औषधि खाएर फिस्टुला निको हुँदैन, अपरेसन नै गर्नुपर्छ  

गणतन्त्रनेपाल डटकम

शरीरको बाहिरी सतहमा निस्किने अनावश्यक नलीलाई फिस्टुला भनेर बुझिन्छ । फिस्टुला प्रायः आन्द्रा, छालाको सतह र मलाशय वरपर देखिन्छ । पछिल्लो समय फिस्टुलाका बिरामी बढेका छन् । यसको मुख्य कारण अस्वस्थकर खानपान नै हो । फिस्टुलालाई सामान्य ठानेर बस्ने र परीक्षण नै नगराई जथाभावी औषधि खाने प्रवृत्ति समेत बढेको छ, जुन गलत हो । फिस्टुला औषधि खाएर निको हुँदैन, यसको विकल्प शल्यक्रिया मात्रै हो ।फिस्टुला विभिन्न प्रकारका हुन्छन् । मलद्वारमा लो लाइन, हाई लाइन, साधारण र जटिल फिस्टुला देखिन्छ । लो लाइनमा मलद्वारमा डेनटेन्ट लाइनभन्दा तल अनावश्यक नली देखिएको छ भने लो लाइन फिस्टुला भनिन्छ । त्यस्तै डेन्टटेन्टभन्दा माथि निस्किएकोलाई हाई लाइन भनिन्छ ।

आन्द्राबाट मलद्वारको मुख्य नलीमा एउटा नली मात्र निस्किएकोलाई साधारण र दुई वा सो भन्दा बढी नली निस्किएर हाँगाबिंगा पनि छ भने त्यसलाई जटिल फिस्टुला भनिन्छ । फोक्सोको क्यान्सर, कलेजोको क्यान्सर, आन्द्राको क्यान्सर आमाशय ग्रन्थिमा निस्किने फिस्टुला पोस्ट सर्जिकल फिस्टुला हुन् ।

फिस्टुलाको कारण

आन्द्रा र मलद्वारसँग सम्बन्धित रोगको खानपानसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । खानपान नमिल्दा कब्जियत हुन्छ । कब्जियत पनि फिस्टुला गराउने कारणमध्ये एक हो । घरको खानेकुरा कम खाने, अस्वस्थकर खाना खाने, रेस्टुरेन्टको बढी खानेकुरा खाँदा कब्जियत हुन्छ । कब्जियतको समस्या बढ्दै गएपछि मलद्वारसम्बन्धी रोग बढ्छ, जसले फिस्टुला र फिसरजस्ता समस्या निम्तिने गर्छ ।त्यस्तै मलद्वारको वरपर हुने ग्रन्थिले छालालाई नरम पारेर दिसालाई बाहिर निकाल्ने ग्रन्थिमा संक्रमण भयो भने फिस्टुला हुने सम्भावना हुन्छ । आन्द्राको  संक्रमण जटिल हुँदा समेत उपचार भएको छैन भने फिस्टुला हुन सक्छ । यसैगरी आकस्मिक दुर्घटना हुँदा शरीरमा गरिने शल्यक्रियापछि फिस्टुला निस्किन सक्छ ।विभिन्न रोगका कारण फिस्टुला हुन्छन् भने कतिपय बिरामीको उपचारको निम्ति कृत्रिम फिस्टुला बनाउन पनि आवश्यक हुन्छ । जस्तै, मिर्गौला फेल भएका बिरामीमा डायलाइसिस गर्न फिस्टुला बनाउन पनि जरुरी हुन्छ ।

लक्षण

मलद्वारनजिक सानो गिर्खा देखिन्छ, जुन पाक्ने, केही समय ठीक हुने र पुनः बल्झिन्छ । पाकेपछि फुटेर पिप, रगत बग्ने र पानी आउने गर्छ । त्यस्तै, मलद्वार वरपर दुख्ने, सुन्निने, दिसा गर्न असहज, मलाशय रक्तस्राव आदि यसका लक्षण हुन् ।

पहिचान र उपचार

फिस्टुलाको लक्षण देखिएपछि सर्जनलाई तुरुन्त देखाउनुपर्छ । लक्षणअनुसार कुन अवस्थाको फिस्टुला छ त्यही अनुसारको उपचार हुन्छ । यसको पहिचान फिस्टुलोग्रामबाट हुन्छ । यो एकप्रकारको एक्सरे हो, जसबाट कहाँसम्म फिस्टुला फैलिएको छ भन्ने थाहा पाउन सकिन्छ । जटिल फिस्टुलालाई एमआरआई गरेर हेरिन्छ । जसअनुसार कुन प्रकारको शल्यक्रिया गर्नुपर्छ भनेर निक्र्योल गर्न सकिन्छ ।शल्यक्रिया गर्दा पनि यो पुनः बल्झिने सम्भावना हुन्छ । यो सबै जीवनशैली र अन्य रोगको प्रकृतिअनुसार बल्झिने सम्भावना अनुमान गर्न सकिन्छ । यदि अन्य रोग नभएको खण्डमा  खानपानमा ध्यान दियो भने बल्झिने सम्भावना कम हुन्छ ।

औषधिले फिस्टुला ठीक नहुने भएकाले शल्यक्रिया नै यसको उपचार हो । आधुनिक लेजर प्रविधिबाट वा शल्यक्रियाबाट सम्भव छ । तर पायल्स र कब्जियत भन्दै जथाभावी औषधि खाँदा सामान्य फिस्टुला पनि जटिल बन्दै जाने र जति ढिला उपचार त्यति नै जटिलता बढ्ने गर्छ ।

कसरी बच्ने ?

फिस्टुलाबाट बच्ने पहिलो उपाय भनेको कब्जियत हुन नदिने हो । कब्जियत हुन नदिन प्रशस्त तरल पदार्थ र उच्च फाइबरयुक्त खानेकुरा खानुपर्छ । मैदाजन्य खानेकुरा, जंक फुड, बोइलर कुखुराको मासु कम खानुपर्छ । मदिरा र क्याफिन सेवन नगर्ने, दिसालाई नरोक्ने र नियमित गर्ने, पाचनप्रणालीलाई स्वस्थ तन्दुरुस्त राख्न दैनिक व्यायाम, मलद्वारको सरसफाइमा ध्यान दिन सकियो भने फिस्टुलाबाट जोगिन सकिन्छ ।

(जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. शाह सिनामंगलको होप अस्पतालमा कार्यरत छन् । उनले काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट एबीबीएस र किङ एडवार्ड मेडिकल युनिभर्सिटीमायो अस्पतालबाट जनरल एण्ड ल्याप्रोस्कोपिक सर्जरीमा एमएस गरेका छन् । डा. शाहसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

मा प्रकाशित