लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस संसदीय दलको निर्णय

गणतन्त्रनेपाल समाचारदाता

दाङ, १२ चैत्र। लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

संसदीय दलको आज बिहान लुम्बिनीमा बसेको बैठकले काँग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको सांसद तथा पूर्व मन्त्री दलबहादुर रानाले जानकारी दिनुभयो ।

एमाले नेतृत्वको सरकारमा बसेको माओवादीलाई सरकारबाट बाहिर ल्याउन दबाब दिने उद्देश्यले काँग्रेसले यसरी निर्णय गरेको बताइएको छ ।

कांग्रेस प्रदेशसभामा २७ सांसदका साथ दोस्रो स्थानमा रहेको छ । आजको बैठकमा २३ जना सांसदहरु सहभागिता रहेका थिए ।

कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले यसअघिकै गठबन्धनमा माओवादीले सरकारको नेतृत्व गरिसकेकाले प्रदेशको नेतृत्व स्वभाविक रुपमा काँग्रेसले पाउने बताउनुभएको छ । तर माओवादीले आफ्नो आधार इलाका भएकाले पनि यहाँको नेतृत्व सहज नछाड्ने गरी केन्द्रमा आफ्नो दाबी गरिरहेको छ ।

“आज संसदीय दलको बैठक बसेर एकै विषयमा निर्णय गरेको छ, पार्टीको नेतृत्वमा सरकार बनाउने प्रक्रिया अगाडि बढाउने भन्ने नै हो तर त्यसका लागि अहिले एमाले नेतृत्वको सरकारमा रहेको माओवादीले सरकार छाडेर प्रक्रिया थाल्नुपर्दछ”, नेता रानाले भन्नुभयो ।

बिहीबार माओवादी संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने भनिए पनि आन्तरिक विवादका कारण त्यो विषयले बैठकमा प्रवेश नै नपाएपछि केन्द्रको नयाँ गठबन्धनमा रहेका अन्य दलहरू समेत अन्योलमा परेका छन् ।

नयाँ गठबन्धनमा रहेका साना दलहरूले बिहीबार पहिले माओवादी सरकारबाट फिर्ता हुने निर्णय गरेपछि आज काँग्रेसको बैठक बस्ने र साना दलको बैठक बसेर अगाडि बढ्ने योजना बने पनि माओवादीमा विवाद बढेका कारण पूर्व योजना सबै रोकिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID