भूकम्प प्रभावित क्षेत्रबाट जनार्दन शर्माको अनुभूति मानवीय संवेदनामाथि आक्रमण: प्रतिशोधको पराकाष्ठा

शर्मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हुन् ।

गणतन्त्रनेपाल समाचारदाता

काठमाडाैं, २४ कात्तिक। राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चिसोले चिच्याउन थाल्छन् । भोका आमाहरूले दूध चुसाउने चेष्टा गरे पनि विगत केही दिनदेखिको शोक, भोक, निन्द्रा र थकानले बच्चा अघाउने उपाय पहिल्याउन सकेका छैनन् ।

आफैं पेटभरि खाना खान नपाएका आमाहरूले बच्चाबच्चीलाई ल्याक्टोजिन पाउनु ? त्रिपाल आपूर्तिका लागि संघर्षरत उनीहरूले बालबालिकालाई कहाँबाट न्यानो कपडा ल्याउनु ? जति रात छिप्पिँदै जान्छ बाक्लो शीत पर्न थाल्छ । केहीबेर आगोको वरिपरि झुमिएर जाडो कटाए पनि मध्यरातपछि जिउले आराम खोज्न थाल्छ । आँखाको विष मार्न परेली झपक्क गर्नैपर्छ । त्यतिन्जेल आगोले पनि विश्राम लिइसकेको हुन्छ । केही बेरपछि हातखुट्टा चिसोले कठ्याङ्ग्रिन थाल्छन् । खोकिरहेका आमा र स्वर बन्द हुँदै गएका बच्चाहरू बिहान घाम नलाग्दासम्म झोक्रिएर बस्नु परेको छ ।

त्रिपालभित्र अटाइनअटाई संयुक्त परिवार बसेका छन् । जहाँ सासूससुरा, छोराबुहारी र जेठाजु (दाइ)-बुहारीहरूको उकुसमुकुस छ । साँघुरो त्रिपालपुनि कोचिएका किरियापुत्रीहरू जसको अनुहार हेर्दा आफैं निराश छ । अपाङ्गहरू, श्रवणशक्ति गुमाएकाहरू निकै ठूलो त्रासमा छन् । जसलाई काउन्सिलिङको जरुरी छ । सन्तान गुमाएका बाआमा र बाआमा गुमाएका टुहुरा बच्चाहरू भेट्दा मन कटक्क खान्छ । कयौं बुढा बाबुआमाहरू हुनुहुन्छ । उहाँहरूको आँखा ओभाएको छैन । मेरो आँखाले देखेका कयौं दृष्यहरू भावुकताले विचलित हुने खालका छन् ।

पीडामा परेकाहरूलाई थप पीडित बनाउन भ्रामक र काल्पनिक कथा बनाएर प्रभावितहरूलाई आइसोलेट गर्ने गुरुयोजना बनाउनेहरूको कहिल्यै कल्याण हुनेछैन ।

हामी जनताको अभिभावक हो । हामीले सेन्टिमेन्टल बनेर समय गुजार्न मिल्दैन । मैले पीडित र प्रभावितहरूसँग जुन समय बिताएको छु त्यसले मलाई आफ्नै प्रकारको अनुभूति दिलाएको छ । वातावरणले वस्तुलाई प्रभावित गर्छ भने झैँ अहिलेको समयले मलाई जुन प्रकारको इमोसनल फिलिङ गराएको छ । त्यसका आधारमा मैले नेगेटिभ एटिच्युड भएका मिडिया मालिकलाई जवाफ दिनु पर्ने धेरै तथ्य र तर्कहरू छन् । फेरि पनि हामीलाई तिनका विषाक्त हेडलाइन र खुरापाती कन्टेनका लागि धेरै समय बर्बाद गर्नु छैन ।

यो जनताको सेवा गर्ने समय हो । जनताको हातमा हात र काँधमा काँध मिलाउँदै पीडित र प्रभावितहरूलाई राहत र उद्धारको काम गर्न बाँकी छ । प्रभावितहरूलाई पहिले त्रिपालमुनि राख्ने, यथा शिघ्र त्रिपालबाट अस्थायी टहरामा राख्ने र त्यसपछि भूकम्प प्रतिरोधी घर बनाउने काम बाँकी छ । त्यस्ता बस्तीमा स्वच्छ खानेपानी, स्वास्थ्य सेवा, विद्यालयलगायत आधारभूत संरचना निर्माण गर्ने सबै दायित्व राजनीतिक पार्टी र जनताद्वारा निर्वाचित जनप्रतिनिधिको हो । हाम्रो चिन्ता, चासो, योजना तयारी र सोच त्यतापट्टि इंगेज छ ।

