को हुन् एमाले महासचिव पोख्रेललाई हराउने रेखा शर्मा

गणतन्त्रनेपाल समाचारदाता

घोराही । दाङ निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य रेखा शर्मा निर्वाचित भएकी छिन्।

एमालेका हेभीवेट उम्मेदवार एमाले महासचिव शंकर पोख्रेललाई १९६ मत अन्तरले हराउँदै शर्माले जित हासिल गरेकी हुन्।

गठबन्धनको साझा उम्मेदवार रहेकी शर्माले २६८७७ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार पोख्रेलले २६६८१ मत प्राप्त गरेका थिए।

१ लाख ३३ हजार ७४८ मतदाता रहेको दाङ क्षेत्र नं. २ मा ७९ हजार ४४६ मत खसेको थियो।

एमाले महासचिव पोख्रेल सुरुवातदेखि नै रेखालाई पछ्याइरहेका थिए।

को हुन् रेखा शर्मा ?

वि.सं. २०२६ साल असोज ९ गते घोराहीको मसिनामा बुवा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी रेखा शर्माले २०४२ सालदेखि नै राजनीतिक यात्रा शुरु गरेकी थिइन्।

२०४२–०४३ देखि अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी हुन्। अखिलमा आबद्ध भएर राजनीति शुरु गरेकी रेखाले अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को दाङ अध्यक्ष, २०५० मा सोही संगठनको केन्द्रीय सदस्य भइन्।

२०५१ मा वाइसिएलको केन्द्रीय सदस्य समेत रहेकी उनी २०५३ सालदेखि २०५७ सालसम्म माओवादीको महिला संगठन अनेम संघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष रहेर नेतृत्व गरेकी थिइन्।

२०५७ सालमा पार्टीको केन्द्रीय सदस्य बनेकी शर्मा काठमाडौं उपत्यका उपब्युरो इन्चार्ज भइन् । त्यही क्रममा २०५८ चैतमा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेर तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक व्यारेकमा कठोर यातना झेलिन्।

 

युद्धविराम भएर सरकार र माओवादीबीच वार्ता शुरु भएपछि २०५९ चैत ३१ गते सेनाको कष्टडीबाट उनीहरु दुवै मुक्त भएर पार्टीको सम्पर्कमा फर्किएका थिए।

शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो। उनी २०७० र २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्।

२०७० मा संसदीय दलको सचेतकको जिम्मेवारी लिएकी उनी २०७४ मा पनि पार्टी संसदीय दलको सचेतकको भूमिकामा रहेर काम गरेकी थिइन्। संसद र समिति बैठकमा निकै सक्रिय रहने शर्माको अघिल्ला दुई कार्यकालमा कानुन निर्माणलगायत संसदीय गतिविधिमा सक्षम, सक्रिय र सफल सांसदको रुपमा पहिचान बनेको छ।

२०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहिन्।

एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा समेत भएकी उनी गत वर्ष सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहेकी छिन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID