प्रसङ्ग-१:-
भर्खरै नेपालकाे बाग्लुङ, बेनीतिरकाे एउटा घटना प्रकाशमा आएकाे छ। २३ बर्षिय केटा प्रभात बस्याल (दलित) र २२ बर्षिया केटी प्रीति घिमिरे (बाहुनी) २ बर्षसम्म ‘लिभिङ टुगेदर’ मा रहेछन्। त्यसपछि केटीले नै ‘मेराे अभिभावक/परिवारले हाम्राे सम्बन्धलाई स्वीकार्दैन, त्यसैले भागेर बिहे गराैं’ भनिछन्। अनि, उनीहरु भागेर भारत गएछन्। २ महिना भारतमा बसेपछि केटीकाे अभिभावकहरुले उनीहरुलाई फकाउँदै ‘तिमीहरु घर फर्केि आऊ, हामी तिमीहरुलाई अपनाउँछाै, तिमीहरुलाई छुट्याउदैनाैं’ भनेर बाेलाएछन्। यति आश्वासन पाएपछि उनीहरु पनि घर फर्केर आएछन्।
तर उनीहरु घर फर्केर आएपछि केटीकाे परिवारले उनीहरुलाई छुट्याएर, केटीमाथि दबाव दिई, उक्त दलित केटामाथि अपहरण र बलात्कारकाे मुद्दा लगाएछ। पुलिसले केटालाई अमानवीय तरिकाले हथकडी लगाएर, केटाकाे मुन्टाे बटार्दै र घाेक्रेठ्याक लगाउँदै जेल लगेछ। केटा बेनीकाे जेलमा रहेछ अहिले। बिरामी भएकाे कारण उसलाई अस्पताल लगिएकाे रहेछ। अस्पतालमा पनि हथकडी लगाएरै उसलाई लगिएकाे रहेछ मानाै ऊ कुनै माेस्ट वान्टेड खुंखार हत्यारा वा अपराधी हाे।
अहिले उसकाे न्यायकाे लागि आवाज उठिरहेको रहेछ। केटा बाइकर भएकाेले उसकाे पेशासँग सम्बन्धित मान्छेहरुले उसकाे न्यायकाे पक्षमा आवाज उठाइरहेका रहेछन्। ठाउँ-ठाउँमा प्रदर्शनहरु गरिरहेका रहेछन्। टिकटक र युट्युबमा त याे प्रकरण चर्चित भइरहेको रहेछ। तर छापा वा अनलाइनहरुमा भने यसबारे कुनै पनि न्युज प्रकाशित भएकाे मैले अहिलेसम्म देखिन।
प्रसङ्ग-२:-
‘दहाड़’ नामक एउटा वेबसिरिज करिब महिनादिन अगाडिदेखि अमेजन प्राइम भिडियाेमा स्ट्रिम भइरहेको छ। यस सिरिजमा एउटा प्रसङ्ग छ। जात र धर्म फरक-फरक भएका एक जाेडी केटा र केटी, स्पष्ट भन्नुपर्दा हिन्दु केटी र मुस्लिम केटा आपसमा प्रेम गर्छन्। उनीहरु घरदेखि भागेर काेर्ट म्यारिजकाे लागि निवेदन दिन्छन्। तर केटीकाे पिता/परिवारले कुनै हिन्दुवादी सँगठनकाे नेता-कार्यकर्ताहरुकाे मदतले दुवैलाई समात्छन्। अनि केटालाई कालाे माेसाे दलेर पुलिसकहाँ लगेर बुझाउँछन्। उनीहरु पुलिस थानाकाे SHO लाई केटालाई केटीकाे अपहरण गरेकाे आराेप लगाई केस रजिस्टर गर्न दबाव दिन्छन्। उनीहरू केटीलाई घरमा थुनेर, केटीलाई धम्काएर-तर्साएर, केटीलाई दबाव दिई केटाकाे विरुद्ध बयान दिन लगाउँछन् र केटाका विरुद्ध बलियाे केस खडा गर्छन्।
अहिले प्रभात बस्याल र प्रिति घिमिरेकाे प्रकरणले मलाई एक महिना अगडि ‘दहाड़’ मा हेरेकाे उल्लेखित प्रसङ्गकाे सम्झना दिलायाे। यी दुवै प्रसङ्ग समान छन्। दुवै उस्तै लाग्छन्। फरक यतिमात्र हाे कि ‘दहाड़’ काे उक्त प्रसङ्गमा धर्म (हिन्दु-मुस्लिम) फ्याक्टर उनीहरुलाई छुट्याउन खाेज्नुकाे प्रमुख कारण थियाे भने यहाँ जात (बाहुनी र दलित) फ्याक्टर उनीहरुलाई छुट्याउन खाेज्नुकाे प्रमुख कारणकाे रुपमा देखापरेकाे छ।
बाँकी दुवै घटनाकाे चरित्र, प्रवृत्ति र अन्तरवस्तु उस्तै छ। दुवै घटनामा केटीकाे अभिभावकहरुकाे मानसिकता र नियत उस्तै छ। दुवै घटनामा पीडित युवकले खेप्नुपरेकाे ह्यारेसमेन्ट, यातना र त्रासकाे प्रकृति उस्तै छ। बरु सिरिजकाे केटा पात्रले कम ह्यारेसमेन्ट खपेका थिए। उसलाई केवल कालाेमाेसाे दलेर पुलिसलाई सुम्पिइएकाे थियाे र ऊ माथि केवल अपहरणकाे आराेप लगाइएको थियाे। तर यहाँ प्रभात बस्यालमाथि अपहरणमात्र हैन, बलात्कार समेतकाे केस ठाेकियाे। उसलाई हथकडी लगाइयाे, उसकाे मुन्टाेलाई बटार्दै र घाेक्रेठ्याक लगाउदै उसलाई जेल लगियाे। यसप्रकार, यस सिरिजकाे अनुमानित पात्रले भन्दा हाम्राे समाजकाे वास्तविक पात्र प्रभात बस्यालले राज्यसँयन्त्र वा पुलिसहरुबाट बढी ह्यारेसमेन्ट खप्नुपर्याे।
अब यसलाई ‘जाेया अख़्तर र रीमा कागतीले नरम भएर सिन लेखेका हुन्’ भन्ने कि ‘हाम्रा पुलिसकर्मीहरु भारतका फिल्ममेकरहरुले साेचेभन्दा बढी क्रूर भए’ भन्ने? सामान्यतया फिल्महरुमा कुनै पनि कुरा वा घटनालाई बढाइचढाइ गरेर प्रस्तुत गरिन्छ, फिल्महरुमा कुनै पनि कुरालाई exaggerate गरेर (तिललाई पहाड बनाएर) देखाइन्छ तर यहाँ त फिल्ममा देखाइएभन्दा बढी क्रूरता हाम्रा पुलिसकर्मीहरुले वास्तविक जीवनमा देखाए। फिल्ममेकरहरुले ‘यस्ताे केसमा पुलिसकाे तर्फबाट देखिन सक्ने क्रूरताकाे अधिकतम सीमा यति हाे’ भनेर साेचेकाे सीमाभन्दा बढी क्रूरता हाम्रा पुलिसकर्मीहरुले देखाए भनेपछि हाम्रा पुलिसकर्मीहरु worst हुन्। हाम्रा पुलिसकर्मीहरु गएगुज्रेका हुन् भन्न कति पनि हिच्किचाउनुपर्दैन।
यस्ता केसहरुमा पुलिसकर्मीहरु आराेपीप्रति कसरी पेश आउनुपर्छ, आराेपीमाथि कस्ताे व्यवहार गर्नुपर्छ, पुलिसकर्मीहरुले यस्ता केसहरुलाई कसरी handle गर्नुपर्छ भन्ने कुरा ‘दहाड़’ मा जाेया अख़्तर र रीमा कागतीले राम्राेसँग देखाएका छन्। के उनीहरुले देखाएजस्तै हाम्रा पुलिसकर्मीहरुले पनि यस्ता केसहरुलाई उच्चतम संवेदनशीलता अपनाएर ह्याण्डल गर्छन् भन्ने अपेक्षा हामी गर्न सक्छाैं? यस मामिलामा जाेया अख़्तर र रीमा कागतीले कुनै उच्च वा आदर्श अपेक्षा राखेका छैनन्। उनीहरुले जे देखाएका छन्, त्याे down to Earth नै छ। त्याे over the top छैन।
‘दहाड़’ काे उक्त खास प्रसङ्गलाई लक्षित गर्दै यही Movie Lovers group मा एकजना व्यक्तिले याे सिरिजमा उक्त अन्तर्जातिय-अन्तरधार्मिक प्रेम र बिहेकाे प्रसङ्ग अनावश्यक रुपमा घुसाएकाे, उक्त प्रसङ्ग सिरिजकाे मेनस्टाेरीसँग नजाेडिने, यसले मेनस्टाेरीसँग कुनै सराेकार नराख्ने, याे केवल प्राेपागण्डा गरिएकाे र हिन्दु परिवारलाई ब्याड लाइटमा देखाइएकाे भन्दै निन्दा गरेका थिए। तर अहिले प्रभात बस्याल-प्रीति घिमिरे प्रकरणले देखायाे नि त्याे प्रसङ्ग कति सत्य रहेछ, कति समसामयिक रहेछ भनेर। नढाँटि भन्नुपर्दा जब मैले प्रभात बस्याल प्रकरणबारे सुने, तब मलाई झल्यास्स ‘दहाड’ काे सम्झना भयाे अनि मनमनै भने, ‘जाेया अख़्तर र रीमा कागती त कति दुरदर्शी रहेछन्, यस्ताे परसम्मकाे सत्यलाई देखे।’
साँच्चै भन्ने हाे भने जाेया अख़्तर र रीमा कागतीले ‘दहाड़’ मा देखाएकाे त्याे कुरा, ‘दहाड़’ मा लेखेकाे त्याे सिन उक्त व्यक्तिले भनेझै कुनै प्राेपागण्डा थिएन। बरु समसामयिक यथार्थदेखि प्रेरित थियाे। त्याे वर्तमान समयकाे सत्य थियाे। अहिलेकाे समयकाे, समसामयिक परिप्रेक्ष्यकाे सत्य थियाे त्याे। यस्ता घटना नेपालमा घटेकाे नदेखेर वा थाहा नपाएर उसलाई त्याे प्रसङ्ग प्राेपागण्डा लगेकाे हुन सक्छ। तर भारतमा त त्याे आम बात हाे। यहाँ त्यस्ता घटनाहरु राेजका कुरा हुन् जाे दिनानुदिन कहिले कता त कहिले कता घटि नै रहन्छन्।
अनि, ‘दहाड़’ एक हिन्दी सिरिज हाे। याे भारतकाे कथा हाे, नेपालकाे हैन। तर यसकाे सान्दर्भिकता यति हदसम्म फैलिएकाे छ कि हाम्राे परिप्रेक्ष्यमा पनि त्याे सत्य लाग्छ, सान्दर्भिक लाग्छ। हाम्रै समसामयिक यथार्थ लाग्छ। त्यसकाे कारण याे हाे कि भारत र नेपालकाे समाज दुवै चारित्रिक रुपमा उस्तै हुन्, एकै हुन्। दुवैकाे समाजविकास (evolution) काे इतिहास एकै हाे। दुवै एउटै आमाका दुई सन्तान जस्तै हुन्। दुवै समाजकाे पितृसत्ता र जातिवाद उस्तै हाे। दुवैतिरका मानिसहरुकाे पितृसत्तात्मक र जातिवादी मानसिकता उस्तै हाे। दुवै समाजकाे सामाजिक र मानसिक/वैचारिक सँरचना उस्तै हाे।
भारतमा यस्ता जातिय-धार्मिक प्रताडनाका घटनाहरु दिनहुँ घटिरहेका छन्। भारतमा हिन्दुवादीहरुले हिन्दु केटा र मुस्लिम केटीकाे प्रेमसम्बन्धलाई ‘लव जिहाद’ काे नाम दिएका छन् र त्यसलाई आफ्नाे सभ्यताकाे सबैभन्दा ठूलाे कलंक ठहर्याएका छन्। साेही विचारधाराबाट निर्दैशित भएर उनीहरु हिन्दु केटीहरुलाई भगाएर बिहे गर्ने मुस्लिम केटाहरुमाथि लव-जिहादकाे नाममा कहर बर्साइरहेका छन्। तिनीहरुमाथि अमानवीय व्यवहार गरिरहेका छन्। त्यसैले जाेया अख़्तर र रीमा कागतीले समाजबाटै याे कुरालाई टिपेर आफ्नाे यस सिरिजमा उनेका हुन्। याे कुनै कपाेलकल्पना हैन। उनीहरुले क्यामेरामा खिचेका पात्रहरुले यथार्थसँग सादृश्य राख्छन् भलै तिनीहरु कलाकारहरु हुन्, र त्याे फिल्मकाे लागि शूट गरिएकाे सिन हाे। त्याे फिक्शन हाे र त्यसमा भएका कलाकारहरुले त्यसलाई enact मात्र गरेका हुन्। तर त्याे यथार्थसँग सम्बन्धित छ। त्याे यथार्थकाे प्रतिबिम्बन हाे। हाम्राे समाजकाे सत्य हाे त्याे। त्यस्ता घटनाहरु दिनहुँ घटिरहेका छन्। जसलाई हामी दिनहुँ देखिरहेका छाैं, पढिरहेका छाैं। ती घटनाहरु हाम्रा आँखा र चेतनाकाे सामुन्नेबाट दिनहुँ गुज्रिरहेका छन्।
‘दहाड़’ काे त्याे केटी पात्रले आफुलाई युज गरेर आफ्नाे पिता/परिवारले आफ्नाे प्रेमीमाथि गरेकाे अन्यायकाे प्रतिराेध गर्छिन्। आफ्नाे पिता/परिवारका विरुद्ध विद्राेह गर्छिन्। उनी दबावका सारा बन्धनहरुलाई छिनालेर, थुनाबाट उम्केर आफ्नाे प्रेमीसँग मिल्न पुग्छिन्। उनी आफ्नाे पिता र परिवारकाे दबाव र प्रभावलाई ओभरटेक गरेर आफ्नाे प्रेमीलाई साथ दिन्छिन् र काेर्टमा गएर काेर्टम्यारिज गर्छिन्। उनीहरु काेर्टमा जजसामु उपस्थित भइ सुरक्षाकाे माँग पनि गर्छन्। अनि जज फैसला सुनाउँदै पुलिसलाई उनीहरुकाे लागि सुरक्षाकाे बन्दाेबस्त गर्न आदेश दिन्छ।
यस अर्थमा याे सिरिज प्रगतिशील छ। यसमा जाेया अख़्तर र रीमा कागतीले न केवल समाज र सामाजिक जीवनकाे सत्यलाई देखाएका छन् अपितु त्यसकाे सुखद् अन्त्य पनि गराएका छन्। उनीहरुले न केवल उत्पीडनलाई देखाएका छन् अपितु उत्पीडनमा परेका पात्रहरुले उत्पीडनकाे प्रतिराेध गरेकाे पनि देखाएका छन्। उत्पीडितहरुले प्रतिराेध गरेर जितेकाे देखाएका छन्। उत्पीडितहरुले जितेकाे देखाउनु भविष्यप्रति आशा प्रकट गर्नु हाे। याे भविष्यप्रति आशावाद हाे, भविष्यदृष्टि हाे, उत्पीडितहरुले जित्छ वा जिताेस् भन्नु हाे। याे उनीहरुकाे उत्पीडितहरुप्रतिकाे प्रष्ट पक्षधरता हाे। उत्पीडितहरुकाे प्रतिराेधले जित्ने उनीहरुकाे सुन्दर विश्वासकाे अभिव्यक्ति हाे। यसरी उनीहरुले गरिब-कमजाेर सर्वसाधारणमाथि हुने उत्पीडन र त्यसकाे प्रतिराेधलाई देखाएका छन् अनि उत्पीडितहरुकाे स्पष्ट पक्षधरता लिएका छन्। राम्राे, प्रगतिशील, समाजप्रति प्रतिबद्ध फिल्ममेकरहरुले गर्ने भनेकाे यही हाे। याे उनीहरु असल र उत्कृष्ट फिल्ममेकर हुनुकाे प्रमाण हाे।
‘दहाड़’ नामक याे सिरिज प्रगतिशील छ किनभने याे सिरिज मानवताकाे पक्षमा, न्यायकाे पक्षमा, समानताकाे पक्षमा, प्रेमकाे पक्षमा, स्वतन्त्रताकाे पक्षमा, उत्पीडितहरुकाे/नारीहरुकाे आत्मसम्मान र सशक्तीकरणकाे पक्षमा र नारीवादकाे पक्षमा उभिएकाे छ। यसले अँध्यारोलाई मात्र देखाएकाे छैन, अपितु अँध्यारोलाई चिरेर उज्यालाेतर्फकाे यात्रालाई पनि देखाएकाे छ। अन्धकारलाई मात्र देखाएकाे छैन, अपितु अँन्धकारसँग लड्दै प्रकाशतर्फ बढ्न अभिप्रेरित पनि गरेकाे छ। अनि जसले सिनेमामा यस्ताे गर्छ, ऊ महान् फिल्ममेकर हाे र त्याे महान् सिनेमा हाे। निसन्देह, जाेया अख़्तर र रीमा कागती हाम्राे युगका महान् फिल्ममेकर हुन्।
‘दहाड़’ ले केटीमान्छेलाई प्रतिराेध गर्न सिकाएकाे छ, विद्राेह गर्न सिकाएकाे छ, विद्राेह गरेर, आफुमाथिकाे सारा दबावलाई ओभरटेक गरेर आफ्ना स्वत्व, स्वतन्त्र अस्तित्व, स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मानलाई अक्षुण्ण राख्ने, आफुले राेजेकाे व्यक्तिसँग जीवन बिताउने, आफुखुशी आफ्नाे जीवन जिउने स्वतन्त्रता वा अधिकारकाे पक्षमा अडिग रहने, लड्ने सन्देश दिएकाे छ, त्यसाे गर्न अभिप्रेरित गरेकाे छ। ‘दहाड़’ काे केटीपात्रले त्यसाे गर्ने आँट गरेकी छन्।
अन्त्यमा, मेराे एउटा जिज्ञासा छ, ‘दहाड़’ काे केटीपात्रले त प्रतिराेध गर्ने आँट गरिन्, प्रतिराेध गरिन् र मुक्त भइन्। तर के यस प्रकरणका केटी पात्र, जाे हाम्रा नायिका हुन्, उनले प्रतिराेध गर्ने आँट गर्लिन् त? यसबाट सिनेमाकाे पात्र र वास्तविक जीवनकाे पात्रबीचकाे अन्तर पनि छुट्टिएला।
(नाेट:- याे विशष लेख हाे। प्रभात बस्याल र प्रिति घिमिरे प्रकरण नघटेकाे भए याे लेख लेखिन्दैनथ्याे।)