– खगेन्द्र संग्राैला
ज्ञानेन्द्र शाह को हुन् ? गद्दीच्यूत अपुताली राजा ज्ञानेन्द्र शाह कि अझै राजगद्दीमा विराजमान मौसुफ ज्ञानेन्द्र ? सर्वसाधारण नागरिकसरहका सादा नागरिक ज्ञानेन्द्र शाह कि विशेष मानव ज्ञानेन्द्र वीर विक्रम शाहदेव ? दल खोल्न, मतदान गर्न, उम्मेदवार बन्न, सांसद बन्न र मन्त्री–प्रधानमन्त्री आदि बन्न पाउने वैध नेपाली नागरिक ज्ञानेन्द्र शाह कि दल, चुनाव, मतदान र संविधानभन्दा माथि रहेका महाराजाधिराज ज्ञानेन्द्र ? श्री १ नेपालीसरहका श्री १ ज्ञानेन्द्र शाह कि ५ श्रीद्वारा अलङ्कृत श्री ५ ज्ञानेन्द्र ? यी प्रश्न तब उठे, जब प्रजातन्त्र दिवसको उपलक्ष्यमा ज्ञानेन्द्र शाहको विस्फोटक सन्देश आयो ।
ज्ञानेन्द्रको यो सन्देशले कतिपय नेपालीलाई पुलकित तुल्यायो, कतिपयलाई झस्कायो । कतिपयलाई यसले उत्साहको चुचुरोमा उकाल्यो, कतिपयलाई यसले हुनुसम्म क्रुद्ध तुल्यायो । जे होस्, यो सन्देशका माध्यमले ज्ञानेन्द्र शाह प्रजातन्त्र दिवसका दिवस पुरुष बने । र, यत्रतत्र सर्वत्र निज ज्ञानेन्द्रकै चर्चा छायो– प्रशंसामा ज्ञानेन्द्र, निन्दामा ज्ञानेन्द्र, जयजयकारमा ज्ञानेन्द्र, सत्यानाशमा ज्ञानेन्द्र । जिब्राजिब्रामा ज्ञानेन्द्र, चोकचोकमा ज्ञानेन्द्र, गल्लीगल्लीमा ज्ञानेन्द्र, चिया पसलमा ज्ञानेन्द्र, दारु पसलमा ज्ञानेन्द्र । यतैउतै र जताततै ज्ञानेन्द्रै ज्ञानेन्द्र । त्यसैले त बिजुलीको लठ्ठाबाट सूचना सञ्चारकारी काग भन्दो छ– यसपालाको प्रजातन्त्र दिवसमा सको त हाव हाम्रा साहु माइलाले !
ज्ञानेन्द्र शाहको सन्देशको मुद्रा र भाषाले भन्छ– उनी अझै गद्दीनसीन महाराजाधिराज हुन् । ज्ञानेन्द्रीय सन्देशको सिरानमा म भनेको मै हुँ भन्ने भावमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव’ भनिएको छ । भन्दै आएको, सुन्न अभ्यस्त भइएको र यथार्थ भनाइ त ‘पूर्वराजा ज्ञानेन्द्र’ पो हो । अर्थात् आफ्नै लोभ, अहंकार र फौजी ताण्डवका कारण जनआन्दोलनको आँधीद्वारा सिंहासनच्यूत भई ‘पूर्व’ कहलिएका, आडम्बरी श्री ५ बाट सादा श्री १ मा फेरिएका नागरिक ज्ञानेन्द्र शाह । प्रचलित संविधान, कानुन, नीति र मर्यादामातहत रहेका ज्ञानेन्द्र शाह ।
जनसाधारणका दृष्टिमा कलङ्कित अतीत र अनाकर्षक वर्तमान भएका ज्ञानेन्द्र शाह । हामी सकल धुलीकणझैँ एक सामान्य नागरिक ज्ञानेन्द्र शाह । सलामी, गुलामी र मलामीको ढोँगी शानसौकात र धुमधडाकाबाट मुक्त एक सामान्य मानव ज्ञानेन्द्र शाह । तर, आफ्नो सन्देशमा ज्ञानेन्द्र शाह यो कठोर यथार्थलाई अस्वीकार गर्दै दम्भ र दर्प एवम् हुङ्कार र फुङ्कारसाथ उग्र भाषा र उग्र मुद्रामा प्रस्तुत भएका छन् । मानौँ, यी ‘पूर्व’, यी ‘कालातीत’, यी ‘मिति गुज्रिएका’, आफ्नै चित्तको आदिम गफावासी यी मनुवा शक्ति, भक्ति र शानयुक्त सिंहासनमा गजधम्म बसेका छन् ।
