वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सुप्रसिद्ध कथन छ- ‘एउटै तरिका पटक-पटक दोहोर्याएर फरक परिणामको अपेक्षा गर्नु मूर्खता हो ।’ आइन्स्टाइनको यो भनाइ विज्ञानको क्षेत्रमा नयाँ आविष्कार गर्ने प्रक्रियामा मात्रै होइन हाम्रा व्यक्तिगत, सामाजिक, आर्थिक, व्यावसायिक, शैक्षिक क्षेत्रमा जहाँ फरक परिणाम अपेक्षा गरिन्छ त्यहाँ पनि लागू हुन्छ ।
केही दिनअघि कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरिएको छ । विगतका वर्षहरूको जस्तै यस वर्ष पनि झण्डै आधा (४९ प्रतिशत) विद्यार्थी असफल (ननग्रेडिङ) मा दर्ज भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले दाबी गरे जस्तो अघिल्लो वर्षभन्दा दुई प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भइहाल्दैमा शिक्षामा सुधार आयो भन्न मिल्दैन ।
यसो त उत्तीर्ण विद्यार्थी एक/दुई प्रतिशत घटबढ हुनुले परिवर्तन आइहाल्यो भन्ने अर्थ दिंदैन । केही वर्षसम्म लगातार राम्रो प्रतिशतका साथ विद्यार्थी उत्तीर्ण हुने दर बढ्दै गएमा त्यतिबेला शिक्षामा सुधार हुँदै गयो भन्ने हिच्किचाइरहनु परेन । तर, यो राष्ट्रिय परीक्षाको नतिजामा आधा विद्यार्थी असफल हुनु देशको शिक्षा अवस्था कति नाजुक छ भन्ने तस्बिर छर्लङ्ग पारिदिएको छ ।
यो शिक्षा क्षेत्रको मात्रै सरोकारको विषय होइन । यो समग्र देशको विषय हो । देशको अवस्थाको प्रतिबिम्ब हो । यदि देशमा जिम्मेवार प्रधानमन्त्री र सरकार हुन्थ्यो भने तत्काल शिक्षाको नीतिगत तहमा काम गर्ने सबै सरोकारवाला पक्षलाई बोलाएर शिक्षा व्यवस्था जे-जसरी चलिरहेको छ त्यसलाई बदल्न लक्ष्य सहितको स्पष्ट मार्गचित्र सहित अग्रसर हुन्थे । तर, यसो भइरहेको छैन । यसको परिणाम धेरै वर्ष पछिसम्म पनि लाखौं विद्यार्थीले परीक्षामा असफलताको ‘ट्याग’ टाँस्नुपर्ने अवस्था देखिंदैछ ।
परीक्षाले विद्यार्थी भन्दा बढी शिक्षा प्रणाली जाँच्छ
ठूलो संख्यामा विद्यार्थी असफल हुँदै गर्दा देशको शिक्षा हाँक्ने र सञ्चालन गर्ने निकाय पनि असफल भएको बारे कमै मात्र बहस हुने गरेको छ । यसरी हरेक वर्ष विद्यालय र क्याम्पसमा उच्च संख्यामा विद्यार्थी असफल हुनुको अर्थ शिक्षा मन्त्रालय असफल भएको हो । शिक्षा मन्त्रालय हाँक्ने मन्त्री र नीति बनाउने त्यहाँका कर्मचारी असफल भएका हुन् ।
विश्वविद्यालयका पदाधिकारी असफल भएका हुन् । राष्ट्रिय परीक्षा बोर्ड असफल भएको हो । विद्यालय शिक्षा सञ्चालन गर्ने अधिकार पाएको स्थानीय निकाय असफल भएको हो । पाठ्यक्रम असफल भएको हो । शिक्षणको तौरतरिका असफल भएको हो ।
परीक्षाले विद्यार्थीको स्तर मात्र जाँच गर्दैन शिक्षाको नीति, पाठ्यक्रम, शिक्षण विधि, परीक्षा स्वयंको पनि जाँच गरेको हुन्छ । धेरै विद्यार्थी असफल हुनु र परीक्षामा पास भएका विद्यार्थीले पनि केही गर्न नसक्नुको सन्देश हो, शिक्षा प्रक्रिया असफल छ, यसको तौरतरिका बदल भनेको हो । समस्या एकातिर मात्रै छैन । पाठ्यक्रम, शिक्षकको क्षमता, शिक्षण विधि, परीक्षा प्रणाली सबैतिर केही न केही समस्या छ । शिक्षामा राजनीति, अपर्याप्त बजेट, लक्ष्यविहीन शिक्षा प्रणालीले देशलाई आवश्यक उत्कृष्ट मानव पूँजीको उत्पादन गर्नबाट छेकेको छ ।
तैपनि दशकौं अघिदेखिको शिक्षा प्रणाली आज पनि कायम छ । उही प्रक्रिया दोहोर्याएर फरक परिणाम हासिल हुन सक्दैनथ्यो, भएन ।
विद्यार्थीको भविष्यप्रति आशा र आत्मविश्वास दिने सरकार भएन
आज विद्यालयमा पढ्दै गरेको विद्यार्थीले आफ्नो वरिपरि सर्वत्र विश्वविद्यालय पढेर बेरोजगार दाइदिदीहरू देखेका छन् । कैयौं दाइदिदी उच्च शिक्षा लिएर पनि खाडी मुलुकदेखि कोरियासम्मका मुलुकमा श्रम गर्न उडिरहेको देखेका छन् । यसले आज विद्यालयमा पढ्न गएका विद्यार्थीमा पढे पनि स्वदेशमा भविष्य राम्रो छैन भन्ने सन्देश प्रवाह गरेको छ ।
त्यसैले कक्षा १२ सम्मका पढैया विद्यार्थी पनि अष्ट्रेलिया-अमेरिकाको सपना देख्दै पढिरहेका छन् । पढाइमा कमजोर वा पढ्न नखोज्ने विद्यार्थी ‘खाडी देश जिन्दावाद’ भन्दै आफ्नो सेतो शर्टमा कालो मसीले लेखेर पढ्नैपर्ने बाध्यताबाट मुक्त भएका छन् । सरकारले पढेपछि भविष्य सुन्दर छ भन्ने सन्देश दिन असफल छ । त्यसैले कोही विद्यार्थी किन पढ्नमा दुःख गरोस् ?
ठूलो संख्यामा विद्यार्थीको असफलताप्रति सामाजिक सञ्जालमा एउटा टिप्पणी भेटिएको थियो- ‘विद्यार्थीले कोरियन भाषा ३ महिना पढ्छ र पास हुन्छ । तर १२ महिना विद्यालय पढ्दा पनि विद्यार्थी अंग्रेजीमा असफल हुन्छ ।’
यस हुनुको कारण पनि कक्षाकोठाको शिक्षण र विद्यार्थीको प्रोत्साहनसँग जोडिएको छ भन्ने कुरामा स्पष्ट छ । कोरियन भाषा ३ महिना पढेपछि विद्यार्थीले महिनामा लाखौं कमाउने सम्भावनाको ढोका खुल्छ । ३ महिनाको कोर्सले विद्यार्थीलाई उज्ज्वल सपना देख्न प्रेरित गर्छ । त्यसले विद्यार्थीमा ऊर्जा र उत्साह थप्न सक्नेभयो । तर, हाम्रो औपचारिक शिक्षामा १२ कक्षा सकेर मात्रै होइन, स्नातक, स्नातकोत्तर सक्दा पनि भविष्य अन्योल र अनिश्चित छ । यसले विद्यार्थीको उत्साह भर्न सकेन । गतिला सपना देख्न प्रेरित गरेन । त्यसैले विद्यार्थी पढ्दैनन्, मात्र विद्यालयमा ‘टाइम पास’ गर्छन् ।
सानो कक्षादेखि नै कमजोर शैक्षिक जग
कुनै पनि विद्यार्थी माथिल्लो तहमा पास नै नहुने गरी यत्तिकै कमजोर हुँदैन । हाम्रा विद्यालयका कक्षाहरूमा सिकाइ नै कमजोर भएको कुरा विभिन्न अध्ययनले समेत देखाएकै छन् । त्यसको प्रभाव माथिल्लो कक्षामा पर्ने नै भयो ।
विद्यालयको शिक्षा मुलुकको भविष्यसँग जोडिएको विषय हो । शिक्षण तरिका नै बदल्ने गरी बजेट व्यवस्था र शिक्षकको सशक्तीकरण गर्नुपर्ने आवश्यकता एसईईदेखि कक्षा १२ सम्मको नतिजाले देखाइरहेका छन् । शिक्षकको निरन्तर पेशागत विकास नगरिकन शिक्षणमा सुधार हुँदैन । गाउँघरतिरका विद्यालयमा विषयगत शिक्षकको अभाव भएर अर्कै विषयको शिक्षकले पढाउनु परिरहेको छ ।
दक्ष शिक्षकको अभाव दिनप्रतिदिन बढ्दो क्रममा छ । त्यसैले विभिन्न जिल्लामा गणित/विज्ञान जस्ता विषयका शिक्षक नपाएर ९/१० पटक सम्म पनि विज्ञापन गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ । यसले हाम्रो भविष्यको शिक्षामा थप कालो बादलका संकेतहरू देखा पर्दैछन् ।
अर्कोतिर, दशकौं अघि नियुक्ति भएका शिक्षकहरूका लागि नयाँ ज्ञान र प्रविधिसँग ‘अपडेटेड’ गराउने अर्थपूर्ण तालिम भइरहेका छैनन् । पहिले कक्षा १० सम्म सञ्चालन भइरहेका विद्यालयमा कक्षाकोठा थपेर १२ कक्षासम्म सञ्चालन गराइयो । त्यसका लागि शिक्षकको नयाँ दरबन्दी सिर्जना भएन । तल्लो तहमै पढाइरहेका शिक्षकले माथिल्लो कक्षामा जसरी-तसरी पढाइरहेको देखिन्छ । उनीहरूका लागि अध्ययन, अनुसन्धानको तालिम दिन स्थानीयदेखि केन्द्र सरकारको चासो देखिन्न । यसको प्रभाव कक्षाकोठा र त्यसको नतिजामा देखिने नै भयो ।
विश्वविद्यालय अन्तर्गतको शिक्षा संकायले शिक्षक उत्पादन गर्ने जिम्मा लिएको छ । अहिले त अब लगभग जुनसुकै संकाय पढेकाले पनि शिक्षक लाइसेन्स प्राप्त गर्ने व्यवस्था गरिएको छ । शिक्षाको क्षेत्रमा उत्कृष्ट परिणाम निकालेर विकासको उचाइमा पुगेका देशहरूमा शिक्षक उत्पादन गर्ने तौरतरिका निकै विशिष्ट छ । त्यहाँ पढाइमा अब्बल व्यक्तिलाई शिक्षक बन्न आकषिर्त गरेर निकै मिहिनेतका साथ शिक्षक उत्पादन गरिन्छ । हामीकहाँ शिक्षक बन्न सजिलो भयो । यो पेशालाई बढी सामान्य ठानियो । चिकित्सा, इन्जिनियरिङ, न्याय क्षेत्रको पेशा जति विशिष्टीकृत बनाइन्छ त्यति शिक्षण पेशा भएन ।
राम्रो ज्ञान र तालिम नभएको डाक्टरले शरीर चिर्दा बिरामीको जीवन जति खतरामा पर्छ त्यस्तै खतरा अयोग्य शिक्षकलाई कक्षाकोठामा पठाउँदा विद्यार्थीको भविष्यमाथि हुन्छ । जो अहिले देखिइराखेको छ । अब्बल शिक्षकको उत्पादन र उसको निरन्तर पेशागत विकास गर्ने प्रणाली बसाल्नुपर्थ्यो ।
एसईईपछि विद्यार्थीले अनिवार्य विषय बाहेक आफ्नो रुचि अनुसारको विषय छनोट गर्न पाउँछ । आफूले रोजेको विषय पढ्दै गर्दा पनि यति ठूलो संख्यामा विद्यार्थी असफल हुनुलाई हलुका रूपमा लिने गल्ती सरकारले नगरोस् । माथि उल्लिखित समस्या हल गर्ने चेष्टा गरे मात्रै कालो बादलमा चाँदीको घेरा देखिन सक्नेछन् । अनलाइन खबरबाट