शिवरात्रिको महत्व र इतिहास

गणतन्त्रनेपाल समाचारदाता

महाशिवरात्रि हिन्दूहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा–अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । जबकि दिनमा पनि व्रत, उपवास गरेर रात्रिकालीन समय भगवान् शिवको पूजा गर्ने विधान छ । भगवान् शंकर सत्व, रज तथा तम तीनै गुणभन्दा माथि मानिएकाले संहार शक्तिका अधिष्ठातृ देवता हुन् ।

त्यसैले अन्धकारयुक्त रात्रि शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ । यो हिन्दू धर्मावलम्बीहरूका लागि प्रमुख पर्व मानिन्छ । शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रूपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।

वैदिक मन्त्रहरूमा रुद्र, श्रीपशुपति महाशिव, महादेव, आशुतोश, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, इशान रुद्र आदि नामहरूबाट चारै वेदका ऋचाहरूमा भगवान् शिवको स्तुति गरिएको छ । वैदिककालीन सभ्यता नक्षत्र कालगणनाअनुसार ३० हजार वर्षभन्दा पनि पूर्व अन्वेषकहरूले मानेका छन् । ज्योतिषशास्त्रअनुसार फाल्गुण कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि रात्रि ‘महाशिवरात्रि’ हो । यसकारण क्षयपूर्ण तिथि अमावश्याको अन्धकारको दुष्प्रभावबाट बच्नका साथै मानव जीवनमा ज्योति, शान्ति, समृद्धिका लागि एक दिन पहिले अर्थात् त्रयोदशीको रात्रिमा शिवजीको उपासना गर्ने परम्परा राखिएको हो ।

हरेक महिनाको त्रयोदशीको रात्रिलाई महाशिवरात्रि मानिँदैन, तर शिवको आराधना गर्ने रात्रि भने मानिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रूपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ ।

महाशिवरात्रिका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ॐ नमः शिवाय मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिएको छ । भगवान् शिवका दृश्य जगत्मा पाँच मुख छन्, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, इशान रुद्र यी हुन् पशुपतिनाथका पाँच स्वरूप पृथ्वी, जल, तेज, वायु, आकाश चराचर जगत्, पाँच तत्व र मन, बुद्धि, चित्त, अहंकार, ऊर्जा, चेतना यही नै पशुपतिनाथको स्वरूप हो ।

संसारमा तीन प्रकारका शक्तिहरूले विशेष काम गरेका हुन्छन् । पहिलो शक्ति सृष्टि, दोस्रो पालन र तेस्रो संहार । शिवको हातमा रहेको त्रिशूलले तीन प्रकारका ताप (आधिभौतिक, आध्यात्मिक र आधिदैविक) को समन गर्छ । सृष्टिको आदिधर्म भगवान् शिवबाट प्रतिपादित हुन्छ । आदिशास्त्र पनि त्रिशूल नै हो । त्रिशूल, वज्र, डमरु, पाश भगवान् शिवका आयुध हुन् ।

यस दिन शिवभक्तहरू शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल–पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राति जागरण बस्ने गर्छन् । शिवलिंगमा बेलपत्र चढाउनु, उपवास तथा रात्रि जागरण बस्ने गर्नु जस्ता विशेष कर्म यस पर्वमा हुने गर्छ । यस दिन शिवको विवाह भएको थियो भन्ने धार्मिक मान्यता रहेको छ । त्यसैले राति शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ । वास्तवमा शिवरात्रिको परम् पर्व स्वयं परम्पिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो, जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाशतर्फ अथवा असत्यबाट सत्यतर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री–पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् ।

यस व्रतको विधानमा सबेरै नुहाएर शुद्ध भई उपवास गर्ने गरिन्छ । हिन्दूहरूले विभिन्न शिव मन्दिरहरूमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन–कीर्तन, पूजा, होम रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउने गरिन्छ ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातका रूपमा मनाउने हिन्दूहरूको परम्परा छ । यस रातलाई उनीहरू मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रूपमा लिने गर्छन् । मनिसहरूले जानेर वा नजानेर शिवरात्रिको व्रत सम्पन्न गरेमा पनि मुक्ति प्रदान गर्छ भनेर पुराणमा वर्णन गरेको पाइन्छ । इशान संहितामा वर्णित भएअनुसार शिवरात्रिको व्रत सबै मानिसहरू बस्न सकिन्छ र यहाँसम्म कि यस दिन व्रत बसेका कारणले चाण्डालपर्यन्तलाई पापमुक्त गरी आनन्द र मुक्त प्रदान गरेको भन्ने उल्लेख भएको पाइन्छ । भगवान् शिवको उत्पत्ति फाल्गुन कृष्ण चतुर्दशीकै दिनमा भएको हो ।

