सआदत हसन मंटाे: एक सदाबहार विद्राेही लेखक

जीवनी

प्रभाष

२० औं शताब्दीको सुरुवाती दशकमा विश्वले काेल्टे फेर्दै थियाे। भारतमा पनि उथलपुथल मच्चिरहेकाे थियाे। गुलामीकाे जंजीर चुँडाएर स्वाधीन हुन भारत आन्दोलरत थियाे। राजनीतिक र आर्थिक मात्र हैन, सामाजिक परिवर्तनकाे लागि पनि उथलपुथल मच्चिरहेकाे थियाे। यस्ताेमा साहित्यजगत् पनि नयाँ रूपरङलाई अंगिकार गर्न आतुर भइरहेकाे थियाे। यस्ताे उथलपुथलयुक्त दौरमा भारतीय साहित्याकाशमा एक यस्ताे नक्षत्रकाे उदय भयाे, जसले आफ्ना कथाहरुमार्फत् आफ्नाे समय र समाजकाे नाङ्गाे सत्यलाई देखायाे। उनकाे नाम थियाे, सआदत हसन मंटो।

२१ में १९१२ मा लुधियानाकाे शिख बाहुल्य सहरकाे एक मुस्लिम ब्यारिस्टरकाे मध्यमवर्गीय परिवारमा सआदत हसन मंटोकाे जन्म भएकाे थियाे। आज उनकाे १११ औं जन्मजयन्ती हाे। उर्दुकाे यस अद्भुत, नामी र निडर लेखकले आफ्नै सूझबूझद्वारा यस्ता कथाहरु लेखे जसले तत्कालीन समाजलाई मात्र हैन, समकालीन समाजलाई पनि ऐना देखाइरहेकाे छ। उनकाे लेखन कैयाैं मानिसका लागि आगाे सिद्ध भयाे भने कैयौं मानिसका लागि पानी। जसले कैयौं मानिसलाई पाेल्याे, अनि कैयौं मानिसलाई शितलता पनि प्रदान गर्‍याे।

सआदत हसन मंटाे

प्राय: जसाे मानिसहरु भन्ने गर्छन् की मंटो आफ्नो समयभन्दा अगाडिका लेखक थिए। तर साँचाे कुरा के हाे भने मंटो यथार्थमा आफ्नै समयका लेखक थिए, आफ्नाे समयका कथाकार थिए। उनका कथाहरुले त्यसबेलाकाे समाजकाे भित्री चरित्रकाे हुबहु चित्रण गर्दछन्। कुरा के मात्र हाे भने, उनका कथाहरुमा जुन ‘कंटेन्ट’ वा बिषयवस्तु मौजूद छन्, जो लेख्न त त्यस दाैरमा लेखिए, तर आजकाे समयमा झनै बढी प्रासङ्गिक लाग्दछन्। मंटाेका कथाहरु त्यसबेलामा क्रान्तिकारी थिए र अझै पनि क्रान्तिकारी नै छन्। आजका मानिसहरु, बिशेष गरेर युवाहरुमा उनीप्रति रुचि यसकारण पनि बढिरहेको छ की मंटोका कथाहरु उनीहरुका तर्कवादी (rational) सोचमाथि खराे उत्रन्छन्। त्यसैले मंटाेलाई पढिरहन्दा आजका युवायुवतीहरुकाे आँखामा एक किसिमकाे चमक देख्न सकिन्छ।

मंटाे उर्दुका एकमात्र यस्ता कथाकार हुन्, जसका कथाहरुलाई जति मनपराइन्छ, उति नै दुत्कारिन्छ पनि। र यसमा कुनै सन्देह छैन कि उनलाई गाली गर्ने मानिसहरु नै सबैभन्दा बढी उनका कथाहरु पढ्ने गर्छन्। गालीहरुका वर्षा झेलेर ‘काली सलवार’, ‘बू’, ‘धुआँ’, ‘ठंडा गोश्त’ एवं ‘खोल दो’ जस्ता कथाहरुका कारण पटक-पटक अदालतकाे कठघरामा उभ्याइनुका बावजूद पनि मंटाेले पटक-पटक त्यो परिवेश र पात्रहरुका कथाहरु लेखिरहे, जसलाई सभ्य समाजका मानिसहरु घृणाकाे नजरले हेर्छन् र तिनीहरुलाई आफ्नाे समाजमा स्थान दिन तयार हुँदैनन्। यथार्थमा, उनका कथाहरुले समाजकाे पाेष्टमार्टम गर्छन्। त्यसैले पाठकहरु उनलाई पढ्दा विचलित हुन्छन्।

विशाल र अखण्ड मुलुकको भारत र पाकिस्तानमा विभाजन हुँदा त्यसले निम्त्याएका सम्प्रदायिक दंगा, हिँसा, क्रूरता, पाशविकता वा बर्बरता, खासगरि महिलाहरुमाथि गरिएका पाश्विकता, बर्बरता, अन्याय, अत्याचार तथा उत्पीडनहरुलाई आफ्ना कथाहरुमा यथार्थपरक चित्रण गरेर उनले सबैकाे मन-मस्तिष्कलाई हल्लाइदिए।

हुन त मंटाे अगस्ट १९४७ (मुलुक विभाजन) अघि नै एक स्थापित लेखक भइसकेका थिए। विशेष गरि लघु-कथाकारकाे रुपमा उनी प्रसिद्ध भइसकेका थिए। उनका लघु-कथाहरु बेजाेड हुने गर्दथ्याे। लघु-कथा लेखनमा त उनी रुसी र पश्चिमा साहित्यका प्रसिद्ध लेखकहरुभन्दा कम थिएनन्। तर विभाजनकाे पृष्ठभूमिमा उनले लेखेका यही लघु-कथाहरुले एक लेखक-कथाकारकाे रुपमा उनकाे प्रतिष्ठाकाे जगलाई मजबूत बनायाे। उनले पाकिस्तानमा इस्लामिक अतिवादीहरुकाे उदयसहित भविष्यकाे पाकिस्तानकाे राजनीतिक परिदृष्यकाे सटिक भविष्यवाणी पनि गरेका थिए जुन एकदमै सत्य ठहरियाे। तर उनलाई इतिहासमा अमर बनाइदिने रचनाहरु चाँहि उनले विभाजनको पृष्ठभूमिमा लेखेका उनका कथाहरु नै थिए जसकाे जनमानसहरुमा गहिराे प्रभाव पर्‍याे, जसकाे लागि उनलाई आजसम्म पनि याद गरिन्छ।

मंटाे मुलुक विभाजनकाे विपक्षमा अटल भएर उभिएका थिए। उनले अडिग भएर मुलुक विभाजनकाे विराेध गरेका थिए र नवगठित मुलुक पाकिस्तानमा जान अस्वीकार गरेका थिए। तर एक साँझ सारा परिस्थिति बदलियाे। एक साँझ उनी आफु काम गर्ने पत्रिकाकाे अफिसमा आफ्ना हिन्दु साथीहरुसँग बसेर पिइरहेका थिए। त्यहाँ भएका उनका साथीहरुमध्ये एकजनाले भन्याे कि यदि मंटाे उनीहरुकाे साथी नभएकाे भए, उनले मंटाेलाई मारिदिइसक्थे। (भनिन्छ मंटाेलाई यसाे भन्ने उनकाे मित्र श्याम चड्ढा थिए। नन्दिता दासकाे फिल्म ‘मंटाे’ मा उक्त व्यक्ति श्याम चड्ढा भएकाे देखाइएकाे छ।) अर्काे दिन मंटाेले आफ्नाे सामान बाँधे अनि आफ्नाे परिवारलाई लिएर लाहाैर फर्किए। लाहाैर फर्किएर उनले विभाजनका क्रूरता, बर्बरता र उपद्राेहरुलाई सम्झाउने कथाहरु लेखे।

सआदत हसन मंटाे र उनकी पत्नी सफिया

उनकाे सर्वाधिक चर्चित कथाहरुमध्ये एक ‘टाेबा टेक सिहँ’ मा पाकिस्तानकाे पागलखानामा राखिएका हिन्दु र शिख पागलहरुलाई त्यहाँबाट सारेर भारततर्फ लगिन्छ। तिनीहरुमध्ये एकजना शिखकाे पागलपन अति बढ्छ कि ऊ पाकिस्तान र भारतकाे सीमानाकाे बीचमा उभिएर बर्बराउन थाल्छ। यस कथामार्फत् मंटाे भनिरहेका थिए, ‘मुलुक विभाजन पागलपन थियाे।’

मंटाेले याे पनि भने, ‘याे नभन कि एक लाख हिन्दुहरु वा एक लाख मुसलमानहरु मारिए। बरु याे भन कि दुई लाख मानिसहरु मारिए। अनि दुई लाख मानिसहरु मारिनु त्यस्ताे ठूलाे त्रासदी हाेइन। ठूलाे त्रासदी त के हाे भने उनीहरु बिनाकारण वा निरुद्देय मारिए।’

मुलुक विभाजनकाे विरासत अझै पनि हामीसँगै छ, दुवै उपमहाद्धिप (पाकिस्तान र भारत) र ब्रिटेनसँग छ। अनि यसलाई बुझ्नुपर्ने आवश्यकता समय-कालसँगै अझै हराएकाे छैन। याे प्रश्न अझै पनि असान्दर्भिक भइसकेकाे छैन। याे कसरी भयाे? कसरी ती मानिसहरु जाे सदिऔंदेखि एउटै गाउँ, टाेल, कस्बा, बस्तीमा सँगै मिलेर बसे, मिलेर सह-जीवन व्यतीत गरे, उनीहरु कसरी एकअर्का विरुद्ध जाइलाग्न सके? सदीयौंदेखि एउटै गाउँ, टाेल, कस्बामा बस्ने मानिसहरुले कसरी एकअर्कालाई काट्न र मार्न सके? कसरी आफ्नाे आमुन्ने-सामुन्ने रहेका छिमेकीहरुलाई काट्न सके? कसरी उनीहरुले  आफ्नाे प्याराे साथीकाे हत्या गर्न सके?’ मंटाे ती थाेरै लेखकमध्ये थिए, जसले आफ्नाे सुबाेध र तीखो लेखनद्वारा यस ‘थिम’ लाई जबर्दस्त ढँगले उठाए। समाज र मानिसहरुकाे ढाेंग र पाखण्डमाथि त उनले अत्यन्त निडर भएर लेखेकाे पाइन्छ।

महिला-पुरुष सम्बन्ध उनका कथाहरुका अर्काे महत्त्वपूर्ण बिषय थिए। समाजमा महिलाहरुकाे अवस्था र महिलाहरुकाे सत्य, यी यस्ता बिषय थिए जुन एक अलगै शैलीमा उनका कथाहरुमा मौजूद हुने गर्थे। उनले आफ्ना कथाहरुमा महिलाहरुलाई पितृसत्ताले निर्धारण गरेकाे उनीहरुकाे परम्परागत (शालीन, सुशील, सुसँस्कृत) छविदेखि अलग अर्कै छविमा प्रस्तुत गरे। उनले पितृसत्ताले निर्धारण गरेकाे छविकाे ठीक विपरीत छविहरुमा महिलाहरुलाई प्रस्तुत गरे। उनले आफ्ना कथाहरुमा महिलाहरुकाे उत्पीडित, असहाय र निरीह रुपलाई देखाए, राैद्र रुपलाई देखाए, अभद्र, अशालिन वा असभ्य रुपलाई देखाए अनि हिंस्रक र जंगली रुपलाई पनि देखाए, अबाेध-निश्चल रुपलाई पनि देखाए अनि दृष्ट र जाली रुपलाई पनि देखाए। उनले महिलाहरुका चरित्रका विविध रङहरुलाई देखाए। एक वाक्यमा भन्नुपर्दा, उनले वास्तविक जीवनमा महिलाहरु जस्ता स्वभावका हुन्छन्, त्यस्तै देखाए। तत्कालीन सामाजिक परिस्थितिमा उनले महिलाहरुभित्र जति रुपहरुलाई देखे वा जस्ताे रुपहरुकाे कल्पना गर्न सके, ती सबै रुपलाई आफ्ना कथाहरुमा चित्रित गरे।

उनले महिला पात्रहरुका याैनकुण्ठालाई देखाए, उनीहरुका दमित याैनचाहनालाई देखाए अनि त्यसले सिर्जित गरेका तथा समाज र सँस्कृतिले वर्जित गरेका उनीहरुका सामान्य-असामान्य (यथार्थमा सामान्य तर पितृसत्ताले असामान्य ठहर्‍याएका) क्रियाकलापहरु र ती चाहनालाई परिपूर्ति गर्न उनीहरुले गर्ने ‘अस्वभाविक’ र ‘अश्लील’ हर्कतहरुलाई देखाए। उनले महिलाहरुलाई शिष्टता, शालिनता, सुशीलता, काेमलता, विनम्रता र लजालुपनाकाे आवरणले बेरेर राखेनन्, बरु ती आवरणहरुलाई च्यातचुत पारेर मिल्काइदिए। महिलाहरुकाे जस्ताे छवि पितृसत्ताले बनाइदिएका थिए, त्याे छविलाई ध्वस्त पारेर त्यसकाे विपरीत छवि गढेर उनले समाजलाई देखाइदिए। खासमा उनले समाजलाई/मान्छेहरुलाई ऐना देखाइदिए, जसबाट उनीहरुलाई ठूलाे धक्का लाग्याे। उनीहरुलाई असहनीय पीडा भयाे। फलतः उनीहरु आक्राेशित भए। समाज आक्राेशित भयाे। मान्छेहरु आक्राेशित भए। यदि कसैले आफुहरुले काेरेकाे सीमारेखालाई नाघ्न खाेज्छ भने, आफुहरुले बनाएका सामाजिक-नैतिक मूल्य-मान्यताहरुकाे पर्खाललाई भत्काउन खाेज्छ भने मानिसहरुलाई रिस उठ्छ। आफुहरुले कल्पना गरेका सुन्दर चीजहरुलाई कसैले बिगारेर कुरुप बनाएर देखाउँछ भने मानिसहरुलाई रिस उठ्छ। याे स्वभाविक कुरा हाे। यही कुरालाई लिएर मंटाेमाथि प्रहार गरियाे। उनी सबैकाे ताराे बने। सारमा, उनका कथाहरुका महिला पात्रहरु जो त्यसबेला भलै जतिसुकै विचित्र लाग्दा हुन्, तर व्यवहारमा दुरुस्तै त्यस्तै थिए, जस्ताे एक महिला एक मानवकाे रुपमा हुन सक्छिन्। त्याे भन्दा एक इन्च बढी पनि हाेइन, त्याे भन्दा एक इन्च घटी पनि हाेइन।

उनी सामान्यतया एउटा सिङ्गाे कथा एक बसाइँमा लेखिसक्थे, त्याे पनि थाेरै ‘करेक्शन’ का साथ। चाहे उनी वेश्याहरुकाे बारेमा लेखिरहेका हाेउन् वा गृहिणीहरुका बारेमा लेखिरहेका हाेउन् वा नरभक्षीहरुका काेपभाजनमा परेका महिलाहरुका बारेमा, मंटाे आफ्ना पाठकहरुलाई याे बताउन चाहन्थे कि यी समाज/मानिसहरुद्वारा अपमानित र तिरस्कृत पात्रहरु पनि मानव नै हुन् र तिनीभन्दा धेरै गुणा अधिक मानवीय गुणहरुद्वारा सुसज्जित छन् जाे आफ्नाे विकृत सत्यलाई, विकृत याैन कुण्ठा र दुर्व्यवहारहरुलाई पाखण्डकाे बाक्लाे आवरणले ढाकछाेप गरिरहेका छन्। मंटाेलाई पढ्दा के कुरा महसुस हुन्छ भने साहित्य सदैव संरुपण हुनुपर्छ भन्ने जरुरी छैन। अनि साहित्यले सदैव शिष्ट र भद्र कथाहरु भन्नुपर्छ भन्ने पनि जरुरी छैन।

मंटोलाई विभाजनकाे पीडाले पनि सदैव सताइरह्याे। सन् १९४८ मा पाकिस्तान गएपश्चात् उनी त्यहाँ केवल सात बर्ष बाँच्न सके। मंटो पाकिस्तान जानु उनकाे लागि सही निर्णय सिद्ध हुन सकेन। जति महत्व उनलाई भारत-हिन्दुस्तानमा दिइन्थ्याे, उति सायदै पाकिस्तानमा दिइयाे। त्यहाँ उनका दिनहरु असाध्यै गरिबीमा गुज्रिए। उनले त्यहाँ ढँगकाे काम पाएनन्, कसैबाट सहयाेग-सदिच्छा पाएनन्, आफ्ना लेखरचनाहरुका पारिश्रमिक समेत पाएनन्, बरु उल्टै अपमान, तिरस्कार र गालीहरु पाए। पाकिस्तानमा उनका कथाहरुलाई सभ्यता, सामाजिक मूल्य-मान्यता (मान-मर्यादा) र न‌ैतिकताकाे दृष्टिले गलत, असभ्य र अश्लील भएकाे भनेर नकारियाे। उनलाई आफ्ना कथाहरुमा अश्लीलता पस्केकाे, अश्लील साहित्य लेखेर समाजलाई बिगारेकाे, समाजकाे नैतिक व्यवस्था र मानमर्यादालाई भत्काएकाे आराेपमा पटक-पटक अदालतमा घसिटियाे, उनीमाथि मुद्दा चलाइयाे र एक अपराधीसरह उनलाई कठघरामा उभ्याइयाे। उनीसँग स्पष्टिकरण माँगियाे।

उनमाथि ६ पटकसम्म अश्लील साहित्य लेखेकाे आराेपमा मुद्दा चलाइयाे जसमध्ये तीनपटक पाकिस्तान बन्नुभन्दा पहिले र तीनपटक पाकिस्तान बनेपश्चात् उनले अदालतकाे कठघरामा उभिएर स्पष्टीकरण दिनुपर्‍याे तर एकपटक पनि उनीमाथि लगाइएको आराेप प्रमाणित हुन सकेन। उनका कथाहरु जसमाथि मुद्दाहरु चले, ती कथाहरु थिए, ‘काली सलवार’, ‘धुआँ’, ‘बू’, ‘ठंडा गोश्त’, ‘ऊपर-नीचे’ र ‘दरमियाँ’। आफ्ना कथाहरुमाथि लागेकाे अश्लीलताका आराेपहरुमाथि मंटाेकाे जवाफ हुन्थ्याे, ‘यदि तपाईलाई मेरा कथाहरु अश्लील वा फाेहाेर लाग्छ भने जुन समाजमा तपाईं बसिरहनु भएकाे छ, त्याे समाज अश्लील र फाेहाेर छ। यदि तपाईंलाई मेराे कथा अपाच्य र असहनीय लाग्छ भने यथार्थमा याे समाज नै अपाच्य र असहनीय छ। मेरा कथाहरुले त सत्यलाई देखाएकाे मात्र हाे।’

एकातिर चरम गरिबी, दिगाे आयस्रोत वा कुनै गतिलाे इलमकाे अभाव, आफ्नाे र आफ्नाे परिवारका आवश्यकताहरु पूरा गर्न नसक्नु, अर्काेतिर समाज र मानिसहरुले निरन्तर गर्ने प्रहार, अपमान, दुर्व्यवहार र कानुनी कारवाहीहरु। यी सब ‘आपबितीहरु’ का कारण उनले अति मानसिक यातना झेल्नुपर्‍याे। फलतः पीडा भुलाउन उनले नशाकाे मदत लिए अनि आफैलाई ‘आइसाेलेटेट’ गरेर रक्सीकाे नशामा डुब्न थाले। भनिन्छ, लाचार, कमजाेर र एक्लाे मंटाेले दुईवटा चीजलाई आफ्नाे सहारा बनाए, एउटा कलम र अर्काे रक्सी। रक्सी नपिइकन उनी लेख्नै सक्दैन थिए। रक्सीले नै उनकाे कमजाेर शरीरलाई समाजका, दुनियाँका कुरुपताहरुमाथि जाइलाग्ने तागत दिन्थ्याे। दुनियाँकाे प्रहारहरुकाे प्रतिराेध गर्ने शक्ति दिन्थ्याे। आफ्नाे गरिबी र रक्सीकाे कुलतबारे उनले आफ्नाे निबन्धसँग्रह ‘अंकल स्यामलाई चिट्ठीमा लेखेका छन्, ‘अंकल ! अहिलेसम्म २०-२२ वटा कृति लेखेर पनि मैले एउटा घरसम्म बनाउन सकिन। म सँग आफ्नाे घर छैन। यदि मैले प्रति काेलम ७ रुपैयाँकाे दरले २०, २५ रुपैयाँ कमाए भने म टाँगा लिन्छु र लाेकल रक्सी खानु निस्किन्छु।’ अनि आफ्नाे पत्रिकाकाे कार्यालयमा जान्थे, त्यहाँ बसेर लघुकथा लेख्थे अनि त्यसकाे पारिश्रमिक बुझेर रक्सी किन्थे। याे रक्सीकाे कुलत र आर्थिक अभावले उनलाई पछिसम्मै छाेडेन जसले उनकाे शारीरिक, मानसिक र पारिवारिक स्वास्थ्यलाई क्षतविक्षत बनायाे। उनकाे सम्पूर्ण सामाजिक सम्बन्ध बिग्रियाे, पारिवारिक सम्बन्ध बिग्रियाे। त्यतिमात्र हाेइन, उनकाे मानसिक सन्तुलन पनि बिग्रियाे। फलतः उनलाई मानसिक अस्पतालमा भर्ना गर्नुपर्‍याे।

पाकिस्तानमा बितेका बर्षहरुका बारेमा उनले लेखेका छन्, ‘मेराे लागि याे एक तीताे सत्य हाे कि आफ्नो मुलुकमा जसलाई पाकिस्तान भनिन्छ, मैले आफ्नाे सही स्थान खाेज्न सकिन। यही कारणले मेराे आत्मा छट्पटिरहन्छ…म कहिले पागलखानामा त कहिले अस्पतालमा बस्ने गर्छु।’ उनकाे लागि उनकाे कलम उनकाे सबैभन्दा ठूलाे दुश्मन बन्याे। उनकाे विचार र तिखाे लेखनले उनकाे लागि धेरै दुश्मन र दु:खहरु कमाइदियाे। त्यसैले त उनी भन्न बाध्य भए, ‘मैले कलम उठाउनु एउटा अत्यन्त ठूलाे घटना थियाे, जसबाट ‘शिष्ट’ लेखकहरुलाई पनि दु:ख भयाे अनि ‘शिष्ट’ पाठकहरुलाई पनि।’

मंटाेकाे जीवनकाल छाेटाे रह्याे। गरिबी र अभावका कारण अत्याधिक मानसिक यन्त्रणा र रक्सीकाे कुलतले उनलाई ४३ बर्षकाे उमेरमै मृत्युकाे मुखमा पुर्‍यायाे। विचारणीय कुरा त के भने मृत्युवरण गर्नुभन्दा ६ महिना अघि उनले आफ्नै स्मारक वा समाधि-लेख लेखेका थिए, यधपि याे लेखलाई उनकाे समाधिशिलामा कुदिएन। सायद उनकाे कामले नै उनलाई सधैंभरि जीवित राखिरहनेछ भनेर नकुदिएकाे हाेला।

११ मे १९१२ मा भारतकाे पूर्वी पंजाबकाे समरालामा जन्मिएका मंटोकाे १८ जनवरी १९५५ मा पाकिस्तानकाे पश्चिमी पंजाबकाे लाहौरमा निधन भयाे र उनलाई त्यहीकाे धर्तीमा दफनाइयाे। उनलाई धर्तीमुनि दफनाइए सँगै उनकाे अद्भुत कथा लेखन शिल्पकाे सबै रहस्य पनि उनीसँगै धर्तिमुनि दफन भयाे। तर उनका रचना र अफ़सानाहरु भने अझैसम्म जीवित छँदैछन् र यिनैले उनलाई चिरकालसम्म जीवित राखिरहनेछन्। औपचारिक रुपमा उनका २० वटा लघु कथाहरुका सँग्रह, ५ वटा रेडियाे नाटक, ३ वटा निबन्ध र एउटा उपन्यास प्रकाशित छन्। फुटकर रचनाहरु त कति छन् कति, त्यसकाे हिसाब छैन। उनका के कति रचनाहरु प्रकाशित छन्, के कति रचनाहरु अझै अप्रकाशित छन्, त्यसकाे पनि हिसाब छैन।

याे सत्य हाे कि जीवनकाे बारेमा मंटाेकाे दृष्टिकोण केही अस्पष्ट र एक हदसम्म निराशावादी छ। तर याे पनि सत्य हाे कि उनी आफ्नाे युगकाे सबभन्दा ठूला आलाेचक थिए तर मानव मनोविज्ञानलाई बुझ्ने र त्यसकाे आलाेकमा झुटकाे पर्दाफाश गर्ने जुन क्षमता मंटाेमा थियाे, त्याे निसन्देह कुनै अन्य उर्दु लेखकमा थिएन/छैन। सत्यलाई निर्धक्क लेख्ने मंटाेले कैयाैं यस्ता मुद्दाहरुलाई उधिनेर सतहमा ल्याइदिए जसलाई त्याे समयकाे समाजले सतहमुनि दबाएर राखेकाे थियाे, लुकाएर, ढाकछाेप गरेर राखेकाे थियाे। सत्यलाई सामुन्ने ल्याउनका साथै कथा भन्ने आफ्नाे माैलिक शैली र उर्दु भाषामाथि बेजाेड पकडले मंटाेलाई कथाकाे ‘बेताज़ बादशाह’ बनाइदियाे।

समरुपता र धार्मिक कट्टरताकाे मुलुक पाकिस्तान जहाँ प्रश्न वा कटाक्ष गर्न पाइन्दैन, त्यस्ताे मुलुक वा समाजमा पाकिस्तानकाे जन्मकालमै मंटाे जस्ताे निडर र खराे लेखक थियाे भन्ने कुरा साेच्दा मात्रै पनि आश्चर्य लाग्छ, राेमाञ्चक लाग्छ। मंटाेले पाकिस्तानी जनतालाई ‘हामीले कस्ताे पाकिस्तान चाहेका/खाेजेका थियाैं र कस्ताे पाकिस्तान पायाैं, अवाम (आमजनता) लाई ‘सर आँखाें पर’ राख्ने राज्य चाहेकाे/खाेजेकाे हामीले अवामलाई पैतालामुनि कुल्चिने राज्य पायाैं’ भन्ने तीताे सत्यबारे पटक-पटक साेच्न बाध्य बनाउँछ।

पाकिस्तानी राज्यसत्ता/सरकारसँग मंटाेकाे कहिल्यै कुरा मिलेन/लय मिलेन। उनले पाकिस्तानकाे राज्यसत्ता/सरकारकाे तानाशाही चरित्रलाई पनि पटक-पटक नङ्ग्याए। पटक-पटक उनलाई कठघरामा उभ्याइयाे। जतिपटक उनलाई कठघरामा उभ्याइयाे, उतिपटक पाकिस्तानी राज्यसत्ता दुनियाँकाे सामु नाङ्गियाे। आज मंटाेलाई एकेडेमिक र आर्ट सर्कलमा सँसारभरि नै सेलिब्रेट गरिन्छ तर अझै पनि उनकाे मुलुक पाकिस्तानकाे राज्यसत्ताले उनकाे उपेक्षा गरिरहेकाे देखिन्छ। पाकिस्तानका हाइ स्कुलका सिलेबसमा मंटाे छैनन्। त्यहाँका विधालयहरुमा मंटाेलाई अझैपनि पढिन्दैन-पढाइन्दैन। मंटाेलाई पढ्नेहरुलाई विद्राेही ठान्ने मानसिकतालाई अझै पनि पाकिस्तानी राज्यले कुनै न कुनै रुपमा बाेकिरहेकाे छ। पाकिस्तानकाे ‘जिन’ मा जुन एक किसिमकाे कट्टरता छ, त्याे अझै पनि छदैछ, त्याे हराइसकेकाे छैन। त्यही कट्टरता हाे जसले आज पनि पाकिस्तानी समाज र राज्यलाई मंटाेलाई खुला मनले स्वीकार्न अनुमति दिइरहेकाे छैन। याे पाकिस्तानकाे लागि लज्जाकाे बिषय हाे।

मा प्रकाशित