ज्ञानेन्द्र शाहको ध्वाँसयुक्त सन्देशको गाँठी अभिप्रायको सार चार बुँदामा खिच्न सकिन्छ । जस्तैः
१. दलहरूद्वारा शासित देश अधोगतिमा जान लाग्यो, तसर्थ सत्तासीन राजनीतिक दलहरू र राजसंस्थाबीच सहकार्य अत्यावश्यक भयो ।
२. दलहरूद्वारा शासित देश कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फस्यो । तसर्थ देशलाई यो विकराल दलदलबाट उकास्न सत्तासीन राजनीतिक दलहरू र राजसंस्थाबीच सहकार्य अत्यावश्यक भयो ।
३. दलहरूद्वारा शासित देश गरिखाने इलम र अवसरशून्य हुन गई लाखौँ निराश युवाहरू इलमको खोजीमा विदेशिन बाध्य छन् । तसर्थ यो भयावह समस्याको निराकरण गर्न सत्तासीन राजनीतिक दलहरू र राजसंस्थाबीच सहकार्य अत्यावश्यक भयो ।
४. सत्ताशीन दलहरूले यी अत्यावश्यकताहरूलाई सम्बोधन नगरे अर्थात् आफूलाई सत्ता–सहकार्यमा सरिक नगराए ज्ञानेन्द्र शाह मौन नरहने उद्घोष गरेका छन् ।
मौनता तोडेर मुखर भई ज्ञानेन्द्र शाहले भन्ने के हो र गर्ने के हो, त्यो सन्देशमा कतै खुलाइएको छैन । सन्देशको मुद्रा, भाषा, माग र ध्वाँसले भन्छ– सहकार्यका नाउँमा शासनतन्त्रमा भागवण्डा नपाए ज्ञानेन्द्र उत्पात् मच्चाउने मुडमा छन् । यो उत्पात् केदेखि केसम्म हो, न ज्ञान शाही सन्देश केही सङ्केत गर्छ, न बिजुलीको लट्ठामा बसेको काग केही मेसो पाउँछ ।
नढाँटी भनुँ भने आफ्नो सन्देशमा ज्ञानेन्द्र शाहले ढाँट्नसम्म ढाँटेका छन् । ढँटाइ नम्बर एकमा ज्ञानेन्द्र शाह भन्छन्– जनइच्छाअनुसार मैले शासकीय सत्तारूपी जनताको नासो जनतालाई नै बुझाएको थिएँ । तर, मपछि शासन गर्ने दलहरूले देश डुबाउन लागे । र नै बाध्य भएर अहिले मैले मुख खोलेको हुँ । खासमा ज्ञानेन्द्र शाहले सत्तारूपी नासो जनतालाई बुझाएका किमार्थ होइनन्, जनआक्रोशको आँधीले घेरेर सत्ताच्यूत भई यी मान्यवर वनबासतिर भागेका हुन् । त्यो जनआक्रोशको जडमा के थियो ? त्यसको जडमा थियो– ज्ञानेन्द्र शाहको लोभ, अहङ्कार र फौजी ताण्डवको ज्यादति । त्यो जनआक्रोशको पृष्ठभूमिका कारण अन्य अनेक हुँदा हुन् । तर, तत्कालका जडी कारण यिनै तीनवटा हुन् ।
हाम्रो लोकतन्त्र हुनसम्म उदार र क्षमाशील छ । त्यसैले त ज्ञानेन्द्र शाहले अहिले फुक्काफाल भई आदर्श छाँट्न पाएका छन् । नत्र यी ज्ञानेन सर अहिले कालकोठरीको कहर काटिरहेका हुन्थे ।
आखिर ज्ञानेन्द्र शाहको शासकीय व्यवहारमा यी कारण प्रकट भए कसरी ? यो कसरीको जवाफ खतरा छ, बयान गर्दैमा आङ सिरिङ्ग हुने । जब यो बयान प्रस्तुत गरिन्छ, लोकदृष्टिमा ज्ञानेन्द्र शाहको असली औतार भसक्कै उजागर हुन्छ । काकतालीको कृपाले बनेका अपुताली राजा ज्ञानेन्द्र शाहले के मात्र गरेनन् ? यिनले जननिर्वाचित नेताहरूलाई शाही मिसिन गनले घेरेर घरघरमा कैद गरेनन् कि ? यिनले मिसिनगनधारी शाही मेजरमार्फत सञ्चार गृहहरूका सम्पादकीय टेबुल कब्जा गरेनन् कि ? यिनले टेलिफोन र इन्टरनेटका लाइन विच्छेद गरी नागरिकहरूलाई आपसी सम्पर्करहित एक्लो र निरीह बनाएनन् कि ? यिनले विद्रोह बोल्ने जनको सातो लिन सडक–सडकमा बख्तरबन्द गाडी उतारेनन् कि ? यिनले वीरेन्द्र परिवारको अकुत सम्पत्ति साटसुट्टै खल्तीकरण गरेनन् कि ?
वीरेन्द्रको परिवार मासिँदा दरबारका खाने मुख घटेका थिए । यिनले वीरेन्द्र परिवारले खाइआएको वार्षिक १२ करोड थैलो बढाएर वर्ष दिनमै ६८ करोड पुर्याएनन् नि ? यिनले भाट र भिउँट, ताबेदार र चोपदार, मौकावादी र दलाल एवं पश्चगामी र द्रव्यपूजकहरू भर्ती गरेर शासनतन्त्रमा कहीँ नभाको जात्रा प्रदर्शन गरेनन् कि ? यिनले नागरिकहरूको स्वतन्त्र विवेक र स्वाभिमानी चेतको बध गर्न साम, दाम, दण्ड, भेदका अनेक प्रपञ्च रचेनन् कि ? कान थापेर सुन्नोस् त, आफ्ना यी यावत् कर्महरूको फल चाख्दै सिंहासनबाट खसेका ज्ञानेन्द्र शाह अहिले के भन्दैछन् ? बिजुलीको लट्ठाबाट चतुर काग कहँदो छ– मान्यवर, ढाँटेको कुरा काटे ठहर्दैन । नपत्याए ज्ञानेन्द्र शाहका अहिलेका वचन र पहिलेका कर्महरूउपर गम खानोस् ।
हाम्रो लोकतन्त्र हुनसम्म उदार र क्षमाशील छ । त्यसैले त ज्ञानेन्द्र शाहले अहिले फुक्काफाल भई आदर्श छाँट्न पाएका छन् । नत्र यी ज्ञानेन सर अहिले कालकोठरीको कहर काटिरहेका हुन्थे ।
शासनतन्त्रमा दलले दलसँग प्रतिस्पर्धा गर्छ । दलले दलसँग सहकार्य गर्छ । ज्ञानेन्द्र शाह के हुन् ? व्यक्ति कि दल ? सत्ताशीन दलहरूसँग उग्र लवजमा सहकार्यको याचना गर्ने यिनको हैसियत के हो ? व्यक्तिले दलसँग सहकार्य गर्ने खासमा चुनावी मतदानमा हो । चुनावमा जसले जित्छ, ऊ मतदाताका आकांक्षाको प्रतिनिधि बन्छ । विधि निर्माणकारी प्रतिनिधि, शासनकारी प्रतिनिधि । सत्ता–राजनीतिमा नागरिकको शक्ति सीमित हुन्छ, सामर्थ्य सीमित हुन्छ, हैसियत सीमित हुन्छ । नागरिकतायुक्त नागरिकसँग केवल मताधिकारको शक्ति हुन्छ, शासकसँग सहकार्यको याचना वा दाबी गर्ने शक्ति हुँदैन । मजस्तै केवल एक भोटे नागरिकको हैसियत भएका ज्ञानेन्द्र शाहले कुन भ्रमका आधारमा सत्तामा सहकार्यको दाबी गरेका हुन् ? म अझै राजा हुँ भ्रमका आधारमा ? यो भ्रम यिनको अर्को ढाँट कर्म हो । भ्रमको लिङ्गे पिङमा सैसला खेल्दै ज्ञानेन्द्र शाह लोकलाई ढाँटिरहेका छन् नै, आफैँलाई पनि ढाँटिरहेका छन् ।
बुद्धि भए व्यक्ति ज्ञानेन्द्र शाहसँग सत्तामा सहकार्य गर्ने जुक्ति नभएको होइन । यिनी लिङ्देन–राप्रपाका अध्यक्ष हुन सक्छन् । र, लिङदेनको सट्टा ट्याक्क उपप्रधानमन्त्री बन्न सक्छन् । ज्ञानेन्द्र शाहका लागि सत्ता–सहकार्यको यो हो सम्भव, व्यावहारिक र सुगमपथ । अथवा ज्ञानेन्द्र शाह अर्कै दल खोलेर चुनावी भर्याङ उक्लेर सत्ता–सहकार्यमा सामेल हुन सक्छन् । अस्तित्व छ लिन्ठिङ्ग एक व्यक्तिको, दाबी छ सत्ता–सहकार्यको । ज्ञानेन सरको यो दाबीमा झर्ला र खाऊँलाको ठूलो दुःख छ ।
दलीय शासन कुशासनी भयो, भ्रष्टाचारी भयो, अर्थतन्त्र शिथिल भयो, सामाजिक विग्रहको लक्षण दृष्टिगोचर भयो । यी हुन्– नागरिक ज्ञानेन्द्रका आरोपहरू वा चिन्ताहरू । ज्ञान सरका यी आरोप वा चिन्तामा सत्यको अंश छँदै छैन म भन्दिनँ । हो, दलीय सत्ता–राजनीतिले सिर्जना गरेको वैचारिक, नैतिक र आचारगत फोहोरमैला बढार्नु र सोहोर्नु जरुरी छ । सत्ता–राजनीतिलाई सफासुग्घर बनाउन जनजागरण र विद्रोहको विगुल फुक्नु जरुरी छ । के इतिहासको चिहानघारीमा विलीन भइसकेको पत्रु राजतन्त्रलाई सत्ता–राजनीतिमा भित्र्याएर यो बढारकुँडार र सोहोर्याइ सम्भव छ ? ज्ञानेन्द्र शाह भन्लान्– सम्भव छ । ज्ञानेन सरको यो अर्को ढटाइँ हो ।
ज्ञानेन्द्र शाहको सन्देशमा आफू अब मौन रहन नसक्ने ध्वाँस लिपिबद्ध छ । तिमी नबोल भूपू महाराज भनेर ज्ञानेन्द्र शाहलाई कुन विधि, नीति वा संहिताले निषेध गरेको छ ? असलमा उदार लोकतन्त्रले ज्ञानेन्द्र शाहलाई हरेक विषयमा गीत रचना गर्ने छुट दिएकै छ । क्षमाशील गणतन्त्रले ज्ञानेन्द्र शाहलाई नाति–नातिनालाई जस्ता पनि कथा सुनाउने हक दिएकै छ । नयाँ संविधानले ज्ञानेन्द्र शाहलाई देशका ठाउँठाउँमा घुमीघुमी देवी–देवताको दर्शन गरी परत्र सुधार्ने स्वतन्त्रता दिएकै छ । यी यावत् हक–अधिकारको उपभोग गरी निजी जीवनलाई सार्थक र सुखद बनाउन एकाग्र हुनुको सट्टा भूपू ज्ञानेन्द्र महाराजलाई सत्तामा सहकार्य चाहिएछ । भूपू मौसुफको सत्ता–सहकार्यको यो दाबीले मलाई एउटा अजीवको उखान सम्झायो– गाँडगर्धन का ठेकान नहीँ, तोपखाने मेँ भर्ती !