महाप्रलय हुँदा जसै सम्पूर्ण पदार्थ विनष्ट भएको थियो । भगवान् शंकरले ताण्डव नृत्य गर्नुका साथै आफ्ना डमरुको निनादले सम्पूर्ण वायुमण्डलमा ज्ञान–विज्ञानलाई सूक्ष्म सूत्ररूपले व्याप्त गरेका थिए भनिन्छ, त्यस बेलादेखि नै महाशिवरात्रिको महात्म्य आजसम्म सुरक्षित चल्दै आएको विश्वास गरिएको छ ।

यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतुरोको फूल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ । यदि नजिकमा शिवालय छैन भने शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ । राति जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ । व्रतको भोलिपल्ट बिहान सबेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो । यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ भन्ने किंवदन्ती रहेको छ । नेपालमा विशेष गरी महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थीहरूका लागि बिहानैदेखि खुल्ला हुने गर्छ । नेपाली जनजीवनमा शिवरात्रि पर्व लोकप्रिय भएको पूर्व मध्यकालदेखि हो भन्ने गरिन्छ । साथै श्री पशुपतिनाथसहित विश्वभरिका ज्योतिर्लिङ्ग एवम् शिव मन्दिरमा धूमधामका साथ महाशिवरात्रि पर्व मनाइन्छ ।

आनादि कालदेखि नै अस्तित्वमा रहँदै आएको विश्वास गरिने पशुपतिनाथको मन्दिर इसाको पहिलो वा दोस्रो शताब्दीतिर सुपुष्प देव राजाको पालामा स्थापित भएको मानिन्छ । पशुपतिनाथको मन्दिरमा महाशिवरात्रि पर्व मनाउने प्रचलन र परम्परा पनि त्यति नै पुरानो हुन सक्ने जानकारहरू बताउँछन् । यस महाशिवरात्रि पर्वमा विशेष गरी पशुपतिनाथमा ठूलो मात्रामा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्छ । सो दिन शिवालयहरूमा बिहानदेखि नै भक्तजनहरूको भिड लाग्ने गर्छ । बुटवलको सिद्धबाबामा, पाल्पाको पर्भासमा, गुल्मीको रेसुङ्गामा, पर्रोहा परमेश्वर बोलबमधाममा, ललितपुरको सन्तानेश्वरमा, काभ्रेको साँगामा, प्युठानको स्वर्गद्वारीमा, उपत्यकामा पशुपतिनाथ, कुम्भेश्वरमा, भक्तपुरको डोलेश्वर महादेवलगायत नेपालका शिवालयहरूमा उक्त दिन निकै मात्रामा भक्तजनको भीड हुने र महादेवलाई नैवद्य, पञ्चामृत, फलफूल चढाई पूजा गरी मन्दिरअगाडि बिहानैदेखि धुनी जगाई भक्तजनहरू मनोरञ्जन पनि गर्छन् । यसरी मानिसहरूको व्यापक रूपमा आवतजावत र घुमफिर हुने हुँदा यसबाट लाभ लिने अवसर पनि हो । महाशिवरात्रि पर्वबाट नेपालले मूलतः केही लाभ लिन सक्ने देखिन्छ ।

 

