दाङ, ५ भाद्र । गर्नु गर्यौ बलराम भैंसी पालेर
दुनियाँलाई ढाटेर
खाटी दूधमा पानी हालेर
राजु परियार र विष्णु माझीले गाएको यो गीतमा अभिनय गरेपछि कलाकार कमल गाउँलेलाई काठमाडौं ओहोरदोहोर गर्नेक्रममा चितवनको मुग्लिङमा उत्रिएर खाना खानसमेत सकस भयो । दूधमा पानी मिसाएर आफूहरूको बेइज्जत गरिदिएको भन्दै किसानले उनलाई गाली गर्न थाले ।
कतिपय ठाउँमा उनलाई भेष बदलेर लुकीलुकी हिँड्नुपर्यो । गीतमा उनको अभिनयले चर्चाको चुलीमा पुर्यायो । गायकलाई मात्र नभई अभिनय गर्ने पात्रलाई दर्शकले धेरै याद गरे ।
कमलको परिचय फेरियो, दूधमा पानी मिसाउने ‘बलराम’ नै चिनारी बन्यो । त्यसले उनलाई कला क्षेत्रलाई नै निरन्तरता दिने ऊर्जा पनि थपिदियो । तीतो सत्य, मदनबहादुर–हरिबहादुर लगायतका दर्जनौं टेलिसिरियल र सयौं म्युजिक भिडियोमा गाउँलेले अभिनय गरे । ‘उहिले बाजेको पालामा’, ‘देवयानी’, ‘चन्द्र सूर्य’, ‘खबरदार’, ‘प्रेमनाथ’ ‘ढुकुटी’, ‘हली’, ‘कुम्भकरण’, ‘पण्डित बाजेको लौरी’, ‘छक्का पञ्जा’, ‘छ माया छपक्कै’ लगायतका चलचित्रमार्फत उनले ठूलो पर्दामा पनि अभिनय गरे ।
गाउँले मानिसको भूमिकामा कमलले जीवन्त अभिनय गरेका छन् । कहिले आरने दाइ, कहिले कपडा सिलाउने दाइ त कहिले किसान । यस्ता अनेकौं ‘गाउँले पात्र’ को भूमिकामा अभिनय गर्दागर्दै उनको पहिचान नै गाउँले भयो । खास नाम कमल अर्याल भए पनि उनको अभिनय भूमिकाले उनी गाउँले पात्र भए अनि नाम मात्र होइन, पहिचान नै गाउँले । अहिले उनलाई कमल अर्याल भन्दा कमैले चिन्छन् । कमल गाउँले नै उनको कलाकारिताको मात्रै होइन, जीवनकै परिचय भएको छ ।
लामो समय काठमाडौंमा बसेर विभिन्न टेलिफिल्म, फिल्म र म्युजिक भिडियोमा अभिनय गरेका उनले अहिले घोराही उपमहानगर–१८ मसिनास्थित आफ्नै घरमा बसेर गाईजात्राको हाँस्यव्यंग्य सिर्जनामा व्यस्त छन् । २३ वर्षदेखि निरन्तर एक्लै गाईजात्राको एल्बम/भिडियो सार्वजनिक गरिरहेका छन् । यस वर्ष पनि उनले ‘काण्ड–काण्डको देश’ नामको २३ औं गाईजात्रे भिडियो बनाएर गत शुक्रबार कमल गाउँले युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
सुरुमा क्यासेट रेकर्ड गरेर आफैं बेच्दै पनि हिडें कलम । त्यो क्रम ५ वर्षसम्म चल्यो । त्यसपछि समयसँगै भिसिडी वितरण गर्न थाले । त्यसपछि युट्युबको जमाना आयो । अनि उनले पछिल्लो प्रविधि पछ्याउँदै युट्युबमा राख्न थाले । ‘हाँस्यव्यंग्य नै मेरो कर्म क्षेत्र भयो । सुरुमा मादल बजाउँदै काठमाडौं छिरेको थिए, पछि हाँस्यव्यंग्यमा रस पसेपछि यसैमा निरन्तर लागिरहेको छु,’ कमलले भने, ‘गाईजात्रे सामग्री त मेरो हरेक वर्षको महत्त्वपूर्ण उत्पादन भएको छ । म यसलाई निरन्तर चलाइरहन्छु ।’
नाफा कमाउने उद्देश्यभन्दा समसामयिक राजनीतिक र सामाजिक विकृतिलाई व्यंग्य गर्न निरन्तर गाईजात्रे सामग्री तयार पार्ने गरेको उनको भनाइ छ । पछिल्लो समय युट्युबमा दर्शक बढ्दा पैसा कमाउन सकिन्छ तर अन्य सामाजिक सञ्जालमा हालिदिने भएकाले युट्युबमा भ्युज कम हुने गरेको उनको गुनासो छ । ‘एउटा भिडियो बनाउन एक लाखभन्दा बढी खर्च हुन्छ तर आम्दानी गर्न समस्या छ,’ उनले भने, ‘कलाकार बाँच्ने नै आफ्नो सिर्जनाबाट हो तर यहाँ सिर्जना पनि चोरेर व्यापार गर्ने क्रम बढेको छ ।’
गाईजात्रालाई उनी महत्त्वपूर्ण पर्वका रूपमा लिन्छन् । ‘नेताहरू दिनदिनै जात्रा गरिरहेका छन् । हामीले एक दिन गाईजात्रा मनाउने हो । सधैं गाली गर्न, गुनासो गर्न पाइँदैन,’ उनले भने, ‘वर्षमा एक दिन भए पनि नेताहरूको गलत प्रवृत्तिविरुद्ध बोल्न पाइन्छ । समाजका विकृति औंल्याउन पाइन्छ ।’ पहिलेपहिले कलाकारिता गर्न काठमाडौंमै बस्नुपर्ने बाध्यता भए पनि अहिले प्रविधिको विकासले जहाँबाट पनि कला देखाउन सकिने उनी बताउँछन् । त्यसैले आफ्नै जिल्लामा बसेर विभिन्न सामग्री उत्पादन गरिरहेको उनको भनाइ छ । त्यसो त, बेलाबेला फिल्म र भिडियोमा अभिनय गर्ने अवसर आए काठमाडौंतिर दौडन्छन् उनी । काम सकिएपछि भने फेरि जिल्लामै फर्केर सिर्जनामा लाग्छन् ।
कमलले २०५० सालमा जिल्लाकै नवयुग नाट्य समूहबाट कला यात्रा सुरु गरेका थिए । समूहले जिल्लाका विभिन्न गाउँमा पुगेर सडक नाटक देखाउने गर्थ्यो । समूहमा कर्णप्रिय प्रकृति धिताल, मथुराप्रसाद श्रेष्ठ, अजित लामिछाने लगायतका कलाकार थिए । २०५४ मा दाजु भरत अर्यालले सांगीतिक प्रशिक्षण लिन उनलाई काठमाडौं पठाए । मोदनाथ प्रश्रित अध्यक्ष र जेबी टुहुरे उपाध्यक्ष रहेको जनसांस्कृतिक मञ्चले सञ्चालन गरेको प्रशिक्षणमा उनले राप्ती अञ्चलको प्रतिनिधित्व गर्दै मादल, सारंगी बजाउन र गीत गाउन सिके ।
सांगीतिक प्रशिक्षण लिँदालिँदै उनलाई ‘बलिदान’ चलचित्रमा देखिने मौका मिलेको थियो । ‘एक वर्षसम्म मञ्चको प्रशिक्षण लिँदा काठमाडौंका गल्लीहरू चिन्न पाएँ । कलाकारिता सिक्न पाइयो,’ उनले भने, ‘त्यसपछि कलाकारिताको नसा झनै चढ्यो ।’ २०५७ मा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा सहभागी भई उनले त्यसै वर्ष स्वर परीक्षा उत्तीर्ण गरे । २०५८ देखि एक वर्षसम्म सांस्कृतिक संस्थानमा अभिनयको कक्षा लिए ।
अभिनय सिक्दासिक्दै उनले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय नाटक महोत्सवमा थुप्रै नाटकमा अभिनय गरे । नाटक लेखन र निर्देशनका कामहरू पनि गरे । त्यस क्रममा धेरै पुरस्कारहरू पनि पाए । २०६० मा राष्ट्रिय मादल प्रतियोगितामा सहभागी भई देशकै उत्कृष्ट भए । ‘त्यसपछि मलाई काठमाडौंमै बसिरहन सजिलो भयो । दोहोरी साँझहरूमा मादल बजाउन थालें,’ उनले भने, ‘रातभर दोहोरीमा काम गर्ने र दिनभर फिल्म, सिरियलहरू खेल्न थालें ।’
यति धेरै विधालाई सँगसँगै लैजाँदा पनि उनले हाँस्यव्यंग्यलाई छोड्नै सकेनन् । उनले दर्जनौं प्यारोडी गीत गाए । हाँस्यव्यंग्य गर्ने क्रममा गाउँलेले देशका विभिन्न जिल्लाका साथै दर्जनौं मुलुकको यात्रा गरिसकेका छन् । ‘कलाकारिताबाट मलाई धेरै नै आत्मसन्तुष्टि छ । दर्शकहरूको माया पाएको छु,’ उनले भने, ‘जनतालाई हँसाउन पाएको छु । मेरो पहिचान नै गाउँले हो । म गाउँघरकै पात्रका कथा बोकेर बाँचिरहेको छु, बाँचिरहनेछु ।’ – कान्तिपुरबाट