‘धारावी’ (१९९२):- निम्नमध्यम वर्गकाे जीवनकाे यथार्थपरक चित्रण गर्ने फिल्म

सिनेमा चर्चा

प्रभाष

सुधिर मिश्राकाे फिल्म ‘धारावी’ ले राजकरण नामक पात्रलाई केन्द्रमा राखेर मुख्यत: मुम्बईकाे धारावी क्षेत्रमा बस्ने निम्न-मध्यम वर्गकाे जीवनकाे कथा भन्छ। उनीहरुकाे सपना, समस्या र सँघर्षकाे कथा भन्छ। उनीहरुकाे सुख-दुःख, आशा-निराशा, आवेग, हुटहुटी, चिन्ता, कुण्ठा र हिनता, उनीहरुकाे जीवनकाे बिसँगति र नियतिकाे कथा भन्छ। उनीहरुकाे जिजीबिषाकाे कथा भन्छ।

निम्न-मध्यम वर्गीय मानिसहरु गरिब त हुन्छन् तर सर्वहाराजस्ताे दीन-हीन हुँदैनन्। उनीहरुसँग ओत लाग्ने छत र थाेरै सम्पत्ति हुन्छ। (जसरी राजकरणसँग उसकाे आफ्नै ट्याक्सी हुन्छ। पति-पत्नी दुवैजना काम गर्छन्, कमाउँछन्।) उनीहरु आफ्नाे आयबाट बचाएर कुनै व्यापार-व्यावसाय गर्न धेरथाेर पुँजी पनि जुटाउन सक्छन्।

तर उनीहरु धनी चाँहि हुँदैनन्। किनभने एकदिन काम नगर्ने हाे भने उनीहरुकाे चुलामा आगाे बल्दैन। उनीहरुकाे किस्ता तिरिन्दैन। उनीहरुकाे जिन्दगीकाे गाडी राेकिन्छ। उनीहरुकाे सारा व्यवस्था गडबड हुन्छ।

उनीहरु समाजका गरिखाने वर्गका (बसिखाने वर्गकाे हाेइन) आमजनता हुन्। समाजरुपि पिरामिडमा याे वर्ग पीँधमा नै रहेकाे छ। याे यस्ताे vulnerable वर्ग हाे जाे नाजुक डिल उभिएकाे छ र कुनै पनि बेला सर्वहारामा झर्न सक्छ।

याे वर्गमा माथि उठ्ने (आर्थिक उन्नति गर्ने, आफ्नाे आर्थिक-सामाजिक हैसियतलाई माथिल्लाे स्तरमा पुर्‍याउने, धनी हुने) तीब्र आकाँक्षा हुन्छ।

त्यसकाे लागि याे वर्ग आफ्नाे बलबुताले भ्याएसम्मका प्रयत्नहरु पनि गर्छ। आफ्नाे बुद्धि र गच्छेअनुसारकाे याेजना बनाउँछ, पुँजी जुटाउँछ र ‘केही गर्ने’ प्रयास गर्छ।

तर याे वर्ग जुन समाजमा बाँचिरहेकाे छ, त्यहाँकाे परिस्थिति वा त्यसभित्रकाे (अ) सामाजिक व्यवस्था (Ecosystem) तथा राज्यव्यवस्था नै उनीहरुकाे लागि प्रतिकुल बनिदिन्छ।

याे समाज वा राज्यव्यवस्थामा उनीहरु आफ्नाे सपना साकार पार्न सक्दैनन्। याे ‘व्यवस्था’ मा उनीहरु माथि उठ्न सक्दैनन्। यसकाे सँरचना र यसभित्रकाे व्यवस्था (Ecosystem) ले उनीहरुलाई माथि उठ्न दिदैन।

त्यसलै याे ‘Ecosystem’ सँग उनीहरुकाे अन्तरविरोध र द्वन्द्व हुन्छ। उनीहरु याे Ecosystem सँग जुध्छन्। यसभित्र रहेर आफ्नाे सपना साकार पार्न, आफ्नाे आर्थिक अवस्था उकास्न सँघर्ष गर्छन्, लड्छन् र हार्छन्।

तर Ecosystem सँग हारेर पनि उनीहरु हार मान्दैनन्, उनीहरु फेरि उठ्छन् र फेरि लड्छन्। फेरि अर्काे सपना देख्छन् र त्यसलाई साकार पार्ने प्रयत्न गर्छन्। याे क्रम निरन्तर चलिरहन्छ।

‘धारावी’ काे पाेस्टर

‘धारावी’ शिर्षक पनि एकदमै प्रतीकात्मक लाग्छ। ‘धारावी’ काे अर्थ हुन्छ ‘बालुवा’ (quicksand).

जसरी मरुभूमिमा चम्किने बालुवालाई टाढाबाट हेर्दा पानीकाे सराेबर जस्ताे देखिन्छ तर नजिकै पुगेपछि थाहा हुन्छ, त्याे पानीकाे सराेबर हाेइन। त्यहाँ कुनै सराेबर छैन, त्यहाँ त भतभती पाेल्ने ताताे बालुवामात्र छ। बालुवालाई हेर्दा देखिने पानीकाे सराेबर एउटा भ्रम मात्र हाे।

त्यसैगरि, त्यही ‘धारावी’ अर्थात बालुवाकाे बिम्बकाे सहायताले ‘धारावी’ फिल्मले बताउँछ कि याे जीवनविराेधी-असामाजिक व्यवस्थाभित्र निम्न-मध्यम वर्गले देख्ने संवृद्धिकाे सपना पनि यस्तै एउटा भ्रम हाे, धारावी (बालुवा) हाे। याे संवृद्धिकाे सपनाकाे पछि लाग्दा ताताे भतभती पाेल्ने बालुवामात्र भेटिन्छ, प्यास बुझाउने र शरीरलाई शितलता प्रदान गर्ने पानीकाे सराेबर कतै पनि भेटिन्दैन।

अर्काे दृष्टिकोणबाट याे ‘धारावी’ (बालुवा) काे बिम्बलाई अर्काे ‘धारावी’ (बम्बई सहरकाे बस्ती) सँग पनि सादृष्य गरेर हेर्न सकिन्छ। किनभने, बम्बई वा अन्य कुनै पनि सहरले मुलुकवासीहरुलाई (यस फिल्ममा गाउँवासीहरुलाई मुलुकवासी भनेर सम्बाेधन गरिएकाे छ) यस्तै भ्रम दिन्छ। ‘धारावी’ (बम्बई सहरकाे याे सुकुम्बासी बस्ती यहाँनिर सहरकाे बिम्ब वा प्रतिनिधि हाे) जसलाई टाढाबाट हेर्दा चकाचाैंध, झकिझका‌ऊ र भव्य देखिन्छ तर नजिकैबाट हेर्दा थाहा हुन्छ, याे त मृगमरिचिका पाे रहेछ। भ्रम पाे रहेछ। यसकाे वास्तविकता त अर्कै रहेछ। हेर्दा स्वर्ग जस्ताे देखिने सहर त नजिकबाट देख्दा-भाेग्दा-चाख्दा-अनुभव गर्दा त गरिब मुलुकवासी-आप्रवासीहरुका लागि नर्क पाे रहेछ।

‘धारावी’ का लेखक-निर्दैशक सुधिर मिश्राले धारावी (बालुवा, बस्ती) लाई प्रतीक बनाएर थुप्रै चीजहरुमाथि कटाक्ष गरेका छन्। उनले धारावी रुपि सहरमाथि, गरिबहरुकाे इच्छा र सपनामाथि अनि याे जनविरोधी व्यवस्थामाथि कटाक्ष गरेका छन्। उनले ‘धारावी’ काे बिम्बकाे प्रयाेग बहुआयामिक ढँगबाट गरेका छन्।

बालुवा मरुभूमिकाे यथार्थ हाे, बालुवा सहरकाे पनि यथार्थ हाे। सहर पनि यस्तै बालुवाले भरिएकाे मरुभूमि हाे जसलाई पेलेर कहिल्यै पनि ‘तेल’ अर्थात् गरिबहरुकाे लागि संवृद्धि निस्कन्दैन वा निकाल्न सकिन्दैन। याे बालुवाले भरिएकाे मरुभूमिजस्ताे सहरमा गरिबहरुका सपनाकाे बिरुवा उम्रिन्दैन र हुर्किन्दैन बरु ओइलिएर जान्छ, सुकेर जान्छ किनभने उनीहरुकाे सपनाकाे बिरुवालाई हुर्काउनका लागि उपयुुक्त ओस, जलवायु, खनिज र खाधपद्धार्थ याे सहरकाे धरातलमा उपलब्ध छैन। याे कंक्रिटकाे जँगलमा गरिबहरुकाे अर्ग्यानिक सपनाका बिरुवाहरु हुर्किन्दैनन्। बरु कंक्रिटकाे सेप लागेर मर्छन्।

यहाँनिर याे कुरा पनि बताइहालु, धारावी बम्बई (हाल मुम्बई) महानगरकाे बीचमा अवस्थित, महानगरकाे विशाल क्षेत्र ओगटेकाे, मीलाैं लामाे क्षेत्रफलमा फैलिएकाे सुकुम्बासी बस्ती हाे। याे भारतकाे मात्र हाेइन, एसिया महादेशकै सर्वाधिक ठूलाे सुकुम्बासी बस्ती हाे। यहाँ मुख्यतः बम्बई (हाल मुम्बई) बाहिरबाट आएका आप्रवासीहरु (देशका अन्य ग्रामीण क्षेत्रबाट राेजगार खाेज्दै आउने मानिसहरु, मुलुकवासीहरु) बस्ने गर्छन् र जीविकापार्जनकाे लागि त्यहाँकाे प्रतिकुल परिस्थितिसँग सँघर्ष गर्ने गर्छन्।

‘धारावी’ का बासिन्दाहरु

‘धारावी’ फिल्मकाे पृष्ठभूमिमा बम्बईकाे यही सुकुम्बासी बस्ती छ। यस फिल्मकाे परिवेश यही सुकुम्बासी बस्ती ‘धारावी’ हाे र यही धारावीमा बस्ने तल्लाे वर्गका मानिसहरुकाे जनजीवनलाई फिल्मले चित्रण गरेकाे छ। उनीहरुकाे जीवनकाे जटिलता, बिसँगति, अन्तर्विराेध र द्वन्द्धलाई दर्शाएकाे छ।

‘धारावी’ मा प्रयुक्त अर्काे प्रतीक हाे, ऊँटकाे। मरुभूमिकाे याे जनावर शहरमा आउँछ र एकदिन मारिन्छ। याे देखेर राजकरण भन्छ, ‘याे साला मरुभूमिकाे जनावर यहाँ समुन्द्र (सहर) मा किन मर्न आइपुग्याे?’

लगत्तै उसलाई बाेध हुन्छ कि उनीहरु सबै मरुभूमिकाे जनावर (ऊँट) ‌जस्तै हुन्, जाे आफ्नाे मुलुक (मूलथलाे) लाई छाेडेर अपरिचित र बिरानाे भूमि वा सहरमा मर्न आएका छन्। ऊ भन्छ, ‘भन्ने हाे भने सबै उस्तै हुन् यहाँ। सबै मरुभूमिका जनावर हुन्, मुलुक छाेडेर यहाँ मर्नका लागि आएका छन्।’ अर्थात्, याे सहरमा उनीहरुकाे अवस्था उक्त ऊँटकाे भन्दा रत्तिभर पनि भिन्न छैन। थाहा छैन, कुन दिन उनीहरुकाे हालत पनि त्यही ऊँटकाे जस्तै हुने हाे? याे प्रसङ्गले सहरमा आएर बसिरहेका समस्त आप्रवासीहरु (मुलुकवासीहरु) काे जीवनकाे असुरक्षित-धरमर अवस्था वा नियतिलाई दर्शाउँछ। याे वर्ग कति जाेखिमपूर्ण अवस्थामा छ भन्ने कुरालाई दर्शाउँछ।

‘धारावी’ काे प्रमुख विशेषता के हाे भने यसले निम्न-मध्यम वर्गकाे सटिक चरित्रचित्रण प्रस्तुत गर्छ। निम्न-मध्यम वर्ग आफ्नाे जीवनमा जुन चीज छैन त्याे चीजलाई ‘फ्यान्टसाइज’ गर्छ अर्थात् मनमनै त्यसकाे परिकल्पना गर्छ। आफ्नाे जीवनमा जुन चीज छैन त्याे चीजकाे अथवा आफुले जीवनमा जुन चीजलाई पाउन सकिन्दैन त्याे चीजकाे मनमनै परिकल्पना गर्छ, मनभित्र त्याे चीजलाई पाएकाे सपना देख्छ। सपनामा त्याे चीजसँग खेल्छ।

राजकरण त्यही निम्न-मध्यम वर्गकाे प्रतिनिधि हाे। त्यसैले, राजकरण पनि चीजहरुलाई खुब ‘फ्यान्टसाइज’ गर्छ। सपना देख्छ। सपनामा ऊ माधुरी दिक्षितसँग वार्तालाप गर्छ। सुन्दर, मनाेहर रुपरङ, काया र माया (charisma) भएकी, कराेडाैं दिलहरुकाे धड्कन माधुरी दिक्षितसँग। माधुरी उसकाे सपनाकी रानी हुन्छिन्। उसकाे प्रेमिका, उसकाे सुखदु:खकाे साथी र उसकाे अंतरङ मित्र हुन्छिन्। राजकरण आफ्नाे कुनै पनि कुरा माधुरी दिक्षितसँग लुकाउँदैन। आफुले गरेकाे कुराहरुलाई ऊ बढाइचढाइ सपनामा माधुरीलाई सुनाउँछ। आफुले गर्न खाेजेकाे वा गर्न चाहेकाे कुरालाई पनि खुब बढाइचढाइ फूलबट्टा भरेर प्रस्तुत गर्छ अनि आफुले गर्न नसकेकाे कुरालाई पनि ‘मैले फत्ते गरे’ भन्ने गर्छ। फ्रस्टेशन मेट्ने र आत्मतृप्त गर्ने वा आत्मरतिमा रमाउने याे आममानिसकाे एक ‘डिफेन्स मेकानिजम’ हाे।

माधुरीसँग राजकरण

माधुरीपछि राजकरणकाे अर्काे सपना हाे, एउटा फ्याक्ट्रीकाे मालिक बन्ने। माधुरी दिक्षितलाई त ऊ कहिल्यै पाउन सक्दैन। त्यसैले ऊ माधुरीलाई सपनामै सीमित राख्छ र फ्याक्ट्री मालिक बन्ने सपनालाई साकार पार्न जाेडबल गर्छ। किनभने उसकाे याे सपना साकार हुन सक्ने ठाेस आधार छ।

दाेस्राे कुरा, आममानिस वा निम्न-मध्यम वर्गकाे सपना र सिनेमाकाे अन्तरसम्बन्धलाई पनि यस फिल्मले स्पष्टसँग देखाएकाे छ। खासगरि याे वर्गकाे मानिसले देख्ने सपनाकाे उसले हेर्ने सिनेमासँग अन्याेन्याश्रित सम्बन्ध हुन्छ। सिनेमाले उसलाई सपना देख्न सिकाउँछ।

सुकुम्बासी बस्तीमा बस्ने, कष्टकर जीवन बिताइरहेकाे, दु:ख पाएकाे राजकरण वर्तमान परिस्थितिदेखि उम्कन चाहन्छ। ऊ याे गरिबीकाे अवस्थादेखि माथि उठ्न चाहन्छ र उसकाे याे ‘माथि उठ्ने चाहना’ लाई अनिल कपूरकाे एउटा सिनेमाले तुष्टिकरण गर्छ।

याे सिनेमाकाे अनिल कपूर पनि उसकै वर्गकाे हुन्छ। ऊ जस्तै गरिब र दु:ख पाएकाे चरित्र हुन्छ। परिस्थिति वा बाध्यताकाे फन्दामा परेर ऊ जस्तै याे पात्र सहरकाे सुकुम्बासी बस्तीमा बस्न आइपुगेकाे हुन्छ जहाँ ऊ र उसकी आमाले चरम गरिबी र उत्पीडन झेल्नुपर्छ, यही गरिबी र उत्पीडनकाे भट्टीमा खारिएर ऊ इस्पात बन्छ अनि एकदिन त्यही सहरकाे बेताज़ बादशाह बन्छ र त्यस सहरमाथि राज गर्छ। गरिबी र उत्पीडनकाे आगाेले बस्तीकाे बच्चा-बच्चालाई आफुजस्तै विद्राेही बनाउने उसकाे विश्वास हुन्छ।

अनिल कपूरकाे फिल्मकाे याे प्रतीकात्मक कथाले सन् १९८० र १९९० काे दशककाे हिन्दी सिनेमाकाे मूलधारकाे ‘एक्युरेट’ चित्रण गर्छ। त्यसबेला देश आर्थिक रुपमा गरिब थियाे, मानिसहरु गरिब थिए। यी गरिबहरुमा छट्पटाहट थियाे, यिनीहरु गरिबीदेखि माथि उठ्न उद्देलित थिए, अधैर्य थिए। याे उद्देलन र अध‌ैर्यता राजकरणकाे चरित्रमा पनि देखिन्छ। एउटा दृष्यमा राजकरणले बाेलेकाे संवाद, ‘मान्छेहरु भन्छन्, राजकरण त सधैं हतारमा हुन्छस्, धेरै हतार गर्छस्। मेरी स्वास्नी पनि यही भन्छे। अब म हतार नगरेर के गरुँ? याे बम्बई सहर हाे, मुलुक त हैन’ ले उसकाे याे उद्देलन र अधैर्यतालाई देखाउँछ।

सिनेमाहरुले यिनीहरुकाे यही सेन्टिमेन्ट्सलाई ‘क्यास’ गर्दै यस्ता पात्रहरु अपराधकाे सँसारमा प्रवेश गरेर शक्तिशाली बनेकाे र आफुमाथि उत्पीडन गरेकाे व्यक्ति वा सहरमाथि नै शासन गरेकाे देखाए। अर्थात् यस वर्ग/पात्रलाई ‘फ्यान्टसाइज’ गरे। जुन सपनामा राजकरणजस्ता आममानिस (आम निम्न-मध्यम वर्ग र सर्वहारा वर्गका मानिसहरु) लट्ठिए र यसैकाे ‘फ्यान्टसी’ मा रमाउन थाले। आज पनि रमाइरहेका छन्। ‘पुष्पा’ र ‘केजिएफ’ जस्ता सिनेमाहरुलाई आममानिसले गरेकाे सेलिब्रेशन यसकाे पछिल्लो उदाहरण हुन्।

अर्थात् त्यसबेला समाजमा राजकरणजस्ता ‘Bottom of the pyramid’ मा रहेकाहरुकाे बाहुल्यता थियाे। त्यसैले, त्यस्ता फिल्महरु बने र राजकरणजस्ता आममानिसहरुलाई उद्देलित गरिरहे। फिल्ममा अनिल कपूरकाे त्यस्तै सिनेमा हेरेर राजकरण उद्देलित भएकाे देखाइएकाे छ। तर ऊ उक्त सिनेमाकाे अनिल कपूरजस्ताे विद्राेही बन्न सक्दैन। उसमा त्याे सामर्थ्य छैन। उसमा विद्राेह गर्ने शक्ति वा तागत छैन। सपना र वास्तविकता, सिनेमा र यथार्थ जीवनबीचकाे अन्तर यहाँनिर उजागर हुन्छ। सामर्थ्य नभएपछि सिनेमामा अनिल कपूरलाई हेरेर तुष्टिकरण लिनु उसकाे नियति बन्न जान्छ। याे ‘डिफेन्स मेकानिजम’ हाे। यसरी सिनेमा उसकाे डिफेन्स मेकानिजम बनिदिन्छ।

अर्काे शब्दमा, राजकरणजस्ता आममनिस वा निम्न-मध्यम वर्गकाे जीवनमा जुन बिसँगतिहरु व्याप्त हुन्छन्, ती बिसँगतिहरु उत्पन्न हुन्छन् उसले देख्ने मानवीय सपनाबाट र त्याे सपना देख्नमा उसलाई मुख्यत: सिनेमाहरुले प्रेरित गर्छन्।

तर, सपना सबैकाे पूरा हुदैन। कसै-कसैकाे मात्र पूरा हुन्छ। अनिल कपूरले सिनेमामा हासिल गरेकाे कुरा राजकरणले आफ्नाे वास्तविक जीवनमा हासिल गर्न सक्दैन। त्याे सम्भव छैन। अक्सर सपनाकाे संसार जति सुन्दर हुन्छ, वास्तविकताकाे सँसार उति नै भयावह र क्रूर हुन्छ। सिनेमा हेरेर वा सपना देखेर आफैलाई बहलाउन त सकिन्छ तर जिन्दगीकाे वास्तविकतालाई बदल्न सकिन्दैन। सपना र वास्तविकता बीचकाे यही बिसँगतिलाई ‘धारावी’ ले चित्रण गर्छ।

माधुरी दिक्षितसँग राजकरण उर्फ ओम पुरी

राजकरण आफू वास्तविकतामा जे गर्न सक्दैन, सपना (काल्पनिकता) मा त्याे गर्छ र अरुकाे सामु ‘मैले यसाे गरे र मैले उसाे गरे’ भन्दै डिँग हाँकेर आत्मसन्तुष्टि लिन्छ जबकि उसलाई याे राम्राेसँग थाहा छ कि वास्तविकतामा ऊ त्यसाे गर्न सक्दैन। तर ऊ आफ्नाे मनकाे तुष्टिकरणकाे लागि आफुले त्यसाे गरेकाे झुटाे कल्पना गरिरहेकाे हुन्छ, झुटाे विश्वासलाई खडा गरिरहेकाे हुन्छ। फिल्मकाे एउटा दृष्यमा राजकरण डनकाे सामु गएर आफुलाई ‘मिसयुज’ गरेकाे र तिनीहरुकाे अपराधकर्ममा सामेल गरेकाेमा राेष प्रकट गर्छ तर डनले उसलाई त्यहाँबाट हप्काएर भगाइदिन्छ। ऊ डनलाई केही गर्न सक्दैन, डनकाे राैं पनि हल्लाउन सक्दैन किनभने ऊ डनकाे अघि निर्बल हुन्छ, लाचार हुन्छ। डनलाई दण्ड दिन नसकेकाे क्षाेभ उसकाे मनभित्र हुन्छ।

अनि ऊ के गर्छ भने ‘डिफेन्स मेकानिजम’ खडा गर्छ। ‘डिफेन्स मेकानिजम’ काे रुपमा ऊ सपनाकाे सँसार खडा गर्छ र त्याे सँसारमा सुन्दर माधुरी दिक्षितलाई आफ्नाे समिपमा राख्छ अनि उनकाे सामुन्ने राजकरण छात्ती फुलाएर, गर्वका साथ, ठूलाे-ठूलाे स्वरमा आफुले ती गुण्डाहरुलाई थर्काएकाे, उनीहरुलाई खुट्टा काटिदिने भन्दै धम्काएकाे, उनीहरुलाई कसैमाथि हात नलगाउन, कसैलाई बिनासित्तिमा नकुट्न चेतावनी दिएकाे नत्र आफुले तिनीहरुकाे रामधुलाई गर्ने भनेकाे, उसकाे कुरा सुनेर उनीहरु डरले थुरथुर कामेकाे, उनीहरुकाे हावा फुस्केकाे, उनीहरुकाे बाेलती बन्द भएकाे र उनीहरुले आँखा उठाएर पनि हेर्न नसकेकाे आदि डिँग हाँक्छ।

माधुरी दिक्षितसँग राजकरण

सपनामा माधुरी दिक्षितपछि ऊ विपनामा आफ्नाे छाेराकाे सामुन्ने पनि यही डिँग हाँक्छ। ऊ छाेरालाई ‘मैले (त्यसलाई कुट्नुकाे लागि) हात उठाइसकेकाे थिए, तर फेरि (भइगयाे भनेर त्यसलाई) छाेडिदिए, यदि मेराे हात त्याे माथि बज्रेकाे भए त्यसले जिब्राे टाेक्नेथ्याे’ भन्छ। अनि अगाडि भन्छ, ‘के भने नि बिजनेसमा चुप बस्नुपर्छ।’ अनि रुँदै भन्छ, ‘तेराे बाऊ राजा हाे नि त याे सहरकाे। (रुँदै) राजा हाे।’ याे अन्तिम वाक्य बाेल्दा चाँहि ऊ भक्कानिन्छ। सायद उसलाई डिँग हाँक्दाहाँक्दै ‘आफुले झुठो बाेलिरहेकाे र आफुले कहिल्यै त्यस्ताे गर्न नसक्ने, आफू निर्बल र लाचार भएकाे’ बाेध भएकाे हुनुपर्छ।

राजकरणले जस्तै आममानिसहरु ‘आफू जे हाेइन त्याे हुँ’ भन्ने देखाउन खाेज्छन्। उदाहरणका लागि गरिब आफु धनी भएजस्तो देखाउँछ, कम जान्ने आफुलाई बढी जान्ने भएकाे देखाउँछ, जसकाे आत्मबल कमजाेर हुन्छ, उसले ढृढ आत्मबल भएकाे देखाउँछ, जाे निरीह, लाचार, दुर्बल छ, ऊ आफुलाई बलवान् वा शक्तिशाली भएकाे देखाउँछ, राजकरणले जस्तै। यसलाई ‘Law Of Reverse Effect’ भनिन्छ। यस्ताे व्यवहारलाई ‘Demonstrative Behaviour’ पनि भनिन्छ। अक्सर आममानिस, आम निम्न-मध्यम वर्ग र सर्वहारा वर्गमा यस प्रकारकाे ‘Demonstrative Behaviour’ पाइन्छ।

तेस्राे कुरा, ‘धारावी’ ले श्रमिक-श्रमजीवी निम्न-मध्यम वर्गकाे सपनामा हराउने प्रवृत्ति वा Law Of Reverse Effect लाई मात्र हाेइन, उनीहरुकाे सँघर्षशील र जुझारु चरित्रलाई पनि देखाउँछ। हारेर पनि हार नमान्ने र अन्तिमसम्मै लडिरहने उनीहरुकाे अद्भुत गुणलाई पनि देखाउँछ। निम्न-मध्यम वर्ग सँघर्षशील र जुझारु हुन्छन्। उनीहरु हारे पनि सँघर्ष गर्न छाेड्दैनन्। एउटा सपना भत्किए फेरि अर्काे सपना देख्न, एउटा गन्तव्यमा पुग्न नसके फेरि अर्काे गन्तव्य राेज्न उनीहरु खप्पिस हुन्छन्। खासमा, निम्न-मध्यमवर्ग फिनिक्स पँक्षी जस्तै हुन्छन्, उनीहरु आफ्नाे जलेर राख भइसकेकाे खरानीकाे थुप्राेबाट पुनः जन्मिने क्षमता राख्छन्।

उदाहरणका लागि, राजकरणलाई नै लिऊ। राजकरण आफ्नाे गन्तव्यमा पुग्न सक्दैन। उसकाे सपना चकनाचुर हुन्छ, उसकाे परिवार भताभुङ्ग हुन्छ, उसकाे जीवन लथालिङ्ग हुन्छ तर पनि ऊ मर्ने विचार गर्दैन, आत्महत्या गर्ने विचार उसमा आउँदैन। बरु ऊ त फेरि नयाँ सुरुवात गर्ने साेच बनाउँछ। फेरि प्रयास गर्ने कुरा गर्छ। लामाे समयपछि भेटिएको आफ्नाे साथी चन्दुलाई ऊ भन्छ, ‘याे समुन्द्रमा हरेककाे नामकाे लहर आउँछ। सही समयमा जसले (लहरलाई) समात्छ, ऊ उक्सिन्छ, (गरिबीदेखि माथि निस्किन्छ)।’ उसकाे याे भनाइले ऊ जीवनप्रति कति आशावादी छ भन्ने कुरालाई दर्शाउँछ।

राजकरण उर्फ ओम पुरी

यसप्रकार, ‘धारावी’ ले राजकरणकाे माध्यमबाट निम्न-मध्यम वर्गकाे जीवनप्रतिकाे प्रेम, विश्वास, आशावाद र जिजीबिषालाई दर्शाउँछ। ‘जीवन जतिसुकै कष्टपूर्ण र विसँगत भए पनि यसलाई जिउनुपर्छ र यसलाई राम्राे बनाउने प्रयत्न गर्नुपर्छ। विगतमा जे भयाे, भयाे। ती बितिसकेका कुराहरुलाई बिर्सेर नयाँ सुरुवात गर्नुपर्छ’ भन्ने जीवनप्रति उनीहरुकाे सकरात्मक साेचलाई दर्शाउँछ। यही कारण यस फिल्मकाे सरहना गर्न मनलाग्छ। फिल्महरुकाे थुप्राेबाट यस फिल्मलाई छानेर यस बिशिष्ट स्थान दिन मनलाग्छ।

‘धारावी’ काे ‘क्यारेक्टराइजेशन’ पनि सटिक छ। यसकाे क्यारेक्टर वा चरित्रहरु ‘लेयर्ड’ छन्, ‘अनकन्भेन्सनल’ छन्। जस्तै, राजकरणकाे चरित्र एकदमै लेयर्ड छ। थुप्रै रङ छ उसकाे चरित्रमा। ऊ ‘लुजर’ पनि हाे, ऊ ‘फाइटर’ पनि हाे। ‌ऊ एकसाथ ‘लुजर’ र ‘फाइटर’ दुवै हाे। ‌ऊ स्वप्नजीवी पनि हाे अनि ऊ श्रमजीवी (सँघर्षजीवी) पनि हाे। ऊ समान रुपमा स्वप्नजीवी र श्रमजीवी (सँघर्षजीवी) दुवै हाे। ऊ समान रुपमा कल्पनाशील र सँघर्षशील छ। उसमा अवसादकाे मात्रा पनि अधिक छ अनि जिजीबिषाकाे मात्रा पनि। आशा, उत्साह, हर्ष, हुटहुटी, जिजीबिषा, निराशा, हतासा, फ्रस्टेशन, आवेग, आक्राेश, पीडाबाेध, हाैसला, हाेश-बेहाेशी…सबैखाले रङहरु उसकाे चरित्रमा मिसिएका छन्। उसकाे चरित्रले आममानिसकाे, आम निम्न-मध्यमवर्गकाे प्रतिनिधित्व गर्दछ। आम मानिसहरुकाे चरित्र यस्तै धेरै रङहरु घुलेर बन्ने गर्छ।

‘धारावी’ काे प्रमुख महिला चरित्र कुसुम पनि ‘स्टेरियाेटाइप्ड’ छैनन्। परम्परागत सति-सावित्री वा ‘सहनशील सुशीला’ काे साँचाेमा उनी फिट हुन्नन् (किनभने उनी एउटा लाेग्नेलाई परित्याग गरेर अर्काे लाेग्नेकहाँ आएकी छन्)। उनी मानवीय छिन् (आफुले परित्याग गरिसकेकाे लाेग्ने पक्षघातले थला परेकाे र हेरचाह गर्ने काेही पनि नभएकाे थाहा पाएपछि उनी आफै गएर उनकाे हेरचाह गर्छिन्) अनि उनी धेरै हदसम्म आफ्नाे स्वत्वकाे हेक्का भएकी स्वाभिमानी र विद्राेहिणी लाग्छिन्। आफ्नाे लाेग्नेलाई परित्याग गरेर राजकरणसँग आएकी उनी तन, मन र धन, हर तरहले राजकरणलाई साथ दिन्छिन् तर एउटा बिन्दुमा राजकरणकाे कारण उनकाे आत्मसम्मान क्षत-विक्षत भएपछि, उनलाई आफ्नाे शिर ढलेकाे (स्वाभिमान आहत भएकाे) महसुस हुन्छ। त्यसपछि, उनी राजकरणलाई पनि परित्याग गर्छिन् र पहिलेकाे लाेग्नेकहाँ नै फर्किन्छिन्। यसप्रकार उनी गरिब छिन्, तर स्वाभिमानी छिन्। एक भिन्नै किसिमकाे सशक्तता छ उनीभित्र। उनी स्त्रीकाे एक स्वाभिमानी चरित्रलाई प्रदर्शित गर्छिन्। परम्परागत पवित्र, विनम्र वा सुशील महिलाकाे चरित्रभन्दा विपरीत अमर्यादित, सँघर्षशील, आत्मनिर्भर र नारीवादी छ उनकाे चरित्र। मूलधारका सिनेमाहरुमा यस्ताे महिला चरित्र भेट्नु दुर्लभ हुन्छ। (त्यसैले पनि समानान्तर सिनेमा वा कला सिनेमाकाे महत्व छ भन्ने मलाई लाग्छ।)

कुसुम उर्फ शबाना आज़मी

‘धारावी’ काे तेस्राे प्रमुख चरित्र चास्कर (चन्द्रकान्त) पनि ‘अनकन्भेन्सनल’ छ। ऊ धारावीकै बासिन्दा हाे र नातामा राजकरणकाे साला हाे। चास्कर धारावीकाे जनताकाे खानेपानीकाे लागि लड्छ, दादाहरुकाे ज्यादतीकाे विरुद्धमा आवाज उठाउँछ र बदलामा तिनीहरुबाट आफ्नाे ज्यान बचाउन भागिहिँड्छ। ऊ दादाहरुकाे आक्रमणबाट मारिएका धारावीका बासिन्दाहरुका लागि न्याय खाेज्छ, उनीहरुकाे पक्षमा मुखर हुँदै भन्छ, ‘मर्‍याे त अब ऊ के बाेल्छ? तर ऊ बाेल्थ्याे, त्यसैले मारियाे। बच्चा-बच्चालाई थाहा छ याे सब साला भैरवाकाे काम हाे। सब तँ (राजकरण) जस्ताे चुप रहे भने त एक-एकलाई काटेर खानेछ सालेले। तर म पनि एक्लाे छुइन। म सँग पनि मानिसहरु छन्। याे ठाउँ हाम्राे पनि हाे। यिनीहरु सबैलाई लिएर जानेछु म।’ राजकरण चास्करलाई सधै ‘तँ सधै काम न काजकाे नेतागिरी झाड्दै हिँड्छस्। कुनै काम खाेजेर किन गर्दैनस्?’ भनेर छेड हान्ने गर्छ तर चास्कर भने समाजकाे लागि जिउन खाेज्छ, समाजकाे लागि लड्छ। जबकि राजकरण समाजकाे लागि जिउने वा लड्ने बारेमा साेच्न पनि सक्दैन। त्यसैले राजकरणकाे नजरमा चास्कर जस्ताकाे कुनै मूल्य हुँदैन।

राजकरण (ओम पुरी) र चास्कर (वीरेन्द्र सक्सेना)

चास्करले धारावी जस्ताे दरिद्र, उत्पीडित र किनाराकृत समाजकाे प्रगतिशील तप्काकाे प्रतिनिधित्व गर्छ। ऊ ‘धारावी’ काे ‘भाेकल पाेएन्ट’ हाे, ‘धारावी’ काे समाजकाे ‘एसेन्ट्रिक’ हाे ऊ। हरेक समाजमा यस्ताे ‘एसेन्ट्रिक’ हुनुपर्छ। हरेक समाज वा बस्तीमा चास्कर जस्ताे प्रगतिशील विद्राेही वा आन्दोलनकारी हुनुपर्छ जसमा बदलावकाे लागि लड्ने आगाे हाेस्। हरेक उत्पीडितहरुकाे बस्तीमा एउटा न एउटा चास्कर अवश्य जन्मनुपर्छ जाे बस्तीकाे बासिन्दाहरुका हकहितका लागि आवाज उठाउन्, उनीहरुमाथि गरिने उत्पीडनकाे विरुद्धमा जनतालाई सँगठित गरुन् र लडुन्।

राजकरणभित्र पनि एक किसिमकाे आगाे (आवेग) त छ, तर त्याे आगाे आफ्नाे लागि मात्र छ, आफ्नाे बस्तीकाे लागि छैन। आफ्नाे मान्छेहरुकाे लागि छैन। सबैकाे लागि छैन। ऊ आफ्नाे लागि मात्र साेच्छ, सबैकाे लागि साेच्दैन। ऊ व्यक्तिगत स्वार्थलाई मात्र प्राथमिकता दिन्छ, तर सामुहिक स्वार्थलाई बाल हान्छ। ऊ आफ्नाे मात्र अवस्था बदल्न चाहन्छ, अरुहरु भाँडमा जाऊन्, उसलाई मतलब छैन। तर चास्कर सबैकाे सराेकारका लागि लड्छ। सबैकाे सामुहिक हितका लागि लड्छ। बस्तीका सम्पूर्ण बासिन्दाहरुकाे हकहितका लागि आवाज उठाउँछ। राजकरण व्यक्तिवादमा चुर्लुम्म डुबेकाे देखिन्छ भने चास्कर आफ्नाे व्यक्तिगत स्वार्थलाई बाल दिदैन। चास्करभित्र समाजवादीकाे गुण अन्तर्निहित छ। चास्कर र राजकरणकाे चरित्रमा यही आधारभूत भिन्नता देखिन्छ।

‘धारावी’ काे एउटा दृष्यमा आक्राेशित राजकरण

तर याे चरित्र (चास्कर) लाई अत्यन्त कम स्पेस दिइएकाे छ अनि पूर्ण रुपमा बेराेजगार देखाइएकाे छ। पढालेखा हाे कि हाेइन, त्याे पनि थाहा छैन। याे चरित्रलाई अलि बढी स्पेस दिएर अलि बढी मेहनतका साथ यसलाई चित्रण गरेकाे भए याे चरित्र ‘आइकाेनिक’ बन्न सक्थ्याे। दर्शकहरुमाथि राम्राे छाप छाेड्न सक्थ्याे, दर्हशकहरुमाझ सकरात्मक सन्देश पनि जान्थ्याे यदि याे चरित्रमाथि थप काम गरेकाे भए, याे चरित्रलाई थप ‘डेवलव’ गरेकाे भए। अझ याे चरित्रलाई शिक्षित र उधमशील देखाएकाे भए याे चरित्रकाे र फिल्मकाे, दुवैकाे ओज बढ्थ्याे।

यी तीन प्रमुख चरित्रका अतिरिक्त साझेदारीमा फ्याक्ट्री लिए पनि काम गर्न अल्छी गर्ने, गल्लाबाट पैसा मात्र झिकेर लैजाने तर गैरजिम्मेवार व्यवहार देखाउने चन्दु नामक चरित्र (जसलाई रघुवीर यादवले निभाएका छन्) र इमानदारीका साथ चुपचाप फ्याक्ट्रीमा खट्ने चाैरासियाकाे चरित्र (जसलाई दीपक क़ाज़िरले निभाएका छन्) जाे एक मजदुर हुन् र जाे साेझाे र निमुखा छन्, पनि स्मरणीय छन्।

कलाकारहरुकाे कुरा गर्दा, ‘धारावी’ मा ओम पुरीले गरेकाे अभिनय उनकाे करिअरकाे सर्वाेत्कृष्ट अभिनयमध्ये एक हाे। उनले फिल्ममा जबर्दस्त अभिनय गरेका छन्। राजकरणकाे चरित्रलाई पर्दामा साकार पार्न उनले कुनै कसर बाँकी छाडेका छैनन्। उतिकै जीवन्त अभिनय गरेकी छिन् शबाना आज़मीले। एकदमै ‘इफाेर्टलेस एक्टिङ’ द्वारा आफ्नाे चरित्रमा प्राण भरेकी छन् उनले। चास्करकाे चरित्रमा वीरेन्द्र सक्सेनाले पनि जमेर एक्टिङ गरेका छन्। राेल सानाे भए पनि असर छाेडेका छन् उनले। दीपक क़ाज़िर र रघुवीर यादवकाे अभिनय पनि राम्राे छ।

सुधिर मिश्राले ‘धारावी’ मा धारावीका निम्न-मध्यम वर्गकाे मनाेविज्ञानलाई पनि सटिक ढँगले देखाएका छन्। चरित्रहरुकाे मनाेविज्ञानका बान्कीलाई बुझ्ने र चित्रण गर्ने मामिलामा उनी उस्ताद हुन्। साइकाेलाेजीमा स्नातकोत्तर गरेका हुन् उनले। त्यसैले मानिसहरुकाे साइकाेलाेजी, बिहेवियर र बडी ल्याङ्वेजलाई उनी सही ढँगले पढ्न र बुझ्न सक्छन् अनि सही ढँगले देखाउन पनि सक्छन्। त्यसैले उनका फिल्महरुकाे ‘क्यारेक्टराइजेशन’ सदैव सटिक हुने गर्छ। ‘धारावी’ यसकाे अब्बल उदाहरण हाे।

सुधिर मिश्रा

‘धारावी’ ‘bottom of the pyramid’ मा रहेकाे वर्गकाे महिला र पुरुषकाे चरित्रकाे सटिक चित्रण, उनीहरुकाे जीवनशैली र मनाेविज्ञान तथा उनीहरुकाे सपना र यथार्थबीचकाे असँगति वा विराेधाभाषकाे यथार्थपरक चित्रणकाे लागि यादगार छ। ‘धारावी’ मा उनीहरुकाे अन्तर्मनकाे द्धन्द्ध वा कशमकशकाे अभिरेखन पनि उत्तिकै सटिक छ।

सतहबाट हेर्दा ‘धारावी’ राजकरणकाे बर्बादीकाे कथा जस्ताे लाग्छ, तर गहिरिएर हेर्दा याे राजकरणकाे बर्बादीकाे मात्र कथा हाेइन। यसकाे स्वर नकारात्मक छैन। यसले जीवनप्रति अनास्था उब्जाउँदैन। राजकरण र उसकाे परिवारकाे बर्बादीसँगै यस फिल्मकाे कथामा पूर्णविराम लागेकाे छैन। बरु याे त राजकरणकाे ट्याक्सी जसरी लगातार अगाडि बढ्दै गइरहेकाे छ, राजकरणकाे जीवनमा अगाडि बढ्ने इच्छाहरुसँगै।

सारमा, ‘धारावी’ ले मुख्यतः भुइँमान्छेभित्र अन्तर्निहित जिजीबिषालाई दर्शाउँछ। भुइँमान्छेभित्रकाे जिजीबिषा कहिल्यै मर्दैन। याे त हरेकपटक जीवित हुन्छ र आशाकाे किरणतर्फ, भविष्यकाे उज्यालाेतर्फ उसलाई डाेर्‍याउँदै लैजान्छ। यही जिजीबिषाले उसकाे जीवनलाई अर्थ प्रदान गर्छ, उसकाे जीवनलाई व्यर्थ जान दिदैन। उसकाे जीवनलाई सारवान् बनाउँछ, उसकाे जीवनलाई निसार हुन दिदैन। ‘धारावी’ ले सँघर्षप्रति आस्था जगाउँछ र जीवनलाई आशाले परिपूर्ण बनाउँछ। हरेक दिन एक नयाँ लडाइँ लड्नका लागि प्रेरित गर्छ ‘धारावी’। टुटेका सपनाहरुका बीचबाट एउटा नयाँ सपना देखाउँछ ‘धारावी’।

‘धारावी’ मा मलाई खट्किएका केही कुराहरु पनि छन्। पहिलाे कुरा, ‘धारावी’ मा सुरुवातमा (र क्लाइमेक्समा पनि) त्यत्राे ठूलाे लफडा (काण्ड) हुन्छ। मानिसहरु मर्छन्। ताेडफाेड र मारकाट हुन्छ। तर पनि पुलिस घटनाबारे छानबिन गर्न आउदैन। याे कुरा मलाई चित्त बुझेन।

दाेस्राे कुरा, दुई अपराधिक गिराेह (पाटिल र तिवारी) काे झगडा किन र कसरी दँगामा परिणत हुन्छ? दुई दलका गुण्डाहरु आफ्नाे आपसी झगडामा किन बस्तीका निर्दाेष मानिसहरुमाथि साँघातिक आक्रमण गर्छन्? किन उनीहरुमाथि चक्कु-छुरा चलाउँछन्? किन उनीहरुलाई मार्छन्? याे कुरा बुझ्न सकिएन।

तेस्राे कुरा, चास्करले सुरुदेखि जसकाे विरुद्धमा आवाज उठाइरहेकाे हुन्छ, त्याे गुण्डाकाे नाम भैरवा हुन्छ। तर पछि राजकरण ऋण माग्न जुन गुण्डाकहाँ जान्छ, उसकाे नाम तिवारी हुन्छ। तर चास्करलाई भैरवाले नभएर तिवारीले पाे मार्न लगाउँछ, (त्यसैले त आफ्नाे पति राजकरणलाई जेलबाट छुटाउनकाे लागि कुसुमले तिवारीकाे सामु, जसले उनकाे भाइलाई मार्न लगायाे, उसकाे सामु गिडगिडाउनु परेकाेले आफ्नाे आत्मसम्मान क्षतविक्षत भएकाे महसुस गरेर राजकरणलाई परित्याग गर्छिन्।) जबकि चास्करकाे दुश्मनी त भैरवासँग थियाे। उसलाई मार्नुपर्ने भैरवाले हाे, तर तिवारीले कसरी उसलाई मार्न लगायाे? र किन मार्न लगायाे? याे कुरा बुझ्न सकिएन। यसबाट फिल्मकाे स्क्रिप्ट लेखक सुधीर मिश्रा नै गुण्डाहरुकाे नाममा कन्फ्युज भएकाे हाे कि जस्ताे देखिन्छ।

चाैथाे कुरा, तिवारीकाे गुण्डाहरुले राजकरणकाे घरभित्र पसेर राजकरणसहित उसकाे परिवारमाथि गरेकाे आक्रमण र कुटपिटकाे दृष्यलाई अझ यथार्थपरक ढँगले देखाउन सकिन्थ्याे।

निर्दैशक सुधिर मिश्राका अनुसार ‘धारावी’ उनले एकदमै मनले बनाएकाे फिल्म हाे। यसमा एकप्रकारले उनले एकसमय बम्बईमा आएर बिताएकाे आफ्नाे सँघर्षकालकाे पनि चित्रण गरेका छन्। यसकारण राजकरणकाे चरित्रमा उनकाे पनि प्रतिबिम्ब देखिन्छ। उनकाे मात्र हाेइन, गाउँदेखि सहर आएर दु:ख वा सँघर्ष गरिरहेका सबै भुइँमान्छेहरुकाे छवि देखिन्छ राजकरणकाे चरित्रमा।

सुधिर मिश्रा भन्छन्, ‘बाहिरबाट जीविका र आयस्राेतकाे खाेजी गर्दै बम्बईमा आएका मानिसहरुकाे बम्बईप्रतिकाे दृष्टिकोणलाई ‘धारावी’ मा चित्रण गरिएकाे छ। तिनीहरु बम्बईलाई केवल पैसा कमाउने वा जीविकापार्जन गर्ने माध्यम ठान्छन् र सहरसँग गलत व्यवहार गर्छन्। किनभने तिनीहरु सहरसँग भावनात्मक रुपमा जाेडिएका हुँदैनन्। ओम पुरीकाे चरित्र राजकरणकाे दृष्टिकोण यही थियाे। तर शबाना आज़मीकाे चरित्र कुसुमकाे मूलथलाे बम्बई थियाे।

राजकरणकाे परिवारसँग चास्कर

त्यसैले कुसुमलाई धारावीसँग लगाव छ। राजकरणलाई धारावी मनपर्दैन। ऊ धारावीदेखि बाहिर निस्कन चाहन्छ तर कुसुमलाई त्यही धारावी प्याराे लाग्छ। उनलाई त्यही राम्राे लाग्छ। उनी धारावी छाेड्न चाहन्दिनन्। त्यसैले उनीहरु दुवैजना दुविधामा छन्, कशमकशमा छन्। एक खाले द्वन्द्वमा छन् उनीहरु। यसकाे माध्यमबाट एक इमिग्रेण्ड, जाे सहर बाहिरबाट आएकाे छ, उसकाे कथा-व्यथा र दु:ख-कष्टकाे, उसकाे स्ट्रगलकाे चित्रण हाे ‘धारावी’, एक किसिमले।’

‘राष्ट्रिय फिल्म विकास निगम’ काे साैजन्यद्वारा निर्मित र सन् १९९२ मा प्रदर्शित भएकाे यस फिल्मले तीन-तीनवटा नेशनल अवार्डद्वारा शुभाेषित हुने गाैरव हासिल गरेकाे थियाे। पहिलाे अवार्ड थियाे, ‘बेस्ट फिचर फिल्म इन हिन्दी’। दाेस्राे अवार्ड थियाे, ‘नेशनल फिल्म अवार्ड फर बेस्ट एडिटिङ’ र तेस्राे अवार्ड थियाे, ‘नेशनल फिल्म अवार्ड फर बेस्ट म्युजिक डाइरेक्शन’ (तथापि फिल्ममा एउटा पनि गीत थिएन)।

‘धारावी’ ले बक्स-अफिसमा सफलता पाउन सकेन तथापि प्रबुद्ध सिनेप्रेमीहरुले यस फिल्मकाे सरहना गरे। धारावी’ काे कथा आज पनि सान्दर्भिक लाग्छ। अझै पनि पुरानाे भएकाे छैन यसकाे कथा। अझै पनि ‘आउटडेटेट’ भएकाे छैन यसकाे कथा। त्यसैले, ‘धारावी’ लाई समानान्तर सिनेमाकाे इतिहासमा एक महत्वपूर्ण सिनेमा मान्न सकिन्छ।

मा प्रकाशित