विवाहबारे तामाङ समुदायमा छेडिँदै बहस: आशिका भन्छिन्- हामी पनि सुध्रिनु जरुरी छ   

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ११ श्रावण । अधिवक्ता शीतल पाण्डेले केही जनजाति समुदायभित्र रहेको हाडनाताभित्रको वैवाहिक परम्परालाई लिएर प्रश्न उठाएपछि तीव्र विवाद भइरहेको छ । तामाङ-मगर समुदायले उनको भनाइमा आपत्ति जनाएका छन् भने प्रहरीमा जाहेरीसमेत परेको छ ।

सामाजिक सञ्जालमा जनजाति समूदायका धेरैले पाण्डेको भनाइमाथि आलोचना गरिरहँदा केही फरक आवाजहरु पनि सुनिन थालेका छन् । खासगरी युवा पुस्ताका सचेत व्यक्तिहरुले समूदायभित्र रहेको परिपाटीलाई समीक्षा गर्नुपर्ने मत जाहेर गर्न थालेका हुन् ।

आफ्नो समुदायभित्र कायम मामाचेला-फुपुचेलीबीचको वैवाहिक परम्परालाई निरन्तरता दिन नहुने पक्षमा उभिएकी छन् सामाजिक अभियन्ता आशिका तामाङ । फेसबुकमा झण्डै १० लाख फलोअर्स भएकी आशिकाले एकपछि अर्को स्टाटस लेख्दै बहसको उठान गरेकी हुन् ।

उनी लेख्छिन्, ‘हामी तामाङहरु पनि सुध्रिनु जरुरी छ । आफ्नै फुपुको छोरा त आफ्नै दाई होइन र ? तामाङले तामाङ्सँग मात्र बिहे गर्नुपर्छ भनेर कुन गन्थ्रमा लेखेको छ र ? समाजमा अरु जात पनि प्रशस्त छन् त, किन आफ्नै फुपुको, मामाको छोराछोरी ताक्नु पर्यो ?’

आफ्नो जातभित्र पनि बेथिति र कुरुति रहेको भन्दै उनले अहिलेका तामाङ युवाहरुले त्यसलाई नकार्नुपर्ने आशिकाको धारणा छ । विज्ञानले पनि आफ्नो हाडनातामा बिहे गर्दा बच्चाहरुमा मानसिक तथा शारीरिक असर गर्ने प्रमाणित गरिसकेको भन्दै उनले यो संस्कार परिमार्जन गर्नुपर्नेमा जोड दिएकी छन् । उनको यो स्टाटसमा ३७ सयभन्दा बढी प्रतिक्रिया आएका छन् ।

आशिकाका अनुसार उनलाई सानै छँदा बुबाले आफ्नी दिदीको छोरासँग विवाह गराइदिन खोजेका थिए ।

‘चितवनको गड्यौली भन्ने ठाउँमा मलाई बिहे गरेर पठाउने कुरा गर्नुहुँदा डाँको छोडेर रोएकी आजै याद छ’, उनी भन्छिन्, ‘त्यस्तो स्कुल नजानेसँग म बिहे गर्दिन भनेर रुन्थेँ म । सात वर्षको हुँदा बुबाले फुपुको घर जाने भन्ने बित्तिकै म गाउँबाट भाग्थेँ । २०११ मा फुपुको छोराले अर्कैसँग बिहे गरेपछि बल्ल शान्ति भयो ।’

आशिकाको स्टाटसहरुमा आएका प्रतिक्रिया हेर्दा अझै पनि यो समूदायभित्र ‘परम्परा धान्नुपर्ने’ मत प्रबल रहेको बुझिन्छ ।

अनिष तामाङले लेखेको लामो प्रतिक्रिया यस्तो छः

फुपु चेला-मामा चेलाबीच तामाङ समुदायमा किन विवाह हुन्छ त ? हाम्रो तामाङ समाजभित्र छोरीलाई पनि वंशाणुगत हिसाबले छोरोजत्तिकै अधिकार दिइएका कारण छोरी बिहे गरेर गए पनि उनको थर चेन्ज हुदैन । यसको मतलब बिहे गरेर पठाएको चेलीको थर माइतको नै थर हुन्छ । तर ती चेलीबाट जन्मिएका नानीहरुको थर ज्वाईंपट्टिबाट राखेको हुन्छ । यसको मतलब दोङ केटी मोक्तानलाई बिहे गरेको अवस्थामा उसको थर दोङ नै रहने भो भने उबाट जन्मिएका नानीको थर मोक्तान हुने भयो ।

यता माइतीपट्टि मायुङको बच्चाको थर दोङ हुने भयो । यो हाम्रो विशिष्ट खालको संस्कृति हो । हाम्रो संस्कृतिअनुसार ती दोङ स्याबाट जन्मेको नानी मोक्तान भएसी आफ्नो मयुङको नानी दोङसँग कुटुम्बको साइनो लाग्ने भयो । जसका कारण नै हाम्रो समाजमा फुपुचेला–मामाचेला बिहे चलेको देखिन्छ । हाम्रोमा पनि हाम्रो चेलीको थरसँग उबाट जन्मिएको बच्चाको थर जोडिएर आएको भए हामीले दाजु–बाहिनी पर्छ भन्न सुहाउँथ्यो ।

हाम्रो यो विशिष्ट खालको संस्कृतिलाई ख्याल नगरी आफ्नो चेलीबाट जन्मिएको नानीबाबुहरुलाई नि माइतपट्टिको छोराछोरीले दाजुभाइ दिदीबहिनी मान्न थाल्यो भने दोङ, मोक्तान, घिसिङ यी सबै थरका छोराछोरी दाजुभाइ दिदीबाहिनी पर्ने भो । जसको कारण तामाङ सामाजिक संरचना नै तहसनहस हुने अवस्था हुन्छ ।

म दोङको छोरा हँु । मेरो बल, गोले तिदुङ, गोङबा, दिमदोङ, बज्यु, स्योङतन लगायत ११ वटा थरको यो संसारभरी जहाँको महिला भए पनि विवाह गर्न मिल्दैन । उनीहरु मेरो चेली पर्छ । एकपटक मैले बर्माको तामाङ नागरिक भेटेको थिएँ । उनी बज्यु ह्रुइ (थर) कि तामाङनी रहेछिन् । मैले उनीबाट भाइटिका लगाएको छु । हाम्रो तपाईंहरुको जस्तो ५, ७ पुस्ता पार गरेपछि आफ्नै भित्र विवाह गर्ने चलन छैन । हजारौं पुस्ता सके पनि, यो धर्तीको जुनसुकै ठाउँको भए पनि एउटै ह्रुइ भए हामी दिदीबहिनी मान्छौं । त्यसैले हाम्रो संस्कृत र सभ्यतामाथि प्रश्न उठाउने अधिकार कसैलाई छैन । नेपाल प्रेसबाट

मा प्रकाशित