कोभिडकालमा जोखिम मोल्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन,

लुम्बिनी प्रादेशिक अस्तालका १९३ जनाको व्यवस्थापन

गणतन्त्रनेपाल समाचारदाता

दाङ,१२चैत। कोरोना महामारीका बेलामा जोखिम मोलेर स्वास्थ्य सेवा प्रवाह गरेका लुम्बिनी प्रदेशीक अस्पताल बुटवलमा कार्यरत मेडिकल अफिसरसहितका स्वास्थ्यकर्मीहरुलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ । लामो समयदेखि अन्यौलमा रहेका १९३ जना (डाक्टर तथा स्वास्थ्य प्राविधिक) स्वास्थ्यकर्मीहरुलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गरिएको हो । उनीहरु लामो समयदेखि बाहिर थिए भने पारिश्रमिक पनि पाएका थिएनन् ।

मुख्यमन्त्री लिला गिरीको निर्देशनसँगै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनसहित व्यवस्थापन गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताउनुभयो । ‘कोरोना कहरका बेलामा जोखिम मोलेर स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मीलाई यत्तिकै निराश बनाउने कुरा भएन, त्यसैले अस्थायी रुपमै भएपनि तत्काल व्यवस्थापन गर्नेगरी काम गरेका हौंं’, मन्त्री पन्थीले भन्नुभयो ।

प्रोत्साहन स्वरुप कार्यरत कोभिडकालिन डाक्टर तथा स्वास्थ्य प्राविधिकहरुलाई प्रदेश सरकारले व्यवस्थापन गर्ने निर्णय भएको छ । मुख्यमन्त्री लिला गिरीको निर्देशनमा कोभिड महामारीको समयमा ज्यानको प्रवाह नगरी नागरिकको उपचारका खटिएका १९३ जना डाक्टर तथा स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने निर्णय भएको हो ।

कोभिड कालमा प्रदेश सरकारले नियुक्त गरेका स्वास्थ्य प्राविधिकहरु समस्यामा पर्दै आएका थिए । कोभिड महामारीका तीनै लहरमा आफूहरुले खेलेको भूमिकाको कदर गर्दै लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गर्न गरेको निर्णयले हौसला थपिएको प्राविधिक भरतजंग क्षेत्रीले बताउनुभयो ।

लामो समयदेखि प्रदेश सरकारसँग व्यवस्थापनको माग गर्दै आएकोमा अहिले मात्रै प्रदेश सरकारले निर्णय गरेको हो । लुम्बिनी प्रादेशीक अस्पतालको स्तरबृद्धि भएको र जनशक्ति आवश्यक भएकाले कोभिडकालीन स्वास्थ्य प्राविधिकहरुलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णयले महामारीका बेलामा मोलिएको जोखिमको सम्बोधन भएको बताएका छन् ।

२२ जना मेडिकल अफिसर, १ सय ११ जना स्टाफनर्स, ६ जना ल्याव टेक्निसियन, ३ जना रेडियोग्राफर, २ जना एनेस्थेटिक, २ जना अहेव, ३० जना कार्यालय सहयोगी, १४ जना सुरक्षा गार्ड, १ जना वायोमेडिकल टेक्निसियन, १ जना प्लम्बर र १ जना इलेक्ट्रिसियनलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताउनुभयो ।

यसैबीच विगत चार महिनादेखि रोकिएको डाक्टर तथा स्वास्थ्य प्राविधिकहरुको पारिश्रमिक निकासा गर्ने निर्णय भएको सरकारका प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

मा प्रकाशित