सिकलसेल एनिमिया, किशोरी शिक्षा र दुखाई व्यवस्थापन सम्बन्धी विविध कार्यक्रम 

गणतन्त्रनेपाल समाचारदाता

बैशाख, २५  सिसहनियाँ । राप्ति–७, सिसहनियामा सिकलसेल एनिमिया, दुखाई व्यवस्थापन र किशोरी शिक्षा सम्बन्धी विविध कार्यक्रमहरू गरिएको छ ।

क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त कार्यक्रमहरू गरिएको हो । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा संचालन भएको कार्यक्रमहरू नौं दिनसम्म संचालन गरिएका थिए । कार्यक्रमहरुमा ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ९ जना मेडिकल विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

रगत परीक्षण कार्यक्रम

क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा रगत परीक्षण गरिएको छ । रगत परीक्षण कार्यक्रममा राप्ति गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८का २ सय ४२ जनाको स्क्रिनिङ गर्दा २८ जनामा सिकलसेल एनिमिया देखिएको सिसहनिया स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट रमेश चौधरीले जानकारी दिनुभयो । स्क्रिनिङ गर्दा पोजिटिभ देखिएकालाई परामर्श गरी थप परीक्षणका लागि समन्वय गरिने र त्यसपछि मात्र रोग वा ट्रेट पत्ता लाग्ने र अँझ थप सचेतनाका कार्यक्रमहरू संचालन गरिने सीपी नेपालका कर्मचारी श्याम चौधरीले जानकारी दिनुभयो । त्यस्तै राप्ति गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण रावतले थारु समुदायको बाहुल्यता रहेको यस पालिकामा यस सम्बन्धी कार्यक्रमहरुको आवश्यकता रहेको बताउदै आगामी दिनहरुमा समन्वयका साथ कार्यक्रमहरू संचालन गरिने बताउनु भयो ।

भेरी अञ्चल अस्पताल र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण

ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ९ जना मेडिकल विद्यार्थी र सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले भेरी अञ्चल अस्पताल र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहिको भ्रमण गरेका छन् । सो भ्रमणका क्रममा सिकलसेल रोग विशेषज्ञ डा. राजन पाण्डेसँग सिकलसेल लगायत गर्भावस्था, थाल्सेमिया, दुखाई व्यवस्थापन, महिनावारी जस्ता विषयमा छलफल भएको सीपी नेपालका कर्मचारी मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

यसका साथै सोही समूहले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि भ्रमण गरेको छ । प्रतिष्ठानका रेक्टर डा. वसन्त लामीछाने र फिजिशियन डा. अजयराज गौतमसँग भेटवार्ता गरेको सीपी नेपालका कर्मचारी सरिता चौधरीले जानकारी दिनुभयो । भेटवार्ताका क्रममा डा. लामिछानेसँग दाङ जिल्लामा किशोरी शिक्षा, प्रजनन स्वास्थ्य, परिवार नियोजन र सुरक्षित मातृत्वको अवस्थाका बारेमा छलफल गरिएको थियो ।

साथै डा. गौतमसँग दाङ जिल्लामा सिकलसेलको अवस्था, दुखाई व्यवस्थापन र बिरामीहरुले भोगिरहेको समस्याका बारेमा छलफल हुनुका साथै हेमोग्लोबिन इलेक्ट्रोफोरसेसका लागि बिरामीहरुले निजी ल्याबहरुमा महङ्गो शुल्क तिर्न बाध्य रहेको बताउदै यस रोगको बारेमा जनचेतना जगाउदै सोको लागि सबै क्षेत्रले पहल गर्नु पर्ने बताउनु भएको थियो ।

दुखाई व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम

सिसहनिया स्वास्थ्य चौकिको समन्वयमा राप्ति गाउँपालिकामा सिकलसेल एनिमिया र दुखाई व्यवस्थापन सम्बन्धी एकदिने सचेतना कार्यक्रम संचालन गरिएको छ । सिसहनिया स्वास्थ्य चौकिका डाक्टर डा. भरत पोख्रेलले सोको बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रममा राप्ति गाउँपालिका विभिन्न वडाका महिला स्वास्थ्य स्वयंसेबिकाहरु, वडा नं. ६का जनप्रतिनिधि, आमा समूहका सदस्य र शिक्षकहरुले सहभागिता जनाउनु भएको थियो । यो विषय आफूहरुका लागि नयाँ भएको बताउदै यो कार्यक्रमपश्चात आफू कार्यक्षेत्र गाउँमा यस विषयमा आफूहरुले सचेतना फैलाउने सहभागिहरुले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सिपी नेपालका सरिता चौधरी, स्वास्थ्य चौकीका प्रमुख धनबहादुर खड्का र ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।

सडक नाटक

राप्ति गाउँपालिका–६, मझेरीयामा सिकलसेल सम्बन्धी चेतना फैलाउने उदेश्यले सडक नाटक प्रर्दशन गरिएको छ । अँझै पनि धेरै समुदाय यस सम्बन्धी अनबिज्ञ रहेको र सो बारेमा सचेतना फैलाउनका लागि स्थानीय भाषाको प्रयोग गरेर नाटक प्रर्दशन गरिएको आयोजकले जनाएको छ । य

किशोरी शिक्षा कक्षा अवलोकन

यसै बीच ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा सीपी नेपालद्धारा संचालित किशोरी कक्षाको पनि अनुगमन गरिएको छ । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ९ जना मेडिकल विद्यार्थीले किशोरीहरुलाई किशोरी शिक्षाका बारेमा प्रशिक्षण समेत दिएका थिए । अहिले ४ सय ५० जना किशोरीहरुले यस सम्बन्धी प्रशिक्षण लिइसकेको सहजकर्ता सिता कुमालले जानकारी दिनुभयो ।

सीपी नेपालले ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको सहयोगमा विगत ७ वर्ष देखि दाङ जिल्लाको गढवा, राप्ति र राजपुर गाउँपालिकामा सिकलसेल सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । यसका साथै किशोरी शिक्षा र दुखाई व्यवस्थापन विषयक कार्यक्रमहरू पनि संचालन भैरहेका छन् ।

मा प्रकाशित