आर्थिक फाइदा

पशुपतिनाथको मन्दिरमा ओइरिने तीर्थयात्री तथा अन्य पर्यटकहरूले नेपालभित्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पैसा भित्र्याइरहेका हुन्छन् । उनीहरूको बढ्दो संख्याले देशको पर्यटन उद्योगलाई आर्थिक फाइदा पु-याउने नै भयो । तीर्थालु तथा पर्यटकहरूले पशुपतिनाथको मन्दिरमा पनि भेटीघाटी, दान–दक्षिणा, दस्तुर वा अन्य स्वरूपमा आर्थिक फाइदा पु-याइरहेका हुन्छन् । विगतका अनुभवलाई लिएर यस वर्ष पनि शिवरात्रिको अवसरमा करिब १० लाखभन्दा बढी तीर्थालुहरू पशुपतिनाथ पुग्ने अनुमान गरिएको छ । छिमेकी भारत, मलेसिया, इन्डोनेशिया, मरिसस अन्य देशबाट आएकाहरूले पशुपतिनाथमा बर्सेनि करोडौँ रुपैयाँ नगद र सुनचाँदीजस्ता बहुमूल्य धातु भक्तजनहरूले चढाउने गर्छन् । यस वर्ष कोभिड–१९ का कारण पशुपतिनाथ आउने विदेशी यात्रीको केही कमी हुन सक्छ । पशुपतिनाथ आउने यात्री नेपालका अन्य मठमन्दिरमा पनि आकर्षित हुने गरेका छन् । उनीहरूको नेपाल बसाइ लम्ब्याउन सकिन्छ, जसबाट नेपालले अर्थोपार्जन गर्न सक्छ । त्यसका लागि हामीले नेपालमा यातायात र मन्दिर क्षेत्रमा अन्य सेवा–सुविधा विस्तार गर्न सकेमा बसाइ अझै बढ्न सक्छ । देशको आम्दानीको अन्य स्रोत बन्न सक्छ । तर पशुपतिनाथमा बर्सेनि करोडौँ रुपैयाँ नगद र सुनचाँदीजस्ता बहुमूल्य धातु भक्तजनहरूले चढाउने गरेको पाइन्छ । यो पनि महत्वपूर्ण आम्दानीको स्रोत हुन सक्छ ।

 

आध्यात्मिक फाइदा

धेरै हिन्दूहरूका लागि जीवनमा एकपटक नपुगी नहुने तीर्थस्थल पशुपतिनाथ हो । थुप्रै भारतीय हिन्दूहरू भारतमा मुख्य तीर्थहरू पुगिसकेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्ने गर्छन् । पशुपतिनाथ धेरै हिन्दूहरूका लागि जीवनमा एकपटक नपुगी नहुने तीर्थस्थल हो । थुप्रै भारतीय हिन्दूहरू भारतमा मुख्य तीर्थहरू पुगिसकेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्ने गर्छन् । पशुपतिनाथको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा अन्तरनिहित पशुको जस्तो गुणबाट मुक्त हुन सहयोग पुग्छ । पशुपतिनाथमा पूजा र दर्शन गर्नाले धेरै लाभ मिल्ने हिन्दू धर्मावलम्बीको विश्वास रहँदै आएको छ । विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेका छन् । महाशिवरात्रि पर्वमार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ । धेरै मानिसलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ । पशुपतिनाथको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा अन्तरनिहित पशुको जस्तो गुणबाट मुक्त हुन सहयोग पुग्छ । पशुपतिनाथमा पूजा र दर्शन गर्नाले धेरै लाभ मिल्ने हिन्दू धर्मावलम्बीको विश्वास रहँदै आएको छ । विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेका छन् । महाशिवरात्रि पर्वमार्फत पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ । धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ । यसैले नेपालले आध्यात्मिक फाइदा लिन सक्छ ।

 

सांस्कृतिक फाइदा

आर्थिक र आध्यात्मिक लाभसँगै महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको हुनाले पशुपति क्षेत्र विश्वसामु परिचित रहेको छ । महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ । वाग्मती नदी किनारमा अवस्थित पाशुपत क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक विविधिताहरू देख्न सकिन्छ । पशुपतिनाथको भ्रमणमा आउने तीर्थालु वा पर्यटकहरूले पशुपति क्षेत्रका तिनै विविधता हेर्न र तिनमा भिज्न सक्छन् । विदेशी तीर्थालु र पर्यटकको आगमनले सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्न सक्छ । धेरैभन्दा धेरै भारतीय र अन्य छिमेकी देशका तीर्थालु पशुपति क्षेत्रमा आकर्षित गर्न सकियो भने देश–देशबीचको सम्बन्ध सुधारमा पनि सहयोग पुग्छ ।

 

धार्मिक पर्यटन फाइदा

महाशिवरात्रि पर्वमार्फत पशुपतिनाथलाई विश्वको महत्वपूर्ण धार्मिक केन्द्रका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ । धार्मिक पर्यटनलाई बढावा दिँदै स्थानीय, क्षेत्रीय, राष्ट्रिय एवं अन्ताराष्ट्रिय महŒवका धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाहरूलाई प्रवद्र्धन गर्दै तीर्थयात्री एवं पर्यटकहरूलाई आकर्षित तुल्याउन सक्ने प्रबल सम्भावना रहेको छ, जसले गर्दा नेपालले धार्मिक पर्यटनको क्षेत्रबाट लाभान्वित बन्न सक्ने प्रचुर सम्भावना छ । भारतीय तीर्थालुहरूको संख्या बढिरहेको र अन्य मित्र राष्ट्रहरूबाट पनि त्यत्तिकै मात्रामा तीर्थालु आउने क्रम बढ्दो छ । तर, भारतीय तीर्थालु आउने क्रम महाशिवरात्रि पर्वमा मात्र सीमित छैन । उनीहरू वर्षैभरि पशुपतिनाथको भ्रमणमा आउने गर्छन् । यसैले धार्मिक पर्यटनका माध्यमबाट नेपालको पहिचान हुन सक्ने प्रचुर सम्भावना रहेको छ ।

महाशिवरात्रिको दिनलाई गाँजाभाङ, जाडरक्सी खाने दिनका रूपमा केही गलत सोच पनि रहेको देखिन्छ, जुन अत्यन्त गलत सोचाइ हो । अहिले यो सोचमा सुधार आएको छ । यसैगरी राजमार्गमा कार, मोटरसाइकल रोकेर जगात माग्ने तथा साँझपख त्यो कमाइले जाँड–रक्सी खाएर जथाभावी गर्ने जस्तो गलत प्रवृत्तिले प्रश्रय पाएको देखिन्छ यसतर्फ नेपाल प्रहरी आज चनाखो बन्नुपर्ने देखिन्छ, त्यसलाई निरुत्साहित गर्नु जरुरी छ । यस्तो प्रवृत्तिले बढ्ने मौका पायो भने मगन्ते संस्कार हुर्कन–बढ्न थाल्छ, जुन कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिन्न । साथै यस दिन धुनी बाल्ने नाउँमा छिमेकीको घरबाट दाउरा चोरेर ल्याएर वा जथाभावी रूख काटेर शिवधुनी भनी आगो बाल्ने गलत प्रवृत्तिलाई पनि कुनै हालतमा बढावा दिनु हुँदैन । यस्तो प्रवृत्तिलाई हटाउनु आवश्यक छ । महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्षहरू छन्, जसले मानिसको जागरण र आत्मबोधलाई उजागर पारेर अगाडि बढ्न प्रेरित गर्छ ।

पशुपतिक्षेत्र विकास कोषको स्थापना वि.सं. २०४३ मा भएपछि पशुपतिक्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनको जिम्मेवारी कोषमा आएकाले महाशिवरात्रिलगायत यहाँ मनाइने यात्रा–पर्वहरूको व्यवस्थापन गर्ने जिम्मेवारी कोषले पाए तापनि तीर्थयात्री, दर्शनार्थीहरूका लागि जे–जस्ता सुविधा विकास गर्दै जानुपर्ने हो, त्यो सबै भइनसकेको अवस्था देखिन्छ । सबै सम्भावना रहेको पशुपति क्षेत्रको विकासमा सुधार गर्नु आजको आवश्यकता हो । त्यसै गरी धार्मिक आस्थाका केन्द्रहरूको संरक्षण, संवद्र्धन र विकासबाट देशको आर्थिक–सामाजिक रूपान्तरणमा महŒवपूर्ण भूमिका हुनेमा विश्वास गर्न सकिन्छ । महाशिवरात्रि पर्वले हामी सवै देश–विदेशमा रहने नेपालीलाई सुख, शान्ति र स्वस्थ बन्ने शक्ति प्राप्त होस्, हार्दिक शुभकामना छ ।

(लेखक नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID