गढवा, १४ साउन । कुनै समयमा व्यापार व्यवसाय धेरै हुने नाकाको रूपमा पहिचान बनाएको राप्तीको प्रवेश द्वारको रुपमा रहेको कोइलाबास भन्सार कार्यालय पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा परिचित हुन थालेको छ ।
व्यापार व्यवसायको लागि सामान आयात र निर्यात गर्ने भन्दा भारतीय नेपाल आउने र नेपाली भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको हो ।गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावासमा रहेको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्य भन्दा पाँच गुणा बढी राजस्व सङ्कलन भएको जनाएको छ। कोइलाबास भन्सार कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को राजस्व सङ्कलन विवरणले पनि भारतीय नेपाल भित्रिने नाकाको रूपमा विकास भएको देखाएको छ ।
जसले गर्दा भन्सार कार्यालयमा राजस्व सङ्कलनको दर पनि बढेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच गुणा बढी राजस्व सङ्कलन गरेको छ । २१ लाख ३९ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य थियो तर भन्सार कार्यालयले एक करोड एक लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो राजस्वको स्रोत व्यापार व्यवसायको सामग्री भित्रिएबापत नभई अस्थायी पैठारी अर्थात् भारतीय सवारी साधन नेपाल आएबापत तिरेको राजस्व हो ।
‘नेपाल र भारत दुई सरकारबिच कोइलाबास नाकालाई चलायमान बनाउन समझदारी हुन जरुरी छ’, कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले भने, ‘नेपालबाट सामान भारत पठाउन सकिन्छ तर भारतीय भन्सार कार्यालयमा कर्मचारी नबस्दा समस्या भएको छ ।’ कोइलाबासले गत वर्षको राजस्वको लक्ष्य पाँच महिनामै पूरा गरेको छ । साउन, भदौ, असोज, कार्तिक र मङ्सिर महिनाभित्रै राजस्वको लक्ष्य पूरा भएको थियो । स्वर्गद्वारी दर्शन र अन्य ठाउँको भ्रमणका लागि कोइलाबास नाका भएर मोटरसाइकल, कारमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
जसले गर्दा अस्थायी पैठारीबाट राजस्व सङ्कलन बढेको हो । आर्थिक वर्ष २०७८/०७९ मा १४ लाख ७८ हजार लक्ष्य थियो । लक्ष्यभन्दा दोब्बर ३१ लाख ३४ हजार राजस्व सङ्कलन भएको थियो । कोरोना भाइरसका कारण भने २०७७/०७८ मा राजस्व सङ्कलन दर ह्वात्तै घटेको थियो । लक्ष्य १२ लाख ६१ हजार भएकोमा जम्मा ४७ हजार राजस्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा सबैभन्दा बढी पुस र जेठ महिनामा १५ लाख राजस्व सङ्कलन भएको छ । पुस र जेठ महिनामा स्वर्गद्वारी जाने भारतीय पर्यटक बढी आएकाले राजस्व सङ्कलन पनि बढेको नस्सार कार्यालय कोइलाबासले जनाएको छ । भारतीय पर्यटकका लागि सबैभन्दा सहज र सरल बाटो भएकाले राजस्व सङ्कलन बढेको कार्यालयले जनाएको हो ।
कोइलाबास नाकाबाट विशेष गरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारी साधनबाट राजस्व उठाउने गरिएको छ । २४ घण्टाको लागि एउटा मोटरसाइकलले दुई सय रुपैयाँ तिर्नु पर्ने हुन्छ भने जिप, कारले ६ सय, मालबाहक खाली ट्रकले एक हजार सात सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसवर्षदेखि अस्थायी पैठारीको राजस्व समेत बढेको छ । गत वर्ष मोटरसाइकलको १५०, कार जिपको ५ सय रुपैयाँ थियो ।
दाङ, रोल्पा, प्युठानको लागि पैठारी हुने व्यापारिक सामान कोइलाबास नाकाबाट खासै भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षित भएको देखिएको छैन । कोइलाबास नाकालाई दिगो रूपमा सञ्चालन गर्न राजनीतिक नेतृत्वबाट पहल हुन आवश्यक छ । नेपाल र भारत दुई देशबिच जि–टु–जीको माध्यमबाट नाकालाई दिगो रूपमा सञ्चालनको पहल गर्नुपर्ने देखिन्छ ।