गढवा, २८ श्रावण । नेपाल शिक्षक महासंघको अगुवाइमा आइतबार शिक्षकहरु देशभरका पालिकामा धर्ना दिएका छन् ।
नेपाल शिक्षक महासंघको पहिलो चरणको आन्दोलन अन्तर्गत शिक्षकहरूले ७ सय ५३ वटै पालिकामा धर्ना दिएका हुन् । सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रमहरु सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका माग नसमेटिएको भन्दै त्यसलाई सच्याउनु पर्ने माग गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको जनाएको छ ।
यसै क्रममा दाङको गढवा गाउँपालिकाको कार्यालयको प्रवेश द्वारमा गढवाका शिक्षिक/शिक्षिकाहरुले धर्ना दिएका थिए । शिक्षक/शिक्षिकाहरुले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएको नेपाल शिक्षक महासंघका गढवाका अध्यक्ष दाम बहादुर बिसीले जानकारी दिनु भयो ।
धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारीपत्र गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र शिक्षा युवा तथा खेलकुद शाखा श्याम बहादुर बिकलाई संयुक्त रूपमा महासंघले बुझाएको छ ।
महासंघको आन्दोलनलाई गढवामा रहेका नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनले ऐक्यबद्धता जनाएका छन् ।