शिवरात्री : एक अत्यात्मिक चर्चा

गणतन्त्रनेपाल समाचारदाता

आज मानव इतिहाँसको यस्तो कालखण्डमा उभिएको छ जहां एकातिर उत्थानको अनन्त सिमा र संभावनाहरु छन् भने अर्कोतिर समूल विनाशको सम्पूर्ण तयारी हुदैछ ।

विज्ञान र प्रविधिको प्रगती मानव मस्तिष्कको एक खेलौना समान भएको देखिन्छ यद्यपी आजको मानव निन्द्राको गोली खाएर सुत्नु पर्ने अवस्थाको सृजना भएको छ । यसको पमुख कारण हो मानव मनको प्रदुषण । वर्तमान समयमा हामी भौतिक सुख(सुविधाले सम्पन्न यूगमा जीवन व्यतीत गरिरहेका छौं।

सबै सुबिधाहरू आज मानिसको हातमा आइरहेका छन्। उसो त हामीले धेरै कुरा पत्ता लगाइसकेका छौं तर हाम्रो आन्तरिक सुख शांति कतै हराईरहेको छ। अंतरमनको स्नेह, विश्वास र शान्ति हामीलाई चाहेर पनि प्राप्त भइरहेको छैन। आज हामी शान्तिको खोजमा मन्दिर, मस्जिद, गुरुद्वाराको चक्कर काटिरहेका छौं तर पनि हामीभित्र खालिपन महशुस भइरहेको छ।

किनकि हाम्रो तरिका ठीक छैन। पिता परमात्मालाई न चिन्ने हो भने कसरी हामीलाई शान्ति प्राप्त हुन सक्छ ? कसरी हाम्रो जीवन सफल हुन्छ ? कसले गर्छ यो सृष्टिको पुनर्निर्माण? जुन देशबाट हामी यो सृष्टिमा भूमिका निभाउन आएका थियौं, त्यहां फिर्ता कसले लिएर जान्छ ? यो सबै कुरा जान्न ईश्वरलाई चिन्नु पर्छ ।

गीतामा बताइएको आफ्नो वचन अनुसार परमपिता शिव परमात्माको यो सृष्टिमा आगमन भइसकेको छ । उहांको मार्ग दर्शनमा नयां विश्व निर्माण कार्य तीव्र गतिले जारी छ। सृष्टि परिवर्तनको यो कार्यमा लाखौं लाख आत्माहरू सहभागी भएर आफनो जीवनलाई धन्य बनाइराखेका छन्। तपाइँ पनि ईश्वरको यो दिव्य र महान कार्यमा सम्मिलित भएर आफनो जीवन धन्य बनाउन सक्नु हुन्छ।

आत्मा र परमात्मालाई एउटै मान्नु मानिसको सबैभन्दा ठूलो भूल हो। जबकि परमात्मा हामी आत्माका पिता हुनुहुन्छ परमपिता परमात्मा शिव यो सृष्टिका रचियता र परमधाम, ब्रहमलोकका निवासी हुनुहुन्छ। हामी सबै आत्मा पनि परमधामका निवासी हौं । उहां अजन्मा, अकर्ता, अभोक्ता हुनुहुन्छ। तर आत्माको जन्म हुन्छ। आत्माले शरीरको माध्यमबाट जुन कर्म गर्छ त्यसको फल पनि पाउंछ। परमात्मा सबै गुण, शक्ति, ज्ञान, प्रेम, पवित्रताका सागर हुनुहुन्छ र हामी आत्मा उहां जस्तै छौं। परमात्मा ज्योतिर्बिन्दु स्वरूप हुनुहुन्छ र आत्माको स्वरूप पनि ज्योतिर्बिन्दु नै छ। देवताका पनि देव महादेव, ब्रहा,विष्णु, शंकरका पनि रचनाकार त्रिमूर्ति, तीनै लोकका मालिक त्रिलोकीनाथ, तीनै कालका ज्ञाता त्रिकालदर्शी, संसारका सबै आत्माहरूका परमपिता शिव नै हुनुहुन्छ ।

उहाँ अजन्मा, अकर्ता, अभोक्ता, अविनाशी हुनुहुन्छ। परमधाम निवासी हुनुहुन्छ, जसलाई हामी शान्तिधाम, निर्वाणधाम, बैकुण्ठ र ब्रहलोक पनि भन्छौ। परमात्मा शिव हजार सूर्यभन्दा तेजोमय हुनुहुन्छ । उहांलाई यी स्थूल आँखाले हेर्न सम्भव छैन। केवल उहांको साथको अनुभव गर्न सकिन्छ । उहां पवित्रताका सागर हुनुहुन्छ, हामी पवित्र नबनी उहांसँग आफ्नो सम्बन्ध जोडन सक्दैनौं। जब आत्माले पवित्रताको ब्रत लिएर सर्वशक्तिमानसंग ध्यान लगाउंछ अनि ईश्वरीय शक्तिहरूको महशुस हुन थाल्छ।

विगत ८४ वर्षदेखि आत्मा परमात्माको महामिलनको मंगल मेला राजस्थानको माउण्ट आबूमा भइरहेको छ। यसको प्रमाण लाखौं लाख ब्रहमाकुमार भाइ–बहिनीहरू हुन् ।

गीता, शिवपुराण, महाभारत र यजुर्वेद सबै धर्मग्रन्थहरूमा परमात्मा अवतरणको कुरा स्पष्ट लेखिएको छ । शिवपुराणको कोटी रुद्रसंहिताको बयालीसौ अध्यायमा उल्लेख छ –“ म ब्रहाको ललाटबाट अवतरित हुन्छु” अर्थात् सम्पूर्ण संसारमाथि अनुग्रह गर्नको लागि शिव ब्रहाको ललाटबाट प्रकट हुनुभयो र उहांको नाम रुद्र रह्यो। परमात्मा शिवले नै ब्रहमाको मुखद्वारा नयां सृष्टिको रचना गर्नुभयो।

जब ब्रह्माद्वारा सत्ययुगी संसारको रचना गर्ने कार्य तीब्र गतिले भएन तब शिवले ब्रह्माका शरीरमा प्रबेश गरी ब्रह्मालाई पुर्नर्जी्वित गरेर उहांको मुखद्वारा नयां सृष्टि रचना गर्ने कार्यको सुरुवात गर्नुभयो। शिव पुराणमा पटक–पटक यो कुराको उल्लेख गरी यसलाई स्पष्ट लेखिएको छ कि सबैको मनोकामना पूरा गर्ने परमात्माको चिन्ह शिवलिंग नै हो।

संसारको विनाशकालमा एउटा अद्भुत ज्योतिर्लिंग प्रकट भयो, जुन अनुपम, अव्यक्त र स्थिर थिया। जसद्वारा नै संसारको सुरुवात भयो। अर्थात् परमात्मा शिवले प्रजापिता ब्रह्माको माध्यमद्वारा ईश्वरीय ज्ञान र सहज राजयोगको शिक्षा दिएर यो दुःखले भरिएको तमोगुणी वातावरणलाई परिवर्तन गर्नुभयो। त्यसकारण ब्राह्णलाई ब्रह्मामुख वंशावली भनिएको हो । यहां उल्लेख भएको ब्राह्मण शव्द जातीय नभै कर्मको रुपमा लिन खोजिएको हो ।

परमात्मा उहांलाई नै भनिन्छ जसको अस्तित्व सबै धर्ममा भिन्न–भिन्न रुपमा स्वीकार गरिएको छ ,जो सर्वमान्य, सर्वज्ञ हुनुहुन्छ, जसका कोही पनि माता–पिता छैनन । उहां सर्वशक्तिमान हुनुहुन्छ, यो निर्विवाद छ। त्यसैगरी देवताहरूका पनि देवता महादेव परमपिता शिव हुनुहुन्छ। नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूमा परमात्माको महिमा परमज्योति, सूर्यसमान तेजोमय प्रकाशको रूपमा नै गरिएको छ। मुस्लिम धर्ममा मान्यता छ कि जीवनमा एक पटक मक्का–मदीनाको यात्रा अवश्य गर्नुपर्छ । त्यहां राखिएको पवित्र पत्थरको दर्शन मुसलमानको लागि अनिवार्य मानिन्छ, जसको कुनै साकार आकृति छैन र जुन निराकार छ । त्यसलाई नै संग–ए–असवद र अल्लाह भनिन्छ। त्यसलाई उनीहरू नूर–ए–इलाही पनि भन्छन् अथवा त्यो नूर, त्यो प्रकाश,त्यो प्रकाशमय स्वरूप जसलाई हामी ज्योतिर्लिंग भन्छौ।

ज्योति भनेको प्रकाश हो । अतःसबैले परमात्माको ज्योतिस्वरूप शक्तिलाई स्वीकारेका छन्। सिख धर्मका गुरुनानक देवजीले परमात्माको सही स्वरूप एक ओंकार निराकार भनी स्पष्ट शब्दमा वर्णन गर्नुभएको छ। त्यो निराकार छ,सर्वमान्य छ, सत्य छ जसलाई अकालमूर्तको रुपमा गुरुवाणीमा लेखिएको छ । हामीले ज्योतिर्लिंग भन्यौ, उहांले त्यसलाई निराकार,सर्वमान्य, सत्यनाम बताउनुका साथ–साथै सधै माथितिर नै औंलाले इशारा गर्नुभएको छ।

परमात्मा शिवको पूजा स्वयं श्रीरामले पनि गर्नुभएको कुरा वर्तमान समयमा रामेश्वरको रूपमा पूजा हुनुले स्पष्ट हुन्छ शिव श्रीरामका पनि अराध्य हुनुहुन्छ।

लेखिका- ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाकी प्रमुख ब्रह्माकुमारी यशोदा भट्टराई ।

मा प्रकाशित