दुर्गमका विकट भूगोल त्यसमाथिको गरिबी, अभाव र विपन्नता अनि बच्चाको निराकार भविष्य , युवाको निरुद्देश्य वर्तमान र वृद्धवृद्धाहरूको आर्थिक असुरक्षाको दर्दनाक पीडालाई नजिकबाट बुझेको छु । समतामूलक समाजका लागि प्रगतिशील राजनीतिक बाटो समातेका हाम्रा लागि कर्णालीको भूगोल र कर्णालीका जनताको पीडा नौलो भने होइन । यद्यपि समय बदलियो, व्यवस्था बदलियो र सो अनुरूप जनताको अवस्था बदल्न हामीले गरेका प्रयासहरू हाम्रो निर्वाचन क्षेत्रमा होस् वा देशव्यापी रूपमा जग जाहेर छन् ।

कर्णालीको विपन्नतामाथि विपत्तिले प्रहार गरेपछि हामी जनताको साथमा रहने कुरा स्वाभाविक हो । कुनै अखबारको हेडलाइनको त्रासले जनतालाई अलपत्र छोडेर अहो जनता कहाँ आउनु अपराध रहेछ भनेर टाप कस्ने कुरा पनि भएन । अन्य तमाम मिडियाहरूको साथ सहयोग र प्रेरणाले हामी थप जिम्मेवार बन्नुपर्ने हुन्छ । यस विपदको घडीमा त्रिपालमुनिको बासका समस्याहरू एक जिम्मेवार राजनीतिकर्मी हुनुको नाताले बुझ्नैपर्ने हुन्छ ।

त्रिपालको छेउमा आगो बल्यो कि बलेन ? लालाबाला, सुत्केरी महिला, बिरामी र वृद्ध वृद्धाले छाक टार्न पाए कि पाएनन् ? दमका बिरामीहरूको स्वास्थ्य अवस्था कस्तो छ ? बालबालिकाहरू निमोनियाको सिकार बन्दैछन् कि ? भविष्यको घरबासको चिन्ताले अहिले नै उनीहरूलाई डिप्रेसनतिर लान्छ कि ? यी सबै कुरा बुझ्न घटनास्थल र जनताका त्रिपालहरूसम्म पुग्नैपर्छ । यस्तो विषयको जायजा लिन कुनै मिडिया मालिकको अनुमति लिन जरुरी छैन ।

जुनदिनसम्म जनताको ढोका हाम्रा लागि खुला रहन्छ , जुनदिनसम्म जनतासँग हामीले हार्दिकतापूर्वक संवाद गर्नसक्छौं, जुनदिनसम्म उनीहरूका न्यूनतम आवश्यकता र मागहरू सम्बोधन गर्न सक्छौं त्यो दिनसम्म हामी जनतासँगै रहन्छौं । यो देश कर्णालीका जनताले खाएका होइनन्, यो देशको आर्थिक समस्या कर्णालीका जनतालाई दिएको कुनै दान ,उपहार वा विशेष अधिकारले होइन ।

यो देशको वायुसेवा निगम, आयल निगम, साझा भण्डार, विद्युत प्राधिकरण, औषधि लिमिटेडजस्ता सार्वजनिक संस्थानहरूको जुन बेहाल थियो त्यो माओवादीले बनाएको होइन । १८ घण्टे लोडसेडिङबाट विद्युत निर्यात गर्ने ठाउँमा पुर्‍याउने काम बरु माओवादीबाट भयो । विशेष औद्योगिक क्षेत्रहरूलाई औचित्य र अस्तित्वहीन बनाउने माओवादी होइन । यो देशका कल कारखाना र राज्यका सम्पत्तिहरूको बेचबिखन तथा दोहनमा माओवादी कहिल्यै सामेल छैन । बरु राजधानी उपत्यकाका फराकिला सडकदेखि मध्यपहाडी, सुरुङमार्गहरूको अवधारणा, द्रुत सञ्चार, प्रभावकारी सेवाको बहस, अधिकारको पैरवी शुसासन जस्ता एजेण्डाहरू माओवादीको आगमनसँगै चर्चामा आएका हुन् ।

मिडियाको लोगोलाई तरबार बनाएर दादागिरी गर्नेहरूसँग पौँठेजोरी खेल्ने समय अहिले छैन ।

मैले एक पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा स्टक लाइसेन्स माग गर्ने मिडिया हाउसलाई दिन सकिनँ । त्यो मेरो राजनीतिक जीवनको अन्तहीन र कठोर अपराध हो भने सामना गरौँला । हुन त त्यो मेरो मात्रै क्षेत्राधिकारको कुरा थिएन । त्यही दिनबाट मेरो खेदो खन्ने काम शुरू भयो । जुन अहिलेसम्म पनि अनवरत रूपमा जारी छ । एउटा लाइसेन्स नपाएको झोकमा वर्षौँ पिछा गर्ने प्रवृत्तिले कसरी निष्पक्ष र तटस्थ सञ्चारको वकालत गर्न सक्छन् ? कुरा क्लियर छ ।

जहाँसम्म जाजरकोट र पश्चिम रुकुमको कुरा छ प्राकृतिक विपत्तिका ज्वारहरूले धक्का दिएपछि यो देशका तमाम नागरिकले व्यक्तिगत, संस्थागत र राज्यका विभिन्न निकायले पनि पहिलोपल्ट निकै उदार भावनाका साथ यहाँका जनतालाई कहिल्यै नबिर्सिने गुन लगाएका छन् । यो सत्य हो । तर पीडामा परेकाहरूलाई थप पीडित बनाउन राहत सामग्रीमाथि राजनीति भएको, खोसिएको, अपहरण भएकोजस्ता भ्रामक काल्पनिक कथा तयार गरेर सहयोगीहरूलाई पनि निरुत्साहित बनाई कर्णालीका पीडितहरूलाई आइसोलेट गर्ने गुरुयोजना बनाउनेहरूको पनि कहिल्यै कल्याण हुनेछैन ।

जाजरकोट र पश्चिम रुकुमको ऐतिहासिक र भौगोलिक सामिप्यमा छ । एक पानी ढलो छ । यी दुवै जिल्लाको सामाजिक आर्थिक पृष्ठभूमि समान छ । चेतना, रहन सहन, संस्कृति समान छ । नाता सम्बन्धले जेलिएको छ । हामीमध्ये कोहीले कहिल्यै कसैलाई पनि काखापाखा गरेका छैनौं र त्यो हुन पनि सक्दैन । जनता सबै हाम्रै हुन् ।

जिल्लाको निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले हामी आ-आफ्नो कार्यक्षेत्रमा खटेका हौं । हामी दुवै जिल्लाका जनप्रतिनिधि नियमित सम्वादमा छौं । सुरुको लटमा आएका १० हजार त्रिपालहरू पश्चिम रुकुम पुग्दा हामीले ४९ सय राखेर बाँकी त्रिपाल जाजरकोटका लागि पठायौँ । त्यसैले समस्या जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको, नेताको वा वितरण गर्ने निकायको होइन समस्या खराब मनसायले निश्चित व्यक्तिलाई टार्गेट हिट गर्न बहाना खोजेर बसेका मिडिया मालिकहरूको हो ।

त्रिपालभित्र अटाइनअटाई संयुक्त परिवार बसेका छन् । जहाँ उकुसमुकुस छ । साँघुरो त्रिपालपुनि कोचिएका किरियापुत्रीहरूको अनुहार निराश छ । सन्तान गुमाएका बाआमा र बाआमा गुमाएका टुहुरा बच्चाहरू भेट्दा मन कटक्क खान्छ।

त्यसकारण मिडियाको लोगोलाई तरबार बनाएर दादागिरी गर्नेहरूसँग पौँठेजोरी खेल्ने समय अहिलेका लागि छैन । एकथरि मिडियाहरूलाई यो प्रतिशोध साँध्ने सुनौलो अवसर हुनसक्छ । उनीहरूले कसलाई खुइल्याउने भन्ने मिसनअनुसार काम गर्न मिल्दो रहेछ तर, धेरैजसो मिडियाहरू निकै सम्यमित, जिम्मेवार र सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् । ती मिडियाहरूको सूचना, दृष्टिकोण र घटनाक्रमको विश्लेषणले प्रभावित क्षेत्रका जनतालाई सहयोग पुगेको छ ।

एकाध संवेदनाहीन मिडियाहरू पनि रहेछन्, जसले अरुलाई त्यो आरोप लगाउँछन् । भयानक विपत्तिको प्रहारले थिचिएर नियतिको खेल भन्दै चित्त बुझाइरहेका निरीह (पीडितहरू) जसको दर्द समान छ । तिनलाई पनि विभाजित गरी आनन्द लिने मूलधारका एकाध मिडियाहरू कम्तीमा सामाजिक सञ्जालका निष्पक्ष विचार जत्तिको मात्रै भए पनि विश्वसनीय बनून् । जनार्दन शर्मा लेखकबाट

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID