डा.राजेन्द्र बरालले धेरै वर्ष पहिले एउटा हृदयविदारक घटना सुनाउनुभएको थियो । ‘आजभन्दा १० वर्षअघि ८ कक्षामा पढ्ने किशोरी पनौती–१ (परिवर्तित नाम) मकहाँ आइन् । उनलाई के भएको हो भनेर सोधें, केही पनि बोलिनन् । झण्डै १५ मिनेटसम्म पनि केही नबोली बसिरहिन् । अनि मैले एकजना नर्सलाई बोलाएँ र उनलाई के भएको छ भनेर सोध्न भनें ।’
डा. बरालका अनुसार, पनौती–१ बल्ल बोलिन् । उनले तल दुख्छ भनिन् । यस्ती किशोरीलाई के भएको हुनसक्छ भनेर म छक्क परें । र नर्सको उपस्थितिमा उनलाई जाँच्ने कोसिस गरें । म स्तब्ध भएँ, उनलाई त पाठेघरको मुखको क्यान्सर भएको रहेछ ।
उनलाई कहिलेदेखि यौन सम्पर्क भयो भनेर सोध्दा उनले भनेको कुरा पत्याउनै नसकिने खालको थियो । बुवाले उनी ३ कक्षामा पढ्दादेखि नै बलात्कार गर्दै आएका थिए रे ! डरले आमालाई पनि भनेकी थिइनन् रे ! तर, उनी ७ कक्षामा पुगेपछि उनलाई समस्या भएर मात्रै आमालाई भनिन् ।
अनि आमाले तत्काल बुवासँग पारपाचुके गरिन् । बाबु चाहिं भागेर अमेरिका पुगे । भाग्यले ती किशोरीको समयमै उपचार भयो र अहिले उनी उच्च शिक्षा हासिल गर्दैछिन् । डा. राजेन्द्र बरालले भनेको यो स्थिति नेपाली समाजमा अहिले पनि छ ।
‘घरमा काका, मामा, काकाका छोराहरू वा अन्य कुनै पुरुषहरू छन् भने बालिका र किशोरीलाई उनीहरूबाट हुनसक्ने यौन दुर्व्यवहारको बारेमा सचेत गराउनै पर्छ’ मानसिक रोग विशेषज्ञ डा.विश्ववन्धु शर्मा भन्नुहुन्छ, ‘स्कुलमा शिक्षकहरूले यसरी सचेत गराउन सक्छन् ।’
‘घरमा बुवा वा दाजुका साथीहरू वा काकाहरूबाट यौन दुर्व्यवहार हुँदा कति बालिका र किशोरीले डराएर आमा वा बज्यैलाई भन्दैनन् । किनकि प्रायः हाम्रो समाजमा घरका दिदीबहिनी वा भतिजीलाई यौन दुर्व्यवहार गर्दैनन्, उनीहरूको बीचमा पवित्र सम्बन्ध हुन्छ भन्ने आम बुझाइ छ’ डा. शर्मा भन्नुहुन्छ, ‘तर यस्ता समस्याहरू बारम्बार समाजमा देखिएका छन् र यस्ता कुरा समाजमा बेइज्जत हुन्छ भन्ने डरले कसैले बाहिर ल्याउन पनि चाहँदैन ।’
काठमाडौंकी एकजना वरिष्ठ स्त्री रोग विशेषज्ञले कुनै बेला मलाई एउटा घटनाबारे बताएकी थिइन् ।
‘केही महिना अघि मकहाँ १५ वर्षकी किशोरीलाई गर्भपतन गर्न ल्याइयो । उनको ५ महिनाको गर्भ रहेछ । उनकी दिदीले ल्याएकी थिइन् । किशोरी साह्रै उदास देखिन्थिन् । दिदीलाई बाहिर पठाएर मैले किशोरीसँग कुराकानी गरें । थाहा भयो कि उनको फुपूको श्रीमान्ले ती किशोरीलाई बलात्कार गर्दा रहेछन् । बाहिरबाट फुपाजूले ती किशोरीलाई निकै माया गरेको देखाउने र घरका मानिसले पनि भन्ने गर्थे- ‘ऊ त फुपा र फुपूको छोरी नै भई ।’ त्यसैले किशोरीको फुपाजूले गरेको कुरा कसैलाई भन्यो भने पक्कै कसैले विश्वास गर्दैनन् भन्ने डरले उनी सबै कुरा सहेर बसेकी थिइन् ।’
ती स्त्री रोग विशेषज्ञले मलाई बताए अनुसार घटना पीडादायी छ ।
‘केही अघि उनको महिनावारी रोकियो । तर बढ्दो उमेरमा यस्तो भई नै रहन्छ भनेर आमाले भनेपछि उनी चुप लागिन् र अहिले पेट देखिएपछि पो उनको गर्भ रहेको कुरा आमा र दिदीलाई थाहा भयो भनेर किशोरीले रुँदै भनेकी थिइन् ।’
फुपाले यस्तो गरेको भनेपछि दिदी र आमाले उल्टै उनलाई गाली गरेर, बढाएर कुरा गरेकी भन्दै इज्जत बचाउन कसैलाई खबर नगरी उनको गर्भपतन गर्न ल्याएका रहेछन् । अनि मैले दिदीलाई बोलाएर यस्तो घटना त पुलिसमा खबर गर्नुपर्ने भन्दा दिदीले चाहिं ‘समाजमा इज्जत जाने र ती किशोरीको पनि जीवन बर्बाद हुने भएकोले पुलिसलाई खबर नगर्ने र जसरी भए पनि गर्भपतन गराइदिन’ भनेर आग्रह गरेकी रहिछन् ।
अहिले पनि हामी कतिपय स्कुलमा प्रधानाध्यापक वा अध्यापकले किशोरी वा बालबालिकालाई घरमा पढ्न बोलाएर वा स्कूलमा बढी समय राखेर यौन दुर्व्यवहार गरेको, चुम्बन गरेको र बलात्कार गरेको घटनाका समाचार पढ्छौं ।
किशोरीहरूलाई चुम्बन गर्दा, उनको स्तन छुँदा वा नजिक राखेर म्वाइँ ख्वाएको घटनालाई ‘घरमा भन्यो भने पक्कै पनि अभिभावकहरूले मलाई नै गाली गर्छन्’ भनेर डरले ती किशोरीहरू डराएर बस्छन् र यसरी जीउ छुने प्रक्रियाबाट यो अपराध बलात्कारसम्म पुग्न सक्छ । यसरी दुर्व्यवहार भोगेका किशोरीको बानी व्यवहारमा परिवर्तन हुने हुनाले अभिभावक पनि सजग हुनुपर्छ ।
बालबालिकालाई आफूलाई कसैले दुर्व्यवहार गरिरहेको छ भन्ने पनि थाहा हुँदैन । चकलेट दिएर वा मिठो खानेकुरा दिएर ‘कसैलाई पनि नभन’ भनेपछि बालबालिका पनि चुप लाग्ने सम्भावना रहन्छ । तर, उनीहरूको बानी–व्यवहारमा भने परिवर्तन हुँदै जान सक्छ । त्यसपछि बलात्कार हुने र किशोरीहरूमा गर्भ रहने स्थिति पनि आउँछ । त्यसैले डा.राजेन्द्र बरालले भन्नु भएजस्तो डरलाग्दो स्थिति आउन नदिन घरका महिला र पुरुष दुवै सचेत हुनुपर्छ ।
किशोरीहरूलाई आफ्नै उमेरका किशोर दाजुभाइहरूले पनि माया गर्ने निहुँमा अँगालो मार्ने, हातमा म्वाइँ खाने, शरीरका अन्य भागमा चुम्बन गर्ने, यौनिक क्रियाकलापहरू गरेको प्रशस्त पाइन्छ । किशोरीहरूलाई पहिले नै यस बारेमा ज्ञान दिनुपर्छ । घरका बाबुआमा कसैले उनलाई ‘अभद्र व्यवहार गरेमा, शरीरको कुनै पनि भाग छोएमा, चुम्बन गरेमा वा बलात्कार गर्न कोसिस गरेमा तुरुन्त कसैलाई भनिहाल्नु’ भन्नुपर्छ ।
किशोरीहरूलाई सानैदेखि यस्तो कुराको ज्ञान दियो भने उनीहरूमा आफूलाई यस्तो अवस्था परेमा घरका सदस्यलाई भन्नुपर्छ र यसरी भन्दा उनलाई कसैले पनि गाली गर्ने छैनन् भन्ने आत्मविश्वास जागृत हुन्छ । यसले गर्दा उनीहरू यस्ता समस्याबाट जोगिन सक्छन् ।
बालबालिका चाहिं कतिपय अवस्थामा आफूलाई कसले के गरिरहेको हो भनेर बुझ्न नसक्ने भएकोले उनीहरूले सायद कसैले चिमोटेको, गालामा यौनको दृष्टिकोणले म्वाइँ ख्वाएको आदि कुरा भन्न सक्दैनन् । त्यसैले बालिकाहरूलाई चाहिं विशेष सुरक्षा दिनुपर्छ नै । यस्ता समस्याहरू शहरमा मात्र होइन गाउँघरमा पनि हुन सक्छन् । गाउँघरमा त प्रायः घरमा कोही न कोही मानिस भइरहन्छ बज्यै, फुपू वा छिमेकी महिलाहरूले यस्ता काम हुनबाट रोक्न सक्छन् ।
तर, घरका मुख्य व्यक्तिहरूले घर र बाहिर हुने यस्ता दुर्घटना रोक्न र किशोरीहरूलाई भयरहित वातावरणमा आफ्नो कुरा राख्न प्रेरणा दिन सक्छन् र दिनुपर्छ । ‘यो कुरा त हाम्रो समाज वा हाम्रो घरमा त हुनै सक्दैन, यो त अरूको समस्या हो’ भनेर कहिल्यै पनि सोच्नुहुन्न ।
कहिलेकाहीं किशोरकिशोरीलाई यौन सम्बन्ध र प्रेम छुट्याउन गाह्रो हुन्छ । उनीहरूमा जसले यौन सम्बन्ध राख्छ, उसले आफूलाई प्रेम गर्छ र उसैसँग सम्पूर्ण जिन्दगी आनन्दसँग बित्छ भन्ने भावना हुन्छ । किशोरीहरूलाई यस्ता सम्बन्ध, प्रेम र यौन आदिको बारेमा जानकारी दिइयो भने उनीहरूले छुट्याउन सक्छन् कुन सम्बन्ध कस्तो हो भनेर ।
त्यसैले उनीहरूलाई सरसल्लाह दिने र भ्रम परेको बेलामा शंका निवारण गर्ने ठाउँ भएमा कतिपय किशोरीले आफ्ना समस्या केलाउन सक्छन् र घरका मानिसलाई भन्न सक्छन् । त्यसैले आमा, दिदी–बुवाहरू सजग भएर आफ्नी छोरी, बहिनीलाई यौन दुराचारबाट बचाउन सहयोग गर्नुपर्दछ ।
बालिकाहरू कलिलो अवस्थामा नै यौन दुराचारबाट पीडित हुनसक्ने हुँदा त्यो अवस्थामा उनीहरूलाई आफूलाई के भइरहेको हो भन्ने नै थाहा हुँदैन । विस्तारै आफूलाई के भइरहेको हो भन्ने थाहा पाएपछि पनि त्यो ठिकै हो भनेर स्वीकार गर्दै जान्छन् । तर जब ती किशोरीहरूको सामाजिक जीवन सुरु हुन्छ तब उनीहरूलाई आफूलाई के भइरहेको हो भन्ने थाहा हुन्छ । आफूलाई कति नकारात्मक प्रभाव परेको रहेछ भनेर पनि उनीहरूले थाहा पाउँछन् । मैले हेरेका कतिपय बिरामीमा कुनै धनी घरमा आफ्ना बालबालिकालाई साथीको रूपमा राखिएको भान्जाले पनि यौन दुराचार गरेको पाएको छु ।
–डा. विश्ववन्धु शर्मा, मानसिक रोग विशेषज्ञ