‘क़ला’ (२०२२):- एउटा अँध्याराे फिल्म जसमा जीवन छैन

सिनेमा चर्चा

प्रभाष

‘क़ला’ फिल्मकाे बारेमा मैले धेरै प्रशँसा सुने, पढे। ‘वाह, साँच्चिकै गज्जबकाे सिनेमा बनेछ लामाे समयपछि’ भन्ने भान पारिदियाे मेराे मनमा। त्यसपछि म याे सिनेमा खाेजेर हेर्न बसे। तपाईं विश्वास गर्नुहाेस् याे सिनेमा हेरेर म आश्चर्यचकित भए। याे देखेर आश्चर्यचकित भए कि मानिसहरुले यस्ताे फिल्मलाई मन पराए। यस्ताे उराठलाग्दाे नैराश्यतापूर्ण फिल्मलाई मन पराए, जसमा कुनै जीवन नै छैन। मानिसहरु यस्ताे अवसादपूर्ण फिल्मकाे प्रशंसा गरिरहेका थिए जसले समग्रतामा स्त्रीद्धेषलाई नै ‘ग्लाइमराइज’ गरेकाे छ। स्त्रीकाे काेर चरित्रमाथि प्रश्नचिन्ह लगाइदिएकाे छ। यस्ताे फिल्मलाई?

मलाई त याे देखेर आश्चर्यभन्दा बढी दु:ख लाग्याे कि पढालेखा, मसाला फिल्मकाे परिधिदेखि बाहिर निस्केर विश्व-सिने सँसारमा विचरण गरिरहेका, सिनेमाकाे समझ भएकाे भनिएका मान्छेहरुले पनि याे फिल्मकाे प्रशंसा गरिरहेकाे भेटे। याे फिल्मप्रति भावुक भइरहेकाे देखे। याे खाेक्राे फिल्मप्रति भावुकता? कतै पढेकाे थिए नेपाली र भारतीयहरुमा, अझ भनाैं भारतबर्षकाे धर्तिका बासिन्दाहरुमा निराशा र अवसादप्रति खुबै माेह छ रे। याे उनीहरुकाे आमचरित्र हाे रे। यसाे गम खाँदा, याे कुरामा म सत्यता पाउँछु। हामी नेपालीहरु पनि लामाे समय नारायण गाेपाल, गाेपाल याेन्जन, रामकृष्ण ढकाल जस्ता गायकहरुका वियाेग र राेदनका गानाहरुलाई नै उत्कृष्ट ठानेर बाँचिरह्याै। मेराे बालमस्तिष्कमा पनि उनीहरुका यस्ता गानाहरु महान् हुन् भन्ने भ्रम छापिएकाे थियाे। यही भ्रमलाई पालेर म लामाे समय हिँडे। जब चेतना पलायाे बुझ्न सक्ने भए, तब यी गानाहरु वास्तवमा समाज र जीवनदेखि पलायन गराउने, आँसु र वियाेगलाई ग्ल्यामराइज गर्ने, पलायनवादी गानाहरु पाे रहेछन्, समाजलाई पूर्नरचना गर्नमा, समाजलाई रुपान्तरण गर्नमा, समाजमा नयाँ चेतना भर्नमा र यसलाई सुन्दर बनाउनमा यस्ता गानाहरुकाे याेगदान सिन्काे भाँचे जति पनि नहुने रहेछ भन्ने ज्ञान पलायाे। भारतमा पनि शरदचन्द्र चट्टाेपध्यायकाे ‘देवदास’ जस्ताे जसमा नायक जीवनदेखि विरक्तिएर ‘आइसाेलेशन’ लाई चुन्छ, जीवनदेखि मुख माेड्छ र ‘सेल्फ ड्रिस्ट्रक्शन’ तर्फ लाग्छ। अन्त्यमा, ‘तिलतिलकर जलजलकर, घुटघुटकर’ मर्छ, त्यस्ताे रचनालाई महान् भन्ने फेनाेमेना चलेकाे थियाे। कंडिशनिङ गरेकाे थियाे त्याे प्रवृत्तिले मान्छेहरुलाई। सिनेमामा पनि सन् १९४०, ५०, ६० र ७० कै दशककाे हिन्दी सिनेमाहरुमा पनि यही ‘सुसाइडल फेनाेमेना’ भएका फिल्महरुकाे वर्चस्व भेटिन्छ। दिलिप कुमारदेखि शाहरुख खानसम्मकाे स्टारहरुकाे स्टारडम यही फेनाेमेनाकाे जगमाथि उभिएकाे थियाे/छ।

‘क़ला’ मा बाबिल खान र तृप्ति डिमरी

अँग्रेजीमा सायद यस्ताे स्वभाव र प्रवृत्तिलाई alexithymia भन्छन् क्यार। मलाई ठ्याक्कै थाहा छैन तर हामी भारत बर्षका निवासीहरुमा यही alexithymia ले डेरा जमाएर बसेकाे छ सायद। हाम्राे सँस्कृतिकाे जरा-जरामा यही alexithymia छ। हाम्राे शरीरकाे नशा-नशामा, हाम्राे दिमागकाे रेशा-रेशामा याे alexithymia बसिरहेकाे छ। हाम्राे जीनमा यही alexithymia लुकेर बसेकाे छ। कमसेकम मलाई त यस्तै लाग्छ। खैर म मूलबिषयमा आउँछु। हाम्राे साँस्कृतिक पृष्ठभूमिलाई प्रष्ट्याउन माथिका कुराहरु उल्लेख गरेकाे हुँ जुन याे लेखकाे बिषयवस्तुसँग पनि जाेडिन्छ। मैले यति भूमिका बाँधिसकेपछि मैले बाँधेकाे याे भूमिकाले याे लेखलाई राम्ररी बुझ्न मदत गर्नेछ। मेराे याे लेखकाे बिषय हाे ‘क़ला’। म ‘क़ला’ बारे कुरा गर्दै थिए।

‘क़ला’ हेरिसकेपछि मैले ट्विटरमा लेखे, ‘क़ला’ त मलाई एकदमै डार्क, डिप्रेसिङ, निराशाजनक र अवसादपूर्ण फिल्म लाग्याे। फिल्ममा अलिकति भए पनि उज्यालाे (आशाकाे किरण) त हुनुपर्छ। चुक घाेप्टाएजस्ताे घनघाेर अंधकारमात्र भएकाे फिल्मलाई कसरी मनपराउनु मैले? जीवन खै त याे फिल्ममा? जीवनप्रतिकाे जिजीबिषा खै त? खै त जीवनप्रतिकाे प्रेम?

