घर की चौखट से
स्कूल तक की दूरी उतनी ही है
जितनी कि
चूल्हे से चाँद तक की दूरी !
चाँद तक पहुँचने के लिए
रॉकेट की नहीं,
चौखट लाँघने की ज़रूरत है !
– आदित्य रहबर
‘निल बट्टे सन्नाटा’ एक आमाकाे कथा हाे। उनकाे सपनाकाे कथा हाे। उनकाे दु:खकष्ट र सङ्घर्षकाे कथा हाे। याे खासमा एक आमाकाे आफ्ना सन्तानप्रतिकाे अपरिमित माया, कर्तव्यपरायणता अनि आफ्ना सन्तानका लागि गर्ने त्याग, तपस्या र सङ्घर्षकाे कथा हाे।
याे एक छाेरीकाे पनि कथा हाे, जाे गणितमा शून्य छ, जसलाई पढ्न मन छैन। जसले पहिल्यै ‘मैले पढेर पनि केही हुने वाला छैन, पढेर पनि म केही बन्न सक्दिन’ भन्ने धारणा मनमा बनाइसकेकी छ। आफुलाई ‘डिमाेटिभ’ गरेर ठूली भएपछि आमाजस्तै मेड बन्ने निधाे गरिसकेकी छ, उनकाे रुपान्तरणकाे कथा पनि हाे।
आमा छाेरीकाे लागि उज्ज्वल भविष्यकाे सपना देख्छिन्, त्यसकाे लागि अहिलेदेखि नै मेहनत र तयारी गर्न थाल्छिन्। छाेरीलाई आफ्नाे सपनाकाे बाटाेतर्फ हिँडाउन खाेज्छिन् जसमा हिँडेर उनी एक सम्मानित जीवन हासिल गर्न सकुन्।
तर छाेरी भने उक्त बाटाेमा हिँड्न चाहन्दिनन्। छाेरीकाे धुन अर्कै छ। उनी आफ्नाे औकातभन्दा ठूलाे सपना देख्न चाहन्दिनन्। उनले आफ्नाे जिन्दगीकाे सत्यलाई स्वीकार गरिसकेकी छन्। ‘मेराे भाग्य र भविष्य बदलिने छैन’ भन्ने निचाेड निकालिसकेकी छन्।
उनी आफ्नी आमालाई बुझ्दिनन्, आमाकाे दु:खलाई बुझ्दिनन्, उनकाे सङ्घर्षलाई बुझ्दिनन्, आमाबारे गलत धारणा बनाएर आमालाई गलत व्यवहार गरिरहेकी छन् छाेरी। आमाकाे सपनाकाे, उनकाे भावनाकाे परवाह गरिरहेकी छैनन्।
यसरी ‘मेराे भाग्य र भविष्य बदलिने छैन’ भनेर मन मारेर बसेकी, आफ्नाे औकातभन्दा ठूलाे सपना देख्न नमान्ने र पढाइप्रति उदासीन छाेरीलाई शिक्षारुपि हतियारद्वारा आफ्नाे भाग्य र भविष्य बदल्न एउटी आमाले कसरी प्रेरित वा मार्गदर्शन गर्छिन्, त्यही यस फिल्ममा देखाइएकाे छ।
साथै, आमाप्रतिकाे छाेरीकाे ‘मिसअंडर्सट्यान्डिङ’ कसरी हट्छ? कसरी उनलाई आमाकाे, दु:ख, सङ्घर्ष र त्यागहरुकाे बाेध हुन्छ? कसरी उनका आँखाहरु खुल्छन्? अनि कसरी उनी रुपान्तरण हुन्छिन्, यसलाई पनि राम्राेसँग मन छुने गरि देखाइएकाे छ।
फिल्मकाे कथा सरल छ तर कथामा थुप्रै उतारचढाव छन्। फिल्मले एक आमाकाे ममता र सङ्घर्षलाई सन्तुलित ढँगले चित्रण गरेकाे छ। साथै, छाेरीकाे आँलाेकाँचाे चरित्रदेखि लिएर परिपक्व बन्दासम्मकाे उनकाे चरित्रकाे रुपान्तरणलाई पनि राम्ररी अभिरेखन गरेकाे छ।
फिल्मकाे कथा मर्मस्पर्शी छ अनि सँवेदनशील र प्रेरणादायी पनि। पटकथाले यसलाई राम्राेसँग ‘एक्सप्लाेर’ गरेकाे छ। यसकाे क्लाइमेक्सले त भावविह्वल बनाइदिन्छ। फिल्मका सहायक चरित्रहरु पनि सुन्दर लाग्छन्। घरमालिक र मालिक्नी, कक्षाकाे टपर छात्र, क्लेक्टर सबैकाे चरित्र असल र प्रगतिशील लाग्छ।
यस फिल्मले गरिबका छाेराछाेरीहरुलाई दिशाहिन, लक्ष्यहिन वा सपनाहिन भएर नभाैतारिन भन्छ। बरु एक सुन्दर र उपयुुक्त सपना देख्न (जसबाट एक सम्मानजनक जीवन हासिल गर्न सकियोस्) र पढाइ-लेखाइमा मेहनत गरेर अर्थात् शिक्षालाई आफ्नाे बलियाे हतियार बनाइ उक्त सपनालाई साकार पार्नतर्फ लाग्न अभिप्रेरित गर्छ। यस फिल्मले समाजकाे पीँधमा रहेकाे निम्न वर्गलाई अँध्यारोबाट उज्यालोतर्फ निस्कन अभिप्रेरित गर्छ। यसका लागि शिक्षा नै उसकाे सबैभन्दा प्रभावकारी हतियार साबित हुन सक्छ भन्छ।
यस फिल्मले घुमाएर शिक्षाकाे महत्त्वमाथि पनि प्रकाश पारेकाे छ। याे शिक्षा नै हाे जसकाे सहयाेगबाट निम्न वर्ग वा समाजकाे पीँधमा रहेकाे वन्चित वर्गले आफ्नाे भविष्य उज्ज्वल बनाउन सक्छ।
त्यस्तै, ‘नारीकाे जीवनलाई बदल्नकाे लागि समाजमा रहेका मानिसहरुकाे पनि सकरात्मक भूमिका हुनुपर्छ’ भन्ने कुरा विभिन्न सहायक चरित्रहरुकाे माध्यमबाट फिल्मले बाेल्छ।
यस फिल्मलाई नारी सशक्तीकरणसँग पनि जाेडेर हेर्न सकिन्छ। यसमा आमाकाे चरित्र त पहिलेदेखि नै सशक्त र सङ्घर्षशील त छँदैछ, दु:खकष्टहरु झेल्दै जाँदा र सङ्घर्ष गर्दै जाँदा उनी झन् सशक्त बन्दै जान्छिन् भने छाेरी अर्थात् बालिकाकाे चरित्रलाई पनि आमाकाे प्रेरणाले पराजित मानसिकताबाट बाहिर निस्केर उनकाे सपनालाई साकार पार्ने बाटाेतर्फ लम्केकाे देखाइएकाे छ। यी दुवै कुराले नारी सशक्तीकरणलाई इङ्गित गर्छ।
सपना देख्नु, सङ्घर्ष गर्नु र त्यसलाई साकार पार्नु… मलाई लाग्छ याे जीवनकाे सबैभन्दा सुन्दर र सार्थक कुरा हाे। अनि सपना, सङ्घर्ष र सफलताका कथाहरु याे सँसारकाे सबैभन्दा सुन्दर कथाहरु हुन्। भविष्यप्रति जिम्मेवार र आशावादी हुन सिकाउने, मनभित्र आत्मविश्वास भर्ने, सपना देख्न अनि सपनालाई साकार पार्न सङ्घर्ष वा मेहनत गर्न अभिप्रेरित गर्ने, सही मार्ग पहिल्याएर आफ्नाे भाग्य र भविष्य बदल्न प्रेरित गर्ने कथाहरु याे सँसारका सबैभन्दा सुन्दर कथाहरु हुन्। ‘निल बट्टे सन्नाटा’ यस्तै एक सुन्दर कथा हाे।
जीवन उसैकाे सार्थक हुन्छ जसले सपना देख्छ। अनि, सपना उसैकाे साकार हुन्छ जसले सङ्घर्ष गर्छ। हामीले पनि हाम्रा बालबालिकाहरुलाई सपना देख्न र साकार पार्न सङ्घर्ष गर्न किन नसिकाउने? मेहनत गर्न किन नसिकाउने?