‘धेरैले नाेटिस नगरेकाे ‘दहाड़’ का ती तीन प्रसङ्ग’

सिरिज चर्चा

प्रभाष

करिब महिनादिन अघिदेखि अमेजन प्राइम भिडियाेमा एउटा हिन्दी वेब-सिरिज स्ट्रिम भइरहेको छ, ‘दहाड़’। ‘दहाड़’ काे लेखन तथा निर्माण जाेया अख़्तर र रीमा कागतीले गरेका हुन्। अनि, यसको निर्दैशन पनि रीमा कागतीले अर्की एक महिला निर्दैशक रुचिका ओबराेयसँग मिलेर गरेकी हुन्।

महिलाहरुले नै मिलेर बनाएकाे याे सिरिज ‘दहाड़’ काे अहिले निकै चर्चा भइरहेकाे छ। यसले साेसल मिडियामा बहसकाे आँधी नै उठाएकाे छ। जाेया अख़्तर र रीमा कागतीले ‘दहाड़’ मा पितृसत्ता, लैङ्गिक विभेद, अल्ट्रा मस्कुलानिटी, मिसाेजिनी, जातीय विभेद, वर्गीय विभेद, पीँधमा परेका तप्काकाे अवस्था, समाजकाे पदसाेपान, ठूलाे जात र सानाे जात बीचकाे अन्तर्विराेध, हिन्दु र मुस्लिमबीचकाे अन्तर्विराेध एवं धार्मिक उत्पीडन र अरु पनि थुप्रै कुराहरुलाई देखाएका छन्। जुन कुराहरुलाई लिएर सामाजिक सँजालहरुमा प्रशस्त बहस भइरहेक छन्।

दहाड़’ काे मूलकथादेखि अलग, यसकाे उप-कथामा जाेडेर केही यस्ता कुरा वा बिषयहरुलाई पनि उठाइएकाे छ, केही यस्ता उल्लेखनीय र महत्त्वपूर्ण प्रसङ्गहरु छन् ‘दहाड़’ मा जसबारे बसेर घण्टाैंसम्म चर्चा गर्न सकिन्छ। ती प्रसङ्गहरु हुन्, जसले यस सिरिजलाई ‘स्ट्याण्डआउट सिरिज’ बनाउँछन्, जसले सुनजस्ताे यस सिरिजमा सुगन्ध थप्छन्।

यस आलेखमा ‘दहाड़’ काे तीनवटा यस्तै प्रसङ्गहरुकाे बारेमा विस्तारमा चर्चा गरिएकाे छ। जसलाई तपाईंले सायद नाेटिस गर्नुभएन। यदि नाेटिस गर्नुभएकाे हाे भने यी प्रसङ्गहरु तपाईंलाई झक्झकाउनका लागि काफी छन्। यदि यी प्रसङ्गहरुलाई तपाईंले मनन् गर्ने हाे भने यी प्रसङ्गहरु तपाईंको आँखा खाेलिदिन काफी छन्।

=====================================

कुरा सुरु गराैं पहिलाे प्रसङ्गबाट।

प्रसङ्ग-१.

मिसाेजिनी:-

‘दहाड़’ काे १:१७:४७ काे अवधिमा एउटा कवि सम्मेलन चलिरहेकाे हुन्छ जसमा स्टेजमा उभिएर एकजना कवि स्त्रीहरुमाथि टिप्पणी गरिरहेकाे हुन्छ। उसकाे टिप्पणी स्त्रीद्धेषी सुनिन्छ। अनि उसकाे टिप्पणी सुनेर दर्शकदीर्घामा बसेका मानिसहरु हाँसिरहेका हुन्छन्। त्यहाँ पुलिसकाे एसपी पनि विराजमान हुन्छ जाे आफ्नाे ड्युटीलाई छाडेर यस्ताे फाल्तु कार्यकममा रमाइरहेकाे हुन्छ।

अहिले समाजमा चारैतिर स्त्रीद्धेष फैलिएकाे छ। कवि सम्मेलन हाेस् वा स्टेज कार्यक्रम हाेस्, स्ट्याण्डबाइ कमेडी शाे हाेस् वा टिभीकाे कमेडी शाे हाेस् वा युट्युब च्यानलहरुकाे शाे नै किन नहाेस्, सबै ‘भर-भर के’ मिसाेजिनी पस्किरहेका छन् चाहे त्याे हाँस्यव्यङ्गकाे नाममा हाेस् वा शेर-ओ-शायरीकाे नाममा हाेस्। मानिसहरु त्यसैलाई हेरेर-सुनेर आनन्दित भइरहेका छन्। ‘द कपिल शर्मा शाे’ यसकाे गतिलाे उदाहरण हाे। युट्युबमा भएका थरिथरिका मिसाेजिनिष्ट च्यानलहरु यसका थप उदाहरणहरु हुन् जाे ‘भर-भर के’ मिसाेजिनी पस्किरहेका छन्। याे मन्दबिष हाे जाे मानिसहरुलाई कमेडीकाे चास्नीमा डुबाएर ख्वाइन्दैछ। मानिसहरु याे गुलियाे चास्नीमा डुबाइएकाे मिसाेजिनी सेवन गरिरहेका छन् र यसको नशामा लट्ठ भइरहेका छन् जसकाे प्रभाव समग्र समाजमाथि परेकाे छ। समाज मिसाेजिनिष्ट बन्दै गइरहेको छ। यसले हाम्राे नेगेटिभ र रिग्रेसिभ साेसलाइजेशन गरिरहेकाे छ।

यसप्रकार, जाेया अख्तर र रीमा कागतीकाे राइटिङ टिमले याे सानाे दृष्यकाे माध्यमबाट हाम्राे समाजका सदस्यहरुमा विधमान र समाजमा चा‌ैतर्फी रुपमा फैलिएकाे मिसाेजिनीलाई दर्शाएका छन्।

=====================================

प्रसङ्ग-२.

याैन शिक्षा:-

‘दहाड़’ काे एउटा दृष्यमा (२:५२:००) विधालयका केही साना केटाहरु माेबाइल फाेनमा पाेर्न हेरिरहेका हुन्छन् जसमध्ये पुलिस इंस्पेक्टर देवी लाल सिहँकाे छाेरा पनि हुन्छ। देवी लालले उसलाई पाेर्न हेरिरहेको अवस्थामा रँगेहात समात्छ। सामान्यतया यस्ताे क्षणमा बाबु छाेरासँग रिसाउने गर्छ र घर आएर उसकाे मर्मत गरिदिने गर्छ। समाजमा पुलिसकाे छवि उसै पनि रिसाहा मान्छेकाे छँदैछ।

तर देवी लालकाे अप्रोच अलग छ। उनी आफ्नाे छाेरालाई झपार्दैनन्, कुटपिट गर्दैनन् बरु छाेरासँग याैनकाे बारेमा खुलस्त कुरा गर्छन्। ३:११:५० काे अवधिमा देवी लाल घर आएर छाेरासँग बस्छन् अनि छाेरालाई सम्झाउँदै भन्छन् कि ‘आज जे तिमीले गर्‍याै, त्यसकाे बारेमा खुलेर कुरा गर्नु म जरुरी ठान्छु। हेर, याे उमेरमा याैनलाई लिएर उत्सुकता हुनु गलत हैन। याे सबैमा हुन्छ। तर याे सब कुराका बारे जान्ने एउटा तरिका हुन्छ। याे उमेरमा याे सब कुरा (पाेर्न) हेरेर मनमा गलत कुरा बस्याे भने पछि गएर तिमीलाई नै समस्या हुन्छ अनि अरुहरुलाई पनि। त्याे (पाेर्न) भिडियाेमा जे देखाइएकाे छ, काेही पनि महिला, काेही पनि युवती याे चाहन्दिनन् कि उनीहरुमाथि कसैले त्यस्ताे हर्कत गराेस्। याैन एक सही उमेरमा गएर हुन्छ र (केटा र केटी) दुवैकाे सहमतिमा हुन्छ। अनि एउटा कुरा सँधै याद राख्नु, कुनै पनि कुराका बारेमा तिमीलाई केही जान्नुछ भने तिमी मलाई साेध्न सक्छाै। म सँग कुरा गर्न सक्छाैं।’

हाम्राे समाजमा याैन शिक्षा कमजाेर छ। हामी हाम्रा छाेराछाेरीहरुलाई सही तरिकाले याैनशिक्षा नै दिदैनाैं। सभ्यता र मर्यादाकाे कुरा गरेर, सँस्कार र सँस्कृतिकाे कुरा गरेर, शील र नैतिकताकाे कुरा गरेर हामीले हाम्रा छाेराछाेरीहरुलाई याैनशिक्षा जस्ताे एक अत्यन्त जरूरी शिक्षाबाट वञ्चित राखिरहेका छाैं। हामीले हाम्राे समाजमा याैनकाे बारेमा कुरा गर्न नै वर्जित गरेका छाैं। याे वर्जनाले उनीहरुमा अन्याेलता र भ्रमकाे बाक्लाे पत्रकाे निर्माण गरेकाे छ। उनीहरुका याैनप्रति अभिरुचि छ तर याैनबारे सही जानकारी लिने सामग्रीहरुकाे अभावका कारण, त्यस्ता सामग्रीहरु नभेटेर उनीहरु पाेर्न साइटहरु चहारिरहेका छन्। पाेर्न भिडियाेहरु हेरेर याैनबारे गलत धारणा बनाइरहेका छन्। याे गलत धारणाले उनीहरुलाई गलत बाटाेतर्फ, याैन अपराधतर्फ धकेल्ने खतरा अत्याधिक हुन्छ। याैनप्रतिकाे उत्सुकता तर याैनशिक्षाकाे अभावका कारण उनीहरु याैन दुर्व्यवहारदेखि लिएर बलात्कारसम्म गर्न पुग्छन्। त्यसैले, उनीहरुलाई सही तरिकाले याैनशिक्षा दिनु अत्यन्त जरुरी छ।

एउटा जिम्मेवार अभिभावककाे रुपमा देवीलाल त्यही गर्छन्। उनी आफ्नाे छाेरालाई सम्झाउँदै स्पष्टसँग भन्छन् कि ‘याैन सही उमेरमा गएर हुन्छ र दुवैकाे सहमतिमा हुन्छ।’ सहमति अर्थात् कन्सेन्ट। उनी आफ्नाे छाेरालाई कन्सेन्टकाे बारेमा सम्झाउँछन्।
यसरी सम्झाउँछन् कि कन्सेन्टबारे याे भन्दा सटिक र सजिलाे गरि अरु कुनै वाक्यबाट सम्झाउन सकिन्दैनथ्याे।

याैनसम्पर्क केटाकेटी दुवैकाे कन्सेन्ट भएपछि मात्र गर्नुपर्छ।
दुईमध्ये कुनै एकजनाकाे कन्सेन्ट छैन भने त्यस्ताे अवस्थामा याैन गर्नुहुँदैन। अर्थात्, कन्सेन्टबिना याैन गर्नुहुदैन, त्याे बलात्कार हाे। हामीले पनि हामा छाेराहरुलाई देवी लालले जसरी कन्सेन्टकाे बारेमा बुझाउनु जरुरी छ ताकि उनीहरु छर्लङ्ग हाेऊन् र पछि गएर कुनै गलत हर्कत नगरुन्, गलत धारणा नराखुन्, भ्रम नपालुन् अनि याैनकाे मामिलामा आफ्नाे मेल इगाेलाई इस्यु नबनाऊन्।

देवी लालले जसरी हामीले पनि हाम्रा छाेराहरुसँग संवाद स्थापित गरेर, उनीहरुसँग याैनका बारेमा खुलस्त कुरा गरेर उनीहरुलाई सही ढँगले याैन शिक्षा दिन सक्छाैं। उनीहरुलाई प्रेमालाप र याैन दुर्व्यवहार, सम्भाेग र बलात्कार बीचकाे भिन्नता बुझाउन सक्छाैं। उनीहरुले याैन उत्पीडन तथा बलात्कार गर्ने काेशिश नगरुन्, त्यसकाे लागि उनीहरुभित्र मानसिक र वैचारिक जग निर्माण गर्न सक्छाैं। ‘दहाड़’ काे याे प्रसङ्गले याे काम बडाे सहजताका साथ गर्छ।

=====================================

प्रसङ्ग-३.

स्कुलमा वर्णव्यवस्थाकाे पढाइ:-

‘दहाड़’ काे २:१५:४५ मा राम्राेसँग ध्यान दिनुहाेस्। त्यहाँ एकजना शिक्षिका कक्षाकाेठामा बालबालिकाहरुलाई वर्णव्यवस्थाबारे पढाइरहेकी छन्। वर्णव्यवस्था अर्थात् जातिवाद। वर्णव्यवस्था नै जातिवादकाे मूल हाे। त्याे जातिवाद जसलाई संविधानले वर्जित गरेकाे छ। तर बिडम्बना के छ भने त्यही वर्णव्यवस्थाबारे विधालयहरुमा पढाइन्दैछ। कलिला बालबालिकाहरुकाे दिमागमा वर्णव्यवस्थालाई फिट गरिन्दैछ। वर्णव्यवस्थाकाे शिक्षाद्वारा उनीहरुलाई कंडिसनिङ गरिन्दैछ।बडाे द्धैध चरित्र छ राज्यकाे।

विधालयहरुमा वर्णव्यवस्थालाई पढाउनु भनेकाे कुनै आमबात हैन। याे कंडिसनिङ गर्नु हाे। सिद्धान्तत: यसलाई ‘राजनीतिक सामाजिकीकरण’ भनिन्छ। राजनीतिक सामाजिकीकरण भनेकाे मान्छेहरुलाई के कस्ताे कुरा सिकाउने र के कस्ताे कुरा नसिकाउने भन्ने हाे। उनीहरुका दिमागमा के के कुरा भर्ने, उनीहरुलाई कसरी साेच्न लगाउने, कस्ताे साेच बाेक्न लगाउने भन्ने हाे। सारमा, कस्ताे मान्छे (नागरिक) तयार गर्ने भन्ने हाे।

राजनीतिक सामाजिकीकरण भनेकाे मानिसहरुलाई एक खास विचारधारा-सिद्धान्त र सँस्कृतिद्वारा शिक्षित र प्रशिक्षित गरेर साेहीअनुरुप उनीहरुलाई ढाल्नु हाे। याे उनीहरुकाे विचार-सिद्धान्त, चरित्र र व्यवहारलाई निर्धारण गर्ने प्रक्रिया हाे अनि स्कुल-कलेज वा शिक्षालयहरुमार्फत् प्रदान गरिने शिक्षादीक्षा र सँस्कार यसकाे एक प्रभावकारी माध्यम हाे।

अनि हाम्राे विधालयहरुमा कस्ताे शिक्षा दिइन्दैछ छ त? हाम्रा कलिला छाेराछाेरीहरुलाई के कस्ताे विचार-सिद्धान्तहरुले प्रशिक्षित गरिन्दैछ त अनि उनीहरुलाई कस्ताे मान्छे बनाइन्दै छ त भन्ने कुराकाे एउटा सानाे चित्र साे दृष्यले प्रस्तुत गर्छ।

हाम्रा विधालयहरु वर्णव्यवस्था र जातिय भेदभाव/जातिय विभेद जस्ता कुराहरु हाम्रा बालबच्चाहरुलाई पढाएर, उच्च र नीच जस्ता कुराहरु उनीहरुकाे दिमागमा भरिदिएर उनीहरुलाई सानैदेखि जातिय छुवाछत र भेदभाव गर्ने जातिवादी बनाउँदैछ। उनीहरुलाई अमानवीय बनाउँदैछ। यसरी हाम्रा शिक्षालयहरुले गलत शिक्षा दिएर हाम्रा छाेराछाेरीहरुमाथि गलत विचार, सँस्कार र व्यक्तित्व आराेपित गर्दैछ, जसका कारण हाम्रा नवपुस्ताहरु toxic र insensitive बन्दै गइरहेका छन्, जसले हाम्राे परिवार र समाजलाई झनै toxic र insensitive बनाउँदै लगिरहेकाे छ। हाम्राे समाज दिनप्रतिदिन toxic र insensitive बन्दै जानुकाे कारण हाम्राे गलत सामाजिकीकरण पनि हाे। हाम्रा शिक्षालयहरुमा दिइने गलत शिक्षा र सँस्कारण (कंडिसनिङ) पनि हाे।

२:५४:४४ मिनेटमा अर्काे सिन पनि छ जहाँ प्राेफेसर साहब (आनन्द स्वर्णकार) लाई पुलिसले पक्रेर लगेपछि हेडमास्टर क्लासभित्र पसेर छात्राहरुलाई ‘अब सँस्कृतकाे क्लास हुने’ कुरा बताउँछ। भारतजस्ताे प्रचण्ड भाषिक-साँस्कृतिक विविधता भएकाे मुलुककाे कलेजहरुमा (हिन्दी र) सँस्कृत भाषाकाे पढाइ भइरहेको छ। (अन्य भाषाहरुकाे हैन।)

याे दृष्य सानाे छ तर गहिरिएर हेरेमा यसले धेरै कुरा बताउँछ। याे दृष्यले शिक्षालयहरुले कसरी विविधता र इतर समुदायहरुलाई निषेध गरिरहेकाे छ र एकल जातिय राष्ट्रवादलाई प्रवर्द्धन गरिरहेकाे छ, कसरी अल्पसंख्यकहरुका भाषाहरु किनाराकृत भइरहेका छन् भन्ने कुरालाई देखाउँछ।

माथिका दृष्यहरुले भाषणबाजी गरेर यी कुराहरु बताउँदैनन् बरु दृष्यहरु (एउटा वा एकाध दृष्यहरु) काे माध्यमबाट ती सत्यहरुलाई देखाउँछन्। लम्बेचाैडे डायलग्सभन्दा एउटा सिन शक्तिशाली हुन्छ। एकपेज डायलग्सले भन्न नसकेकाे कुरा एउटा सिनले भनिदिन्छ भन्ने भनाइ यहाँनेर चरितार्थ हुन आउँछ।

#Dahaad #DahaadOnPrimeVideo

=====================================

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID