नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,१० कात्तिक । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए पनि नेपालले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा शुक्रबार यूएईलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ ।

यूएईले टस जितेपछि ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ८ विकेट गुमाउँदै १ सय ६२ रनमात्र बनाउन सकेको हो । पहिलो सात बल भित्र दुवै ओपनर कुशल र आसिफ शेखले जीवनदान पाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन । पहिलो ओभरको अन्तिम बलमा आसिफको क्याच यूएईका विकेटकिपरले छाडेका थिए भने दोस्रो ओभरको पहिलो बलमा कुशलले गरेका प्रहार सर्ट फाइन लेगमा छुट्न पुगेको थियो ।

नेपालले ६ ओभरको पावर प्लेमा १ विकेटमात्र गुमाएर ५९ रन जोड्दै उत्कृष्ट सुरुआत गरेको थियो । आसिफ १२ बलमा ७ रन बनाई आउट भए । सातौं ओभरमा कुशल २ बल खेली १ रनमै आउट भए । दुवैलाई आयान अफजल खानले बोल्ड गरे । आयान र आर्यन्श शर्मा यूएईको यु-१९ टोलीमा रहेकाले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा पहिलो खेल खेलिरहेका हुन् । आयानको कप्तानीमा रहेको यूएई टोली एसीसी यू १९ प्रिमियर कपको फाइनलमा नेपालसँग पराजित भएको थियो । देव्रेहाते स्पिनर आयान १८ विकेट लिदैं यु-१९ प्रिमियर कपमा उत्कृष्ट बलर बनेका थिए ।

कुशलले २८ बलमा अर्धशतक बनाए । त्यसको अर्को बलमा उनी आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले १७ बलमा १८ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाई आउट भए । गुल्शन झाले ५ रनमात्र जोड्न सके । करण केसीले १७ बलमा २ चौका र १ छक्कासहित अविजित २३ रन बनाएपछि नेपालको स्कोर केही मजबुत बनेको हो ।

दुई सुन्दर प्रहार गरेका सोमपाल कामीले ८ बलमा १३ रन बनाए । सोमपाललाई पनि आयानले बोल्ड गरे । आयानले ४ ओभरमा १९ रनमात्र खर्चे । जाहुर खान र अलि नासिरले २/२ विकेट लिए । जाहुरले ४ ओभरमा ३६ र नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

नेपालले डबल रान्ड रोबिनको खेलमा सबै चार खेल जितेर फाइनल यात्रा पक्का गरेको थियो । यूएईले एक खेलमा मात्र विजय हात पारे पनि नेपालसँग फाइनल खेल्न योग्य बनेको थियो । यूएईलाई बुधबार अन्तिम खेलमा हङकङले ६३ रनले पराजित गरेको थियो ।

मा प्रकाशित