‘दहाड़’ ले देखाएका कुराहरु

सिरिज चर्चा

प्रभाष

अहिले अमेजन प्राइममा एउटा वेब-सिरिज स्ट्रिम भइरहेकाे छ, ‘दहाड़’। सतहबाट हेर्दा ‘दहाड़’ एक क्राइम सिरिज लाग्छ, एक सिरियल किलर र उसलाई समात्न उसकाे पछि लागेका पुलिसहरुकाे ‘क्याट एंड माउस’ ड्रामा।

तर यथार्थमा याे सिरिज केवल यतिमै सीमित छैन। यसकाे कथा बहुआयमिक (multidimensional) छ, बहुपत्रेदार (multilayered) छ। यसले धेरै बिषयलाई समेटेकाे छ। यसले भारतीय समाजमा विधमान पितृसत्ता-लैङ्गिक विभेददेखि, वर्गीय-जातिय विभेद तथा उत्पीडनसम्मका बिषयवस्तुलाई समेटेकाे छ। यसले लव-जिहादकाे राजनीति र त्यसले निर्दाेष मुस्लिम युवाहरुमाथि पारिरहेको असरलाई पनि देखाएकाे छ। यसकाे दाेस्राे एपिसाेडले भारतीय समाजमा विधमान दाइजाेकाे विकराल समस्यालाई महसुस गराएकाे छ।

सँक्षेपमा, यसले जाति, धर्म, वर्ग, लिङ्गका विभेद र उत्पीडनका मुद्दाहरुलाई चित्रण गरेकाे छ। साथै समाजकाे पदसाेपान वा शक्ति सन्तुलनलाई पनि देखाएकाे छ। ‘गरिबी र पितृसत्ता वा लैङ्गिक विभेदले कसरी महिलाहरुका शाेषण-उत्पीडन गर्न सजिलाे बनाइरहेको छ र महिलाहरुलाई खतरातर्फ धकेलिरहेकाे छ’, यस सत्यलाई देखाएकाे छ।

=============================================

भारतीय समाजकाे गरिबी। गरिब-दलित परिवार अनि दाइजाेकाे कुप्रथा। आमाबाबुले दाइजाे दिन नसकेका कारण बिहे हुन नसकेर/बिहे गर्न नपाएर कुमारी नै बसिरहेका गरिब-दलित महिलाहरु, ३० आसपास देखि ३५ बर्ष बीचका उमेरका महिलाहरु, दिनानुदिन ‘एजेड’ हुँदै गइरहेका, अनि जति-जति ‘एजेड’ हुँदै गयाे, उति-उति बिहे हुने सम्भावना पनि क्षीण हुँदै गइरहेका, परिवारमा ‘बाेझ’ भएर बसिरहेका, बिहे गर्नका लागि प्रचण्ड सामाजिक र मानसिक दबाव झेलिरहेका महिलाहरु।

यस्ताेमा एकदिन एकजना अन्जान-अपरिचित पुरुष उनीहरुकाे जीवनमा आउँछ, ठ्याक्कै उनीहरुकाे सपनाकाे राजकुमार जसरी। त्याे पुरुषले उनीहरुलाई खुब माया देखाउँछ, उनीहरुलाई भागेर बिहे गर्ने, घर बसाउने सपना देखाउँछ। उसकाे झाँसामा आएर उनीहरु पनि घर छाडेर त्याे पुरुषसँग भाग्छन्। ऊ सँग हाेटलमा एकरात बिताउँछन्। अनि, अर्काे दिन कुनै सार्वजनिक शाैचालयमा मृत भेटिन्छन्।

त्याे अपराधी पुरुषले चलाखीपूर्ण ढँगले, याेजना बनाएर समाजकाे त्याे खास (गरिब-दलित) वर्ग-तप्काका युवतीहरुलाई आफ्नाे सिकार बनाउँछ। किनभने, उसलाई राम्राेसँग थाहा हुन्छ कि गरिब-दलित वर्ग-तप्काका युवतीहरु हराए पनि, बिलाए पनि, मरे पनि, जेसुकै भए पनि कसैलाई फरक पर्दैन। कसैलाई उनीहरुकाे मतलब हुँदैन। उनीहरुकाे परिवार र प्रशासनले पनि उनीहरुलाई खाेज्दैन। कसैले हल्ला-खल्ला गर्दैन। कुनै आन्दोलन हुँदैन।

तर यदि उसले उनीहरुकाे साटाे समाजकाे उपल्लाे वर्ग-तप्काका युवतीहरुलाई, उपल्लाे वर्ग-तप्काका मानिसहरुका छाेरीहरुलाई आफ्नाे सिकार बनाउने हाे भने समाजमा ठूलाे हल्ला-खल्ला मच्चिनेछ। उपल्लाे वर्ग-तप्का आन्दोलित हुनेछ। प्रशासन एक्टिभ हुनेछ जसकाे कारण ऊ खतरामा पर्नेछ तर कमजाेर-दमित वर्ग-तप्काकाे हकमा त्यस्ताे केही हुनेवाला छैन।

याे प्रसङ्गले भारतीय समाजकाे शक्ति-सन्तुलनलाई देखाउँछ। समाजकाे शक्ति सन्तुलन अर्थात् समाजमा कसकाे (कुन वर्ग-तप्काकाे) कति पावर छ? समाजमा कसकाे के हैसियत छ? समाजमा कुन वर्ग-तप्का बलियाे र कुन वर्ग-तप्का कमजाेर छ? समाजकाे पदसाेपानमा कुन वर्ग माथि छ र कुन वर्ग तल-पीँधमा छ? यहाँ कसलाई गनिन्छ र कसलाई गनिन्दैन? यी सबै कुरालाई देखाउँछ। यही शक्ति-सन्तुलन अनुसार समाज चल्छ, राज्य चल्छ, प्रशासन र मानिसहरु चल्छन्। घटनाक्रमकाे चक्र चल्छ।

=============================================

पितृसत्ता वा लैङ्गिक विभेद:-

कथानककाे प्रारम्भसँगै यसकाे सुरुवातकाे दृष्यमा अँजली भाटी (साेनाक्षी सिन्हा) एकजना केटासँग लडिरहेकाे देखाइन्छ। याे पहिलाे दृष्यदेखि नै सिरिजले पितृसत्तालाई देखाउन थाल्छ। अँजली भाटी सम्मिलित यस दृष्यलाई राम्राेसँग नियाल्दा याे कुरा स्पष्टसँग दृष्टिगाेचर हुन्छ। त्यहाँ कराँते सिक्ने अँजलीबाहेक अरु काेही पनि केटी देखिन्दैनन्। केवल केटा (पुरुष) हरु मात्र देखिन्छन्। कराँते सिकाउने गुरु पनि पुरुष नै हुन्छ।

अनि, अँजलीबाहेक त्यहाँ भएका सबै प्रशिक्षार्थीहरुले गुरुकाे पाउ छुन्छन्। केवल अँजलीले उनकाे पाउ छुँदिनन्। याे देखेर अँजलीकाे ब्वायफ्रेण्ड आपत्ति जनाउँदै अँजलीलाई भन्छन्, ‘बाउ समानकाे गुरु हाे। उहाँकाे पाउ छुँदा तेराे इज्जत घट्दैन।’ (अर्थात्, घमण्ड नगर। गुरुकाे पाउ छाेएर उनकाे इज्जत गर।)

त्यसपछि जति-जति कथा अघि बढ्दै जान्छ, पितृसत्ताकाे चित्र पनि उति-उति स्पष्टसँग देखिन्दै जान्छ। जस्तै, जति पनि युवतीहरु घरदेखि भागे, उनीहरुलाई घरदेखि भाग्ने परिस्थिति पितृसत्ताले नै सिर्जना गरेको हाे। छाेरीकाे विवाह गर्दा दाइजाे दिनुपर्ने कुसँस्कार पितृसत्ताले नै सिर्जना गरेकाे हाे। उमेर छँदै विवाह गर्नुपर्ने, नत्र एक्ली भइने र सुरक्षा नपाइने डर पितृसत्ताले नै सिर्जना गरेकाे हाे। यही माहाैलले उनीहरुकाे विवाह नहुने परिस्थिति उत्पन्न गरेर उनीहरुलाई अन्जान पुरुषसँग घरदेखि भाग्न बाध्य बनाएकाे हाे किनभने पितृसत्ताले उनीहरुका लागि अर्काे विकल्प छाेडेकाे थिएन।

‘गरिबी र पितृसत्ता (पितृसत्तात्मक मूल्य-मान्यता र कुसँस्कार) मिलेमा महिलाहरुकाे लागि कति खतरनाक र भयावह परिस्थिति सिर्जना हुँदाे रहेछ’ भन्ने सत्यलाई यसले सटिक ढँगले उजागर गरेकाे छ।

=============================================

‘दहाड’ ले एकातर्फ भारतीय समाजकाे पितृसत्ताकाे चित्रण गर्छ भने अर्काेतर्फ उक्त पितृसत्तासँग जुधिरहेकी महिलाकाे पनि चित्रण गर्छ। साेनाक्षी सिन्हा अभिनित पात्र अँजली भाटी उक्त महिलाकाे प्रतिनिधित्व गर्छिन्। पितृसत्ता र महिलाहरुबीच एक खाले द्वन्द्व चलिरहेको छ समाजमा। पितृसत्ताले महिलाहरुलाई सकेसम्म नियन्त्रण गर्न खाेजिरहेकाे छ अनि महिलाहरु त्यसकाे सकेसम्म प्रतिराेध गरिरहेका छन्। त्यसैकाे प्रतिबिम्ब यस सिरिजमा देखिन्छ।

जस्तै, अँजली भाटीकी आमा आफ्नी छाेरी अँजलीकाे बिहे गरिदिन केटा खाेजिरहेकी छे। उनी अँजलीलाई केटाहरुकाे फाेटाे देखाउँछे, केटाहरुसँग भेट गराउँछे ताकि अँजलीले कसैलाई विवाहकाे लागि राेजुन् अनि छिटाेभन्दा छिटाे उनकाे विवाह गरिदिन सकियाेस्।

तर अँजलीलाई विवाहतर्फ कुनै रुचि छैन। उनलाई आफ्नाे विवाहकाे कुनै मतलब छैन। उनी विवाहकाे लागि उनकी आमाले केटा देखाउँदा केटाकाे सामु परम्परागत सुशील-शिष्ट युवती सरह प्रस्तुत हुँदिनन् बरु अशिष्ट र राैबदार शैलीमा प्रस्तुत हुन्छिन्। केटाले प्रश्न साेध्ने र केटीले लजाएर उत्तर दिनुपर्ने परम्परा भएकाेमा त्यसकाे विपरीत उनी आफै अघि सरेर केटालाई केटीलाई सरह प्रश्न गर्छिन्। जसलाई स्पष्ट छ, विवाहका लागि केटी (उनलाई) हेर्न आएका केटा र उनकी आमाले उनलाई मन पराउँदैनन्। अँजलीकी आमा पनि अँजलीले केटालाई अपराधी सरह प्रश्न गरेकाेमा रुष्ट हुन्छिन्।

‘केटीमान्छेले बेलैमा विवाह गर्नुपर्छ नत्र उमेर नाघेपछि केटा पाउन गाह्राे हुन्छ, विवाह हुँदैन अनि एक्लाे जीवन बिताउनुपर्दा दु:ख पाइन्छ’ भन्ने अँजलीकी आमाकाे मान्यता छ। याे खासमा पितृसत्ताकाे मान्यता हाे।

अझ उनीहरु दलित भएकाले अँजलीकी आमालाई छाेरीकाे विवाहका लागि कुरा चलाउन राम्राे कुलघरान खाेज्नु-पाउनु मुश्किल भइरहेको छ। किनभने उच्च जातका परिवारहरु उनीहरु (दलित परिवार) सँग सम्बन्ध गाँस्न चाहन्दैनन्। यस्ताेमा उनले पण्डितजीलाई ‘एक्स्ट्रा’ पैसा दिएर छाेरीकाे लागि राम्राे कुलघरानकाे केटा खाेजिमाग्नु परेकाे छ।

त्यसमाथि बल्लतल्ल भेटिएकाे त्यस परिवारलाई केटी हेर्न बाेलाउँदा छाेरी अँजली उनीहरुले अपेक्षा गरे अनुरुप प्रस्तुत नभएर अशिष्ट शैलीमा प्रस्तुत हुन्छिन् अनि सारा मेहनतमाथि पानी खन्याइदिन्छिन्। केवल एकै मिटिङमा विवाहकाे सारा सम्भावनालाई समाप्त पारिदिन्छिन् उनी। एक त दलित भएकाेले राम्राे कुलघरानकाे केटा नभेटिने, दाेस्राे बल्ल-तल्ल भेटिएकाे केटालाई पनि छाेरीले अशिष्ट व्यवहार गरेर भगाइदिने गर्नाले उनी सदैव तनावमा हुन्छिन्।

विवाह सम्बन्धि अँजलीकी आमाकाे मान्यता पितृसत्तात्मक छ तर अँजलीकाे मान्यता उनकी आमाकाे मान्यताभन्दा ठीक विपरीत छ। उनकाे लागि विवाह गर्नु जरुरी छैन। विवाह कुनै जरुरी कुरा नै हैन उनकाे लागि। अँजलीकी आमाकाे लागि छाेरीकाे विवाह ठूलाे ‘इस्यु’ हाे तर अँजलीकाे लागि विवाह कुनै ‘इस्यु’ नै हैन। अँजलीकी आमा जसरी भए पनि अँजलीकाे विवाह गरिदिन चाहन्छिन् तर अँजली विवाह गर्न चाहन्दिनन्।

उनीहरु बीचकाे याे द्वन्द्वले पितृसत्ता र त्यससँग महिलाकाे (खासगरि युवा पुस्ताकाे) द्वन्द्वलाई देखाउँछ। किनभने, आधुनिक नारीवादी मान्यताका अनुसार विवाह खासमा महिलाहरुलाई कज्याउने एक पितृसत्तात्मक सँस्था हाे। अनि अँजलीले विवाह गर्न नमान्नुकाे अर्थ ‘उनलाई कजिन स्वीकार्य छैन’ भन्ने हाे। ‘उनी स्वतन्त्र भएर आफुखुशी आफ्नाे जीवन जिउन चाहन्छिन्’ भन्ने हाे। याे आधुनिक नारीवादी मान्यता हाे।

अँजली र उनकी आमाका बीच चलिरहेको द्वन्द्व फगत विवाहकाे लागि मात्र चलिरहेकाे द्वन्द्व हैन। याे खासमा विचारधाराहरुकाे द्वन्द्व हाे। पुरातन (सामन्ती) र आधुनिक (पुँजीवादी) विचारबीचकाे द्वन्द्व हाे। पितृसत्तावाद र नारीवादका बीचकाे द्वन्द्व हाे। यहाँनेर अँजलीकी आमा पितृसत्ताकाे प्रतिनिधित्व गरिरहेकी हुन्छिन् भने आमाकाे ठीक विपरीत अँजली पितृसत्ताकाे प्रतिराेध गरिरहेकी आधुनिक-नारीवादी युवा पुस्ताका महिलाहरुकाे प्रतिनिधित्व गरिरहेकी हुन्छिन्।

अनि अँजलीले अन्ततः याे द्वन्द्वकाे पटाक्षेप कसरी गर्छिन् त्याे एक काेणबाट हेर्दा अतिवादी लागे पनि असरदार छ। हुन त कतिपयलाई अँजलीकाे उनकी आमाप्रतिकाे व्यवहार नै अतिवादी लाग्न सक्छ। ‘आफुलाई जन्म दिने आमालाई कसले त्यस्ताे रुखाे र अभद्र व्यवहार गर्छ हँ?’ भनेर मान्छेहरु भनिरहेकै छन्। ‘याे सिरिज भारतीय सभ्यता र सँस्कृतिकाे विरुद्धमा छ। मातापितालाई अनादर गर्न सिकाउँछ’ भनिरहेकै छन्।

परिवारमा अभिभावकहरु उमेर पुगेका छाेरीहरुमाथि बिहेकाे लागि दबाव दिन्छन्, दिनरात टाेकेसाे गर्छन्। विवाहकाे रट लगाएर न आफु शान्तिसँग बस्छन्, न छाेरीहरुलाई शान्तिसँग बस्न दिन्छन्। याे दबाव यति भयानक हुन्छ कि छाेरीहरु त्यसलाई झेल्न सक्दैनन् र अन्ततः कि त घरदेखि भाग्न विवश हुन्छन् कि त अँजलीले जसरी बिस्फाेट हुन।

=============================================

अँजलीकाे परिवारमा जस्तै द्वन्द्व उनकाे बाेस पुलिस इंस्पेक्टर देवी लाल सिहँ (गुलशन देवैया) काे परिवारमा पनि चलिरहेको छ। देवी लालकाे परिवारकाे कथा पनि ठ्याक्कै अँजलीकाे परिवारकाे जस्तै छ। यहाँ देवी लालकाे साेच अँजलीकाे जस्तै प्रगतिशील र नारीवादी छ भने देवीलालकी पत्नीकाे साेच अँजलीकी आमाकाे जस्तै पुरातन र पितृसत्तात्मक छ।

देवीलालकी छाेरी स्कुलबाट डिबेट प्रतियोगिताका लागि चुनिन्छन्। प्रतियोगितामा भाग लिनका लागि उनले दिल्ली जानुपर्ने हुन्छ तर देवी लाल सिँहकी पत्नी छाेरीलाई डिबेट प्रतियोगितामा भाग लिन दिल्ली जान दिने पक्षमा हुँदिनन् किनभने उनकी छाेरी किशाेरी छे र किशाेरी छाेरीकाे दिल्ली जाने त्याे टाेलीमा केटाहरु मात्र छन्। उनकाे टाेलीमा कुनै केटी छैनन्। अनि केटाहरुसँग एक्लै किशाेरी छाेरीलाई दिल्ली जस्ताे टाढाकाे ठाउँमा पठाउने कुरालाई लिएर उनकाे आपत्ति छ। यहाँनेर उनकाे आपत्तिकाे कारणलाई सजिलै बुझ्न सकिन्छ।

देवीलाल छाेरीलाई डिबेट प्रतियोगितामा भाग लिन दिल्ली पठाउन चाहन्छन् किनभने त्यसले छाेरीलाई फरवर्ड बनाउँछ, छाेरीकाे व्यक्तित्वकाे विकास गर्न मदत गर्छ भन्ने उनकाे मान्यता छ जुन आधुनिक-प्रगतिशील मान्यता हाे तर उनकी पत्नीकाे मान्यता त्यसकाे ठीक विपरीत छ। ‘छाेरीलाई कन्ट्राेलमा राख्नुपर्छ, उनीमाथि लगाम कस्नुपर्छ, उनलाई खुल्ला छाेडिदिए , तन्नेरी केटाहरुसँग टाढा-टाढा जान दिए छाेरी बिग्रिन्छे’ भन्ने उनकाे मान्यता छ। याे सामन्ती-पितृसत्तात्मक मान्यता हाे।

यहाँनेर एउटा दृष्य ‘नाेटिशेबल’ छ। देवी लाल र उनकी पत्नी ‘छाेरीलाई दिल्ली जान दिने कि नदिने ?’ भन्ने बिषयमा झगडा गरिरहेका हुन्छन्। ठीक त्यही बेला उनीहरुका छाेरी नुपुर बाबु देवीलाललाई भन्छिन् कि ‘म म्यामलाई भन्छु म (दिल्ली) जान सक्दिन भनेर। उनी मेराे ठाउँमा अरु कसैलाई लैजानेछिन्।’

देवी लाल र नुपुर अलग-अलग काेठामा छन्। उनीहरुबीच फलामकाे ठूलाे झ्याल छ। जसबाट नुपुर झ्यालखानाभित्र भएकाे प्रतीत हुन्छ। यसले पितृसत्तामा केटीहरुले झ्यालखानाभित्र बाँच्नु परिरहेको सत्यलाई बिम्बित गर्छ। पितृसत्ता केटीहरुलाई (छाेरीहरुलाई) झ्यालखानाभित्रै राखेर हुर्काउँछ। घररुपि झ्यालखानाभित्र। काेठारुपि झ्यालखानाभित्र। सँस्कार, सँस्कृति, नैतिकता र मर्यादाकाे बनिबनाऊ झ्यालखानाभित्र राखेर हुर्काउँछ। जसभित्र केटीहरु अति विवश र लाचार देखिन्छन् नुपुरजस्तै। केटीहरु (छाेरीहरु) लाई त्याे झ्यालखानाभित्रबाट बाहिर निकाल्न जरुरी छ र देवी लाल त्यही गरिरहेकाे छ।

देवीलालकी पत्नी अँजली भाटीलाई मन पराउँदिनन्। किनभने अँजली केटी जस्ती (परम्परागत घरेलु केटीजस्ती शिष्ट र सुशील) छैनन्। ‘माेर्डन’ छिन्। अँजलीकाे व्यवहार उनलाई अमर्यादित लाग्छ। उनकाे नजरमा अँजली ढिँट, आमाकाे पनि इज्जत नगर्ने, आफुखुशी चल्ने युवती हुन्। उनकाे पतिले उनलाई ‘ब्याकवर्ड’ भन्दा उनी जवाफ फर्काउँदै भन्छिन्, ‘फरवर्ड हुन कस्ती हुनुपर्‍याे? तिम्री अँजली जस्ती हुनुपर्‍याे?’ यसले उनकाे अँजलीप्रतिकाे राेषलाई देखाउँछ।

उनी अँजलीकी आमाले अँजलीकाे विवाहकाे लागि दर-दरकाे ठाेकर खानु परिरहेकाे, अँजलीकाे अमर्यादित व्यवहारकाे कारण काेही पनि (केटा) उनीसँग विवाह गर्न राजी नभएकाे, जसकाे कारण उनकी आमाले दुनियाकाे सामु रुँदै हिँड्नु परिरहेकाे मान्यता राख्छिन्। उनी अँजलीप्रति राेष प्रकट गर्छिन् र उनकी आमाप्रति सहानुभूति राख्छिन्। त्यसैले, उनी छाेरीलाई स्वतन्त्रता दिन चाहन्दिनन्। किनभने, उनलाई ‘छाेरीलाई स्वतन्त्रता दिए तिनी पनि अँजली जस्तै माेर्डन, अमर्यादित, आमाकाे इज्जत नगर्ने बन्छिन्। अनि, उनले अँजलीकी आमाले जस्तै ठूलाे दु:ख खप्नुपर्छ’ भन्ने डर छ।

यसरी देवी लाल सिहँकाे परिवारमा पनि पितृसत्ता र आधुनिकताका बीचमा द्वन्द्व चलिरहेको छ। जसमा देविलालकी पत्नी पितृसत्ताकाे प्रतिनिधित्व गरिरहेकी छन् भने देवीलाल आधुनिकताकाे।

=============================================

जातीय विभेद:-

जातीय विभेद पनि यस सिरिजमा सुरुबाटै दृष्टिगाेचर हुन्छ।

प्रसङ्ग-१.

एकजना गरिब व्यक्ति पुलिस स्टेशनमा आफ्नी हराएकी बहिनीबारे आफुले यसअघि लेखाएकाे FIR का बारेमा साेधपुछ गर्न आउँछ। ऊ पुलिसकाे कार्यकक्षभित्र पस्छ। जब भित्र पसेर उसले आफ्नी हराएकी बहिनीकाे नाम बताउँछ तब उनकाे नाम (खासमा सरनेम सुनेर) रजिस्टरमा रेखा तानिरहेकाे पुलिसकाे हात टक्क राेकिन्छ। ऊ रेखा तान्न छाेडेर आफ्नाे टाउकाे ठाडाे पार्छ र त्यस व्यक्तिलाई हेर्छ। अनि, अनुहार अँध्यारो बनाएर उसलाई पर गएर उभिन आदेश दिन्छ। फेरि उँचाे स्वरमा उसलाई बाहिर गएर उभिन भन्छ। ऊ कार्यकक्षदेखि बाहिर निस्केपछि उसलाई FIR काे नंबर साेधेर आवश्यक जानकारी दिन्छ र घर पठाइदिन्छ। उसलाई घर पठाउँदा पनि पुलिस उँचाे नै बाेलिरहेकाे हुन्छ। (११:११)

त्यसपछि त्याे पुलिस टेबुलमुनिबाट केही अगरबत्ती झिकेर बाल्छ अनि आफ्नाे कार्यकक्षमा घुमाउन थाल्छ। किनभने भर्खरै उसकाे कार्यकक्षमा एकजना दलितकाे पाइला परेकाे थियाे जसकाे कारण त्याे ठाउँ अशुद्ध भएकाे छ। त्यसैले, ऊ अगरबत्ती बालेर अशुद्ध भएको आफ्नाे कार्यकक्षलाई शुद्ब बनाइरहेकाे छ।

ठीक त्यहीबेला अँजली भाटी उसकाे कार्यकक्षकाे ढाेका अगाडिबाट गुज्रिन्छिन्। अँजली भाटी दलित हुन्। अँजलीलाई देखेर उसले अँध्यारो अनुहार बनाउँछ। अँजली त्यहाँबाट गइसकेपछि ऊ अगरबत्ती लिएर अगरबत्ती घुमाउँदै बाहिर निस्कन्छ। अनि अँजली गएकाे दिशातिर हेर्दै भर्खरै अँजलीले पाइला टेकेकी काेठामा पनि अगरबत्ती घुमाउन थाल्छ। (१२:०२)

यस दृष्यले पुलिसभित्रकाे जातिवादलाई देखाउँछ। याे पात्रले एकपटक मात्र यस्ताे हर्कत गर्दैन। पटकपटक यस्ताे हर्कत गर्छ। जब-जब अँजली उसकाे अगाडिबाट गुज्रिन्छ तब-तब ‌ऊ अगरबत्ती सल्काउन थालिहाल्छ। यस सिरिजकाे ५८:१५, १:२२:४८ मा पनि याे पात्रले त्यसै गरेकाे देखिन्छ। (अ, कतिपयलाई याे दृष्य अतिरँजित लाग्न सक्छ।)

प्रसङ्ग-२:-

ठाकुरकी छाेरीलाई मुस्लिम केटाेले भगाएर लगेकाे केसबारे साेधपुछ गर्न इंस्पेक्टर देवी लाल सिहँ र सब-इंस्पेक्टर अँजली भाटी ठाकुरकाे हवेलीमा जान्छन्। दुवै हवेलीकाे कम्पाउण्डभित्र दाखिल हुन्छन् तर अँजली हवेलीभित्र पस्दिनन्।

ठाकुरले ‘एक सेकेन्डभित्र आउनु न’ भन्दै इंस्पेक्टर देवी लाल सिहँलाई भित्र लैजान्छ अनि साेध्छ, ‘यिनी त्यही पि.डब्लु.डी इंस्पेक्टरकी छाेरी हैनन् जाे अमनपुरीमा बस्थे? यसलाई मेराे ढाेकामा लिएर आउनेबारे तपाईंले साेच्न पनि कसरी सक्नुभयाे?’ (स्पष्ट छ, एक तल्लाे जातकाे मान्छेले आफ्ना हवेलीमा पाइला टेकेकाेमा ठाकुरलाई आपत्ति छ।)

जवाफमा देवी लाल भन्छ, ‘यिनी यस केसका इंचार्ज हुन्।’

उनकाे कुरा सुनेर ठाकुर भन्छ, ‘यिनी इंचार्ज हुन्?’ अनि व्यङ्गात्मक हाँसाे हाँस्दै भन्छ, ‘तब त महिपालले पुलिसले भन्दा पहिले मेरी छाेरीलाई खाेजेर ल्यायाे। नाम बदल्दैमा जात बदलिन्दैन।’

ठाकुरकाे याे भनाइले उच्च जातका मानिसहरुकाे दलित र स्त्रीप्रतिकाे विभेदकारी र विद्धेषपूर्ण मानसिकतालाई एकसाथ ओकल्छ।

देवी लाल सिहँले ठाकुरलाई ‘जातिकाे आधारमा भेदभाव गर्दा कानुनअनुसार कडा सजाँय हुन्छ’ भनेर सचेत गराउँदा ठाकुर भन्छ, ‘तपाईंकाे सरकारले बनायाे हाेला कानुन। हाम्राे आफ्नै काइदा-कानुन छ।’ (२३:००-२४:००)

याे एटिट्युड यस सिरिजकाे ‘ठाकुर’ (उच्च जात) काे मात्र हैन, हाम्राे समाजका अधिकाँश ‘ठाकुरहरु’ (उच्च जातहरु) काे हाे।

बाहिर आएपछि अँजलीले देवी लाललाई ‘भित्र के कुरा भयाे?’ भनेर साेध्छिन्। देवी लाल अँजलीलाई ‘तिमीलाई थाहै छ, यहाँका मान्छेहरु कस्ता छन्, सरी’ भन्छ।

जवाफमा अँजली भन्छिन्, ‘सर तपाईं किन सरी हुनुहुन्छ? यस्ताे त धेरै ढाेका बन्द भए मेराे मुखमा, तर मेराे मुख कसैले बन्द गर्न सकेन।’

यसप्रकार दलित भएकाे कारण अँजली भाटीले प्रत्यक्ष वा पराेक्ष रुपमा पटकपटक दुर्व्यवहार भाेग्नुपर्छ। तर जति-जति अँजलीले दुर्व्यवहार भाेग्दै जान्छिन्, उति-उति उनी झन् सशक्त र झन् अटेरी बन्दै जान्छिन्। यसअघि ठाकुरहरुकाे हवेलीसम्म आएर बाहिरै उभिबसेकी, भित्र पस्ने आँट नगरेकी अँजली पछि ठाकुरहरुकाे हवेली भित्र पस्ने आँट गर्छिन्। (प्रसङ्ग-३) आनन्द स्वर्णकरलाई खाेज्दै उसकाे घरसम्म आइपुगेकी उनी ठाकुर साहब (आनन्दका पिता) काे नामञ्जुरीकाे बावजूद पनि याे भन्दै उसकाे हवेलीभित्र पस्न अघि सर्छिन् कि ‘याे संविधानकाे टाइम हाे। उसकाे पुर्खाहरुकाे टाइम हैन। अनि संविधानले उनलाई एक पुलिस अफिसरकाे रुपमा हवेलीभित्र पस्ने पूर्ण अधिकार दिएकाे छ। त्यसैले उनी भित्र पस्नेछिन् र यदि ठाकुरले उनलाई हवेलीभित्र पस्नबाट राेक्ने काेशिश गरेमा उनीमाथि जातिकाे आधारमा भेदभाव गरेकाे र पुलिसकाे काममा बाधा पुर्‍याएकाे अपराधमा जेलभित्र थुन्नेछिन्।’

अँजली यतिमै राेकिन्नन्। उनी सम्बन्धित सरकारी कार्यालयमा गएर आफ्नाे जात बदल्न निवेदन पनि दिएर आउँछिन्। आफ्नाे सरनेमलाई ‘भाटी’ बाट ‘मेघावल’ मा बदलिन चाहन्छिन् उनी। उनी आफ्नै सरनेम वा पहिचानमा फर्किन चाहन्छिन्।

याे दृष्यले अँजलीकाे evolution लाई देखाउँछ। वास्तवमा याे सिङ्गाे सिरिजले नै याे पात्र अँजलीकाे evolution लाई देखाउँछ। मानिसले जति-जति विभेद भाेग्दै जान्छ, उति-उति ऊ दरिलाे बन्दै जान्छ। जति-जति सँघर्ष गर्दै जान्छ, उति-उति बलियाे हुँदै जान्छ। अनि जति-जति बलियाे बन्दै जान्छ, उति-उति उनकाे प्रतिराेधकाे स्केल पनि बढ्दै जान्छ। याे evolution काे शाश्वत नियम हाे।

=============================================

वर्गीय विभेद:-

एकजना गरिब व्यक्ति पुलिस स्टेशनमा आफ्नी हराएकी बहिनीबारे आफुले यसअघि लेखाएकाे FIR का बारेमा साेधपुछ गर्न आउँछ। तर पुलिसले आफ्नाे कार्यकक्षभित्र पसेकाे उसलाई बाहिर निकाल्छ र बाहिरैबाट सवाल-जवाफ गरेर फर्काइदिन्छ। अर्काे पुलिसले पनि उसकाे कुरा ध्यान दिएर सुन्दैन। ‘तिम्राे कुनै केस छैन। जाऊ तिमी’ भनेर उसलाई फर्काइदिन्छ।

तर लगत्तै लावालस्करसहित केस दायर गर्न आएकाे विधायकलाई उक्त पुलिस आदरका साथ पुलिस स्टेशनभित्र लगेर विराजमान गराउँछ। उसकाे लागि खाजा र काेल्ड ड्रिंक अर्डर गर्छ।

याे एउटा दृष्यले राज्यसँयन्त्रले ‘ठूलाबडा’ र ‘साना’ हरु का बीच गर्ने भेदभावलाई देखाउँछ। राज्यसँयन्त्रले प्रभुत्वशाली र कमजाेरहरुलाई अलग-अलग व्यवहार गर्छ चाहे त्याे प्रहरी हाेस् वा प्रशासन। यिनीहरु सर्वसाधारणहरुलाई हेप्छन्, उनीहरुलाई रुखाे व्यवहार गर्छन् तर भिआइपीहरुका सामु झुक्छन्, तिनीहरुलाई सम्मानजनक व्यवहार गर्छन्। (हाम्रै पुलिसले पनि त बहालवाला साँसद, पूर्व उपप्रधानमन्त्री र शक्तिशाली राजनीतिक दलकाे नेता टाेपबहादुर रायमाझीलाई जेलभित्र फाइभ स्टार हाेटलकाे सुविधा दिएर राखेकाे समाचार भर्खरै सुनेकाे-पढेकाे हाे।) याे विभेद कायमै छ राज्यसँयन्त्रमा।

=============================================

धार्मिक-साम्प्रदायिक उत्पीडन

यसकाे पहिलाे एपिसाेडमा लव जिहादकाे हाैवा र लव जिहादलाई लिएर हिन्दुत्ववादी साम्प्रदायिक दल वा सँगठनका नेता-कार्यकर्ताहरुले समाजमा कसरी आतंक मच्चाइरहेका छन्, अनि कसरी निर्दाेष मुस्लिम जनता तिनकाे काेपभाजनकाे सिकार बनिरहेका छन्, लव-जिहादकाे नाममा फैलाइएकाे झुटले कसरी कुनै निर्दाेष व्यक्तिकाे ज्यानलाई खतरामा पारिरहेकाे छ, याे समसामयिक सामाजिक यथार्थकाे सटिक चित्रण गरिएकाे छ। पुलिस-प्रशासनमा त्यस्ता हिन्दुत्ववादी दल र नेताकाे कति पहुँच र पावर छ भन्ने कुरालाई पनि देखाइएकाे छ। राेचक कुरा त के छ भने यस एपिसाेडमा त्याे कट्टर हिन्दुत्ववादी नेताकाे भूमिका निभाउने अभिनेता नरेश मलिक वास्तविक जीवनमा मुस्लिम हुन् तर हिन्दुत्ववादी नेताकाे भूमिकामा उनले प्राण भरेका छन्।

विधायक महिपाल आफ्नाे जत्थासँग ठाकुरीकी छाेरी रजनीलाई भगाएर लगेकाे भनिएकाे अल्ताफ़ नामक मुस्लिम केटाेलाई समातेर कालाे माेसाे दलि खुलेआम नाराबाजी गर्दै पुलिस स्टेशनमा जिम्मा लगाउन ल्याएकाे, पुलिस अफिसर पर्घीले उसकाे ज्युहजुरी गरेकाे (16:38), उक्त केटीकाे बयान लिन देवीलाल ठाकुरकाे घरमा आउँदा ठाकुरले आफ्नी छाेरीसँग भेट्न नदिएकाे, उल्टै देवी लाललाई ‘म केही दिनपछि आफै ल्याएर आउँछु। तिमीलाई समस्या छ भने म महिपाललाई तिम्राे एसपीसँग कुरा गर्न लगाउछु’ भनेकाे दृष्यले यिनीहरुकाे पावरलाई देखाउँछ। ठाकुरलाई आफ्नी छाेरीमाथि दबाव दिएर बयान बदल्न लगाउनका लागि केहीदिनकाे समय चाहिएकाे थियाे। अनि देवी लालले आनाकानी गर्दा डिसिपीलाई भन्न लगाउछु भन्नु आफ्नाे पावरकाे धम्की दिनु हाे। यसले माथि (शक्तिकेन्द्र) सम्मकाे उसकाे पहुँचलाई देखाउँछ। त्यस्तै, कैलाश पर्घीले एसपीसँग सरुवा माग्दा एसपीले उसलाई ‘युवा मण्डलका केटाहरुलाई सेंसेटिभ्ली ह्याण्डल गर्नका लागि त्याे इलाकामा मलाई आफ्नाे एकजना मान्छे चाहिन्छ’ भन्दै उसकाे सरुवाकाे निवेदनलाई नकारेकाे दृष्य (26:34) आदि काफी छन् वर्तमान समयमा हिन्दुत्ववादी साम्प्रदायिक दल वा सँगठनका नेता-कार्यकर्ताहरुकाे पावरलाई बुझ्न।

=============================================

‘दहाड़’ काे सुरुवातमा देखाइने मरुभूमि, मक्किएका जर्जर हवेली, हवेलीभित्र रुखकाे टाेडकामा भूतकाे पुतला, तल भुइँमा रगतकाे पाइलाहरुका छापहरु, ढाेकाबाट निस्केर महिला अलप भएकाे, रुखकाे हाँगामा बाँधिएका डाेरीमा झुण्डिरहेका महिलाका पुतलाहरु (जाे फाँसीमा झुण्डे झै देखिन्छन्) जस्ता विम्बहरुले महिला उत्पीडनलाई सँकेत गर्छन्। यी बिम्बहरुले ‘दहाड़’ महिला उत्पीडनमाथि आधारित भएकाे कुरालाई इङ्गित गर्छ।

त्यस्तै, ‘दहाड़’ काे हरेक एपिसाेडकाे प्रारम्भमा देखाइने शाैचालय र महिलाकाे दृष्यलाई राम्राेसँग हेर्नुहाेस्। ती दृष्यहरुले त्याे एपिसाेडभित्र के छ, त्याे एपिसाेडमा अब के रहस्यकाे खुलासा गरिन्दैछ भन्ने कुराकाे पहिल्यै जना‌उ दिन्छ।

यसरी, पत्र-दर-पत्र, एपिसाेड-दर-एपिसाेड शाैचालयमा मृत पाइएका महिलाहरुकाे मृत्युकाे रहस्यलाई खुलाउदै लगिन्छ र त्यसकाे जना‌‌उ एपिसाेडकाे प्रारम्भमै दिइन्छ।

=============================================

‘दहाड़’ काे स्क्रिप्ट जाेया अख्तर, रितेश शाह र रीमा कागतीले लेखेका हुन्। उनीहरुकाे लेखन स्तरीय छ। उनीहरुले एक साधारण स्टाेरीलाइनलाई समातेर त्यसमा भारतीय समाजकाे पितृसत्ता, लैङ्गिक, जातीय, वर्गीय र धार्मिक विभेद तथा उत्पीडन, गरिबी, समाजकाे पदसाेपान वा शक्ति सन्तुलन जस्ता मुद्दाहरुलाई उनेका छन् र एक बहुपत्रेदार पटकथा लेखेका छन्। एउटा सिरिज वा एउटा पटकथामा यतिका सामाजिक मुद्दाहरुलाई उनेर देखाउनु पक्कै पनि सजिलाे काम हैन। त्यसैले, यस कामकाे लागि ‘दहाड़’ काे लेखन टिम प्रशँसाका हकदार छन्।

=============================================

‘दहाड़’ काे गति सुस्त छ। घटनाक्रम बिस्तारै अघि बढ्छ। कथालाई बिस्तारै विस्तार गर्दै लगिन्छ। अनि यसमा कुनै ठूलाे सस्पेन्स छैन। सुरुवाती दुई एपिसाेडमै अपराधीलाई एक्पाेज गरिन्छ। तर समातिन्छ, आठौं एपिसाेडमा गएर। त्यस बीचमा के के हुन्छ, त्याे जान्नका लागि याे सिरिज हेर्ने हाे। भन्नुकाे अर्थ यसमा सस्पेन्स छैन।

‘दहाड़’ मा आनन्द स्वर्णकारले २७ जना केटीहरुलाई अलग-अलग हाेटलहरुमा लिएर जाँदा, ती २७ जनै केटीहरुकाे हत्या हुदाँ र तिनीहरुकाे ठूलाठूला तस्वीरहरु टिभीमा प्रशारण गरिन्दा पनि ती हाेटलहरुबाट एकजना कर्मचारीले पनि उनीहरुलाई देखेकाे भनेर बयान दिन नआउनु, त्यतिका कर्मचारीहरुमध्ये कसैले पनि उनीहरुलाई नाेटिस नगर्नु, गाडीदेखि मेडिकल स्टाेरमा दवाई लिनु जान भन्दै हरेकपटक आनन्द बाहिर निस्कन्दा पनि कहिल्यै सिसी टिभी क्यामेराकाे रेकर्डमा नआउनु, हरेकपटक केटीलाई भगाएर सहरतर्फ हाइवेमा ड्राइभ गरेर लैजादा कुनै पनि ट्राफिक पुलिसले कहिल्यै पनि नाेटिस नगर्नु, पुलिसकाे शंकाकाे घेरामा आउँदा पनि पुलिसले निजमाथि निगरानी नराख्नु, एउटी केटी जिब्राेमा साइनाइट राखेर पनि बाँच्नु। यी कुराहरु कंभिन्सिङ लाग्दैनन्।

=============================================

‘दहाड़’ काे चरित्रचित्रण अब्बल छ। यसका प्रमुख चरित्रहरु चाहे त्याे अँजली भाटी हुन् वा देवी लाल सिहँ, आनन्द स्वर्णकार हुन् वा कैलाश पर्घी, सबै प्रभावशाली ढँगले चित्रित भएका छन्। त्यति मात्र हैन यसका सहायक चरित्रहरु अँजली भाटीकी आमा, देवी लाल, कैलाश र आनन्दका पत्नीहरु, आनन्दका बाबु र भाइ, पुलिसकाे एसपी, अँजली भाटीलाई मदत गर्ने रिटायर प्राेफेसर, ठाकुर, हिन्दु नेता महिपाल, आनन्दले फँसाएका केटीहरु सबै सानाेभन्दा सानाे चरित्र पनि राम्राेसँग अंकित भएका छन्।

तर कास्टिङ (कलाकारहरुकाे चयन) मा केही डिफल्ट देखिन्छ। अँजली भाटीकाे चरित्रमा साेनाक्षी सिन्हाकाे चयन मिसकास्टिङ लाग्छ। याे चरित्रले अभिनयमा निपुण अभिनेत्रीकाे माँग गर्छ जसले चरित्रकाे डेफ्थमा गएर अभिनय गर्न सकुन्। साेनाक्षीमा त्याे क्षमता देखिन्दैन। उनकाे अभिनय क्षमता सीमित छ। उनी त्यस्ती खारिएकी अभिनेत्री हैनन्। त्यसैले, मेरिटकाे कसीमा साेनाक्षी सिन्हा अँजली भाटीकाे चरित्रमा फिट हुन्नन्।

अर्काे महत्त्वपूर्ण कुरा, साेनाक्षी सवर्ण हुन्। उनी कुनै पनि काेणबाट दलित लाग्दिनन् अर्थात् क्यारेक्टरकाे हिसाबले उनमा lack of authenticity झल्किन्छ। बलिउडले कपूर, भट्ट, सिन्हा, मल्हाेत्रा जस्ता सवर्ण युवतीहरुलाई दलित भन्दै देखाउने फ्रड बन्द गर्नुपर्छ।

जाेया अख़्तर र रिमा कागतीले यस चरित्रका लागि कुनै सक्षम र सुहाउँदाे अभिनेत्रीलाई लिनुपर्थ्याे जाे स्टार नभए पनि फरक पर्दैनथ्याे। तर सायद यसले प्राेडक्टकाे ब्राण्ड भ्यालुमा फरक पर्थ्याे। त्यसैले उनीहरुले चरित्र सुहाउँदाे अभिनेत्रीकाे साटाे स्टारलाई राेजे। सायद उनीहरुलाई आफ्नाे प्राेडक्ट बजारमा बेच्न established star काे आवश्यकता थियाे। त्यसैले उनीहरुले साेनाक्षीलाई चुने जाे एक स्टार हुन्।

स्टारलाई सिनेमामा राख्ने उनीहरुकाे बाध्यता म बुझ्छु तर यसाे गर्दा उनीहरुकाे सिर्जनामा कम्प्राेमाइज हुन्छ। प्राेडक्टकाे क्वालिटीमा पनि कम्प्राेमाइज हुन्छ। याे कुरा मैले भन्दा राम्राेसँग उनीहरुले नै बुझेका छन्।

यस सन्दर्भमा राम्राे कुरा चाहिँ के भने उनीहरुले साेनाक्षीलाई जबर्जस्ती राजस्थानी टाेन दिने काेशिश गरेका छैनन्। उनीहरुले साेनाक्षीलाई नर्मल राजस्थानी टाेनमा हिन्दी बाेल्न लगाएका अर्थात् जाेया र रिमाले साेनाक्षीलाई ‘लाे पिच’ मै राखेका छन्। ‘हाइ’ हुन दिएका छैनन्।

गुलशन देवैया एक इंट्रेगेटेड पुलिस अफिसरकाे चरित्रमा जमेका छन्। हुन त इंटेग्रेटेड पुलिस अफिसरहरु हिन्दी सिनेमाहरुमा हामीले सधै हेरिआएकै छाैं। तर यस चरित्रमा नयाँ कुरा के छ भने याे चरित्र फेमिनिष्ट छ। उनी घरमा छाेरीलाई र अफिसमा महिला सहकर्मीलाई सपाेर्ट गर्छन्। उनी ‘महिलाहरु जीवनमा अघि बढ्नुपर्छ र आत्मनिर्भर हुनुपर्छ’ भन्ने मान्यता राख्छन्। उनी toxic छैनन्। उनकै छाेरी नुपूरकाे शब्दमा, ‘उनी cool छन् तर हेर्दा त्यस्ताे देखिन्दैनन्।’ उनकाे याे चरित्रले कहीँ न कहीँ स्टेरियाेटाइपलाई ब्रेक गर्छ। यस बारेमा ‘द हिन्दु’ मा लामाे लेख प्रकाशित भएकाे छ।

कैलाश पर्घी ‘दहाड़’ काे सबैभन्दा कंप्लिकेटेट चरित्र हाे। गलत तत्वहरुलाई साथ दिइरहेको याे चरित्र आवरणमा नकारात्मक देखिए पनि जब खुल्दै जान्छ, तब एकदमै सँवेदनशील र काेमल हृदयकाे लाग्छ। याे चरित्र छिट्टै बदलिन्छ पनि। याे चरित्र खासमा ग्रे जाेनभित्रकाे लाग्छ। डिप्रेसन र एंजाइटीकाे कहर झेलिरहेकाे याे पात्र ‘पुरुषहरु रुनु हुदैन’ भन्ने मान्यतालाई बिर्सेर राेएकाे दृष्य पनि छ। कैलाश पर्घीकाे चरित्रमा साेहम शाहकाे अभिनय जीवन्त लाग्छ।

मलाई ‘दहाड़’ मा कैलाश पर्घीकाे चरित्रले सबैभन्दा बढी प्रभावित गर्‍याे। अनि, ‘दहाड़’ मा विश्वासनीय ढँगले राजस्थानी लवजमा कसैले बाेलेका छन्, भने त्याे साेहम शाह नै हुन्। यसकाे कारण के हाे भने ऊ राजस्थानकै बासिन्दा हुन्, त्यही जन्मे-हुर्केका हुन्।

‘दहाड़’ मा दर्शकहरुलाई सबैभन्दा बढी प्रभावित गर्ने चरित्र आनन्द स्वर्णकार हाे जाे ‘दहाड़’ का प्राेटागाेनिष्ट हुन्। आनन्द पितृसत्ताले बनाएकाे एक toxic चरित्र हाे। ऊ पितृसत्ताले बनाएकाे मर्दकाे परिभाषाभित्र फिट हुँदैन। मर्दमा हुनुपर्ने कुनै पनि गुण उसमा छैन।

ऊ उसकाे भाइले जसरी प्रशस्त पैसा कमाउन सकिरहेकाे छैन। उसकाे बाबुदेखि लिएर पुर्ख्याैली घरसम्म उसकाे भाइकाे कमाइबाट चलिरहेको छ। त्यही भएर उसकाे घरमा र उसकाे बाउकाे नजरमा उसकाे कुनै इज्जत छैन। त्यहाँ उसकाे भन्दा धेरै इज्जत उसकाे भाइकाे छ। ऊ आफ्नी एउटी पत्नीलाई पनि कंट्राेल गर्न सकिरहेकाे छैन। उसकी पत्नी अर्कैसँग रासलीला मच्चाइरहेकी छन्। याे सबकाे कारण उसकाे बाबु उसलाई आफ्नाे कुलकाे कलंक भन्छ, उसलाई केही न कामकाे, नामर्दकाे सँज्ञा दिन्छ।

यी सब कुराले ऊ भित्रकाे male ego लाई hurt गरिरहेकाे छ। यसले उसकाे मर्दानगीलाई चुनाैती दिइरहेकाे छ जसकाे मनाेवैज्ञानिक असर ऊ माथि परिरहेकाे छ जसकाे प्रतिशाेध ऊ निम्न वर्गका युवतीहरुलाई आफ्नाे मायाजालमा फँसाई तिनीहरुकाे हत्या गरेर लिइरहेको छ। यसप्रकार ऊ आफ्नाे मर्दानगी साबित गरिरहेकाे छ।

सँक्षेपमा, पितृसत्तात्मक वैचारिक सँरचनाकाे मनाेवैज्ञानिक दबावले अथवा भनाैं, मर्द बनेर देखाउनुपर्ने मानसिक दबावले उसलाई युवतीहरुकाे हत्यारा बनाइरहेकाे छ।

आनन्द स्वर्णकारकाे याे toxic र complex चरित्रलाई विजय वर्माले सहज ढँगले निभाएका छन्। त्यसैले, याे चरित्र ‘दहाड़’ काे प्रमुख आकर्षण बनेकाे छ।

मा प्रकाशित