसकाे घनिष्ठ सम्बन्ध वा मित्रतालाई दर्शाउँछ।

१. तेरी मेहरबानियाँ (१९८५):-

तेरी मेहरबानियाँ

के.सि.बाेकडियाद्वारा निर्मित ‘तेरी मेहरबानियाँ’ एक कुकुरकाे बदलाकाे कथा हाे। यस फिल्मकाे केन्द्रमा माेती नामक कुकुर छ जाे आफुलाई सानैदेखि माया गरेर पाल्ने मालिकलाई खलपात्रहरुले मारेपछि तिनीहरुसँग एक-एक गरेर बदला लिन्छ।

यस फिल्ममा खलपात्रहरुले माेतीकै अगाडि ज्याकी श्राेफलाई मार्दा मेराे मन अत्यन्त चिसाे भएकाे थियाे, कस्ताे-कस्ताे साह्रै नमीठाे, नराम्रो, विरहलाग्दाे महसुस भएकाे थियाे जस्ताे आफ्नाे प्रियजन मर्दा वा उनीहरुमाथि कुनै भयावह घटना घट्दा महसुस हुन्छ।

कुकुर माेतीले ज्याकी श्राेफकाे चिहानमा फूल चढाउँदा, चिहानकाे छेऊमै आँसु चुहाउँदै बसिरहन्दा मेराे आँखाभरि आँसु आएकाे थियाे अनि माेतीले एक-एक गरेर, खेदाइ-खेदाइ खलपात्रहरुलाई मार्दा खुब सन्तुष्टि मिलेकाे थियाे। सारमा, माेती नामक कुकुरकाे हरेक गतिविधिले हामीलाई पुल्कित गरेकाे थियाे। निसन्देह, याे म र मेराे मित्रमण्डलीकाे बाल्यकालकाे प्रिय फिल्म थियाे। किनभने, याे फिल्ममा कुकुरकाे अद्भूत कारनामाहरुलाई देखाइएकाे थियाे।

२. ‘हाची- अ डग्स टेल’ (२००९):-

हाची-अ डग्स टेल

याे हाची नामक एक यस्ताे कुकुरकाे कथा हाे जाे आफ्नाेे मालिकलाई यति माया गर्छ कि उसकाे मालिककाे मृत्यु भइसक्दा पनि ऊ रेल्वे स्टेशनमा गएर नाै बर्षसम्म आफ्नाे मालिककाे प्रतीक्षा गरिरहन्छ।

खासमा हाचीकाे मालिक उसलाई खुब माया गर्थ्याे। त्यसैले, हाची आफ्नाे मालिकसँग खूब झ्याम्मिन्थ्याे। आफ्नाे मालिक काममा जाने बेला भएपछि हाची उनलाई पुर्‍याउन रेल्वे स्टेशनसम्म जाने गर्थ्याे। त्यसैगरि, उनी कामबाट फर्किने बेला भएपछि उनलाई लिन रेल्वे स्टेशनसम्म जाने गर्थ्याे। मालिकले पनि सानैदेखि उनलाई पालेकाे हुन्छ, सँयाेगवश भेटे पनि खुब माया गरेकाे आफ्नाे घरमा राखेकाे हुन्छ।

एकदिन अचानक हृदयघात भएर हाचीकाे मालिककाे मृत्यु हुन्छ। अब ऊ रेल्वे स्टेशनमा रेलकाे डिब्बाबाट कहिल्यै ओर्लिने छैन तर हाचीलाई अझै पनि उसकाे मालिक रेल्वे स्टेशनमा रेलबाट ओर्लिनेछ भन्ने लाग्छ। उसलाई सदैव ‘उसकाे मालिक आउनेछ, उसकाे मालिक आउदैछ’ भन्ने लाग्छ। त्यसैले, ऊ मृत्युपर्यान्तसम्म रेल्वे स्टेशनमा आफ्नाे मालिककाे प्रतीक्षा गरिरहन्छ।

हाचीकाे कथा जापानकाे हाचिकाे नामक कुकुरकाे सत्य कथा भएकाे बताइन्छ जुन जापानमा सन् १९२० काे दशकमा घटेकाे थियाे। सन् १९८७ मा जापानमा याे कुकुरकाे कथामाथि एउटा फिल्म बनाइयाे, ‘हाचिकाे माेनाेटाेगारी’। यही फिल्मकाे अँग्रेजी रिमेक हाे याे फिल्म ‘हाची-अ डग्स टेल’ (२००९).

भनिन्छ, जापानकाे शिबुया स्टेशन (जहाँ हाचिकाेले आफ्नाे मालिकलाई पर्खेकाे थियाे) मा, हाचिकाे काे गृहनगरमा, ओडेट स्टेशनका अगाडि र ओडेटकाे अकिता डग म्युजियममा हाचिकाे काे सम्मानमा उसकाे कासाकाे प्रतिभा बनाइएकाे छ। हाचिकाे अकिता नश्लकाे कुकुर थियाे।

साहित्यकार भुपिनले यस फिल्मबारे लेखेका छन्, ‘मानिसले मानिसलाई अधिक घृणा गर्न सिकिरहेकाे समयमा याे फिल्म प्रेमकाे पवित्र दर्शनसहित उपस्थित छ। साेचें, यस्ता एकदर्जन फिल्म हेर्न पाए जीवन सार्थक हुन्छ।’

नेपालमा पनि मैले दुईवटा यस्तै आफ्नो मालिककाे प्रतीक्षा गरेर बसिरहेकाे कुकुरकाे बारेमा पढेकाे छु। एउटा कुकुर जाे मालिककाे सिकार कार्यमा मालिकसँगै जँगल हिँडेका थिए तर पुलिसकाे फन्दामा परेर सरकारी नियन्त्रणमा परे। उसकाे मालिक भाग्याे र एकैचाेटि अदालतमा उपस्थित भएर धराैटी बुझाइ जमानतमा रिहा भयाे। तर उसकाे कुकुर भने प्रहरीहरुकै नियन्त्रणमा रहिरहयाे। उसकाे मालिक त्यसपछि आफ्नाे कुकुरलाई छुटाएर लैजान कहिल्यै आएन। कुकुर भने आजसम्म पनि सरकारी निकायकाे चिसाे छिँडीमा बसेर आफ्नो मालिककाे प्रतीक्षा गरिरहेकाे छ।

अर्काे कुकुर काठमाडौंकै कुनै अस्पतालमा छ। उसकाे कथा चाहिँ हाचीकाे काे जस्तै छ। आफ्नाे बिरामी मालिकसँगै पछि लागेर अस्पताल आएकाे कुकुर अस्पतालमै रहिरह्याे, जबकि उसकाे मालिककाे प्राणपखेरु उड्याे र अस्पतालदेखि विदा भयाे। सुनेकाे छु, यसबाट अन्जान कुकुर चाहिँ अझै पनि अस्पतालकाे प्राङ्गणमा आफ्नाे मालिककाे प्रतीक्षा गरेर बसिरहेको छ। परिवारका सदस्यहरुले उसलाई लैजाने थुप्रै प्रयासहरु पनि गरे रे तर कुकुर जान मानेन रे।

वास्तविक जीवनमा पनि यस्ताे घटनाकाे बारेमा जानेकाे-सुनेकाेले मलाई हाचिकाे काे कथामाथि विश्वास लाग्छ। कुकुरकाे लगाव, माया र वफादारीमाथि विश्वास लाग्छ।

३. ‘अ डग्स परपाेज’ (२०१७):-

अ डग्स परपाेज

याे एक यस्ताे अद्भुत कुकुरकाे कथा हाे जसले मरेपछि पनि पटक-पटक जन्म लिन्छ र हरेक जन्ममा आफ्नाे मालिकलाई भेट्ने इच्छा गरिरहन्छ र आफ्नाे मालिककाे खाेजी गरिरहन्छ। उसले आफ्नाे मालिकलाई बिर्सन सक्दैन। याे फिल्मले पनि कुकुरकाे माया, आत्मीयता र वफादारीकाे कथा भन्छ।

यस फिल्मकाे कुकुर पात्र मरेर आफ्नाे मालिकसँग छुट्टिन्छ अनि फेरि चारपटक पुर्नजन्म लिन्छ। हरेक पटक पुर्नजन्म लिदाँ उसकाे स्वरुप पनि बदलिसकेकाे हुन्छ, यस्ताेमा कसरी उसले आफ्नाे मालिकलाई भेट्छ? अनि कसरी आफ्नाे मालिकलाई उनी नै उसकाे प्रिय कुकुर बाेस डग बेली भएकाे महसुस गराउँछ, याे हेर्नु राेचक हुनेछ।

कुकुर र मानिसकाे मित्रताकाे याे अनाैठाे कथाले मन छुन्छ। कुकुरकाे वफादारी, इमानदारी र भावनात्मक जुडाव (लगाव, आत्मीयता, माया) लाई दर्शाउने याे एक अनुपम फिल्म हाे।
यसकाे क्लाइमेक्सले तपाईंकाे मनलाई नाैनी पगालेजस्तै पगालिदिन्छ। तपाईंलाई इमाेशनल बनाइदिन्छ। यसकाे undercurrent emotions ले तपाईंलाई सुखद् महसुस गराउँछ। याे एक feel good movie हाे र याे movie सन् २०१० काे डब्लु. क्रुस. क्यामरुनकाे यही नामकाे उपन्यासमाथि आधारित छ।

४. ‘अ डग्स वे हाेम’ (२०१९):-

अ डग्स वे हाेम

याे फिल्म पनि डब्लु. क्रुस क्यामरुनकै उपन्यासमाथि आधारित छ। उपन्यासको नाम पनि ‘अ डग्स वे हाेम’ (२०१७) नै हाे।

याे एक यस्ताे साहसी कुकुरकाे कथा हाे जाे आफ्नाे मालिकलाई भेट्न ४०० किमीकाे दूरी पार गरेर आउँछन्। खासमा एनिमल कन्ट्राेल बाेर्डकाे नियमअनुसार पिटबुल नश्लकाे कुकुर पाल्न नपाइने भएपछि लुकस आफ्नाे कुकुर बेलालाई ४०० माइल टाढा आफ्नाे साथीकाे आफन्तकाे घरमा छाेडेर आउँछ। लुकस बेलालाई राख्न उपयुक्त घरकाे व्यवस्था गरेर बेलालाई लिन आउँदै गरेकाे हुन्छ तर त्यसभन्दा पहिले नै बेला त्याे घर छाेडेर निस्किन्छन् र ४०० किमी टाढा रहेकाे आफ्नाे मालिककाे घरतर्फ लम्किन्छन्। ४०० किमी लामाे बाटाे पार गर्ने क्रममा उनले के कस्ताे दु:खकष्ट भाेग्नुपर्छ, त्यसलाई यस फिल्ममा देखाइएकाे छ। उनकाे यस journey र त्यससँग जाेडिएका adventures लाई यस फिल्ममा देखाइएको छ।

यस क्रममा यस फिल्मले जनावर-जनावरबीचकाे राम्राे-नराम्राे सम्बन्धलाई पनि चित्रण गरेकाे छ। खासगरि, यस फिल्मले कुकुर बेला र एक माऊ बिरालाे (जसलाई ऊ ‘मदर क्याट’ भन्छ) काे अनाैठाे सम्बन्धलाई दर्शाएकाे छ। उनीहरु बीचकाे सम्बन्ध साँच्चै अद्भूत छ। बेलाकी आमालाई एनिमल कन्ट्राेल बाेर्डकाे कर्मचारीहरुले पक्रेर लगेपछि बेलालाई एक माऊ बिरालाेले दुध खुवाएर बचाउँछे। पछि ४०० किमी लामाे बाटाे छिचोल्दै अघि बढ्ने क्रममा बेला एउटा बिरालाेकाे जस्ताे देखिने बच्चालाई मातृत्व प्रदान गर्छ। पछि त्याे बच्चा ठूलाे भएर चितुवा बन्छ र त्याे चितुवाले अन्य जङ्गली जनावरहरुबाट बेलाकाे ज्यान बचाउँछ र उनलाई सहरकाे। सीमासम्म सकुशल ल्याएर छाेड्छ। यसरी उसले बेलाले उनीमाथि लगाएकाे गुनलाई तिर्छ। जनावरहरुकाे मानवतालाई देखाउने फिल्मकाे याे प्रसङ्गले मन छुन्छ।

५. ‘चार्ली ७७७’ (२०२२):-

चार्ली ७७७

एक असामाजिक, एकलकाँटे खालकाे, एकाँकी जीवन बिताइरहेकाे धर्मा नामक पुरुषकाे जीवनमा एक स्त्रीलिङ्गी कुकुर चार्ली आएपछि आएकाे बदलावहरुकाे कथा हाे ‘चार्ली ७७७’ (२०२२).

यस फिल्मले पनि कुकुर र मानिसबीचकाे भावनात्मक सम्बन्धकाे चित्रण गर्दछ। मानिस र कुकुरबीचकाे सम्बन्ध कति गहिराे र भावनात्मक हुन सक्छ, त्याे याे फिल्मलाई हेरेर अनुभूत गर्न सकिन्छ। याे फिल्मलाई सकेसम्म मार्मिक बनाइएकाे छ। धेरै आयाम छन् याे फिल्मकाे कथामा। तर पनि केन्द्रबिन्दुमा चै ‘धर्मा चार्लीकाे लागि के सम्म गर्न तयार छ’ भन्ने नै देखिन्छ।

महाभारतमा युधिष्ठिर सशरीर कुकुरसँग स्वर्ग पुगेकाे प्रसङ्ग छ। धर्मा भनेकाे धर्मराज हाे र धर्मराज युधिष्ठिरकाे अर्काे नाम पनि हाे। त्यसैले, याे फिल्म महाभारतबाट पनि प्रेरित देखिन्छ। खासगरि, धर्माले आफ्नाे कुकुर चार्लीलाई हिमालयमा हिऊँ देखाउन लगेकाे प्रसङ्गले अन्यासै महाभारतकाे उक्त प्रसङ्गकाे सम्झना गराउँछ।

मा प्रकाशित