नवल खड्काको ‘काँडेतार’ शिवरात्रीमा प्रदर्शन हुने

गणतन्त्रनेपाल डटकम

काठमाडौँ,४ असार  । नवल खड्काको निर्देशनमा बनेको फिल्म ‘काँडेतार’ फागुन २५ मा प्रदर्शनमा आउने भएको छ । खड्काले एक पोस्टर सार्वजनिक गर्दै फागुन २५ गते शिवरात्रीमा फिल्म रिलिज हुने जनाएका हुन् ।

फिल्ममा नेपाल र भारतबीचको सीमा काँडेतार लगाएर व्यवस्थित गर्नुपर्ने आवाज उठाइएको छ । फिल्ममार्फत् आफूले उठाएको विषय गम्भिर रहेको र त्यसमा सरकारले कर छुट लगायतका अनुदान दिनु पर्ने उनको माग छ ।

‘काँडेतारलाई राज्यद्वारा आर्थिक अनुदान, करमा छुट, स्वदेशमा सिंगल प्रर्दशन गर्नै वातावरण र विदेशमा प्रदर्शन गर्न कुटनैतिक पहल होस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि सेन्सर बोर्डले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै सेन्सर पास रोकेको थियो । तर केही दृश्य हटाइएपछि फिल्मले सेन्सर प्रमाणपत्र पाएको छ ।

फिल्ममा नवलका साथमा गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी लगायले अभिनय गरेका छन् ।

नवल स्वयंम्सँगै माकिको राई र अञ्जु केसी फिल्मको निर्माता हुन् भने सत्यकला राई कार्यकारी निर्माता हुन् । सौरभ लामाको छायांकन रहेको फिल्म तारा थापा ‘किम्भे’ र बन्दे प्रसादले सम्पादन गरेका हुन् । फिल्ममा मणि थापा र दीपक शर्माको संगीत छ ।

मा प्रकाशित