त्यसपछि, थप लेखे, ‘QALA’:- Highly overrated fillm. याे खासमा एक भव्य पलायनवादी सिनेमा हाे। अवसादले भरिपूर्ण फिल्म। जसमा खाँदिखाँदि misogyny भरिएकाे छ। नारी चरित्रहरुकाे चित्रण एकदमै ‘problematic’ छ। ‘QALA’ काे पाेेस्टमार्टम गर्नु जरुरी भएकाे छ। अब म याे फिल्मकाे खटिया खडा गर्नेछु।

क़ला’ साँच्चै नै highly problematic film हाे। फिल्ममा छाेराप्रतिकाे माेहलाई अतिशय ग्लाेरिफाई गरेर देखाइएकाे छ। एउटी महिला जसले जुम्ल्याहा बच्चालाई जन्माउँछिन्। एउटा बच्चा बाँच्छ, अर्काे मर्छ। तर, जब उनलाई मरेकाे बच्चा छाेरा थियाे भन्ने थाहा हुन्छ तब उनलाई जिउँदाे बाँचेकाे आफ्नाे बच्चा (छाेरी) काे भन्दा बढी माया मरेकाे बच्चा (छाेरा) काे लाग्छ। अझ जब उनलाई थाहा हुन्छ कि उनकाे जुम्ल्याहा बच्चामध्ये छाेरी चाँहि ले छाेराकाे पाेषण जति सबै शाेषण गरेर खाइदियाे र अर्काे बच्चालाई मारिदियाे वा मर्ने कारक बन्याे तब झन् याे बाँचेकाे छाेरीप्रति उनकाे घृणा बढ्छ। उनी छाेरीलाई कहिल्यै आफ्नाे ठान्दिनन्, वात्सल्य प्रदान गर्दिनन्, जुन वात्सल्यकाे कुनै पनि सन्तानलाई आफ्नाे आमाबाट दरकार हुन्छ। जुन वात्सल्यकाे कुनै पनि सन्तान आफ्नाे आमाबाट अपेक्षा गर्छिन्।

‘क़ला’ मा आमा बनेकी अभिनेत्री स्वास्तिका मुखर्जी

आमा पात्रकाे छाेरा बाँचेकाे भए ऊ वारेस हुन्थ्याे तर छाेरा मर्‍याे। छाेरी बाँच्याे। सब चाैपट भयाे। छाेरीलाई उनी आफ्नाे वारेस मान्दिनन्। त्यसैले उनलाई आफ्नाे वारेस बनाउन सक्दिनन्। त्यही भएर एकदिन उनी कुनै अनाथ युवकलाई वारेस बनाएर घरमा लिएर आउँछिन्। आफ्नो सँगीतकर्मी घरानाकाे वारेस उसैलाई बनाउन खाेज्छिन्। साेही अनुरुप उसलाई प्रशिक्षित गर्न थाल्छिन्। याे देखेर उनकी छाेरी उनीसँग झन् कुडिन्छे जाे पहिलेदेखि नै आफ्नाे आमाकाे घृणाकाे छाँयामा हुर्किएर मानसिक रोगी बनिसकेकी हुन्छे। छाेरीमा सम्भावना छँदाछँदै एउटा कैले न मैलेकाे केटालाई ल्याएर वारेस बनाउन तम्सिनु। के लजिक हाे याे? याे फिल्म बनाउनेहरु नै जानुन्।

त्याे केटाेलाई स्टार बनाउने सपना पूरा नभएपछि आमा छाेरीसँग सम्बन्ध ताेडेर टाढा गएर बस्छिन्, छाेरीकाे खाेजखबर राख्न छाेडिदिन्छिन्, छाेरी मर्ने अवस्थामा पुगिसक्दा पनि आमालाई छाेरीकाे हाेशहवास हुँदैन। याे सब देखाएर कस्ताे महिला पात्र खडा गर्न खाेज्दैछन् यिनीहरु? महिलाकाे/आमाकाे कस्ताे छवि गढ्न खाेज्दैछन् यिनीहरु? ‘यी देख्याैं त महिला त यस्ताे निर्दयी पाे हुन्छ है। महिलाकाे दुश्मन महिला नै हुन्छ। महिला नै महिलासँग मिल्दैन। छाेरीकाे दुश्मन आमा नै हुन्छ र महिलाहरु यस्ताे क्रूर, निर्मम, संवेदनहीन र एकाेहाेराे हुन्छन्’ भन्ने समाजमा पहिलेदेखि नै बलियाे भएर रहेकाे misogyny लाई अझ बलियाे बनाउँछ याे फिल्मले।

‘क़ला’ मा आमा बनेकी स्वास्तिका मुखर्जी

छाेरी पात्रकाे चित्रण पनि कम problematic त छैन याे फिल्ममा। छाेरी पात्र अवसर पाउनका लागि, स्टारडम पाउनका लागि, ‘म पनि सक्छु’ भनेर आमालाई देखाइदिनका लागि जे पनि गर्न तयार हुन्छे। जे पनि। आफ्ना शरीर (स्वत्व नै) बेच्ने देखि लिएर कसैलाई पाराे खुवाउने सम्मकाे घृणित अपराध गर्न पनि पछि पर्दिनन् उनी। यसले समाजका मान्छेहरुलाई के सन्देश दिन्छ? याे फिल्म हेरेर मान्छेहरु स्त्रीहरुकाे बारेमा के कस्ताे धारणा बनाउँछन्? याे फिल्मले समाजमा के कस्ताे विचारधारा, सँस्कृति र प्रवृत्तिलाई बढावा दिन्छ? भनिरहनु नपर्ला।

अझ स्त्रीहरुमाथि ज्यादती गरिरहेकाे, महिलाहिँसालाई आफ्नाे दिनचर्याकाे अभिन्न अंग बनाएकाे, स्त्रीहरुकाे उत्पीडन गरिरहेकाे र त्याे उत्पीडनलाई बिभिन्न कुतर्कहरु गरेर न्यायाेचित ठहर्‍याइरहेकाे भारतबर्षकाे समाजमा याे फिल्मले तिनै धारणाहरु, सँस्कृति र प्रवृत्तिलाई बलियाे बनाउँछ जसले स्त्रीहरुलाई दाेषी देखाउँछ। र स्त्रीहरुकाे उत्पीडन गर्नुलाई सही ठहर्‍याउँछ। किनभने, फिल्मले दिने सन्देश पनि त यही हाे। स्त्रीहरु अपराधी हुन्छन्। नामकाे लागि, अवसरकाे लागि जे पनि गर्न सक्छन्, न‌ैतिकता र मर्यादाकाे जुनसुकै सीमा नाघ्न सक्छन्, स्त्रीहरु कपटी, जाली हुन्छन्। निर्दयी, क्रूर, कठाेर हुन्छन्। स्त्रीहरु खतरनाक हुन्छन् र उनीहरुबाट जाेगिएर रहनुपर्छ। स्त्रीहरुले बर्बादीतर्फ लैजान्छन्। यस्तै यस्तै।

‘क़ला’ मा आमा-छाेरी बनेकी स्वास्तिमा मुखर्जी र तृप्ति डिमरी

त्यसैले याे फिल्ममा स्त्रीद्धेष खाँदिखाँदि भरिएकाे छ भनेर भन्दा त्याे कसरी अतिश्याेक्ति हुन्छ? त्याे कसरी पूर्वाग्रही हुन्छ, जबकि पूर्वाग्रही त याे फिल्मकाे विचार नै छ। यसकाे कन्टेन्ट आफैमा पूर्वाग्रही र चरम स्त्रीविद्धेषी छ। मुख्य कुरा त याे फिल्मका स्त्रीहरु जीवनतर्फ मुख फर्काउँदैनन्, उज्यालाेतर्फ जान चाहन्दैनन्। उज्यालो खाेज्ने प्रयास गर्दैनन्। मानसिक यन्त्रणा, शारीरिक शाेषण र उत्पीडन सहेर जिउँछन् र मानसिक यन्त्रणा झेल्दै मर्छन्, कति पनि प्रतिकार गर्न सक्दैनन्। कतै पनि प्रतिकार गर्न सक्दैनन्। कतै पनि फाइट गर्न सक्दैनन्। आमा पात्र जगनकाे मृत्युपछि आफैले ठड्याएकाे अवसाद र आइसाेलेसनकाे पर्खाललाई नाघेर जीवनतर्फ फर्कन सक्दिनन्, आइसाेलेशनमै आफ्नाे इगाे पालेर बस्छन् अन्त्यसम्मै। छाेरीपात्र त्यस्तै। मानसिक यन्त्रणा, शारीरिक शाेषण, याे शारीरिक र मानसिक प्रताडना सहेर, सन्तापबाट आक्रन्त भएर अन्ततः आत्महत्या गरेर दम ताेड्छन्। खै त उनले फाइट गरेकाे? खै उनमा सँघर्ष? त्यत्राे मुकाममा पुगिसकेको, आफ्नाे छुट्टै व्यक्तित्व बनाइसकेकाे महिलाले आशाकाे किरणलाई देख्नुपर्ने हाे नि। खै त उनले त्याे मुकाममा पुगेर पनि आशाकाे किरणलाई देखेकाे? खै उनमा जीजिबिषा? त्यत्राे उच्च मुकाममा पुगेर पनि उनमा जीवनप्रति एक पित्काे पनि जीजिविषा नहुनुले, मरुभूमि जस्ताे सुख्खा, उजाड र उराठलाग्दाे उनीहरुकाे जिन्दगी र अन्तर्मनलाई देखाउनु सबभन्दा ठूलाे स्त्रीद्धेष हाेइन र? आर्थिक अवस्था राम्रै भएकाे, सामाजिक अवस्था राम्रै भएकाे, हाई क्लास साेसाइटीभित्रै पर्ने महिला पात्रहरु अनि यतिसाह्राे कमजाेर महिला पात्रहरु?

आजकाे जमानामा पनि यस्ताे अतिशय कमजाेर महिला पात्रहरुलाई डिजाइन गर्न फिल्ममेकर्सलाई के ले उत्प्रेरित गरिरहेकाे छ? त्याे कुन चीज हाे जसले यस्ता पात्रहरु रचना गर्न उत्प्रेरककाे भूमिका खेलिरहेकाे छ? फिल्ममेकर्सकाे महिला पात्रलाई हेर्न मूलभूत नजर अझै पनि बदलिन नसक्नुकाे कारण के हाे? स्त्रीविद्धेष जब्बर रुपमा रहेकाे, समाजकाे मूलधार सामन्ती पितृसत्तात्मक रहेकाे समाजमा यस्ताे फिल्म बनाएर, महिलाहरुकाे यस्ताे निन्दनीय चित्रण गरेर फिल्ममेकर के सन्देश दिन चाहन्छ? समाजलाई कता लैजान चाहन्छ? अगाडि लैजान चाहन्छ कि पछाडि धकेल्न चाहन्छ?

‘क़ला’ काे एउटा दृष्यमा बाबिल खान र तृप्ति डिमरी

अनि महिलाहरुकाे यी चरित्रहरुकाे आधार चाहिँ के हाे त? केवल काेराकल्पना? वास्तविक जीवनमा यी पात्रहरुकाे ‘रिफरेन्स’ कतैबाट लिइएकाे छ? अहँ छैन। आधार केवल यति छ, ‘यत्राे ठूलाे सँसारमा ६ खर्ब मान्छेहरु छन्, ४ खर्ब महिला छन्। त्यत्राे ४ खर्ब महिलाहरुमा एउटा न एउटा महिला त यस्ती किन नहाेला?’ भन्ने मुढे अनुमानआधारित तर्क मात्र छ। जबकि, यदि तपाईं महिलाको चरित्रलाई यतिसाह्राे प्राेब्लम्याटिक देखाउनुहुँदैछ, त्याे पनि रियलिस्टिक टच र सेटअपका साथ भने त्यसकाे तार कतै न कतै यथार्थसँग जाेडिएकाे हुनैपर्छ। कतै न कतै ती चरित्रहरुमा यथार्थ चरित्रहरुकाे ‘रिफरेन्स’ देखिनुपर्छ। तबमात्र त्याे विश्वासनीय हुन्छ। याे बेसिक कुरा हाे। तब न रियलिस्टिक सिनेमा भयाे। केवल काेरा कल्पनाकाे भरमा, सिनेम्याटिक लिबर्टीकाे नाममा तपाईं महिलाहरुकाे आपत्तिजनक चित्रण गर्न पाउनुहुन्न।

आफ्टर अल, सिनेमा भनेकाे केवल काेरा कल्पना हाेइन। याे कला हाे। सिनेमालाई कला मानिन्छ। अनि, कला जीवनदायिनी हुन्छ। यदि सिनेमा कला हाे भने यसमा जीवन हुनुपर्छ, जीवन अर्थात् थाेरैबहुत यसमा यथार्थकाे अंश हुनुपर्छ। यसकाे चरित्र वा माेटिभ जीवनदायिनी हुनुपर्छ। तब न कला हुन्छ। याे ‘क़ला’ मा कला कहाँ छ? याे कसीबाट हेर्ने हाे भने कलामा कला भेटिन्दैन। केवल त्रासदीकाे सपाट चित्रण (जसकाे आधार काेराकल्पना हाे) कला हाेइन। केवल काेराकल्पनालाई कला मान्न सकिन्दैन। जसमा केवल काेराकल्पना छ तर जीवन छैन, त्याे कला हुनै सक्दैन।

‘क़ला’ मा तृप्ति डिमरी

‘क़ला’ हेरेपछि मैले सर्वप्रथम महिलाहरुकाे प्रतिक्रिया जान्न चाहे। खासगरि फेमिनिष्टहरुकाे। आखिर उनीहरु याे फिल्मका बारेमा के साेच्छन्? के भन्छन्? उनीहरुलाई याे फिल्म कस्ताे लाग्याे? उनीहरुले याे फिल्ममा के पाए? आदि कुरा जान्न चाहे।

हिन्दी लेखिका गीताश्रीलाई मैले फेसबुकमा पहिलेदेखि नै फलाे गरेकाे थिए। उनकाे विचारलाई पढेलेखेका-बाैद्धिक वर्गकाे महिलाहरुकाे पनि प्रतिनिधि विचार मान्न सकिने भएकाेले मैले उनकाे फेसबुक वाल चेक गरे। उनकाे वाल चेक गरेपछि मैले के पाए भने उनलाई पनि ‘क़ला’ एक भव्य कलात्मक, स्तरीय र दर्शनीय फिल्म लागेकाे रहेछ। उनले ‘कला’ लाई फरक-फरक समयमा फरक-फरक मुड बनाइदिने फिल्म भनेका छन्। उनलाई केवल यस फिल्मकाे ‘कन्टेन्ट’ प्रति आपत्ति रहेछ। कन्टेन्टमा पनि उनकाे आपत्ति यसकाे कन्टेन्ट स्त्रीविरोधी भएकाेमा हाेइन। बरु ग्लानिबोधबाट उब्जिएको आत्महत्यालाई लिएर रहेछ। फिल्मकाे कला पक्षलाई त उनी उम्दा मान्दी रहेछिन्।

तर फिल्मकाे खुबै प्रशँसा भइरहेको देखेर, सबैजनाले याे फिल्मकाे स्तुतिगान गाइरहेकाे देखेर यस फिल्मकाे विरुद्धमा आफ्नाे मत राख्दा आफुलाई मूर्ख र स्वाँठकाे ठप्पा लाइदिने देखेर उनी आफ्नाे विचार राख्न हच्किएकी रहेछिन् प्रारम्भमा। उनकाे पाेष्टहरुकाे विश्लेषण गर्दा यही देखिन्छ।

‘क़ला’ मा तृप्ति डिमरी र बाबिल खान

११ दिसंबरमा उनी फेसबुकमा लेख्छिन्,

‘कला’ फिल्ममाथि चलिरहेकाे बहसलाई हेर्दै गर्दा मलाई मेट्राेमा सुनिएकाे केही कुरा याद आयाे। म सिटमा बसेकी थिए। अनि त्याे कालाे कोट लगाएकाे सज्जन मोबाइलमा लगातार कुरा गर्दै गइरहेकाे थियाे। उसले कसैलाई भन्याे, ‘अति भयाे। के अब हामी मच्छरसँग मलेरियाकाे कुरा गर्नु?’ 😝

हजुर यहाँ सबै मान्छे सिनेमाका कीरा हुन् अनि उनीहरुसँग के बहस गर्नु? तपाईंलाई कला-मूर्ख भनिदिनेछन् वा अज्ञानी साबित गरिदिनेछन्। फेसबुकमा बहस छेड्नु वा भीडकाे राेजाई (धारणा वा निष्कर्ष) काे विरुद्ध आफ्नाे विचार प्रकट गर्नु खतरनाक छ।

‘कला’ काे याे गानाकाे क़सम:-

इब दोपहरी के पीछे ना भागूँगी धम-धम
अबकी बारिश में बैरी ना भींगूँगी छम-छम
अपनी चोटी में जुगनू मैं कस लूँगी चम चम
लाघंगूँगी ना तोरी छैयाँ
फेरो न नज़र से नज़रिया

गानाकाे लिंक कमेंट बॉक्समा।

यस पाेष्टमा उनकाे त्यही डर अभिव्यक्त भएकाे छ। फिल्म मन परेकाे छैन, तर फिल्मबारे केही भना‌ैं भने मान्छेहरुले वा फेसबुककाे मूलधारले उनकाे मब लिन्चिङ गरिदिने डर उनलाई छ।

११ दिसंबरमा उनकाे साथी शशिभुषणले फेसबुकमा ‘क़ला’ फिल्मका बारेमा सँक्षिप्त आलाेचनात्मक सामग्री लेखेर पाेष्ट गरेपछि बल्ल उनलाई पनि केही आँट आएकाे देखिन्छ। ११ दिसंबरकै दिन शशीभूषणले लेखेकाे पाेष्ट कपी गरेर त्यसमाथि आफ्नाे विचार थपथाप गर्दै उनले एउटा पाेष्ट गरेकी छन्, जुन यसप्रकार छ;

‘क़ला’ फिल्म त्यही रात अबेर हेरे जब याे Netflix मा रिलिज भयाे। मैले कैयौं फिल्महरुका लागि १२ बज्ने प्रतीक्षा गरेकी छु र रातहरु बलिदान गरेकी छु। ‘क़ला’ काे लागि पनि गरे अनि फेरि अबेरसम्म बिहानी भएन। कुनै बर्फिलाे आँधीमा यसरी फँसे कि निक्लन सकिन। सबै (‘क़ला’ बारे) लेखिरहेका थिए। …मबाट लेखिन सकेन। आज शशिकाे पोस्ट पढे, तब (लेख्ने) आँट आयाे।

म फिल्मकाे कला पक्षकाे सराहना गर्न सक्छु। नायिकाकाे सुराहीदार गर्दन र लोकेशनकाे, पेन्टिङ इफेक्टकाे, मनोवैज्ञानिक समस्याकाे…

तर कन्टेन्ट (अन्तर्वस्तु) सँग (म) सहमत छुइन। म याे फिल्मकाे कला पक्षकाे सराहना गर्न सक्छु तर कन्टेन्टकाे सक्दिन। शशिकाे एकाध बिन्दुहरुसँग असहमतिका बावजूद (उनकाे) याे पोस्टले मेराे (मनकाे) कुरा भन्छ।

एउटा कुरा:-

जसरी प्रशंसा गर्नु तपाईंको अधिकार हाे, त्यसरी नै आलोचना गर्नु मेराे।

मलाई कुनै पनि रचनामा यति (साह्राे) स्वप्नहीनता मनपर्दैन।

याे पोस्ट चाँहि फेसबुक फिल्म समीक्षकहरुका लागि – 😄

‘क़ला’ मा तृप्ति डिमरी

उनले साझा गरेकाे शशीभुषणकाे विचार यसप्रकार छ,

‘फिल्म ‘क़ला’ माथि लट्टू मानिसहरु फेसबुक वा सोशल मिडियामा नै घुमिरहने प्रचलित विचार/बुझाइका मालिकहरु हुन्।

याे फिल्म ‘खतरनाक’ छ। संवेदनशील दर्शकहरु यसबाट विचलित हुन सक्छन् र विमर्शजीवी धुरन्धरहरुकाे शिरमाथि बाट गुज्रिन सक्छ याे फिल्म।

याे फिल्म स्वप्नहीन यथार्थवादकाे फिल्म हाे। बिना स्वप्नकाे मनोवैज्ञानिक यथार्थ। याे फिल्म यति एकान्त निर्मिति छ कि यसमा कुनै प्रकारकाे आम मानिस छँदैछैन।

याे फिल्म याे कुरा साबित गर्ने कोशिश गर्छ कि शोषण, अन्याय र हत्याहरु हरेक क्षेत्रकाे यथार्थ हाे। चाहे त्याे कला-परिवारकाे कोही आमा-छाेरी-महिला नै किन नहाेऊन्?

याे फिल्म महिलालाई पनि कुटिल, हत्यारा र दाेस्राे (कुरा), सत्ता कामनाहरुद्वारा परिपूर्ण देखाउने कोशिश गर्छ। यसप्रकार याे (फिल्म) यथार्थलाई अधिक विश्वसनीय बनाउनका लागि स्त्री मनोविज्ञानकाे सहारा लिन्छ।

याे फिल्ममा कुनै स्वप्न छैन। कुनै राजनीतिक-सामाजिक जवाफदेही छैन। याे हदभन्दा हद यही दावा गरिरहेकाे प्रतीत हुन्छ कि हामीले यस्तो देखेका छाैं। यस्ताे पनि हुन्छ।

याे फिल्म जहाँ एकातिर परिवारभित्र प्रतिस्पर्धाबाट उब्जिएका हत्या-आत्महत्याकाे बडाे कलात्मक चित्रण गर्छ, त्यही सत्ता र पुँजीप्रति कुनै प्रश्न उठाउँदैन।

आजकलकाे यही सबभन्दा ठूलाे फिल्म छल हाे कि फिल्महरु जब रक्तसम्बन्धहरुमा पनि हत्या देखाउँछ, तब राजनीतिमाथि भने चुप रहन्छ।

याे फिल्म राम्राे प्राविधिक संसाधनहरुबाट अत्यन्त दृष्टव्य बनाइएकाे छ। तर मूल कुरा उही हाे कि फिल्ममा केवल सेलेक्टिव यथार्थ छ। कुनै स्वप्न छैन।

याे फिल्म केवल गायन र फिल्म जगतलाई केही देखाइदिने मानसिकताद्वारा ओतप्रोत छ।

यति नै।

शशिभूषणकाे याे टिप्पणी सटिक लाग्छ। सत्ता र पुँजीमाथि प्रश्न नउठाइ, सामाजिक-राजनीतिक सँरचनामाथि प्रश्न नउठाइ, त्यस सँरचनामा जकडिएका महिलाहरुलाई महत्वाकांक्षी, दृष्ट, क्रूर, कुटिल, षड्यन्त्रकारी, हत्यारा, विध्वंसक आदि देखाउनु, सबैतिरबाट उनीहरुलाई नकारात्मक र दाेषी देखाउन खाेज्नु छल नभएर के हाे त? सेलेक्टिभ यथार्थ नभएर के हाे त?

अनि, यी महिलाहरुकाे चरित्रचित्रणकाे तार्किक आधार के हाे
त? ‘यत्राे ठूलाे सँसार छ। याे सँसारभरि अर्बाैं मानिसहरु छन्। त्यत्राे मानिसहरुमा यस्ताे चरित्र भएकाे महिला, आमा, छाेरी नहाेलान् त? हाेलान् नि। यत्राे ठूलाे सँसारमा यस्ता महिलाहरु पनि हुन सक्छन्’ भन्ने अनुमानित सम्भाव्यताबाहेक? तर चरित्रहरुकाे विश्वासनीयता कायम गर्न पनि तथ्यसम्मत धरातल चाहिन्छ, कपाेलकल्पनामा जे देखाए त्याे स्वीकार्य हुँदैन भन्ने आधारभूत कुरा यसकाे निर्दैशकले बिर्सेकाे देखिन्छ।

‘क़ला’ मा तृप्ति डिमरी

गीताश्रीले शशिभूषणकाे पाेष्ट हुबहु कपी गरेपछि मैले शशिभूषणकै फेसबुककाे वास्तविक पाेष्ट पनि हेरे जसकाे मुनि गीताश्रीले टिप्पणी गरेकी छन्। शशिभूषणले यति लेखेपछि आँट गरेर उनी शशिभूषणकाे पाेष्टमुनि कमेन्ट गर्छिन्। उनी लेख्छिन्,

‘म सहमत छु। (म) यस फिल्मकाे कला पक्षकाे सराहना गर्न सक्छु तर कन्टेन्टकाे सक्दिन। (याे फिल्म) अत्यन्त अवसादग्रस्त (छ) र (उनीहरुले) स्त्रीलाई स्त्रीकाे दुश्मन साबित गरिदिए चाहे तिनी आमा नै किन नहाेऊन्। (याे फिल्म) हेरेपछि म स्तब्ध छु। केही लेख्न सकिरहेकाे छुइन। केही बाेले भने केही मान्छेहरु मलाई मूर्ख ठान्नेछन्। 😄 तिनीहरु पनि (मलाई मूर्ख ठान्नेछन्) जो फ़ेसबुकमा फिल्म समीक्षक बनेका छन्।’

उनलाई जवाफ दिदै शशिकिरण लेख्छन्, ‘सही भन्नुभयाे। याे फिल्ममा यति धेरै कला छ कि त्याे बर्बरता भएकाे छ। के बिग्रिन्थ्याे यदि यसमा थाेरै भए पनि कल्पना हुन्थ्याे, मानवताकाे स्वप्न हुन्थ्याे? तर कसरी हुन्थ्याे ! यदि काेही जो हुन्छ मा झर्छ र ऊ सँग हुनुपर्छ काे बल छोड्नुहाेस्, दृष्टि पनि हुँदैन।’ यहाँनेर शशिकिरण स्वप्नकाे कुरा गरिरहेका छन्। आशावादकाे कुरा गरिरहेका छन्। ‘याे फिल्मकाे निर्दैशकसँग स्वप्न छैन’ भनिरहेका छन्।

‘क़ला’ मा तृप्ति डिमरी

अरुण कुमार अफसल कमेन्ट गर्छन्, ‘राम्राे टिप्पणी। फि़ल्मकाे यस किसिमकाे आलोचनात्मक समीक्षा आउनु बन्द भएकाे छ।’

उसलाई जवाफ दिदै गीताश्री लेख्छिन्, ‘मान्छेहरु हामीलाई मूर्ख भन्दैछन्…हामी कलाकाे आनन्द उठाउन सक्दैनौं रे। भाइ, अवसादग्रस्त कलाकाे आनन्द कसले उठाउँछ?
😄’

कमेन्टबक्समा केही व्यक्तिहरु शशीकिरणकाे प्रतिवाद पनि गर्छन्। उनलाई प्रश्न गर्छन्। जस्तै अनुराग आर्य नामक व्यक्ति उनलाई प्रश्न गर्दै लेख्छ, ‘तपाईं किन पात्रहरुलाई पर्फेक्ट देख्न चाहनुहुन्छ? कुनै कथा इमपरफेक्ट पात्रहरुमाथि पनि हुन सक्छ। विश्व सिनेमामा पनि मानसिक रुपमा अस्वस्थ्य मानिसहरुमाथि, क्रूर मानिसहरुमाथि, बाई पोलार डिसअर्डरद्वारा ग्रस्त मानिसहरुमाथि सिनेमा बनेका छन्। मुख्य पात्र असल चरित्रकाे होस्, याे आवश्यक कम्पोनेन्ट होस्, यस्ताे माँग गर्नु अलिकति ज्यादती हुन्छ। कथाले एक सीमित समयमा हरेक घटनामाथि टिप्पणी गराेस्, याे पनि अनुचित माँग हाे।’

‘मकबूल’ र हलिउड फिल्म ‘Girl Interrupted’ काे उदाहरण दिदै ऊ लेख्छ, ‘…के वास्तविक जीवनमा हामी र हाम्राे वरिपरिका मानिसहरु क्रूर र चलाख छैनन्? हरेकचाेटि कुनै कथा सन्देश वा उद्देश्यका लागि भनिन्दैन, केवल भन्नकाे लागि भनिन्छ। हामीले कथामा, सिनेमामा एक किसिमकाे नैतिक पाठ खाेज्ने बानी बसाएका छाैं। हामी याे बानीदेखि बाहिर निस्कनुपर्छ। हामीले याे बुझाई विकसित गर्नुपर्छ। हामीले याे जिद्दी गर्न छाेड्नुपर्छ कि पात्रहरुले हामीले भनेअनुसार व्यवहार गरून्।’

‘क़ला’ मा बाबिल खान र तृप्ति डिमरी

उसलाई जवाफ फर्काउँदै शशिभूषण लेख्छन्, ‘कथाकाे अन्त्य र सुरुवात जुम्ल्याहा छ। एउटी जुम्ल्याहा केटीले भाईकाे पोषण साेस्याे। ‌ऊ मर्‍याे। फेरि उनले अर्काेलाई पनि मारिदियाे। फेरि आफैलाई पनि मार्‍याे।

हेर्नुहाेस्, यति देखाउनका लागि कति ठूलाे रचना छ। र याे एउटा कलाघरमा भइरहेको छ।

मैले केवल यति मात्र भने कि बिना स्वप्नकाे यथार्थले के हुन्छ? कसैले हामीलाई उसले देखेकाे यथार्थमा किन लिएर जाने यदि त्यहाँ जे हुनुपर्थ्याे, त्यसकाे स्वप्न नै छैन भने?

तर कुरा यतिमात्र हाेइन। यस्तो यथार्थमा लिएर जानुकाे स्वप्न पनि हुन्छ। यथास्थितिवादका प्रति सहानुभूति। यसरी नै त किल्लाबन्दी गरिन्छ।’

‘क़ला’ का प्रमुख कलाकारहरु

अर्काे व्यक्ति दीपक यादव लेख्छ, ‘जरूरी छैन की एकै फिल्ममा तपाईं सबथोक देख्नुहाेस्। सबैकाे आफ्नाे एक दृष्टिकोण हुन्छ। सबैबाट आफ्नै किसिमकाे अपेक्षा राख्नु सही हाेइन।’

उसलाई शशिभूषण यस्ताे जवाफ दिन्छन्, ‘सबै कहाँ हेर्न चाहन्छु? तर के सपनालाई पनि छाेडिदिऊ, जाे उसकाे हुनुपर्थ्याे? आलोक धन्वाकाे एउटा पंक्ति छ, दुनिया त दिनहुँ बदलिन्छ। तर याे फिल्ममा त कला आत्महत्या गर्छ।’

शशिभूषणकाे यस पाेष्टलाई कपी गरेर गरेकाे गीताश्रीकाे पाेष्टमा पनि केही सवाल-जवाफहरुलाई देख्न सकिन्छ,

नताशा नामक केटी कमेन्ट गर्छिन्, ‘अनाैठाे स्थिति भएकाे छ मेराे। हेर्ने मन पनि छ अनि हेर्न डराइरहेकी पनि छु।’

उत्तरमा गीताश्री लेख्छिन्, ‘हेर अनि पक्का तिमी एउटा कविता लेख्नेछाैं। Must watch movie.’

रश्मि सिन्हा कमेन्टमा लेख्छिन्, ‘म तपाईंसँग सहमत छु गीताजी। त्यसाे त म तृप्ति डिमरीकाे फ्यान हुँ तर फिल्ममा जे देखाइएको छ त्याे आजकाे परिप्रेक्ष्यमा दर्शकहरुलाई स्वीकार गर्न गाह्राे छ…एउटा छाेराकाे चाहनामा, छाेरीलाई नकार्नु, उनकाे प्रतिभालाई नकार्नु…र उनीमाथि आफ्नाे frustration निकालेर टर्चर गर्नु अत्यन्त दु:खदायी छ यसलाई चुपचाप हेर्नु…

आजकाे माहौलमा, उही पुरानाे परम्परालाई देखाउनु या त्यससँग सहमत हुनु, अत्यन्त गाह्राे छ…

हामी समाजकाे बदलिन्दाे परिवेशलाई देखाउँछाैं फिल्ममा…तर कुनै एक पुरानाे मानसिक सोच वा परम्परामाथि आजकाे दिनमा फिल्म बनाउनु र त्यसबाट प्रशंसा पाउनु याे साेच वा अपेक्षा आजकाे दिनमा सही छैन।

याे फिल्म हाम्राे हजुरआमाकाे जमानाकाे विचार-दर्शन वा समाजलाई देखाउँछ…तर आज यसलाई अहिलेसम्मकाे परिप्रेक्ष्यमा स्वीकार गर्नु समाजमा परिवर्तनलाई नकार्नु हाे।’

जवाफमा गीताश्री लेख्छिन्, ‘स्त्री विरोधीभन्दा बढी मेराे आपत्ति ग्लानिबोधबाट उब्जिएको आत्महत्यालाई लिएर छ। कला पक्ष त उम्दा छ नै। उसै पनि याे मौलिक फिल्म हाेइन।’

‘क़ला’ मा तृप्ति डिमरी र बाबिल खान

गीताश्री याे फिल्मलाई most watch movie भन्छिन्, उम्दा भन्छिन्, अरुलाई हेर्न सिफारिस पनि गर्छिन्। तर यसकाे कन्टेन्टसँग चै असहमत भएकाे बताउँछिन्।

‘याे रिव्यू पढेर अब म त याे फिल्म हेर्दिन। मलाई यसप्रकारकाे फिल्महरुबाट अहिलेलाई टाढा रहनुछ। धन्यवाद याे लेख्नका लागि’ भनेर कमेन्ट गर्ने देवेश पथ सरियालाई उनी भन्छिन्, ‘कलात्मकताका लागि हेर्न सक्नुुहुन्छ…।’

तर यस फिल्मलाई असरदार, आँखालाई राहत दिने दृष्यहरु भएकाे कुनै सुन्दर पेन्टिङ जस्ताे, जति हेर्‍याे हेरुँ लाग्ने, कहिले नसकियाेस् जस्तो लाग्ने, यादगार, सुन्दर मार्मिक फिल्म भन्दै कमेन्ट गर्ने, फिल्मकाे कलात्मक पक्षकाे बखान गरेर नथाकेकी निवेदिता झालाई भने अघिल्लो जवाफकाे ठीक विपरीत र कठाेर जवाफ दिन्छिन् गीताश्री।

उनी लेख्छिन्, ‘तपाईं फिल्मकाे कलात्मक पक्ष/ संगीत/अभिनयमाथि फिदा हुनुहुन्छ…म पनि छु। सन् २०१० मा आएकाे एउटा पुरस्कृत फिल्म Black Swan हेर्नुहाेस्, याे फिल्म कपी हाे त्यसकाे। (त्यसकाे) भारतीयकरण (हाे)।

अनि, एउटी आमा छाेरी जन्मेकै दिनदेखि उनलाई घृणा गर्न थाल्छिन्। जुम्ल्याहा छाेरा मर्छ। उनकी दाई भन्छिन् कि जुम्ल्याहा बच्चाहरुमा जाे बढी स्वास्थ्य हुन्छ, ऊ अर्काे बच्चालाई दबाइदिन्छ। (यसरी) कमजोर बच्चा बित्याे।

ऊ हुन्थ्याे त वारेस हुन्थ्याे। केटी वारेस हुन सक्दिन। कहिल्यै आमाले छाेरीलाई वारेसकाे रुपमा हेरिन। आमाकाे घृणाकाे छाँयामुनि छाेरी मानसिक राेगी हुन्छिन्। याे पनि भयाे।

के कमि थियाे छाेरीमा? एकजना केटा गायक खाेजेर वारेस बनाउँछिन्…याे के लजिक हाे? छाेरीलाई एक्लै मर्न छाडिदिन्छन्।… कस्ती आमा हाे? याे कस्ताे ख़तरनाक महत्वाकांक्षा हाे जो हत्याहरु/आत्महत्याहरुतर्फ लैजान्छ….! हामी फिल्मकाे दृष्यहरुकाे सम्माेहनमा बाँधिएका छाैं….कथा खतरनाक छ, दुखद् छ।’

निवेदिता झाले ‘मलाई त फिल्म राम्राे लाग्याे’ भनेर थप कमेन्ट गर्दा गीताश्री जवाफमा याे लेख्दै आफ्नाे कुरा स्पष्ट पार्छिन्, ‘सबैकाे कसी अलग हुन्छ। फिल्म खराब छैन… केवल त्यसकाे कन्टेन्टसँग असहमति छ।’

तृप्ति डिमरी

‘अब हेर्छु’ भनेर कमेन्ट गरेकी अनुशक्ति सिहँलाई उनी भन्छिन्, ‘सुन। मन खराब हुन्छ। डार्क मुभी हाे। हेर। दिनमा हेर। रातमा कदापि नहेर्नु। (याे मेराे) चेतावनी हाे। अलग-अलग पहरहरुमा याे फिल्मले अलग-अलग असर गर्छ।’

‘हेरुँ कि नहेरुँ?’ भनेर उनलाई साेध्ने वृद्ध बसन्त जेट्लीलाई जवाफ दिदै उनी लेख्छिन्, ‘हेर्नुहाेस्। बस्, पपकर्न खाइरहनुहाेस्।’

अहिलेसम्म मैले याे ठम्याउन सकिरहेकाे थिइन कि आखिर गीताश्री के भन्न चाहन्छिन्? एकातर्फ उनी ‘क़ला’ लाई ‘मास्टरपिस’, ‘माेस्ट वाच फिल्म’ भनिरहेकी छिन्, फिल्म उत्कृष्ट छ, केवल यसकाे कन्टेन्टमा समस्या छ भनिरहेकी छिन्, अर्काेतर्फ फेरि फिल्मलाई कथा माैलिक नभएकाे, ‘ब्ल्याक स्वान’ काे कथालाई चाेरेर बनाएकाे, स्त्री वा महिलालाई चरम अवमूल्यन गरेकाे, पितृसत्तावादी र चरम स्त्रीद्धेषी साथै चरम अवसादपूर्ण पनि भनिरहेकी छिन्। यस फिल्मलाई लिएर उनी आफै दाेधारमा देखिन्छिन्।

१२ दिसंबरमा उनी फेसबुकमा लेख्छिन्,

‘सिनेमा एक उच्च स्तरीय कला हाे। यस कलाकाे उद्देश्य मनुष्यकाे आत्मालाई राम्राेपनाकाे लागि तयार गर्नु हाे। फिल्महरु बनाउनुकाे मेराे उद्देश्य याे हाे कि मानिसहरुलाई जिउनमा केही मदत गर्न सकुँ।’

– तारकोव्सकी

‘क़ला’ काे एउटा दृष्यमा स्वास्तिका मुखर्जी र तृप्ति डिमरी

यस पाेष्टमा उनले फिल्मबारे केही उल्लेख नगरे पनि उनकाे याे पाेष्ट ‘क़ला’ प्रति नै लक्षित छ भन्ने कुरा बुझ्न गाह्राे थिएन। उनले याे कुरा ‘क़ला’ कै सन्दर्भमा भनेकी हाे भन्ने कुरा उनका फेसबुक फ्रेन्डहरुले बुझिसकेका थिए जुन कुरा यस पाेष्टकाे तलतिर कमेन्ट बक्समा गरिएकाे कमेन्ट पढेर थाहा पाउन सकिन्छ।

घरि के, घरि के भनेर अहिलेसम्म दिगभ्रमित देखिएकी गीताश्री अब १२ दिसंबरकै दिन यस फिल्मबारे आफ्नाे धारणा सुस्पष्ट पार्दै एउटा २ मिनेट ४१ सेकेन्डकाे भिडियाे बनाएर आफ्नाे फेसबुकमा पाेष्ट गर्छिन्। पाेस्टमाथि यस्ताे नाेट लेख्छिन्,

एक गंभीर , पढे-लेखेकी महिला दर्शक ‘कविता जड़ियाकाे प्रतिक्रिया –

‘क़ला’ फिल्ममाथि। सीधै भान्साकाेठाबाट।

डिस्क्लेमर – याे पूर्ण रुपमा उनकाे विचार हाे, पोस्टकर्ताकाे सहमति जरुरी छैन। 🙏😄

उनले उक्त भिडियाेमा बाेलेकाे कुरा यस्ताे छ,

‘नमस्कार, अस्ति मैले एउटा फिल्म हेरे, जसकाे अहिले खूबै चर्चा चलिरहेको छ, ‘क़ला’। ‘क़ला’ एक अत्यन्त सुन्दर फिल्म हुन सक्थ्याे, यदि यसकाे उद्देश्य पनि उति नै सुन्दर भएकाे भए। यस्ताे मलाई लाग्याे।

‘क़ला’ काे जुन छायांकन थियाे, यस्ताे छायांकन मैले थाहा पाएअनुसार पहिलोपटक हेरेकाे हुँ। यसकाे हरेक दृष्य चित्र समान लागिरहेको थियाे। तर फिल्म आफ्नाे समग्र प्रभाव छाेड्नमा भने सफल हुन सकेन भनेर भन्न सकिन्छ। किनभने, एक जीजीबिषा (जीवनलाई राम्राे बनाउने इच्छा वा जीवनप्रतिकाे प्रेम र आशावाद) काे सन्देश फिल्मले कहीँ पनि दिन सकेन।

अनि, स्त्रीकाे जस्ताे मनाेविज्ञान यस फिल्ममा देखाइएकाे छ, त्यस्ताे मनाेविज्ञान के वास्तवमा हाम्राे भारतीय समाजमा यहाँका स्त्रीहरुकाे छ त? अनि के अधिकाँश स्त्री वा स्त्री समुदायमाथि यसलाई थाेप्न सकिन्छ फिल्मकाे माध्यमबाट?

फिल्मकाे सार यदि एक वाक्यमा भन्ने हाे भने, यदि एक वाक्यमा फिल्मकाे समीक्षा गर्न चाहने हाे भने याे भन्न सकिन्छ कि, ‘क़ला’ रुप चाहिँ सुन्दर भएकाे तर सार चाहिँ कुरुप वा बीभत्स भएकाे सिनेमा हाे। किनभने, यसमा भविष्यकाे लागि कुनै यस्ताे सन्देश वा परिकल्पना पाइन्दैन जसले समाजकाे हित गराेस्, मानव जातिकाे हित गराेस्।

अर्काे कुरा, स्त्रीहरुकाे मनाेविज्ञानकाे जुन रुप यहाँ दर्शाइएकाे छ, त्याे मनाेविज्ञान वास्तवमा कालाे पक्ष हाे। याे मनाेविज्ञान पढ्दा मलाई यस्ताे कहिल्यै लागेन कि स्त्रीहरु यस्ताे पनि हुन सक्छन् जस्ताे यस फिल्ममा दर्शाइएकाे छ। मलाई लाग्छ, कतिपय कुराहरु हामीमाथि समयअगावै थाेपिन्छ। उदाहरणका लागि नुडल्स हाम्राे भारतीय बजारमा आउनु। दुई मिनेटमा पाकेर तयार हुनु र हाम्रा बालबच्चाहरुकाे पेट भर्नु। सर्वप्रथम त्यसकाे विज्ञापन आउनु अनि बजारमा प्राेडक्ट आउनु अनि त्यसपछि सबैजना त्यसकाे एडिक्ट हुनु।

फिल्म पनि समाजकाे ऐना हुन् भनिन्छ। याे फिल्म हामीलाई यस्ताे समाजतर्फ लिएर जान्छ जहाँ सम्बन्धमा अविश्वास र तिक्तता हुन्छ। जहाँ स्त्रीहरुकाे छविलाई खराब बनाइन्छ, उनीहरुलाई खलपात्र बनाइन्छ, अनि जहाँ मानव झुठो महत्वाकांक्षा, झुठाे स्वप्न, दीवास्वप्न अनि यस्ताे उद्देश्यतर्फ दाैडिन्छ जसकाे कुनै अन्त्य हुँदैन। अनि अन्त्य भए पनि त्याे हत्या र आत्महत्याकाे रुपमा हुन्छ। फिल्मकाे याे विचार मलाई मनपरेन। त्यसैले, ‘क़ला’ लाई सुन्दर हुँदाहुँदै पनि पूर्ण रुपले असफल फिल्म मान्छु। धन्यवाद।’

गीताश्री यतिमै आफ्नाे बहस टुँगाउँदिनन्। १५ दिसंबरमा उनी ‘क़ला’ बारे लेखिएका तीनवटा पाेष्टहरु सेयर गर्छिन्। पहिलाे पाेष्ट आशुतोष कुमारकाे सेयर गर्छिन् जुन उनले १५ दिसंबरमा लेखेका हुन्। पाेष्टकाे माथि यस्ताे लेख्दै उनी आशुतोषकाे पाेष्ट सेयर गर्छिन्,

साहित्यकाे कसीमा फिल्मकाे समीक्षा गर्नेहरुले याे पोस्ट पढ्नुपर्छ। यदि याे पोस्टकाे काट् छ भने कुरा गर्नुहाेस्। छिछला भावुकता र थाेत्रा दलीलहरुबाट तपाईं कसैलाई चुप गराउन सक्नुहुन्न। यहाँ उसै पनि फिल्म समीक्षक धेरै छन्…पत्रकारहरुका काम सजिलाे बनाइरहेका छन्…। खैर ! पढ्नुहाेस्, एक गम्भीर पोस्ट –

‘क़ला’ फ़िल्म निर्मम दुखांतहरुकाे एउटा श्रृङखला हाे तर ती सबै मिलेर पनि त्रासदीकाे उच्च अनुभूति जगाउन सक्दैनन्। यसकाे कारण याे हाेइन कि याे फिल्मका कुनै पात्र महान् आदर्शलाई पछ्याइरहेका छैनन्।। यहाँ त मुक्तिबोधी ‘नीच’ त्रासदीकाे अनुभूति पनि छैन, जसकाे लागि कम्तिमा एक साँचाे लाग्ने पश्चाताप चाहिन्छ। कुनै नैतिक शून्य पनि यसकाे कारण हाेइन। फिल्मकाे नैतिक अवस्थिति स्पष्ट छ। याे जीवनमा शर्टकट लिने प्रवृत्ति विरुद्ध लगभग एउटा नैतिक वक्तव्य नै हाे।

समस्या याे छ कि नायिका क़ला यस्ताे शर्टकट लिन्छिन्, अथवा फिल्मकाे महत्वपूर्ण चरित्र जो ठूलाे फैसला लिन्छन्, कथानक त्यसलाई अपरिहार्य वा अनिवार्य फैसलाकाे रूपमा स्थापित गर्न सक्दैन। याे कुरा उर्मिला, कला र जगन तीनैजनाकाे फैसलाहरुमाथि लागू हुन्छ। भुवनेश्वरकाे ‘भेड़िए’ कथालाई यस सन्दर्भमा याद गरिन्छ, तर त्याे कथामा परिस्थितिकाे जुन किसिमको अपरिहार्यता र अनिवार्यता छ, त्याे याे फिल्ममा कहाँ छ?

भव्य सिनेमेटोग्राफी, समृद्ध सांकेतिकता, संवेदनशील अभिनय र विलक्षण (ब्रिलिएंट) संगीत कथानककाे कमजोरीलाई पुरताल गर्न सक्दैनन्। यस फिल्ममा जस्ताे सिनेमेटोग्राफी छ, त्याे कथानकलाई उभार्नका लागि हाेइन, कथानक चाहिँ सिनेमेटोग्राफीका लागि आएकाे जस्ताे लाग्छ।

फिल्मकाे सार्थकता, बन्दना (उनकाे मित्र) ले भनेझै, फिल्म उद्योगकाे महान् ‘उपलब्धिहरु’ र ‘सफलताहरु’ काे पछाडिकाे कालाे, ओझेलमा परेकाे पक्षलाई उजागर गर्नमा अवश्य देख्न सकिन्छ।’

दाेस्राेमा, तेजी ग्राेभरकाे अँग्रेजीमा लेखिएकाे पाेष्ट निम्न क्याप्सनका साथ सेयर गर्छिन्, कला फिल्मलाई लिएर एक गम्भीर पाेष्ट !!

तेजी ग्राेभरले १४ दिसंबरमा अँग्रेजीमा लेखेकी पाेष्ट जसकाे नेपाली अनुवाद लगभग यस्ताे सुनिन्छ,

‘याे फिल्म (क़ला) हेरे जसकाे धेरै साथीहरु गुनगान गाइरहेका छन्। (फिल्मका) कलात्मक छविहरु दिमागमा छापिएका छन् मलाई कति पनि नछाेइकन…याे अति नै मेलाेड्रामा भयाे, जसलाई त्रुटिरहित शटहरुद्वारा कम्पाेज गरिएकाे छ…अनि कलाकाे लागि, यसले कुनै अन्तर्दृष्टि प्रदान गर्दैन। मैले साेचेकाे थिए म (यसमा) मानसिक स्वास्थ्यकाे झलक पाउनेछु जसबाट आफुलाई शिक्षित गर्न सकुँ। तर मैले त्याे झलक पनि पाइन। म केवल पुराना मास्टरहरु जस्तै (श्याम) बेनेगल र अरुहरुलाई मिस गरिरहेको थिए…अनि अरु धेरै हालका सही भिजन भएका फिल्ममेकरहरुलाई। भारीभरकम काम थियाे मेराे थकित-गलित मस्तिष्कलाई ती रुग्ण दृष्यहरुबाट अलग गर्नु जुन कलाकाे स्तरसम्म उठ्न वा उदाउन सकेन।’

‘क़ला’ काे एउटा दृष्यमा बाबिल खान

अन्त्यमा उनी मृदुला गार्गकाे पाेष्टलाई सेयर गर्छिन्, जसकाे क्याप्सनमा उनी लेख्छिन्,

‘अब भन्नलाई के नै बाँकी रह्याे…बाेल ‘कला’

‘सोचेकी थिए ‘कला’ फिल्मकाे बारेमा केही भन्दिन। तर एउटा कुरा भन्नू जरूरी लागिरहेकाे छ। त्यसमा केवल एउटा पात्र छ जसकाे चरित्र अंकन र जीवन मनोवैज्ञानिक दृष्टिले तर्कसंगत छ र त्रासद पनि। जगन। ईर्ष्यावश उसलाई पाराे दिइनु, उसकाे आवाज गम्नु अनि आत्महत्या, सबै कलात्मक छ र प्रामाणिक। याे दीगर हाे कि यस्ताे दृष्टांत मेराे पुस्ताले वास्तविक जीवनमा देखेकाे छ। मेराे जवानीकाे दिनहरुमा फिल्म जगतमा मास्टर मदन नामक एक युवा अप्रतिम संगीतकार उदाएका थिए। उमेर करीब १६ बर्ष। उसकाे आवाजलाई पनि पाराे खुवाएर समाप्त पारियाे। कसले पाराे दियाे यसकाे प्रमाण छैन, त्यसैले नाम लिन सक्दिन। तर हल्ला थियाे कि त्यसबेलाकाे प्रसिद्ध पार्श्वगायिकाले…खैर मास्टर मदनकाे मृत्यु (आत्महत्या) पश्चात् कुनै प्रमाण बचेन पनि। बाँकी फिल्म कोरा बकवास छ। आमाकाे व्यवहार एउटी पागलकाे जस्ताे छ, जसमा कतै पनि मानवीय वा अमानवीय संगति छैन। जगनकाे गायनकाे मर्मलाई चिनिन्, केवल छाेरीलाई किन (सँगीत) सिक्नबाट राेकिन्, त्यसकाे कुनै तार्किक या अतार्किक संगति बन्दैन। छाेरी एक कमजाेर र सताइएकी आम महिला हुन्, बस्। अरु केही छैन, कला पक्षबाहेक फिल्ममा। तर जगन र अभिनेता ख़ान, वाह वाह।’

मा प्रकाशित