
गढवा, ३१ भाद्र। नेपालमा अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । तिव्र गतिमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणका लागि हेफर इन्टरनेसनल नेपालले गढवा गाउँपालिकालाई ८६ हजार बराबरको भेटेनरी सामाग्री तथा औषधी सहयोग गरेको छ।
हेफर प्रोजेक्ट नेपालको कार्यक्रम अधिकृत डा. अंकिता श्रेष्ठले आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई २२ शिर्षकमा विभिन्न प्रकारको भेटेनरी साग्री तथा औषधी सहयोग गरिएको बताउनु भयो ।
गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखा पर्ने र त्यसलाई तत्काल नियन्त्रण नगरे भयावहको अवस्था सिर्जना हुने भएकोले हेफर इन्टरनेसनल नेपालले त्यस अवस्था लाई ख्याल गर्दै गढवा गाउँपालिका लाई भेटेनरी सामाग्री तथा औषधी सहयोग गरेको डाक्टर अंकिता श्रेष्ठले जानकारी दिनुभयो।
गढवा गाउँपालिकामा विगत छ महिना देखी लम्पी स्किन रोग महामारीको रुपमा फैलिई पशुधनको क्षति गराई साना किसानलाई ठुलो आर्थिक नोक्सानी समेत गराएकोले हेफर इन्टरनेसनल नेपालले लम्पी स्किन प्रभावित पशुको उपचार तथा राहतको लागि सहयोग स्वरूप विभिन्न सामाग्रीहरु सहयोग गरेको गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अन्नतराज रेग्मीले जानकारी दिनुभयो।
भेटेनरी तथा औषधी सामग्री हस्तान्तरण कार्यक्रम बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘बिस्वास’ ले लम्पी स्किन रोग नियन्त्रण गर्न पालिका आवश्यक कदम चलाएको बताउदै हेफर इन्टरनेसनल नेपालको सहयोगले थप सहयोग पुगेको र प्रभावित पशुको उपचारमा सहयोग पुग्ने भन्दै सहयोगको लागि धन्यवाद दिनु भयो। लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने, वर्षायाममा बढी देखिने यो रोग रोगी पशुहरूको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट पनि सर्ने भएकोले संक्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधान गराउदा किसानहरुले बिशेष ध्यान दिनु पर्ने बताउनुभयो।लम्पी स्किन रोग नियन्त्रणका लागि सम्पूर्ण किसान र पालिका एकजुट भएर लागे रोग नियन्त्रण गर्न सकिने र ठुलो क्षति नहुने बताउनु भयो ।
लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ । अफ्रिका महादेशमा उत्पति भएको यो रोग सन् २०१२ पश्चात् मध्यपूर्व, दक्षिणपूर्वी युरोप हुँदै सन् २०१९ मा एशियाको बंगलादेश चीन लगायत भारतमा समेत फैलिएको थियो । पशुसेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो।
नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ । किसानका अनुसार यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ ।
भेटेनरी तथा औषधी हस्तान्तरण कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ७ नम्वर वडाध्यक्ष राहुलदेव चौधरी, पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अन्नतराज रेग्मी, हेफर प्रोजेक्ट नेपालको कार्यक्रम अधिकृत डा. अंकिता श्रेष्ठ, गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, सहजकर्ता बाबुराम यादव, प्रेस संयोजक आलोक भावुक लगाएतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले गर्नुभएको थियो।
